विकासन्युज

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, प्रिन्सिपलसहित ३ जना पक्राउ

झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौं-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उनको भनाइ छ । मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मनोज गुरुङ विद्यालयका प्रिन्सिपल हुन् । सेप्टिक ट्याङ्कीमा डुबेका बालकको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भएको थियो । मृतकका आमा र बाबुले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कार्वाहीको माग गर्दै किानी जाहेरी दिएका थिए । गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रुपमा काम गर्दै आएका थिए । बालकको शव हाल बीएन्डसी अस्पतालमै राखिएको छ । रासस

सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च

वीरगन्ज । चालु आर्थिक वर्ष २०७९/८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन् । पर्सास्थित सरकारी कार्यालय तथा पालिकाको चालुतर्फ ११ अर्ब २६ करोड १९ लाख १४ हजार नौ सय ९६ रुपैयाँ मध्ये निकास हुने अन्तिम दिन असार २४ गतेसम्म १० अर्ब ७२ करोड ६४ लाख ३७ हजार छ सय १९ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए। यस्तै पुँजीतर्फ चार अर्ब ४१ करोड तीन लाख ८८ हजार चार सय ३८ रुपैयाँ मध्ये असार २४ गतेसम्म तीन अर्ब छ करोड ८५ लाख ९३ हजार ६४ रुपैयाँ निकासा भएको प्रमुख उप्रेतीले बताए । वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र सशर्त बजेट पाँच अर्ब ४४ करोड ५४ लाख ७९ हजार रुपैयाँ मध्ये असार २४ गतेसम्म पाँच अर्ब १८ करोड ६१ लाख २२ हजार नौ सय ५० रुपैयाँ निकासा भएको सो कार्यालयले जनाएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षमा पर्साका स्थानीय तहहरूले २५ करोड ९३ लाख ५७ हजार रुपैयाँ बजेट खर्च गर्न नसकेको देखिन्छ । वीरगन्ज महानगरपालिकालाई चालु आर्थिक वर्षको लागि एक अर्ब ५२ करोड एक लाख ५८ हजार रुपैयाँ रकम छुट्याइएकामा असार २४ गतेसम्म एक अर्ब ४७ करोड छ लाख ९० हजार रुपैयाँ निकासा भएको छ । वीरगन्ज महानगरको चार करोड ९४ लाख ६८ हजार रुपैयाँ  खर्च गर्न नसकेको कोलेनिकाले जनाएको छ । पर्साको पोखरिया नगरपालिकालाई उपलब्ध गराइएको ३६ करोड २२ लाख २९ हजार रुपैयाँ  मध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयले ३४ करोड ३६ लाख १० हजार रुपैयाँ रकम