काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६०.७१६ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिल कार्यालय समक्ष सुझाव दिएको बताएको छ । ब्यूरोले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५० जनालाई प्रतिवादी बनाएर ३ अर्ब ५० करोडको बिगो दावी माग गरिएको बताएको हो ।
ब्यूरोका अनुसार हालसम्म ३२ जना पक्राउ परेका छन् । जसमा २३ जना विदेशी र ९ जना नेपाली रहेका छन् । ती व्यक्तिहरुले पाँच वटा कम्पनी खडा गरेर सुन ल्याउने गरेका खुलेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले सुन ब्रेक सुमा लुकाएर ल्याएको जानकारी दिइन् ।
अवैध सुन ल्याउने कार्यमा ताइवान, हङकङ, चीन र भारत लगायतका देशका नागरिकको संलग्नता देखिएको प्रमुख बज्राचार्यकाे भनाइ छ ।
नेपाल प्रहरीसँग भएका सबै प्रविधि प्रयोग गरेर अनुसन्धान गरिएको ब्यूरोको भनाइ छ । अनुसन्धान अझै जारी रहेको बुझिएको छ ।
बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती अमला रोक्कालाई पनि प्रहरीले प्रतिवादी बनाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
तस्करहरुले विभिन्न समयमा गरी कुल ३०२ किलो सुन नेपाल भित्र्याएको देखिएको बताएको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले विभिन्न समयमा सो परिमाणको सुन आयात गरिएको देखिएको बताइन् ।
६०.७१६ किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ ।