‘बजेटमा ल्याइएको पूर्वाधार विकास कार्यक्रमले भ्रष्टाचार बढाउँछ’
काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका लागि आवश्यक बजेट विनियोजन हुन नसकेको बताएका छन् । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पिछडिएका प्रदेशहरुमा आवश्यकभन्दा कम बजेट गएको बताए । ‘मानव विकास सूचकाङ्कले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश पछि परेको देखाएको छ । तर, त्यही प्रदेशमा जसरी बजेट विनियोजन भएको छ त्यो ठीक भएको छैन’, सांसद देवले भने । पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड बजेटले भ्रष्टाचार बढाउन सहयोग गर्ने उनले बताए । पूर्वाधार विकास कार्यक्रमले सांसद, उनका स्वकीय सचिव र पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन सहयोग गर्ने टिप्पणी उनले गरेका छन् । ‘पूर्वाधार विकास कार्यक्रममा जुन ८ अर्ब २५ करोडको विनियोजन भएको छ, त्यो पनि पुँजीगत खर्च हो । त्यो रकममा धेरै ठूलो चुहावट छ । त्यो राजनीतिकर्मीहरुलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो’, सांसद देवले भने ।
नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा यादव
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर यादवले पाएका छन् । उनी संघको महासचिवको जिम्मेवारीमा छन् । यसअघि संघको कार्यवाहक अध्यक्ष मीनबहादुर बोहरा थिए । धौलागिरी लघुवित्त मर्जरमा गएपछि उनले अवकाश लिएका थिए । यादव नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
दुर्घटनामा परेका सबै यात्रु मेक्सिकन नागरिक, अनुभवी पाइलट गुरूङले उडाएका थिए हेलिकप्टर [सूचीसहित]
काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार सबै यात्रु मेक्सिकन नागरिक रहेको खुलेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै सबै यात्रु मेक्सिकन नागरिक रहेको बताएका हुन् । हेलिकप्टरमा सवारमध्ये अहिलेसम्म ५ जनाको शव भेटिएको छ । हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । हेलिकप्टर पाइलटमध्ये गुरूङ अनुभवी मानिन्थे । मंगलबार विहान सोलुखुम्बुबाट काठमाडौंको लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।
एसईई पछि कुन विषय पढ्दा छिटो करिअर बन्छ ?
काठमाडौं । सामान्यतया एसईई पछिको पढाइलाई विद्यार्थीको करिअर निर्माणको शुरुवातको रुपमा लिने गरिन्छ । कक्षा १० सम्मको पढाईमा विद्यार्थीहरुले धेरै अनिवार्य विषय पढ्नुपर्ने हुन्छ भने सिमित विषय मात्रै ऐच्छिक रुपमा पढ्न पाएका हुन्छन् । कक्षा ११/१२ मा भने विद्यार्थीहरुले अनिवार्य शिक्षा भन्दा धेरै आफूले रोजेको विषय पढ्न पाउँछन् । केही दशक यता डिग्री हासिल गरेका लाखौं विद्यार्थीहरु देशभित्रै स्वरोजगार हुन नसक्ने र रोजगार पनि प्राप्त गर्न नसक्ने समस्या फराकिलो दरमा वृद्धि हुँदै गएको छ । पछिल्लो केही वर्ष यता पाठ्यक्रम विकास केन्द्रले कक्षा ११/१२ को लागि ९३ वटा विषयको विकास गरेको छ । विद्यार्थीहरुका लागि छनोट गरेर अध्ययन गर्न धेरै विषयहरु भएपनि उनीहरुले कुन विषय पढ्दा करिअर छिटो बन्छ वा पढेको विषयलाई आफ्नो जीवन, परिवार र समाजको लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरालाई भने ध्यान दिएर विषय छनोट गर्नुपर्छ । पछिल्लो समय नेपालमा डाक्टर, इन्जिनियर, पाइलट, कृषि लगायत प्राविधिक विषय अध्ययन गरेका धेरै विद्यार्थीहरुपनि देशभित्रै स्वरोजगार नबन्ने र रोजगारका लागि विदेशीने गरेको पाइन्छ । तर, स्वदेश वा विदेशमा प्राविधिक रुपमा क्षमतावान भएका व्यक्तिहरु नै स्वरोजगार हुन सकेको वा रोजगार पाउन सकेको देखिन्छ । अन्यथा भाषिक विषय मात्रै पढेका विद्यार्थीहरुले स्वरोजगार वा रोजगारको लागि पनि पुनः प्राविधिक तालिम लिनुपर्ने हुन्छ । गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षा भनेको मानिसले आफ्नो शारीरिक क्षमता हुने बेलासम्म प्रयोग गर्न