निकासा गरेको छ । पोखरिया नगरपालिकाको यस आर्थिक वर्षमा एक करोड ८६ लाख १९ हजार रुपैयाँ खर्च गर्न सकेको छैन । त्यसैगरी पर्सागढी नगरपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको ३२ करोड ९४ लाख ९६ हजार रुपैयाँ वार्षिक बजेटमा ३१ करोड ३४ लाख ७१ हजार रुपैयाँ  निकासा लिएको छ । पर्साको बहुदरमाई नगरपालिकाले सङ्घीय सरकारबाट पाएको ३९ करोड ६१ लाख छ हजार रुपैयाँ मध्ये ३७ करोड ६८ लाख ८१ हजार रुपैयाँ निकासा लिएको प्रमुख उप्रेतीले जानकारी दिए । पर्साको छिपरमाई गाउँपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको २९ करोड १९ लाख ३२ हजार रुपैयाँ मध्ये २७ करोड ५२ लाख दुई हजार रुपैयाँ मात्र निकासा भएको छ भने जगरनाथपुर गाउँपालिकाको लागि यस आवमा पठाएको ३१ करोड ६६ लाख ९८ हजार रुपैयाँ मध्ये २९ करोड ८१ लाख ८० हजार रुपैयाँ निकासा भएको जनाएको छ । धोविनी गाउँपालिकाले २३ करोड ९७ लाख ४३ हजार रुपैयाँ मध्ये २२ करोड ८९ लाख पाँच हजार रुपैयाँ निकासा लिएको छ भने पकाहामैनपुर गाउँपालिकामा सङ्घीय सरकारले पठाएको २२ करोड ३४ लाख २५ हजार रुपैयाँ मध्ये  २१ करोड १६ लाख ६२ हजार रुपैयाँ मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । पटेर्वासुगौली गाउँपालिकाले २९ करोड तीन लाख ६५ हजार रुपैयाँ रकममध्ये २८ करोड ६२ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ । विन्दवासिनी गाउँपालिकाले २५ करोड ३९ लाख ७९ हजार रुपैयाँ  मध्ये २४ करोड ३३ लाख ३४ हजार रुपैयाँ निकासा लिएको छ भने सखुवाप्रसौनी गाउँपालिकाको ३५ करोड ३८ लाख २४ हजार रुपैयाँ मध्ये ३३ करोड ४८ लाख १६ हजार रुपैयाँ निकासा भएको प्रमुख उप्रेतीले बताए । कालिकामाई गाउँपालिकामा सङ्घीय सरकारले दिएको २४ करोड १५ लाख ३९ हजार रुपैयाँ रकममध्ये २२ करोड ९६ लाख ५४ हजार रुपैयाँ निकासा लिएको छ भने जीराभवानी गाउँपालिकाले २७ करोड ४५ लाख २० हजार रुपैयाँ वार्षिक बजेटमध्ये २४ करोड २५ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको जनाएको छ । जिल्लाको पर्यटकीय नगरीका रूपमा परिचित ठोरी गाउँपालिकाले भने ३४ करोड २५ लाख ६५ हजार रुपैयाँ मध्ये ३३ करोड ३३ लाख ४० हजार रुपैयाँ निकासा लिएको कोलेनिकाले जनाएको छ । समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुजस्ता कारणले सरकारी कार्यालयको पुँजीगत खर्च घटेको हुनसक्ने प्रमुख उप्रेतीको भनाइ छ । रासस

