विकासन्युज

एनआईसी एशिया बैंकले पाँच जना ग्राहकलाई दियाे ५० लाख बीमा भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो । चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोलेका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारीलाई रकम हस्तान्तरण गरिएको हो । लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त रकम प्राप्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  बैंकको बीमा सहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकलाई ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनाले ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

इक्यानको अध्यक्षमा चार जनाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं । असार ३० गते हुन लागेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचनमा अहिलेसम्म चार जना आकांक्षीहरुले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । इक्यानका पूर्व अध्यक्ष विष्णुहरी पाण्डे, वर्तमान उपाध्यक्षहरु शेषराज भट्टराई, कृष्णहरी केसी र देवीदास भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका हुन् । शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संगठनको रुपमा स्थापित इक्यानको आगामी नेतृत्वमा को आउला भन्ने विषयलाई अहिले निकै चासोका साथ हेरिएको छ । अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी घोषणा गरेको भएपनि प्यानल बनाएर विष्णुहरी पाण्डे र शेषराज भट्टराईले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्यानको तर्फबाट पदाधिकारी तथा सदस्यमा आकांक्षी रहेका व्यक्तिहरुले उम्मेदवारी समेत घोषणा गरिसकेका छन् । त्यसैले, मुलतः संगठन र सदस्यको आधारमा हुने मतविभाजनको अनुमान गर्दा नेतृत्वमा विष्णुहरी पाण्डे र शेषराज भट्टराईबीचमा नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । चारैजनाले व्यवसायीहरुसँग मत माग्नको लागि आ–आफ्ना चुनावी एजेन्डा अगाडि सारेका छन् । अध्यक्षका उम्मेदवार विष्णुहरी पाण्डेले आफूले विगतको कार्यकालमा संस्थाको लागि गरेको राम्रो काम र त्यसको निरन्तरताको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले आगामी दिनमा इक्यानको आफ्नै भवन बनाउने, इक्यानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लगायतका महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् । त्यस्तै, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेषराज भट्टराईले संस्थाको थप गतिशिलतामा टेवा पुर्याउन आफ्नो नेतृत्वको सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण लगायतका विषयमा आफ्नो भूमिका रहने दावी गरेका छन् । सदस्यमैत्री इक्यान, बैंकमा रहेको इक्यानको पैसाको सदुपयोगमा आफ्नो एजेन्डा रहेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका देवीदास भट्टराईको भनाइ छ । स्वतन्त्र मतदाताहरुको मत नै आफ्नो जित्ने आधार रहेको उनले बताए । ‘मलाई मतदाताहरुले लामो समयदेखि चिन्दै आएका आउनुभएको छ, मैले सदस्यदेखि दुइपटक उपाध्यक्षसम्म निर्वाचित भएर इक्यानको निम्त काम गरेको छु’, उनले भने । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कृष्णहरी केसीले प्यानलको निर्माण नगरीकन अध्यक्ष पदमा मात्रै एक्लैले उम्मेदवारी घोषणा गरेका छन् । केसीले आफूले स्वतन्त्र प्रतिस्पर्धामा विश्वास गर्ने एउटै पदमा व्यक्ति दोहोरिरहनु हुँदैन भन्ने मान्यता रहेको बताए । ४६७ जना सदस्य संख्या रहेको इक्यानको निर्वाचनले २६ जना पदाधिकारी तथा सदस्य निर्वाचित गर्नेछ । साथै, नयाँ कार्यसमिति निर्माणसँगै सल्लाहकारको नयाँ बोर्ड र निवर्तमान अध्यक्षहरुको काउन्सिल समेत निर्माण हुनेछ ।

