विकासन्युज

व्यवसायी सराफले क्रिप्टोमार्फत् गरे १ अर्ब भुक्तानी

काठमाडौं । ६१ किलोग्राम सुन प्रकरणमा सुनचाँदी व्यवसायी शिव कुमार सराफ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआईबी)ले ६१ केजी सुन प्रक्रणमा संलग्न रहेको भन्दै व्यवसायी सराफलाई पक्राउ गरेको जनाएको छ । त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको सीआईबीले बताएको छ । व्यवसायी शिव कुमार सराफ सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष हुन् । सीआईबीका अनुसार व्यवसायी सराफ सुन किनबेचमा संलग्न रहेका थिए । उनले सुन खरिद गरेवापत् भारतबाट भुक्तानी गरेका थिए । उनले क्रिप्टोमार्फत् सुन खरिद गरेको रकम भुक्तानाी गरेको सीआईबीले बताएको छ । क्रीप्टोमार्फत् उनले १ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको बुझिएको छ ।

सुन तस्करको लागि खडा गरिएका सात कम्पनी, कुन कुन ? (सञ्चालकसहित)

काठमाडौं । सुन तस्करको लागि विभिन्न ७ वटा कम्पनी, गोदाम तथा स्टोर खडा भएको देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तथ्यांक अनुसार ६०.७१६ किलो सुन प्रकरणमा विभिन्न स्थानका ७ वटा कम्पनी तथा गोदाम खडा गरिएको पाइएको हो । जसमा बाँसबारीको छुगक इलेक्ट्रिक सप्लायर्स काठमाडौं रहेको छ । जसको सञ्चालकमा लेखनाथ कार्की डोली रहेका छन् । त्यस्तै, चाबहिलको गोपिकृष्ण पारीको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि पनि सुन तस्करको लागि खडा गरिएको थियो । जसको सञ्चालकमा राम कुमार भुजेल रहेका छन् । सामाखुसीको ह्वाडा इलेक्ट्रिक सप्लायर्स, वाँसवारीकिो पवाटी ईलेक्ट्रिक सप्लायर्स र लाजिम्पाटस्थित हात्तिगौडाको दोलखा इलेक्ट्रिक सप्लायर्स पनि संलग्न देखिएको छ । जसको संचालक क्रमशः राम बहादुर भुजेल र बिकुन्द्र भुजेल रहेका छन् । त्यसैगरी, बालुवाटारको रेडी ट्रेड प्रा.लि र बुढानिलकण्ठको सरिता सप्लायर्स सुन तस्करको लागि खडा गरिएको सीआईबीको अध्ययनले देखाएको छ । यी दुई कम्पनीको सञ्चालकमा क्रमशः दिलिप भुजेल र सरिता तामाङ रहेका छन् । कुन कुन ?

हुन्डाई एक्स्टर सार्वजनिक, बुकिङ खुला चाँडै

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो सो २०२३ मा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट अनावरण गराएको एसएक्स भेरियन्टको  हुन्डाई एक्स्टर- एसयूभी चाँडै नै अरु भेरियन्टसहित बिक्री सुरु गर्ने जनाएको छ । हुन्डाई एक्स्टर ५ सिटर कम्प्याक्ट एसयूभी हो, जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहनेछ । कम्पनीले ई, एस, एसएक्स, एसएक्स (०) गरी चार भेरियन्टमा हुन्डाई एक्स्टर ल्याउनेछ । हुन्डाई एक्स्टरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्क्रिन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिने कम्पनीले जनाएको छ । हुन्डाई एक्स्टरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रिक सनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्री जस्ता फिचर दिएर फुल्ली लोडेड एसयूभी बनाइएको छ । बक्सी डिजाइनमा रहेको एक्स्टरमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन, अलोय ह्विल, फ्यसचरिस्टिक डिजाइन, एच आकारमा आकर्षक डीआरएल्स दिइएको छ । १८५ एमएम ग्राउन्ड क्लियरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिने तथा कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउने जारी विज्ञप्तिमा उल्लेख छ ।

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

काठमाडौं । सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा विक्रेताहरुलाई  ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन् । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा विक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ । सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताको पहिलो चरणमा चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, विजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ । सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्ने कम्पनीले जनाएको छ । ‘यो सफ्टवेयर खुद्रा विक्रेताका लागी व्यापार वृद्धि र व्यवस्थापनका लागि माइलस्टोन हुनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