दुर्गा प्रसाईंको २ अर्ब लगानी डुब्यो, मेडिकल व्यवसायपछि कृषिमा पनि असफल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले निकै तामझामका साथ सुरु गरेको सुर्यविनायक हरित कृषि थोक बजार पनि संकटमा परेको छ । व्यवसायी प्रसाईंले ‘कृषिमा क्रान्ति, नेपाल र नेपालीको उन्नती’ नारा दिएर सुरु गरेको सो कृषि बजार सञ्चालनमा आएको एक वर्षमै बन्द हुने अवस्था सिर्जना भएको हो । सुर्यविनायक हरित कृषि थोक बजार अपेक्षाकृत ढंगले सञ्चालन हुन नसकेपछि लगानी नै डुब्ने खतरा बढेको छ । मेडिकल व्यवसायीका रुपले चर्चित प्रसाईंले २०७८ चैतमा सो कृषि बजारको उद्घाटन गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कृषि बजारको उद्घाटन गराएका प्रसाईंले यो परियोजनालाई ‘माइलस्टोन’ परियोजनाका रुपमा चित्रण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका नेता ओलीलाई स्कटिङसहित रेड कार्पेटले स्वागत गरेका थिए । ओलीले पनि अब कृषि क्रान्ति नै हुने धारणा कार्यक्रममा राखेका थिए । भक्तपुरको सुर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजार देशकै ठूलो भएको प्रसाईंको दावी थियो । उद्घाटन कार्यक्रममा प्रसाईंले भनेका थिए, ‘यो परियोजनाले बिचौलियाको अन्त्य हुनेछ, किसानको उत्पादनले उचित मूल्य पाउने छ, हजारौंले रोजगारी पाउने छन्, यसको स्थापनाले १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्नेछ, यो देशले नै गर्व गर्न लायक परियोजना हो ।’ ३५ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजार अहिले वेवारिसे सरह छ । बजारले क्षमता अनुरुपको काम पाइरहेको छैन । एक हजार बढी स्टल रहेको उक्त बजारमा अहिले २ सय हाराहारीका स्टल मात्रै प्रयोगमा छन् । अन्य स्टलहरु बन्द छन् । व्यवसायी दुर्गा प्रसाईंले कृषि बजार सोचे अनुरुप सञ्चालन नभएको स्वीकार गरे । उनले केही माफियाहरुले आफुलाई सञ्चालन गर्न नदिएको आरोप लगाए । ‘यस्तै रहेछ, सोचे अनुरुप काम नहुने रहेछ, मलाई कसैको साथ मिलेन, नेपालमा गरिखान समस्या नै छ, जुन सोचका साथ सुरु गरेको थिएँ, त्यो हिसाबले कृषि बजार सञ्चालन हुन सकेन,’ निराश हुँदै उनले भने । उनले कृषि कर्जा बैंकका सञ्चालकले मात्र चलाएको र खास किसानहरु रोजगारीका लागि खाडी जानु परेको आरोप पनि लगाउँदै आएका छन् । उनी आफुलाई बैंक तथा वित्तीय संस्थाले साथ नदिएको पनि गुनासो गरिरहेका छन् । नगरपालिका भन्छ : समन्वय गर्दा गर्दै पनि सकिएन व्यवसायी प्रसाईंले भक्तपुरको सुर्यविनायक नगरपालिकाको आदर्श चोक नजिकै कृषि बजारको स्थापना गरेका छन् । आफ्नो क्षेत्राधिकारभित्र भएकोले पनि नगरपालिकाले प्रसाईंलाई धेरै सहयोग गरेको सुर्यविनायाक नगरपालिकाका सूचना अधिकारी अनिरुद्र नेपाल बताउँछन् । सूचना अधिकारी नेपालका अनुसार नगरपालिकामार्फत् हुन सक्ने सहयोग गरिए पनि तरकारी बजारले प्रगति गर्न सकेको छैन । ‘दुर्गा