सकिने तथा स्वरोजगार र रोजगारको हिसाबले पनि प्रभावकारी रहेको बताउँछन् । सैद्धान्तिक विषय पढेका विद्यार्थीहरु धेरै पढेर पनि बेरोजगार भएको तर, प्राविधिक शिक्षा पढेका विद्यार्थीहरुमा त्यस्तो समस्या नदेखिएको उनको भनाइ छ । ‘प्राविधिक शिक्षा पढेकाहरु कहिल्यै रिटायर्ड हुँदैनन्, सक्रिय जीवनसम्म उनीहरुले काम गर्न पाउँछन्, तर, साधारण विषय पढेकाहरुले निश्चित समय जागिर खान्छन् अनि रिटायर्र्ड हुन्छन्’, निर्देशक तिमिल्सिनाले भने । आफूले चाहेको बेलामा सिपको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सकिने शिक्षा प्राविधिक शिक्षा भएको उनको भनाइ छ । सैद्धान्तिक विषयमा धेरै पढेका व्यक्तिहरुले रोजगार नपाइरहेको अहिलेको अवस्थामा प्राविधिक शिक्षा लिएका विद्यार्थीहरु भने खाली बस्न नपरेकोको कारणले उनीहरुमा खुसीको अवस्था पनि तुलनात्मक रुपमा राम्रो भएको निर्देशक लामिछाने बताउँछन् । राम्रोसँग विषय छनोट गरेर पढ्न सक्दा अहिले नेपालमा भएका प्राविधिक शिक्षा पढेपछि नेपालमा नै स्वरोजगार हुन वा रोजगार प्राप्त गर्न समस्या नभएको उनको भनाइ छ । आर्थिक विकासको दृष्टिकोणबाट हेर्दा पनि नेपाल एउटा विकासोन्मुख मुलुक हो । साढे तीन दशक यताको मुलुकको अवस्था हेर्ने हो भने नेपाल धेरै वस्तुहरुमा परानिर्भर बन्दै गइरहेको छ । परानिर्भरताको दर घट्ने भन्दा पनि थप बढ्ने क्रम जारी छ । शिक्षा मन्त्रालयले २०७६ सालमा गरेको जनशक्ति प्रक्षेपण सम्बन्धी अध्ययनले वि.सं. २१०० सालसम्म कृषि क्षेत्रमा ७६ लाख ६१ हजार ७४७ र उद्योगमा ५५ लाख ३० हजार ५९० जना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको छ । त्यस्तै विश्वबजारमा पनि दिन प्रतिदिन जनशक्तिको अभाव बढीरहेको तथ्यांकहरुले देखाएका छन् । विशेषगरी, कृषि, उद्योग, विज्ञान तथा प्रविधि, चिकित्सा, इन्जिनियर, लगायतका प्राविधिक क्षेत्रसँग सम्बन्धित विषय पढ्दा बेरोजगार पनि बन्न नपर्ने र पढाइ सकिएपछि व्यवसायिक करिअरको पनि शुरुवातको शुनिश्चित हुने देखिन्छ । त्यसैले, एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुले उच्च प्राविधिक शिक्षा उन्मुख विषयहरु नै रोजेर अध्ययन गर्दा सैद्धान्तिक विषयको तुलनामा उत्तम हुने विज्ञहरुको सुझाव छ । शिक्षा क्षेत्रका अभियन्ता तथा युवा राजनीतिकर्मी मिलन पाण्डेले कामसँग जोडिएका धेरै विषय भएको भन्दै औसत भन्दा राम्रो करिअर बनाउने हो भने ग्राफ खिचेर पढ्न विद्यार्थीहरुलाई सुझाव दिन्छन् । ‘पाँचवर्ष र सातवर्षमा के–के विधाको विकास हुनुपर्छ होला, विगतमा फिल्म समिक्षक निकै चलेको थियो, सायद अबको पाँचवर्ष पछि सामाजिक सञ्जालको समीक्षा गर्ने कामको निकै माग हुन्छ होला, आइटीमा सबैभन्दा बढी राम्रो छ, धेरै विधाहरु छन्, जसको लागि राम्रो शिक्षक र मेन्टरको सहयोग लिन आवश्यक हुन्छ’, पाण्डेले सुझाव दिन्छन् । त्यस्तै, स्टार्टअप विज्ञ रञ्जित आचार्यले समाजको आवश्यकतालाई बुझेर पढ्न सक्दा पनि छिटो करिअर बनाउन सकिने सुझाव दिन्छन् । ‘समाज के हो ? समाजको आवश्यकता के छ ? समाजले के खोजिरहेको छ ? के–के विषयमा उत्पादन र उद्यमको आवश्यकता छ भन्ने विषयमा थाहा पाउन सकिन्छ, आजको युवा पुस्ताले यो बुझ्न जरुरी छ’, आचार्यले नयाँ पुस्ताका युवाहरुलाई सुझाव दिएका छन् ।
मनाङ एयर दुर्घटना : ५ जना विदेशीसहित ६ जनाकै मृत्यु
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ । सोलुखुम्बुको लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको कल साइन ९ एन एन एमभी हेलिकप्टरमा सवार क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना विदेशीसहित ६ जनाकै मृत्यु भएको हो । उक्त हेलिकप्टर मंगलबार बिहान लुक्लाबाट काठमाडौंका लागि उडेको थियो । हेलिकप्टर उडेको करिब डेढ घण्टामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । क्याप्टेन चेतबहादुर गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक थिए ।