व्यवसाय समस्यामा परेपछि धमाधम विदेशिदै व्यवसायी

चितवन । कोभिड– १९ र त्यसपछि आर्थिक तरलतामा आएकाे संकुचनका कारण उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य भएको उनीहरूको भनाइ थियो । विगत वर्षदेखि व्यवसायमा देखिएको समस्याका कारण यहाँको व्यवसाय छाडेर विदेश जान खोज्ने र जाने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासका सहरमा चलिरहेका व्यवसाय अहिले बिक्रीमा राखेको देख्न सकिन्छ भने कतिपयले व्यवसाय छाडेर सटर भाडामा दिन लागेको देखिन्छ । उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष चुननारायण श्रेष्ठका अनुसार अहिले सात व्यवसायी व्यवसाय बन्द गरेर विदेश पलायन भएका छन् । यहाँको व्यवसाय बन्द गरेर उनीहरु विजनेश भिसामा विदेश पलायन भएको उनले बताए । अहिले १२ उद्योगी व्यवसायीले औपचारिकरुपमा फार्म बन्द गर्नका लागि निवेदन दिएका छन् । उनले भने, ‘आर्थिक मन्दी र बैंकको चर्को ब्याजका कारण नयाँ काम गर्ने वा पुरानै कामलाई निरन्तरता दिन सक्ने स्थिति छैन ।’ मुख्य बजार क्षेत्रमा समस्या कम भए पनि बजार विस्तार हुँदै गएका नयाँ ठाउँमा समस्या बढ्दो मात्रामा रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । सरकारले मौद्रिक नीतिलाई खुकुलो बनाउन नसक्दा व्यवसायी विदेश पलायन हुन थालेका हुन् । उनले थपे,’ठूला उद्योग तथा व्यवसायी अस्तित्वका कारण सञ्चालनमा आएका छन् । सानाको अवस्था नाजुक बन्दै गएको छ ।’ सञ्चालनमा आएका उद्योगले समेत आफ्नो उत्पादन र कर्मचारी कटौती गर्दै लगेका छन् । उद्योग वाणिज्य सङ्घका अनुसार सञ्चालनमा आएका उद्योगले समेत ४० प्रतिशतभन्दा बढी उत्पादन गर्न छाडेका छन् । क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दा राज्यलाई कर घाटा र व्यवसाय सञ्चालनमा समस्या पर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । जिल्ला उद्योग वाणिज्य सङ्घमा दर्ता भएर व्यापार व्यवसाय गर्दै आएका चार हजार सदस्यमध्ये अहिले धेरैको अवस्था दयानीय बन्दै गएको छ । अटोमोबाइल, पोल्ट्री क्षेत्र, कङ्क्रिट उद्योग, खाद्यन्न उद्योग, निर्माण व्यवसायीजस्ता उद्योग त्यसको प्रत्यक्ष मारमा परेका छन् । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले अहिलेसम्म ३० प्रतिशत उद्योग बन्द भएको बताए । यो क्रम बढ्दो रहेको उनले जानकारी दिए । सङ्घमा आवद्ध भएका एक हजार दुई सय सदस्यमध्ये ३० प्रतिशत उद्योग बन्द भएको उनको भनाइ थियो ।अध्यक्ष कँडेलले भने, ‘उद्योगधन्दा बन्द हुने क्रम बढ्दै छ, नयाँ खुल्ने क्रम न्यून छ ।’ उनले अगाडि थपे ‘बैंकको ब्याजदर बढ्नु र आर्थिक तरलताले उद्योग बन्द हुने क्रम अझै बढ्दै जाने देखिन्छ ।’ उद्योगी तथा व्यवसायी आफ्ना उद्योग तथा व्यवसाय बन्द गरेर विदेशिने क्रमसँगै रोजगारीको अवसर गुम्ने र लाखौँ युवा जनशक्ति विदेशिन बाध्य हुने अवस्था आउने भन्दै अध्यक्ष कँडेललले यसलाई रोक्न राज्यको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताए । बैंकहरुले ब्याजदर घटाएर एक अङ्कमा ल्याउनुपर्ने, सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न ध्यान दिनुपर्नेलगायत काम गर्न जरुरी रहेको उनको भनाइ थियो । रासस

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा  १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए । रासस