प्रसाईंले तरकारी बजारमा धेरै लगानी गर्नु भएको छ, उहाँको लगानी देखेर हामीलाई पनि डर लाग्छ, लगानी अनुसारको प्रतिफल पाइरहनु भएको छैन, बजार चलेकै छैन, ग्राहकको उपस्थिती न्यून छ, स्टलहरु खाली छन्, हामीले समन्वय गर्दा गर्दै पनि काम हुन सकेको छैन,’ नेपालले विकासन्युजसँग भने । उनका अनुसार एक हजार बढी स्टल रहेको तरकारी बजारमा करिब दुई सय स्टल मात्रै सञ्चालनमा छन् । बाँकी सबै स्टलहरु बन्द अवस्थामा छन् । प्रसाईंलाई सघाउ पुगोस् र मार्केटिङ पनि होस् भन्ने उद्देश्यले केही समयअघि नगरपालिकाले सोही ठाउँमा ३ दिने कृषि मेलाको आयोजना पनि गरेको बताउँदै त्यसले पनि खासै ठूलो प्रभाव नपारेको उनको भनाइ छ । व्यापारीहरुले सो बजारमा बस्न नमानेपछि एक वर्षमा तीन महिनाको भाडा नलिने स्कीम पनि प्रसाईंले दिएका छन् । नगरपालिकाले फुटपाथका व्यापारीहरुलाई सो बजारमा राख्ने योजनाका साथ प्रसाईंसँग सम्झौता गरेको थियो । तर, त्यो स्कीमले पनि व्यापारीहरुलाई तान्न नसकेको नगरपालिका बताउँछ । ३५ रोपनी क्षेत्रफलमा फैलिएको सो तरकारी बजारको आधा जग्गा प्रसाईंकै भएको बुझिएको छ भने आधा जग्गा भाडामा हो । हाल सो तरकारी बजारको व्यवस्थापनको जिम्मेवारी दुर्गा प्रसाईंका भाई राकेश प्रसाईंले सम्हालिरहेका छन् । स्वाथ्यपछि कृषिमा पनि असफल मेडिकल व्यवसायीका रुपले चर्चित दुर्गा प्रसाईंले बिएण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा पनि लगानी गरेका छन् । मेडिकल कलेज र क्यान्सर अस्पतालपछि उनको यो ठूलो परियोजना हो । सुरुमा सानो-तिनो कृषि गरेर उदाएका प्रसाईंले पछि स्वास्थ्य क्षेत्रमा हात हाले । मेडिकल कलेज र क्यान्सर अस्पताल स्थापना गरेपछि उनको व्यवसायिक जीवन उज्वल हुन सक्ने र उनले स्वास्थ्य क्षेत्रमा राज गर्न सक्ने अनुमान धेरैले गरेका थिए । तर, त्यो अनुमानले फेल खाएको छ । उनी मेडिकल व्यवसायमा असफल भइरहेका छन् । विशेष गरेर सरकारले बि एण्ड सी मेडिकल कलेजलाई अनुमति नदिएपछि उनको स्वास्थ्य क्षेत्रको लगानीले ठक्कर खाएको हो । त्यसपछि बैंकहरुले पनि उनलाई पत्याउन छाडे । अन्ततः उनी बैंक तथा वित्तीय संस्था र सरकार विरुद्द अभियान नै चलाएर सडकमा उत्रिए । बैंक तथा वित्तीय संस्थाहरुले उनले लिएको साढे ५ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरिरहेका छन् । स्वास्थ्य क्षेत्रपछि उनले कृषिमा हात हाले । धेरैले उनको तयारी देखेर अब प्रसाईंले कृषिमा क्रान्ति नै गर्ने प्रक्षेपण गरेका थिए । उनले नारा नै ‘कृषिमा क्रान्ति, नेपाल र नेपालीको उन्नती’ राखेका थिए । धेरैले एउटा माइलस्टोन परियोजनाका रुपमा यसलाई लिएका थिए । तर, उनको यो कृषि व्यापार पनि नचलेपछि उनी समस्यामा परेका हुन् । उनले कृषि क्षेत्रमा पनि ठक्कर खाएका हुन् । यो परियोजनामा गरेको उनको २ अर्ब लगानी डुब्ने खतरा छ । सम्बन्धित सामग्री : अर्बमा ठगी, करोडमा दान

‘बैंकको कर्मचारी हुँ’ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर लाखौँ रकमान्तर

काठमाडौं । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको पाइएको हो । यसरी उनले अहिलेसम्म ११ लाख १२ हजार आठ सय रुपैयाँ रकमान्तर गरी ठगी गरेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले सुरुमा पीडितलाई मोबाइलबाट फोन सम्पर्क गरी विभिन्न बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै बैंक खातासँग वालेट आइडी लिङ्कअप, खाता नवीकरण, केवाइसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ गरिदिने आश्वासन दिए । त्यसो गर्दा पैसा नलाग्ने र राम्रो बोनस प्राप्त हुने गरी काम गरिदिने भनी लोभ देखाएर विश्वासमा पारे । त्यसपछि पीडितहरूकै बैंक खातालगायत, ओटिपी कोडसमेत मागी खातामा पहुँच पुर्याएर अन्यत्र बैंक खाता तथा वालेटहरूमा पैसा रकमान्तर गरेको फेला परेको रेग्मीले बताए । उक्त घटनामा जाहेरी परेपछि उनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमार्फत थप अनुसन्धान गरिरहेको छ । रासस

प्राविधिक शिक्षाका लागि एसईईपछि सिटिइभिटी हुनसक्छ सजिलो विकल्प

काठमाडौं । विद्यालय शिक्षाको महत्वपूर्ण ढोका एसईईको नतिजा केही दिन अगाडि आइसकेको छ । एसईई पछि अब के पढ्ने भन्ने विषयमा धेरै विद्यार्थीहरुको उत्सुकता छ । कसैले साथीभाईसँग, कसैले शिक्षक र कसैले अभिभावकसँग यी विषयमा पक्कै छलफल गरिरहेका छन् । एसईई उत्तिर्ण भएका विद्यार्थीहरुले विद्यालयमा कक्षा ११ र १२ को विकल्पमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेको विभिन्न प्राविधिक विषय पढेर पनि आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्छन् । सिटिइभिटीले कक्षा ११ र १२ कै सरहको शैक्षिक मान्यता पाउने गरी तीन वर्षे डिप्लोमा कोर्षका विभिन्न प्राविधिक विषयहरुको डिजाइन गरेर थुप्रै विद्यालय तथा कलेजहरुलाई पठनपाठनको लागि स्वीकृति दिएको छ । त्यस्तै, सिटिइभिटीले १८ महिना पढेर सकिने प्रि–डिप्लोमा तहका औद्योगिक प्रशिक्षार्थी तालिम कोर्ष पनि सञ्चालन गर्दै आएको छ । सिटिइभिटीले सञ्चालन गर्ने यी दुबै कोर्षहरु पाठ्यक्रम, पाठ्यपुस्तक सहित समय तालिकाअनुसार नै पढाइ हुन्छ । एसईई पछि सिधै छोटो अवधिको सिपयुक्त तालिम लिएर काममा लाग्न चाहनेहरुलाई लक्षित गरेर पनि सिटिइभिटीले निजी तालिम प्रदायक संस्थालाई पनि स्वीकृति दिन्छ । जुन कार्यक्रम देशैभरी विभिन्न निजी संस्थाहरुले सञ्चालन गर्ने गर्छन् । पछिल्लो समयमा सैद्धान्तिक भन्दापनि व्यवहारिक, प्राविधिक एवं जीवनउपयोगी शिक्षाको महत्व बढ्दै गएको छ । सिटिइभिटीले डिप्लोमा तहको कार्यक्रमका लागि ४९, प्रि–डिप्लोमा तहको कार्यक्रमका लागि ३३ र छोटो अवधिको व्यवसायिक तालिमको लागि २७४ र इलेक्ट्रोनिक सिकाइ सामग्री २९८ वटा तयार पारेको छ । त्यस्तै, सिटिइभिटीले २७ वटा व्यवसायिक क्षेत्रको सीप परीक्षण र ३११ वटा विषयमा पेशा वा व्यवसायको राष्ट्रिय सीप प्रमाणिका दिने गरेको