नेपाल बैंकले सटर भाडामा लागेको जरिवाना मिनाहा गर्ने, सल्टायो व्यवसायीबीचको विवाद
गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा-९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ । बैंकको प्रादेशिक कार्यालय पोखराको त्यहाँका व्यवसायीले सहमतिअनुसारको भाडा नतिरेको दाबी एवं व्यवसायीले कोभिड-१९ को समयमा घोषित भाडा छुटको निर्णय कार्यान्वयन नभएको गुनासोबीच विवाद बढिरहेको थियो । विवाद बढ्दै जाँदा बैंकले भाडा असुलीका लागि कानुनी बाटो समात्दै ऋणीहरूको नाम सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको थियो । बैंकले बक्यौता बुझाउने अन्तिम मिति यही असार २५ गते ११ बजेसम्मलाई तोकेपछि त्यहाँका व्यवसायीले सहजीकरणका लागि पोखरा उद्योग वाणिज्य सङ्घमा रहेको हेल्पडेक्समा लिखित आग्रह गरेका थिए भने बैंक व्यवस्थापन पनि सहजीकरणका लागि पोखरा उद्योग वाणिज्य सङ्घको मध्यस्थता स्वीकार्दै वार्तामा बस्न राजी भएको थियो । समस्या समाधानका लागि नेपाल बैंकका सहायक कार्यकारी निर्देशक प्रकाशकुमार अधिकारी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति तथा महासचिव बलराम आचार्य, बैंकका सहायक कार्यकारी निर्देशक अधिकारी, गण्डकी प्रदेश प्रमुख सचिता पराजुली, व्यवसायीबीचको छलफलपछि सहमति गरिएको हो । सहमतिअनुसार व्यवसायीले कोभिड-१९ को अवधिमा दिने भनिएको छुटबाहेकको भाडा रकममध्येको न्यूनतम ५० प्रतिशत असार २६ गते र बाँकी असार ३१ गतेसम्म बुझाउने सहमति गरिएको छ । यसमा २०७७ सालमा बढाइएको भाडा र त्यसमा लगाइएको जरिवाना समावेश नगर्न पनि बैंक र व्यवसायी राजी भएका छन् । यस्तै, वैज्ञानिक भाडादर कायम एवं भाडा समायोजन सम्झौताअनुसार वृद्धि हुनुपर्ने भाडादरमा लागेको जरिवाना मिनाहा गर्नका लागि पोखरा उद्योग वाणिज्य सङ्घ, व्यवसायी र बैंकको पोखरा कार्यालयले केन्द्रीय कार्यालयमा लिखित अनुरोध पठाउने सहमति भएको छ । म्याद समाप्त भएका व्यावसायिक फर्महरूको नवीकरणको अनुरोध गर्ने, कुनै पनि रकम भुक्तानी नगर्ने व्यावसायिक फर्महरूका सम्बन्धमा नियमानुसार कानुनी कारबाही अघि बढाउने, अन्य कुराको हकमा व्यवसायी र बैंकबीच २०७५ साउन १५ मा भएको सम्झौताअनुसार अगाडि बढ्ने सहमति गरिएको छ । सहमतिमा बैंकका प्रतिनिधि तथा व्यवसायी दुवै पक्षबाट हस्ताक्षर गरिएको जनाउँदै पोउवा सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले सहमति कार्यान्वयनमा सहजीकरणका लागि क्रियाशील रहने बताए । रासस
लगानीमैत्री वातावरण नहुँदा विदेशी लगानी फर्किन थाले : सांसद श्रेष्ठ
काठमाडाैं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु लगानीको सुनश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको उनले बताए । अहिलेको सरकार र गठबन्धनका दलहरुले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको आरोप लगाएका छन् । ‘चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका र उनीहरुले उत्पादन गरेका विद्युत बिक्रीको सुनिश्चितता नभएको भन्दै चिनियाँ लगानीकर्ताहरु फर्किन थालेका छन्’, सांसद श्रेष्ठले भने । स्वदेशमा आइसकेको लगानी पनि उपयोग गर्न नसकेर फिर्ता हुने अवस्था सिर्जना गर्नु राष्ट्रघात भएको श्रेष्ठको भनाई छ ।
मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, एक जना बेपत्ता
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । क्याप्टेनसहित ६ जना रहेको उक्त हेलिकप्टरमा हालसम्म ५ जनाको सब फेला परेको छ भने बाँकी एक जना बेपत्ता रहेका छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । मंगलबार बिहान लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । क्याप्टेन चेतबहादुर गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक रहेको खुलेको छ । अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।