कुमारीपाटीमा खुल्यो ‘प्लस साइज’ को नयाँ आउटलेट, १०० जना भन्दा धेरैलाई रोजगारी

काठमाडौं । प्लस साइज नेपालको तेस्रो आउटलेट कुमारीपाटीमा खुलेको छ । बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा सुरुवात गरेको हो । काठमाडौंको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो । सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ । विष्णु बोहोराले १०० जना भन्दा धेरैलाई रोजगारी दिएर नेपालभर आफ्नो ब्राण्ड फैलाइरहेका छन् । प्लस साइज नेपालले आफ्नै डेलिभरी सेवा गुडविल लजिस्टिक पनि सञ्चालन गर्दै आएको छ । देशका अति दुर्गम बाहेक सहरी क्षेत्रभरी होम डेलिभरी सेवा समेत दिँदै आएको छ । ‘हामीसगँ सबै प्रकारका लेडिज कपडाहरू छन् । यो बाहेक बजारमा नपाइने ठूला साइजका लेडिज कपडा हामीकहाँ उपलब्ध छन्,’ उनले भने। कोभिड १९, लकडाउन, आर्थीक मन्दी, तरलताको अभाव, बैंकको चर्को ब्याजदरका बाबजुद रातदिनको मिहिनेतले व्यापारमा सफलता हासील गरेको बताए । प्लस साइज नेपालमा हाल देशभरीबाट प्रति दिन २०० भन्दा धेरै अर्डरहरु आइरहेका छन् भने पसलबाटै पनि राम्रो प्रतिक्रिया सहितको व्यापार भइरहेको उनी बताउँछन् । यसका साथै प्लस साइज नेपालले लेडिजहरुका लागि वान स्टप सोलुसन भन्दै ब्युटि प्रोडक्ट सँगै लुगाको व्यापार गर्दै आएको छ ।

अर्थमन्त्रीको टिप्पणी- बैंकमा लगानी गरेका उद्योगीले मात्रै ऋण पाउँछन्, बैंकरले मिलेमतोमा ब्याजदर तोक्छन

फाइल तस्वीर काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले बैंक तथा वित्तीय संस्थाले मिलेमतोमा ब्याजदर निर्धारण गर्ने गरेको टिप्पणी गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले मंगलबार काठमाडौंमा आयोजना गरेको आयोजनामा ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा बैंकहरुले ब्याजदरमा मिलेमतो गर्ने गरेको बताएका हुन् । बैंकर र उद्योगी एकै व्यक्ति हुन नहुने तर, नेपालका बैंकले एकअर्का बैंकमा लगानी भएका उद्योगी व्यवसायीलाई मात्रै कर्जा दिइरहेको टिप्पणी समेत अर्थमन्त्रीले गरेका छन् । ‘बैंकर र उद्योगी एकै हुनु हुँदैन । तर नेपालका बैंकहरुले एकअर्का बैंकमा लगानी भएका उधोगी व्यवसायीलाई मात्रै कर्जा प्रवाह गरिरहेका छन्’, अर्थमन्त्रीले महतले भने । त्यससँगै, बैंकहरुले कर्जा रकमको तुलनामा धेरै धितो लिने गरेको र बैंकहरुबीच स्वस्थ प्रतिस्पर्धा पनि हुन नसकेको अर्थमन्त्रीको भनाई छ । ‘बैंकहरुले मिलेमतोमा ब्याजदर तोक्ने गरेका छन । बैंकहरुमा स्वस्थ प्रतिस्पर्धा हुन जरुरी छ’, अर्थमन्त्री डा. महतले भने । मौद्रिक नीति खुलुलो आउने पनि अर्थमन्त्रीले बताए । मूल्य वृद्धी साढे ६ प्रतिशतमा झरेकाले पनि खुकुलो मौद्रिक नीति बनाउन सहज भएको उनको भनाई छ । कार्यक्रममा अर्थमन्त्री महतले छुट्टै नियामक निकाय स्थापना गरेर सहकारी संस्थाको नियमन गरिने बताएका छन् । त्यसका लागि छिट्टै नियामक निकाय स्थापना गरिने उनले बताए । अर्थमन्त्री महतले बजेटमा ल्याइएका कार्यक्रम तालिका बनाएर एक–एक कार्यान्वयन गर्ने दावी गरेका छन् । ‘बजेटमा उल्लेख गरिएका निर्णय बोल्नका लागि होइन, कार्यान्वयन गर्ने गरी निर्णय गरेको हो’, महतले भने ।