छ । कहाँ पढ्न पाइन्छ र कति लाग्छ शुल्क ? गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार सिटिइभिटीले देशैभरी ६५ वटा आफ्ना आंगिक शिक्षालय सञ्चालन गरेको छ । त्यस्तै, ५२ वटा साझेदारीमा, ६३६ वटा सामुदायिक विद्यालय र ४२२ वटा निजी संस्थाहरुले सिटिइभिटीका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । यसरी सिटइभिटीका प्राविधिक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाहरु सबै प्रदेशमा फैलिएका छन् । सिटिइभिटीले प्राविधिक शिक्षाको क्षेत्रमा ठूलो संख्यामा शैक्षिक कार्यक्रम निर्माण गरेको हुँदा विद्यार्थीहरुलाई रोज्ने धेरै विकल्पहरु पनि रहेका छन् । जस्तै, विद्यार्थीहरुले डिप्लोमा तर्फ स्वास्थ्य, इन्जिनियरिङ, कृषि, हस्पिटालिटी लगायतका विषयमा ३३ वटा विषय रोजेर अध्ययन गर्न सक्छन् । त्यस्तै, प्रि–डिप्लोमा तर्फ इन्जिनियरिङ, कृषि, अप्रेन्टिसिप, हस्पिटालिट लगायतका २३ वटा विषय मध्ये छानेर अध्ययन गर्न पाइने सुविधा रहेको छ । सिटिइभिटीले आंगिक, सामुदायिक र साझेदारी प्रतिष्ठानहरुमा डिप्लोमा र प्रि–डिप्लोमा अध्ययन गर्दा लाग्ने शुल्क पनि निर्धारण गरेको छ । जसमा प्रि–डिप्लोमा अन्तर्गत कृषि र हस्पिटालिटी तथा होटल म्यानेजमेन्ट विषय अध्ययन गर्दा आंगिकमा १५ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ५५ हजार रुपैयाँ शुल्क लाग्छ । प्रि–डिप्लोमाकै इन्जिनियरिङ अध्ययन गर्दा आंगिकमा २२ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ६५ हजार रुपैयाँ लाग्ने सिटिइभिटीले जनाएको छ । त्यस्तै, प्रि–डिप्लोमाको व्यवस्थापन र अन्य प्राविधिक विषयमा भने आंगिक शिक्षालयमा १८ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानहरुमा ५५ हजार शुल्क लाग्छ । डिप्लोमा अन्तर्गत कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, स्वास्थ्य, हस्पिटालिटी र व्यवस्थापन तथा अन्य विषयहरु आंगिक शिक्षालयमा अध्ययन गर्दा क्रमशः ८५ हजार, ९८ हजार, एक लाख ६० हजार र ९९ हजार शुल्क लाग्छ । त्यस्तै सामुदायिक र सरकारी अनुदान प्राप्त हुने साझेदारी प्रतिष्ठानमा अध्ययन गर्दा क्रमशः एक लाख ७५ हजार, एक लाख ९० हजार र एक लाख ७५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यस्तै, सरकारी अनुदान प्राप्त नभएका साझेदारी प्रतिष्ठानहरुमा इन्जिनियरिङ डिप्लोमा अध्ययन गर्दा दुई लाख पाँच हजार शुल्क लाग्ने सिटिइभिटीले जनाएको छ । डिप्लोमा र प्रि–डिप्लोमा अध्ययन गरेपछि सिटिइभिटीले विद्यार्थीलाई प्रमाणपत्र पनि उपलब्ध गराउने गर्छ । तीनवर्षे डिप्लोमा कोर्ष अध्ययन गरेका विद्यार्थीहरुले सोही विषयमा विश्वविद्यालयको स्नातक तह पनि अध्ययन गर्न सक्छन् भने प्रि–डिप्लोमाको तालिमलाई पनि सरकारी तथा गैह्र सरकारी निकायहरुले मान्यता दिने गरेका छन् । त्यस्तै, विभिन्न निजी संस्थाहरुबाट छोटो अवधिको तालिम लिएकाहरुलाई पनि राष्ट्रिय सीप परीक्षण समितिले सिप परीक्षण गरेर सर्टिफिकेट प्रदान गर्ने गर्छ ।