तस्करहरुले ३०२ किलो सुन ल्याएको देखियो : सिआईबी

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले तस्करहरुले विभिन्न समयमा गरी कुल ३०२ किलो सुन नेपाल भित्र्याएको देखिएको बताएको छ । ब्यूरोले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ६१ किलो सुन ल्याउने समूहकले विभिन्न समयमा ३०२ किलो सुन ल्याएको देखिएको बताएको हो । सीआईबी प्रमुख किरण बज्राचार्यले विभिन्न समयमा सो परिमाणको सुन आयात गरिएको देखिएको बताइन् ।

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

म्याग्दी । गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम अघि बढाइएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जालीले यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विद्युतीय अभिलेख राख्ने काम सकिएको बताए । ‘कास्कीको यातायात कार्यालयका सबै सवारी साधनको फाइल तथा ढड्डालाई ‘स्क्यान’ गरेर सफ्टवेयरमा राखेपछि सेवा प्रवाह सुधारका लागि प्रभावकारी बनेको पाइयो’, उनले भने, ‘यस वर्ष बागलुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको फाइल र ढड्डालाई डिजिटलाइजेसन गर्न लागेका छौँ ।’ कास्कीको यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर नमूना र परीक्षणका लागि देशमै पहिलो पटक सवारी साधनको विद्युतीय अभिलेख राखिएको थियो । चालुु आर्थिक वर्षमा बागलुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको अभिलेख डिजिटलाइजेसन गर्न  दश/दश लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए । ‘बागलुङमा तीस हजार र नवरपुरमा १५ हजार सवारी साधन दर्ता भएका छन्’, उनले भने, ‘यस वर्ष दुुवै कार्यालयलाई सवारी साधनको ढड्डा र फाइलमुक्त बनाउने तयारीमा छौँ, डुम्रेमा दर्ता भएका सवारी साधनको सङ्ख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत डिजिटलाइजेशन हुन्छ ।’ प्रवक्ता पौडेलका अनुसार कास्कीमा सवारी चालक अनुुमतिपत्रसँग सम्बन्धित फाइल र ढड्डालाई पनि डिजिटलाइजेसन गर्न चालु आर्थिक वर्षमा दश लाख विनियोजन गरिएको छ । तीन लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखेको यातायात कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिज्यालले बताए । ‘फाइल र ढड्डा खोज्दा धेरै समय लाग्ने भएकाले सेवाग्राहीलाई मर्का परेको थियो’, उनले भने, ‘अहिले सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौँ लाइन बस्नुुपर्ने समस्या हटेको छ ।’ फाइल र ढड्डा खोज्दा हुुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको छ । पुराना फाइल सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न थालिएको छ । सफ्टवेयरमा सवारी साधनको नम्बर, कम्पनी, रङ, बीमा, सवारी धनीको नाम, ठेगाना, सम्पर्क नम्बर लगायतका विवरण राखिएको छ । सफ्टवेयरमा कर निर्धारण गर्ने बिधा थप गर्न र क्षमता विस्तारको तयारी गरिएको मन्त्रालयले जनाएको छ । गण्डकीमा सबैभन्दा बढी पोखराको यातायात कार्यालयमा सवारी साधन दर्ता हुने गरेका छन् । आव २०७९/८० मा ११ हजार, २०७८/८० मा १९ हजार र २०७७/७८ मा ३४ हजार सवारी साधन दर्ता भएका थिए । सो कार्यालयले गत आवमा दुई अर्ब पाँच करोड साठी लाख ४८ हजार दुई सय ६४ राजस्व सङ्कलन गरेको थियो । रासस

६१ किलो सुन प्रकरण : साढे ३ अर्ब बिगो दावीसहित ५० जना विरुद्ध मुद्दा, ५ कम्पनीमार्फत् कारोबार

