विकासन्युज

रिलायबल लाइफको आईपीओ २५७ रुपैयाँमा बिक्री खुला, कति भर्ने आवेदन ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार २७ गते, बुधबारदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

नेपाल एसबीआई बैंकले सपथ ग्रहण गरेर मनायो बार्षिकोत्सव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३० औंं बार्षिकोत्सव मनाएको छ । तीन दशक पूरा गरेको अवसमा बैंकले सपथ ग्रहण समारोह आयोजना गरेको थियो । सपथ ग्रहण कार्यक्रममा बैंकका कर्मचारीहरुले बैंकको विकासको लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा उल्लेख गरेका थिए । बैंकको दिगो प्रगति कायम राख्न कर्मचारीहरुले व्यक्तिगत जिम्मेवारी लिनुपर्ने उनले बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पूर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै त्यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । वार्षिक उत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

सरकारले तोक्यो धानको समर्थन मूल्य, अघिल्लो वर्षभन्दा २५० रुपैयाँ बढी

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो । किसानले धान लगाउने समय अगावै धानको समर्थन मूल्य तोक्ने प्रावधानअनुसार सरकारले समर्थन मूल्य तोकेको हो । अघिल्लो वर्षको तुलनामा २५० रूपैयाँ बढाएर धानको समर्थन मूल्य तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको शर्माले जानकारी दिइन् । सरकारले किसानको धान खरिद गर्दा सोही मूल्यअनुसार खरिद गर्नेछ भने अन्य व्यापारीलाई बिक्री गर्दा पनि सोही मूल्यलाई आधार मानेर बिक्री गर्न पाउनेछन् ।

सरकारले बनायो हेलिकप्टर दुर्घटना छानविन समिति, सहसचिव लामिछाने संयोजक

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको छानविनको लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलट सहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो । पाँच जना मेक्सिकन नागरिकलाई लिएर क्याप्टेन आरबी गुरूङले हेलिकप्टर उडाएका थिए । दुर्घटनामा निधन भएका सबै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । हेलिकप्टर दुर्घटनामा सरकारले दुःख व्यक्त गरेको छ ।

अब पशुधन र माछा दुबैको बीमा हुने, २ लाखसम्मको दुर्घटना बीमा, कति तोकियो प्रिमियम ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पशुधन तथा माछा बीमालेख जारी गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष अर्थात २०८० साउन १ गतेदेखि लागु हुने गरी उक्त बीमालेख जारी गरेको हो । प्राधिकरणले पशुधनमा हुने क्षति विरुद्ध बीमा गर्न पशुधन बीमालेख र माछा पालनमा हुने क्षति विरुद्ध बीमा गर्न माछा बीमालेख ल्याएको हो । यी दुई वटै बीमालेखमा विभिन्न ७ प्रकारको क्षति वा नोक्सानीको रक्षावरण हुन्छ । जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमीजन्य, चट्याङ्जन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण हुने छ । २ लाखसम्मको दुर्घटना बीमा यो दुबै बीमालेखमा अतिरिक्त सुविधा अन्तर्गत २ लाख सम्मको दुर्घटना बीमा रहेको छ । बीमा अवधिभित्र आत्महत्या बाहेकका अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी हड्डी काम नलाग्ने भएमा, कुनै हात खुट्टा काम नलाग्ने भएमा र दुईवटै आँखाको दृष्टि गुमेमा मात्रै बीमितले यो सुविधा पाउने छन् । कसरी गरिन्छ बीमांक निर्धारण ? पशुधन बीमालेखको बीमांक रकम विभिन्न पक्षबाट निर्धारण हुनेछ । प्रति प्रशुधन एक लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा बीमक, बीमित र प्राविधिकको आपसी सहमतिमा प्रचलित बजार मूल्यभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने छ । त्यस्तै, एक लाखदेखि माथि दुई लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा सम्बन्धित स्थानीय तहबाट सिफारिस लिएको हुनुपर्ने छ । दुई देखि तीन लाखसम्मको कायम गर्दा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत सिफारिस लिनु पर्ने र सोभन्दा माथि प्रति प्रशुधनको बीमांक कायम गर्दा वंशावली अभिलेख, जातीय शुद्धताको प्रमाण, औषत दुग्ध उत्पादन र उमेरको विवरण पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यता माछाको बीमांक निर्धारण कायम गर्दा माछाको बीमांक निर्धारण सूचक बमोजिम उत्पादन मूल्यलाई आधार लिनु पर्ने निर्देशिकामा स्पष्ट पारिएको छ । कति लाग्छ प्रिमियम ? पशुधन बीमालेख अनुसार पशुधनको बीमा गर्दा बीमांक रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क (प्रिमियम) लाग्ने छ । दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५ सय रुपैयाँ लाग्ने छ । त्यस्तै, माछा बीमामा तीन प्रतिशत प्रिमियम तोकिएको छ । यो बीमा न्यूनतम तीन महिनादेखि अधिकतम १२ महिनासम्म गर्न सकिने छ । बीमा प्राधिकरणका अनुसार १२ केजीभन्दा माथिको माछाको बीमा हुँदैन । र, पशुधन बीमाको जस्तै माछा बीमामा पनि दुर्घटना बीमा बापत प्रिमियम प्रति बीमित ५ सय रुपैयाँ लाग्ने छ ।