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्रीकी पत्नी सीता दाहालको निधनपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

पर्यटक लोभ्याउँदै कास्कीको अर्मलाकोट गाउँ

कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ । गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुङ्गेघर नै हो । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ । यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुग्नुभएका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ग भएको बताउए । ‘हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो’, उनले भने, ‘यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।’ पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताए । उनका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन । बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने अध्यक्ष गुरुङले सुनाए । ‘अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ’, उनले भने, ‘पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षात्को समयमा पनि पाहुनको कमी भएको छैन ।’ पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताए । यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ । महेन्द्रगुफाबाट करिब दुई घन्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उनले बताए । हामस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उनले बताए । साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ । रासस

केराका थामबाट हस्तकलाका सामग्री, ९ सय जनालाई रोजगार

स्याङ्जा  । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री बनाउन सिकाएको प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिए । गाउँपालिकाले ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित बृहत्रूपमा केराखेती गरेर फल उत्पादन गर्ने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ । पाण्डेले गण्डकी प्रदेशको नवप्रवर्द्धन साझेदारी कोषअन्तर्गत स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालनका लागि  एक करोड ४० लाख रुपैयाँ र कालीगण्डकी गाउँपालिकाको ६० लाख रुपैयाँ लागत अनुमान गरिए पनि करिब ५३ लाख रुपैयाँ खर्च भएको बताए । यसका लागि गण्डकी प्रदेश सरकारको ३६ लाख ५० हजार रुपैयाँ र कालीगण्डकी गाउँपालिकाको १५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । ‘योजना सम्झौता भएयता २९ नागरिकले केराका थामबाट मुडा, चप्पल, चकटी, गलैँचा, पातबाट दुुनाटपरी, धागो बनाउने काम सिक्दै आएका छन्, पछिल्लो समय गलैँचा र खादा बनाउने तालिम चलिरहेको छ’, उनले भने, ‘गाउँपालिकाका सबैले यो काममा चासो देखाएका छन्, अन्य पालिकाले समेत आएर सिक्ने वातावरण बनेको छ ।’ प्रमुख प्रसासकीय अधिकृत पाण्डेले नवप्रवर्द्धन साझेदारी कोषअन्तर्गत गाउँपालिका तीन विद्यालय र ९० किसानलाई २० हजार केराका बेर्ना वितरण गरिएको जानकारी दिए । उनले प्रत्यक्ष–अप्रत्यक्षरूपमा करिब नौ सय जनालाई रोजगार दिने गरी योजना अगाडि बढाएको दाबी गरे । गाउँपालीका कृषि शाखा प्रमुख अनुप पौडेलले सानो लगानीमा केही गरौँ भन्ने हुटहुटी भएकालाई तालिम फलदायी भएको बताए । उनले पाखोबारीमा खेरा गएका सामग्री प्रयोग गरेर आम्दानीको स्रोत बनाउने अभियान चलाइएको बताए । ‘स्थानीय तहका नागरिकले महसुुस गर्ने गरी पालिकाले विभिन्न स्वरोजगारमूलक कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिएको छ’, प्रमुख पाण्डेले भने, ‘हस्तकला सामग्री निर्माण गर्न तालिम दिइएको छ, तालिमपश्चात ठूलो सङ्ख्यामा स्वरोजगार बन्ने गाउँपालिकाको अपेक्षा छ ।’ हस्तकलाको तालिममा सहभागी स्थानीय दिलसरा थापाले ज्ञानको अभावमा फालिएका केराका थाम उपयोग गरेर आयआर्जन गर्न सकिने विश्वास पलाएको बताए । ‘केरामात्र खाइन्थ्यो, थाम फालिन्थ्यो, अत्यावश्यक सामान बन्छ भन्ने थाहा थिएन’, थापाले भने, ‘यस्ता खेरा जाने वस्तु उपयोगमा ल्याएर स्वरोजगार बन्न सकिने रहेछ ।’ गण्डकी प्रदेश सरकार र कालीगण्डकी गाउँपालिकाबीच २०७९ पुस १७ गते सम्झौता भएको योजनाको काम गत चैत ९ गतेदेखि सुरु भएको थियो । गत जेठ ३२ गतेभित्र सक्ने सम्झौता भए पनि असार मसान्तसम्मका लागि लम्ब्याइएको प्रशासकीय अधिकृत पाण्डेले बताए । प्रशिक्षण र परामर्शको काम नेपाल हस्तकला महासङ्घले गरेको हो । रासस