असारसम्म सावाँ-ब्याज तिरिसक्ने भाखा दिएका पियुस अमात्यले तिरेनन् ऋण

काठमाडौं । बैंकहरुलाई असार मसान्तसम्म ऋण तिरिसक्ने भाखा दिएका फुलबारी रिसोर्टका अध्यक्ष पियुसबहादुर अमात्यले ऋण तिर्न पुनः अटेर गरेका छन् । नेपाल बैंकले ऋण नतिरेको भन्दै रिसोर्टको जग्गा लिलामीको प्रक्रिया अगाडि बढाएपछि उनले नेपाल बैंकमा पुगेर असारसम्म ऋण तिरिसक्ने भन्दै लिलामीमा नचढाउन बैंकलाई आग्रह गरेका थिए । उनको आग्रहमा बैंकले लिलामी प्रक्रिया रोकेको थियो । तर, असारसम्म पनि उनले सावाँ–ब्याज नतिरेको बैंकले बताएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले असारसम्म सावाँ–ब्याज तिरिसक्ने प्रतिवद्धता जनाएपनि अमात्यले हालसम्म ऋण नतिरेको जानकारी दिए । सीईओ अधिकारीका अनुसार उनले प्रतिवद्धता जनाए अनुसार बैंकको किस्ता तिरेका छैनन् । ‘हामीले यसअघि नै लिलामीको प्रक्रिया अगाडि बढाउँदा उहाँ बैंकमै आएर अहिले लिलाम नगर्नुस्, म असारभित्रै सावाँ–ब्याज चुक्ता गर्छु भन्नु भएको थियो । तर, उहाँ त्यसपछि सम्पर्कमा आउनु भएन, अब हामी साउनदेखि कसरी अगाडि बढ्ने भनेर लाग्छौं, अहिले असार मसान्त भएर हामी रिकभरीमै केन्द्रित छौं,’ उनले विकासन्युजसँग भने । अध्यक्ष अमात्य बैंकको ऋण नतिर्ने भन्दै यसअघि अदालत समेत पुगेका थिए । तर, उच्च अदालतबाट अन्तरिम आदेश नपाएपछि नेपाल बैंकले सम्पत्ति बेच्ने तयारी अघि बढाएको थियो । उच्च अदालतका न्यायाधीशद्वय महेशप्रसाद पुडासैनी र नारायणप्रसाद पौडेलको इजालासले गत साउन १७ गते अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि नेपाल बैंकलाई ऋण असुलीका लागि बाटो खुलेको थियो । त्यसपछि अमात्य बैंकको शरणमा पुगेका थिए । फुलाबारी रिसोर्ट निर्माणका लागि लिएको ऋणको सावाँ-ब्याज गरेर झण्डै चार अर्ब रुपैयाँ अमात्यले तिर्नु पर्ने देखिएको छ । नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा ऋण लगानी गरेका थिए । सो रिसोर्टमा नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंक ३५ करोड र सञ्चय कोषको ३१ करोड रुपैयाँ लगानी गरेको थियो । नेपाल बैंकले असार ३ मा फूलबारी रिसोर्ट सञ्चालक अमात्य र उनकी श्रीमती गंगा अमात्यले लिखतनामा गरेको धितो लिलामीको सूचना समेत प्रकाशित गरेको थियो । बैंकको लिलामी प्रक्रियामा तीन/चार वटा ठूला व्यवसायिक घरानाले सहभागिता समेत जनाएका थिए । तर, अमात्यको आग्रहमा बैंक लिलाम गर्नबाट पछि हटेको थियो । बैंकको ऋण तिर्न नसकेका अमात्यले हालसम्म आयकर समेत नतिरेको बुझिएको छ । रिसोर्ट पुनः सञ्चालनको हल्ला फुलबारी रिसोर्टका अध्यक्ष अमात्यले आफुले बैंकको ऋण तिरेर होटललाई पुनः सञ्चालनको तयारी गरेको हल्ला पनि फैलाइरहेका छन् । उनले आफु निकटका होटल व्यवसायीहरुलाई अब चाँडै ऋण चुक्ता गरेर होटल पुनः सञ्चालनको सन्देश दिइरहेका छन् । ‘अमात्यजीले ऋण तिरिरहेको छु, अब छिट्टै होटल पनि सञ्चालन गर्छु भनिरहनु भएको छ,’उनी निकट एक होटल व्यवसायीले भने । फूलबारी रिसोर्ट अहिले बन्द छ । यसका संरचना खण्डहर अवस्थामा छन् । अब त्यसको पुननिर्माण गरेर होटललाई पुनः सञ्चालनको तयारी गरिरहेको स्रोतको दाबी छ । होटललाई पुननिर्माण गरेर सञ्चालन गर्न पनि उनले करोडौं खर्चिनु पर्ने देखिन्छ । सीईओ अधिकारीले भने अहिले होटल सञ्चालन गर्न सक्ने स्थिती नै नरहेको बताए । बैंकहरुका अनुसार २०५९ सालदेखिकै हिसावमा फर्किए सावाँ-ब्याजसहित अमात्यले २० अर्ब रुपैयाँ तिर्नु पर्ने हुन सक्छ । सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्षको घोषणा गरेको थियो । त्यसको अवसर पार्दै व्यवसायी अमात्यले पोखरामा ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वर्ल्ड’ भन्ने थिममा फूलबारी रिसोर्ट खोलेका थिए । रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको थियो । रिसोर्टमा १ सय ६५ कोठा थिए । तर, लगानी तथा सञ्चालन खर्च नै उठान नसकेपछि उनको डाउनफल सुरु भएको हो । होटल पूर्ण रुपमा बनेर सञ्चालन भए लगत्तै नेपालमा माओवादी सशस्त्र द्वन्द्वले उग्र रुप लिएको थियो । द्वन्द्वको बेलामा विदेशी पर्यटकको आगमन नाजुक भएपछि यो होटल आर्थिक संकटमा परेको हो । होटलले विगत दुई दशकदेखि आर्थिक संकट झेल्दै आएको छ ।

