एसवाई बजारको ब्राण्ड एम्बेसडरमा रुबी राणा
काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजारको ब्राण्ड एम्बेसडरमा रुबी राणा नियुक्त भएकी छिन् । एसवाई बजारले व्यवसाय प्रवर्द्धनका लागि प्रथम मिस नेपाल राणालाई ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो । राणासँग एसवाई बजारको एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको पनि एसवाई बजारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराज खड्काले बताए । यस सम्झौतापछि ब्राण्ड एम्बेसडर राणाले प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरू गर्ने पनि बताइएको छ ।
एनएमबि बैंकको अफर : अन्तर बैंक फण्ड ट्रान्सफर र डेबिट कार्डमा पैसा नलाग्ने
काठमाडौं । एनएमबि बैंकले ग्राहकहरुका लागि दुई अफरहरू ल्याएको छ । अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउने विश्वास बैंकको छ । सो अफर साउन मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। साथै, एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निस्शुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यो संगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरु भएका छन् । छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्र मान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गांउपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शंखर पाण्डे, सोही वडाका पुर्व वडा अध्यक्ष राजेश कुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद खनाल लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुच बाहिर रहेको बल्कोट तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । बैंकका अर्घाखाँची शाखा प्रमुखले सेवाग्राहीहरुलाई एक्सटेन्सन काउन्टर मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । हाल बैंकले २९६ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।
व्यवसायी नै सुन तस्करीमा सक्रिय
काठमाडौं । रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटाजस्तो उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै असार १० गते भारततर्फ सीमा पार गर्न लागेको बा १२च ३८२० नम्बरको मारुती सुजुकी कार सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले चेकजाँच गर्दा इँटा आकारका दुई थान सुन शङ्कास्पद वस्तु बरामद गरेको थियो । बरामद सुन र कार भैरहवा भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान उक्त वस्तु एक केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । उक्त सुन प्रकरणमा बुटवल अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलका सञ्चालकको संलग्नता देखिएपछि ती पसल सिल गरेर अनुसन्धान अगाडि बढाएको छ । सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिका बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले दुवै पसलमा सिल गरी थप अनुुसन्धान अघि बढाइएको भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले बताए । ‘सुन बरामदका विषयमा को कसरको संलग्नताका विषयमा अनुसन्धान जारी छ’, ‘यसबारेमा सबै कुरा अहिलै भन्न सकिँदैन’, उनले भने, ‘पसललाई शिल गरी अनुसन्धान भइरहेको छ, पछि यसबारे जानकारी आउँछ’, कालीदह नाकामा सुनसहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको र गिरीको बयानका आधारमा अनुसन्धान गर्दा बालाजी सुनचाँदी पसल पनि संलग्नता देखिएपछि पसल सिल गरेको हो । करिब दुई करोड रुपैयाँ मूल्यको सुन बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने कानुनी व्यवस्थाअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको हो ।
देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् । सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताए । सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको उनको भनाइ छ । ‘आम नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको आवश्यकता पनि महशुस नगर्ने, सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने जो प्रवृत्ति देखिएको छ’ उनले भने । नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने प्रधानमन्त्रीले बताए । नयाँ पार्टीहरुप्रति लक्षित गर्दै पुराना पार्टीहरुको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । तर अहिलेको परिस्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको बताए । अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याँई गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने उनले बताए । प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताए ।