सहसचिव लक्ष्मीकुमारी बस्नेत सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । बढुवा समितिले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो । ललिता निवास जग्गा घोटला प्रकरणमा सञ्चार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राय परेपछि मन्त्रालयको सचिव पद रिक्त थियो ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापाको विश्लेषण : वित्तीय पहुँचको दुरूपयोग हुँदा सट्टेबाजी मौलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्ला दिनहरूमा वित्तीय पहुँचको दुरूपयोग भएको बताएका छन् । बैंक तथा वित्तीय संस्थामा सीमित ब्यक्तिको मात्रै पहुँच हुँदा कर्जा प्रवाह समेत दुरुपयोग भइरहेको उनले बताए । वित्तीय पहुँचको हुँदा नै मिटरब्याजी जस्ता समस्या आएको र उत्पादनमूलक क्षेत्रमा नभएर सट्टेबाजीमा लगानी बढेको थापाको भनाई छ । बैंक तथा वित्तीय संस्थाले क्यासफ्लोभन्दा पनि धितोको आधारमा कर्जा प्रवाह गर्दा कतिपय अवस्थामा समस्या आएको उनले बताए । अर्थतन्त्रमा संकुचन आएपछि धेरैले मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा गरेको भए पनि मौद्रिक नीतिले ‘पेन किलर’को काम मात्रै गर्न सक्ने थापाको भनाई छ । दीर्घकालिन समस्याको समाधान मौद्रिक नीतिले नगर्ने उनले बताए । नेपालका सबैभन्दा छिटो बैंकिङ क्षेत्रकै विकास भएको र त्यो पनि निजी क्षेत्रको पकडमा गएको थापाले बताए ।

दबाइ तितो हुन्छ, राष्ट्र बैंकको निर्देशन पनि त्यस्तै हो : कावा गभर्नर ढुङ्गाना

काठमाडौं । केन्द्रीय बैंकको कार्यवाहक गभर्नर डा. निलम ढुङ्गानाले बैंक तथा वित्तीय संस्थाहरुको लागि राष्ट्र बैंकको निर्देशन औषधीसरह भएको बताएकी छिन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले मंगलबार काठमाडौंमा आयोजना गरेको आयोजनामा ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले औषधी तितो भए पनि त्यसले फाइदा गर्ने बताइन् । राष्ट्र बैंकको निर्देशन पनि बैंक वित्तीय संस्थाको लागि तितो हुने तर, त्यसले फाइदा नै गर्ने उनको भनाई छ । ‘दबाइ खाँदा तितो हुन्छ । तितो भए पनि त्यसले रोग निको हुन्छ । त्यसैले रास्ट्र बैंकका निर्देशन तितो हुनु स्वभाविक हो’, ढुङ्गानाले भनिन् । बैंक तथा वित्तीय संस्थाले वर्किङ क्यापिटल मार्ग दर्शन पालना गर्ने हो भने अहिलेका सबै समस्या समाधान हुने उनको भनाई छ । बैंक वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो त्यसमा लगानी लगानी नहुने गरेका कारण समस्या देखिने गरेको र त्यसलाई समाधान गर्ने एउटै उपाय वर्किङ क्यापिटल मार्ग दर्शन भएको ढुङ्गानाको भनाई छ । कार्यक्रममा ढुङ्गानाले मुद्रा स्फितिलाई सीमामा ल्याउन चुनौती रहेको बताएकी थिइन् । राष्ट्र बैंकले बाह्य क्षेत्रको स्थायित्व कायम गर्न चनाखो भएर काम गरिरहेको उनको भनाई छ । सबैतिरबाट ब्याजदर घटाउनुपर्ने आवाज उठिरहेको भए पनि मूल्यवृद्धिदरभन्दा कम हुने गरी ब्याज घटाउन नसकिने उनले बताइन् । त्यसैगरी, राष्ट्र बैंकले ग्रीन फाइनान्सका लागि आवश्यक काम गरिरहेको उनले बताइन् । वातावरण जोगाउनका लागि कर्जा प्रवाह गर्नेगरी व्यवस्था मिलाउन लागिएको ढुङ्गानाले जानकारी दिइन् ।