काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् । आईतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टी प्रवेश गर्नेहरु धेरै भएपनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए । केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताउँदै उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको बताए ।
‘हाम्रो पार्टीमा निरन्तर विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम चलेको छ, हामीले लाइन लगाएर टिका लगाउँदै प्रवेश नगराएको मात्रै हो, त्यो गरेको भए झनै धेरै देखिन्थ्यो, केही स्वार्थ भएका साथीहरु चिहाउँदै हुनुहुन्छ, त्यो नदेखेको होइन, पार्टीले देखेको छ, तर चिन्ता गर्नुपर्दैन, पार्टी अर्काको कब्जामा मात्रै पर्ने भयो, हिजोको माओवादी, काँग्रेस एमाले जस्तै हुनेभयो भन्ने चिन्ता लिनुपर्दैन, यो पार्टीमा सहभागी हुन सबैलाई ढोका खुला छ तर इमान बोकेर आउने साथीहरुलाई मात्रै खुला हो, बेइमानी छातीमा बोकेर आउनेका लागि यो ढोका खुला छैन,’ उनले भने ।
सभापति लामिछानेले पार्टीमा स्वार्थहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो की भन्ने चिन्ता नलिन शुभेच्छुकहरुलाई आग्रह गरे ।