आज मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती
काठमाडौं । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।
काठमाडौं र ललितपुरका यी क्षेत्रमा ३ दिन विद्युत् अवरूद्ध हुने
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलिदेखि ३ दिन बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ३ वटा प्रसारण लाइन ३ दिन सट डाउन गर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको हो । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिनेछ । यस्तै, ६६ केभी स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ। प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत ६६ केभी पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के ३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्नेछ । त्यस्तै, ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ । ६६ केभी स्युचाटार के३ सटडाउन गरिँदा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित र बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ ।
१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिहरुको आवश्यकता रहेको भएपनि विदेश जाने पद्धतीले समस्या निम्त्याएको दाबी गरे । सरकारले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताउँदै उनले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिषी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्नुपर्ने भनाई राखे । उनले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको बताए । ‘विदेशमा पठाउने कन्सलट्यान्सीहरुले विदेशमा गए सबै कुरा समाधान हुनेगरी विज्ञापन गरी रहेका छन्, तर विदेशमा जानेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्ने छैन, विदेशमा जानेहरु ठूलो समस्यामा हुनुहुन्छ, स्वदेश फर्कन वा बस्नु भन्ने समस्याहरु छन्, नेपालमा नै धेरै ठूलो श्रम शक्तिको माग रहेको छ, नेपालको शिक्षक बन्न चाहेका छैनौं, विदेशमा शिक्षक बन्ने कुरा फरक कुरा हो, १२ कक्षा पास गर्ने वितिकै विदेशमा जाने ट्रेनलाई रोक्न अभियान थाल्नुपर्छ, नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने पक्षमा सरकार पनि रहेको छ, आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउँछ, यो विषयमा सरकार गम्भिर छ, देशको आर्थिक स्रोत कम छ तर आवश्यकताहरु धेरै छ, सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्न सक्दैन, सरकारले जुन देशले जे दिए पनि वैदेशिक सहयोग लिने कुरा छाड्नुपर्छ,’ उनले भने । सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि प्राथमिकताका आधारमा लगानी गर्न आवश्यक रहेको बताउँदै उनले वैदेशिक लगानी मुलुकको हीतको लागि भए÷नभएको हेरेर मात्रै लिने नीति लिन आवश्यक रहेको बताए ।
सीजीले ल्यायो ५६ हजारसम्म बचत हुने योजना, देशभर लागू हुने
काठमाडौं । सीजी ब्राण्डले ‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’ नामक नयाँ योजना शुरु गरेको छ । इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दशैं र तिहारको अवसरमा उक्त चाडपर्व योजना ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नेछन् । ग्राहकले ५६ हजार चार सय रुपैयाँसम्म बचत गर्ने अवसर पाउने छन् । सीमित समयको लागि दिइएको यस योजना गत भदौ २५ गतेदेखि नेपालभर लागू गरिएको छ । साथै, ग्राहकले मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने छन् । सीजी ब्राण्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा यो योजना लागू हुने बताइएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई भारतको अस्पतालमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले भारतको अपोलो हस्पिटलस इन्टरप्राईजेजको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बुधबार बैंक र भारतस्थित उक्त अस्पताबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा सो मात्राको छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । अपोलो हस्पिटलस् इन्टरप्राईजेजका भारतको विभिन्न ९ स्थानमा रहेका हस्पिटलका नेटवर्कहरुमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राईजेजका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कार्त्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् । सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरुसंगको यो दोश्रो सम्झौता हो । यसअघि बैंकले भारतस्थित मेदान्त-द मेडिसिटी अस्पतालसंग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यस्ता सहकार्यबाट हाल यस बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले पाउनेछन् ।
२० वर्षदेखि नियमित लाभांश दिइरहेको एभरेष्ट, मर्जर बिनै सेयरधनीलाई उच्च प्रतिफल दिने रणनीति
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ । यससँगै लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा दोस्रो बैंक एभरेष्ट बनेको छ । बैंकले यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९मा बैंकले सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरि कूल २५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७३/७४ मा ३३ प्रतिशत बोनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ७० प्रतिशत बोनस र ३.६७५ प्रतिशत नगद गरि कूल ७३.६७५ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा ३० प्रतिशत बोनस र ६.५७ प्रतिशत नगद गरि कूल ३६.५७ प्रतिशत लाभांश र आर्थिक वर्ष २०७०/७१ मा १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल ६२ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत बोनस सेयर र ५०.५३ प्रतिशत नगद गरि कूल ६०.