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक चालकसमेत घाइते भएका छन् । घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो । सोही स्थानमा गत विहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ । रासस
स्याङ्जाको गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ । व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढेको हो । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आवमा झण्डै दोब्बरले बिरामीको सङ्ख्या बढेको अस्पतालका प्रमुख गुनेन्द्र रानाले जानकारी दिए । उनले अघिल्लो आर्थिक वर्षमा १३ हजार बिरामीले सेवा लिएको र चालु आर्थिक वर्षमा बीमातर्फका २१ हजार बिरामीले सेवा लिएका छन् । हाल अस्पतालमा चौबीसै घण्टा आकस्मिक सेवा, पेट, छाती, मुटु, ग्याष्ट्रिक, यौन, छाला, नशा, हाडजोर्नी, बाथरोग, नाक, कान, घाँटी, स्त्री रोग, बाल रोग, नेबुलाइजर, सामान्य चिरफार, दन्तरोग, ल्याब, एक्सरे, भिडियो एक्सरे, अक्सिजन, फार्मेसी सेवा, रिफर, बीमा, एम्बुलेन्सलगायतका सेवा उपलब्ध छन् । यहाँ सेवा लिनका लागि गल्याङ, वालिङ, चापकोट, कालीगण्डकी, पाल्पाको रम्भा, वगनासकाली, गुल्मीको कालीगण्डकी, पर्वतको बिहादीलगायतका स्थानीयतहबाट बिरामी उपचारका लागि आउने गरेका छन् । गल्याङ नगरपालिकाको उपचारको प्रमुख गन्तव्य यो अस्पताल २०७६ सालमा स्थापना भएको थियो । लामो समय घाटामा सञ्चालित नगर अस्पताल गल्याङ नगरपालिकाको आर्थिक अनुदानमा प्रसासनिक खर्च धनिँदै आएको थियो । गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले प्रशासनिक खर्चका लागि अघिल्लो वर्ष नगरपालिकाले अस्पताललाई ७२ लाख सहयोग गरेको बताए । नगर प्रमुख भट्टराईले निकट भविष्यमा अस्पतालमा प्रसूति सेवा, आँखा जाँच तथा उपचार सेवा विस्तार गरिने बताए । भट्टराईले नगर अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउनको लागि पहलसमेत भइरहेको बताए । नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा आधुनिक र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ । गल्याङ नगर अस्पतालकी लाभग्राही प्रतिमा भट्टराई बस्यालले अस्पतालले गुणस्तीय सुविधा दिन थालेपछि उपचारका लागि पाल्पा पोखरा जानुपर्ने बाध्यता हटेको बताइन् । अर्का लाभग्राही कमल भण्डारीले अस्पतालको व्यवस्थापकीय पक्ष अझै अपुग भएको बताउनुभयो । बिरामी जाँच्ने कोठा पटकपटक स्थान्तरण गरिएको भन्दै एकै ठाउँमा राख्न सुझाव दिए । बिरामी कुर्ने ठाउँमा नगर अस्पतालले पङ्खाको व्यवस्था गरिदिन पनि उनको आग्रह छ । हाल अस्पतालमा दुई जनरल फिजिसियन, तीन इमर्जेन्सी हेल्थ असिस्टेन्ट, तीन ल्याब टेक्निसियन, एक एक्सरे रेडियोग्राफरसहित ३० कर्मचारी कार्यरत छन् । रासस
ट्वीटरमा प्रयोगकर्ताले एक दिनमा ५ सय ट्वीट पढ्न पाउने
काठमाडौं । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले घोषणा गरेका छन् । पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निः शुल्करूपमा ट्वीटरको प्रयोग गर्ने (अधिकांश प्रयोगकर्ता), जसलार्ई अप्रमाणित प्रयोगकर्ता भनिएको छ । प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन् । त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५०० मात्र ट्वीट पढ्न पाउनेछन् । मस्कले शनिबार अपराह्न एक ट्वीटमा भने, ‘तथ्याङ्क प्रेषण डाटा स्क्रैपिङ्गको चरम स्तरलाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो ।’ मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्विटर’ ट्रेन्डिङको विषय बनेको थियो । ट्विटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाएका छैनन् । मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव छैन भन्ने घोषणा गरेका थिए । अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोधको समस्याहरू निम्त्याइरहेको मस्कले बताएका छन् । मानव–जस्तै क्षमतामा प्रतिक्रिया दिन सक्ने एआई सिर्जना गर्न, धेरै कम्पनीहरूले कार्यक्रमहरूलाई सामाजिक मिडिया साइटहरूबाट वास्तविक जीवनको कुराकानीको उदाहरणहरू तान्ने गर्छन् ।