दुर्गा प्रसाईंलाई अपहरण र हत्याको धम्की, ३० करोड लिन जाँदा पक्राउ परे रमेश गुरुङ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईलाई अपहरण र हत्याको धम्की दिदै ३० करोड रुपैयाँ फिरौती माग गर्ने रमेश कुमार गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोले आजै गुरुङलाई पक्राउ गरेको हो । ३० करोड रुपैयाँ रकम माग गरी फिरौती लिन आएको अवस्थामा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । उनीमाथि अपहरण तथा शरीर बन्धक उद्योगमा मुद्दा लगाइने केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले बताए । गुरुङले प्रवेश लामाको नामबाट फोन गरी अपहरण गर्ने, हत्या गर्ने भन्दै फिराैती मागेका थिए । “हत्या गर्नको लागि योजना बनिसकेको, यदी सुरक्षीत हुन चाहनु हुन्छ भने रकम दिनु पर्ने हुन्छ, डिमाण्डको रकम उपलव्ध गर्नु भयो भने तपाईको जीवन बच्न सक्छ, तपाईको नाम २ नं.मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु ” भनी फोन तथा पटक पटक एसएमएस समेत गरेका भेटिएको प्रहरीले जनाएको छ । ३० करोड रुपैयाँ रकम माग गरी फिरौती लिन आएको अवस्थामा आजै रमेश कुमार गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी प्रहरी वृत महाराजगंज पठाईएको केन्द्रीय प्रहरी अनुसन्धान व्यूरोले जनाएको छ । ४० वर्षिया रमेश कुमार गुरुङ खोटाङ जिल्ला राहबेसी गाउँ पालिका वडा नम्बर १ स्थायी घर भएका व्यक्ति हुन् । उनी हाल काठमाडौं जिल्लाको चुनदेवीमा बस्दै आएका थिए । सम्बन्धित समाचार अर्बमा ठगी, करोडमा दान