५३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०६८/६९ मा ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश र आर्थिक वर्ष २०६७/६८ मा १० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले विगत २० वर्षदेखि नियमित रुपमा लाभांश दिँदै आएको छ । अन्य बैंकहरु बिग मर्जरमा गएपनि एभरेष्टले भने मर्जरको कुनै तयारी नगरेको बताएको छ । बैंकले मर्जर बिनै सेयरधनीलाई उच्च प्रतिफल दिने रणनीतिका साथ काम गरिरहेको छ । एभरेष्ट बैंक, २०५१ साल कात्तिक १ गतेदेखि सञ्चालनमा आएको हो । मुलुकमा वैदेशीक संयुक्त लगानीमा बैंकहरु सञ्चालनमा आइरहेको समयमा निरन्तर, बलियो र भरपर्दो नारा सहित याे बैंक सञ्चालनमा आएको हो । पञ्जाब नेशनल बैंक र नेपालीहरुको संयुक्त लगानीमा सञ्चालनमा रहेको बैंकको नेतृत्व हाल सुदेश खालिङले गरिरहेका छन् भने बैंक सञ्चालक समितिको नेतृत्व बिके श्रेष्ठले गर्दै आएका छन् । बैंकले नेपाली सीईओलाई पाएपछि एक किसिमको ग्रोथ गर्दै आएको छ । पछिल्लो समय खराब कर्जा बैंकरको टाउको दुखाइको विषय बनेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताको प्रत्यक्ष असर बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । व्यवसायीले समयमै सावाँ ब्याज नतिर्दा बैंकहरुको खराब कर्जाको अनुपात बढ्दै गएको छ । केही बैंककाे खराब कर्जा ४.७७ प्रतिशतसम्म पनि पुगेको छ । तर, एभरेष्ट बैंक कम खराब कर्जा गर्नेकाे पहिलाे नम्बरमा छ । जसको खराब कर्जा ०.७९ प्रतिशत छ ।
ऊर्जामा खर्बौं डलर लगानी आवश्यक, सस्तोमा ऋण दिन इप्पानको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ । बुधबार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसंग आग्रह गरेका हुन् । इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत आयोजनाको सरकारले विद्युत खरिद विक्री सम्झौता (पीपीए) नै खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए । ‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत उत्पादनको रणनीति लिएको छ । नेपाली बैंकहरुले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन् ।’ कार्कीले भने- ‘किनभने अहिले नै २ हजार ६०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण सरकारले पीपीए खारेज गरेको अवस्था छ ।’ एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोंजेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, सामाज र सरकार (ईएसजी) लाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए । २०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले आइएफसीका मापदण्ड र इएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने पनि विश्वास व्यक्त गरे । इप्पानका उपाध्यक्ष आशिष गर्गले नेपालको जलविद्युत उत्पादन र उपयोगको तथ्याङ्क प्रस्तुत गर्दै आयोजना विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताए । उनले निर्माण भइसकेका करीब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधिन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना (४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने) मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्याङ्क प्रस्तुत गरे । पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उनको भनाइ छ । त्यस्तै, सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने पनि गर्गले बताए । इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत आयोजनामा सस्तो ब्याजदरको दीर्घकालिन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे । एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासंग मिलेर संयुक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृव लिन लामाले आग्रह गरे । एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५० मिलियन डलर (साढे ६ अर्ब रुपैयाँ भन्दा बढी) ऋण जलविद्युतमा लगानी गरेको छ । त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २१६ मेगावाटको अपर त्रिशुली-१ जलविद्युत आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ । छलफलमा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की सहित वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, उपाध्यक्षहरु आशिष गर्ग, आनन्द चौधरी र उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, सल्लाहकार मनोज गोयल र मोतीलाल दुगड लगायत सहभागी थिए । एफएमओका तर्फबाट सीईओ माइकल सहित म्यानेजर जेसुन हान, वरिष्ठ लगानी अधिकृत आर्नो डे भेट्टे र एसिया क्षेत्रको ऊर्जा हेर्ने म्याथ्यू रिबेइरो-नोर्ले छलफलमा सहभागी थिए ।
वित्तीय क्षेत्र दीर्घकालिन बनाउन ईएसजी सर्टिफिकेसन कोर्स सुरुवात
काठमाडौं । नेपालको वित्तीय क्षेत्र दीगो बनाउन नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालको आयोजनामा मुभिङ टुवार्ड्स सस्टेनेबल फाइनान्सिङ इन नेपाल कार्यक्रम सम्पन्न भएको छ । वित्तीय क्षेत्र दीर्घकालिन बनाउन, वर्तमान अवस्थाको मुल्याङ्कन र समाधान गर्दै अघि बढ्ने बारे कार्यक्रममा छलफल भएको हो । साथै, ईएसजी सर्टिफिकेसन कोर्सबारे केन्द्रित भएर छलफल भएको बैंकर्स संघले जनाएको छ । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वर्तमान परिवेशमा दीर्घकालिन वित्तको सान्दर्भिकता र महत्व रहेको बताए । बैंक तथा वित्तीय संस्था मात्रै नभई सरोकारवाला दीर्घकालीन रूपमा लाभान्वित हुने उनको भनाइ छ । दीर्घकालिन वित्तमा बैंकर्स संघको दीर्घकालीन लक्ष्य रहेको उनले बताए । पर्यावरण व्यवस्थापन केन्द्र (ईएमसी) भारतका प्रबन्ध निर्देशक डा.प्रसाद मोदकले नेपालका बैंकहरुमा ईएसजी कार्यान्वयनको वर्तमान अवस्था, उपलब्धी र सुधार गर्नुपर्ने पक्षकाबारे जानकारी गराए । दीर्घकालिन वित्तसँग सम्बन्धित विविध पक्षलाई समेट्दै अन्तर्राष्ट्रिय अभ्यासबारे बार्सिलोना स्कूल अफ म्यानेजमेन्टका प्रा.डा.मार्कोस इगुइगुरेनले सुझाव दिए । नेपाल राष्ट्र बैंककी कायमुकायम गभर्नर डा.निलम ढुंगाना तिम्सिना र एफएमओका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले संयुक्त रुपमा बैंकर्स संघले इन्भेष्टमेन्ट अफ इम्प्याक्ट नेपालको सहकार्यमा पोम्पेउ फर्बा यूनिभर्सिटी बार्सिलोना स्कूल अफ म्यानेजमेन्टद्वारा संचालन गर्ने ईएसजी कसर्टिफिकेसन कोर्सको सुरुवातको घोषणा गरे । उक्त पाठ्यक्रम तीनवटा प्रमुख स्तम्भको ऐतिहासिक विकास र महत्व, नियमनकारी ढाँचा र व्यावहारिक पक्षहरुलाई समेटेर तयार गरिएको छ । दीर्घकालिन वित्तसम्बन्धी ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादन गर्न कोषेढुंगा सावित हुने बिश्वास लिईएको छ ।