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६०.७१६ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिल कार्यालय समक्ष सुझाव दिएको बताएको छ । ब्यूरोले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५० जनालाई प्रतिवादी बनाएर ३ अर्ब ५० करोडको बिगो दावी माग गरिएको बताएको हो । ब्यूरोका अनुसार हालसम्म ३२ जना पक्राउ परेका छन् । जसमा २३ जना विदेशी र ९ जना नेपाली रहेका छन् । ती व्यक्तिहरुले पाँच वटा कम्पनी खडा गरेर सुन ल्याउने गरेका खुलेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले सुन ब्रेक सुमा लुकाएर ल्याएको जानकारी दिइन् । अवैध सुन ल्याउने कार्यमा ताइवान, हङकङ, चीन र भारत लगायतका देशका नागरिकको संलग्नता देखिएको प्रमुख बज्राचार्यकाे भनाइ छ । नेपाल प्रहरीसँग भएका सबै प्रविधि प्रयोग गरेर अनुसन्धान गरिएको ब्यूरोको भनाइ छ । अनुसन्धान अझै जारी रहेको बुझिएको छ । बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती अमला रोक्कालाई पनि प्रहरीले प्रतिवादी बनाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । तस्करहरुले विभिन्न समयमा गरी कुल ३०२ किलो सुन नेपाल भित्र्याएको देखिएको बताएको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले विभिन्न समयमा सो परिमाणको सुन आयात गरिएको देखिएको बताइन् । ६०.७१६ किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ ।

रोयल इन्फिल्डको सस्तो मोटरसाइकल आयो, हन्टर ३५० को मूल्य ४ लाख ५९ हजार

काठमाडौं । रोयल इन्फिल्डको हालसम्मकै सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० नेपाल भित्र्याइएको छ । हन्टर ३५० मंगलबार नाडा अटो शोमा सार्वजनिक गरिएको छ । यो मोटरसाइकल दुई भेरियन्टमा उपलब्ध छ । एउटा भेरियन्टलाई रेट्रो र अर्कोलाई मेट्रो भनिएको छ । कलर अनुसार मूल्य फरक पर्ने कम्पनीले जनाएको छ । मोटरसाइकलको मूल्य ४ लाख ५९ हजार रुपैयाँ तोकिएको छ। यस्तै अर्को मोडलको मूल्य ४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यो बाइक नेपालमै एसेम्बल गरिएको हो । रोयल इन्फिल्डको जे-प्ल्याटफर्ममा बनाइएको बाइकमा ३४९ सीसी क्षमताको सिंगल-सिलिन्डर इन्जिन छ । यो इन्जिनले २०.२ वटा घोडाको जति हर्सपावरका साथ २७ एनएमको क्षमता उत्पादन गर्छ । यो मोडल क्लासिक ३५० को भन्दा १७ किलो हलुका छ । अर्थात वजन धेरै कम छ । यसो हुँदा यसलाई चलाउन सहज हुनेछ । यसमा रहेको टायरको ह्वीलबेस १३७० एमएमको छ । जुन यसको पहिलेको मोडलमा भएको भन्दा २० एमएम सानो हो । बाइकमा सिट पनि आरामदायी छ। यसमा सिटको उचाइ ८०० एमएम छ। कम्पनीले पहिलेको मोडलको तुलनामा यसमा धेरै फिचर थपेको छ । जस्तै ह्वील सस्पेन्सन जसले टायर र बाइकलाई सडकमा चलाउँदा ब्यालेन्स गर्ने काम गर्छ । यस्तै ह्यान्डल बार पनि यसमा उपलब्ध छ । यसैगरी ट्युबलेस टायर छ । यो बाइकमा २७० एमएमको रियर डिस्क ब्रेक र उक्त ब्रेकमा डुअल-च्यानल एबीएस अर्थात एन्टी-लक ब्रेकिङ सिस्टम छ । जसले बाइकको पाङ्ग्रालाई आपतकालीन, प्यानिक अवस्थमा वा कडा ब्रेकिङ अवस्थामा लक हुनबाट रोक्छ । यसले ब्रेकिङ सिस्टमलाई ब्यालेन्स गर्ने कम्पनीले जनाएकाे छ । दुईवटा भेरियन्टमा केही फरक इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छन् । मेट्रोमा एलईडी टेल-ल्याम्प र रेट्रोमा पुरानै हलोजन बल्ब र थप स्लीक, स्टाइलाइज रियर ग्रेब रेल छन् । यो अलि आधुनिक रुपमा डिजाइन गरिएको मोटरसाइकल हो । यसमा एलईडी सूचक, फ्लाईस्क्रिन, टुरिङ सिट, क्र्यास प्रोटेक्सन, एक सम्प गार्ड र साइड-बक्स समावेश छन् ।