एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । भदौ २७ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै मेमोरिज विथ फादर सेयर द जोय नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ह्यास बाबारआमा पनि राखेर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ । सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई हुमन फिटको ५००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।
नाडा अटो शोको दोस्रो दिन : यी गाडीमा देखियो मान्छेको आकर्षण
काठमाडौं । मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो-२०२३’ भृकुटीमण्डपमा भव्य रूपमा सञ्चालन भइरहेको छ । लामो समयपछि भएको उक्त अटो शोमा दिनानुदिन अवलोकनकर्ताहरुको संख्या बढ्दो छ । विभिन्न कम्पनीहरूले अटो शो लक्षित गरेर नयाँ गाडी पनि सार्वजनिक गरेका छन् । जसले गर्दा नयाँ गाडी किन्न चाहनेहरूको लागि यो शो उपलब्धिमूलक हुने विश्वास लिएको छ । यस वर्षको अटो शो ईभीमय नै भयो भन्दा फरक नपर्ला । विभिन्न कम्पनीहरूले ईभी गाडीलाई नै प्राथमिकता दिँदै प्रदर्शनीमा गाडी राखेका छन् । जसले गर्दा पनि ईभी गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । नाडा अटो शोको पहिलो दिन नै धेरै कम्पनीहरूले नयाँ गाडीको अनावरण गरिसकेका छन् । शोमा टाटा मोटर्स, सुजुकी, हुन्डाई मोटर्स, किया, एमजी मोटर, बीवाईडी लगायतका कम्पनीहरूले शोमा नयाँ मोडलका गाडी राखेका छन् । दुई र चार पाँग्री नयाँ सवारी साधनको प्रदर्शनीले अटो शोमा रौनक थपेको छ । अवलोकनकर्ताको आकर्षण विद्युतीय गाडी प्रति नै भएको भएको देखिन्छ । अवलोकनकर्ता राम शर्मा पनि अटो शोमा आएर विद्युतीय गाडी नै खोजेको बताउँछन् । ‘पछिल्लो समय मान्छेहरू ईभी गाडी किनेर कुदाएको देख्छु, त्यही भएर मैले पनि ईभी गाडी किन्ने सोच बनाएर आएको छु, केही गाडी हेर्यो तर मूल्य अलिक बढी भए जस्तो लाग्यो, गाडी चाहिँ शोको अवसर पारेर किन्ने हो, यहाँ किन्दा डिस्काउन्ट पनि पाइएला,’ उनले भने । भदौको ३१ गतेसम्म सञ्चालन हुने उक्त अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकको संख्या पनि बढ्दै गएको गाडी व्यवसायीहरू बताउँछन् । अटो शोको आकर्षणको केन्द्र बनेको ईभी गाडी राखिएको स्टलमा मानिसहरूको घुइँचो पनि बाक्लो थियो ।
व्यावसायिक फूल खेतीबाट आम्दानी गर्दै युवा, टिकटक स्पोर्ट बनाएर मनग्य आम्दानी
देउखुरी । लहरै रोपिएका सयपत्री फूलका बिरुवा कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यावसायी दशरथ साउद ।वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन् । उनको फूल खेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन् । भास्करसँगै व्यवसायमा जोडिएका प्राविधिक सहायक दशरथले फूल खेतीको प्रविधिक पक्ष हेर्ने गरेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लाग्नुभएका दशरथले फूल खेती अवलोकन गर्न आउनेहरूलाई प्राविधिक ज्ञान दिने गरेका छन् । कपिलवस्तुमा पाँच वर्षपहिले देखि फूल खेती गरिसकेका भास्कर र दशरथले दुई वर्षअघि देखि दाङमा व्यावसायिक फूल खेती विस्तार गरेका छन् । दाङको घोराही–१५ भरतपुरमा १७ कट्ठा र घोराही–१२ शिवपुरमा १३ कट्ठा जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक फूल खेती गरेका छन् । गत वर्ष तिहारको समयमा फूलमात्रै १३ लाखको बिक्री गरेको दशरथले बताए । तिहारभन्दा पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पोर्ट’ बनाएर पाँच लाख आम्दानी गरेको उनले बताए । यसपालि एकै याममा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ । गत वर्ष कर्मा पाँच सय ५५ जातको सयपत्री फूल खेती गरेका थिए भने यसपालि ‘कर्मा त्रिपल एक ओरेन्ज’, ‘कर्मा त्रिपल आठ एल्लो’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन् । एक लाख तीन हजारको बीउ किनेर बेर्ना राखेको दशरथले बताए । सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेको उनले जानकारी दिए । उनले भने, ‘यसपालि दुई लाख बिरुवा बेर्ना बिक्री भैसक्यो, बिरुवाको जात हेरेर दुईदेखि ५० सम्ममा बिक्री हुने गरेको छ, बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ ।’ कपिलवस्तुमा पहिलेदेखि नै फूल खेती भइरहेको तथा यस वर्षदेखि कोहलपुर र कैलालीमा फूल खेती विस्तार गरिएको उनले बताए । युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्करको भनाइ छ । बेरोजगार युवाहरूलाई कृषिमा जोड्ने उद्देश्यले उक्त फार्मको नाम नै एक सय आठ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको उनले बताए । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने उनी बताउछन् । यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेकाले उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने उनको धारणा छ । फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले विभिन्न जिल्लामा क्षेत्र विस्तारको योजना रहेको भास्करले बताए । रासस
सिभिल क्यापिटल मार्केटको साधारण सभा सम्पन्न
काठमाडौं । सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा बुधबार सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । यस सभाले सिभिल क्यापिटल मार्केटलाई हिमालयन क्यापिटलले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ । कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति क्यापिटलले धन्यवाद व्यक्त गरेको छ । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ ।
शिक्षा सम्बन्धी विधेयक : शिक्षकलाई आन्दोलनमा प्रतिबन्धदेखि राजनीति गर्न रोक
फाइल फाेटाे काठमाडौं । ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ संसदमा दर्ता भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमा विधेयक दर्ता गरेका हुन् । नयाँ विधेयकमा विद्यालयका शिक्षकलाई विभिन्न प्रदर्शन तथा हड्ताल गर्न निषेध, शिक्षण बाहेक अन्य व्यापार व्यवसाय गर्न नपाउने, दान उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुनेदेखि बहुविवाह गर्न नहुनेसम्मका व्यवस्थाहरु राखिएको छ । उक्त विद्येयकको दफा ७३ मा शिक्षकहरुलाई राजनीतिक क्रियाकलापमा संग्लन हुनमा रोक लगाइएको छ । ‘शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमिा भाग लिन, राजनीतिक पदको लागि हुने निर्वाचनामा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने तर आफूले पाएको मतदानको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ’, उक्त दफामा भनिएकोे छ । विद्यालयको काम र विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव पार्न सक्ने गरी कुनै शिक्षकले स्थानीय तहको पूर्व स्वीकृति विना आफूुले वा आफ्नो परिवारको कुनै सदस्यद्धारा कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा विद्यार्थी र तिनका अभिभावकसँग सापटी वा सहयोग लिन नहुने व्यवस्था यस दफामा गरिएको छ । यस्तै, शिक्षकले स्थानीय तहको पूर्व स्वीकृति बिना कुनै बैंक, कम्पनी वा सहकारी संस्थथा स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानून बमोजिम दर्ता गराउनु पर्ने कुरै व्यापार वा व्यवसाय गर्न नहुने व्यवस्था गरिएको छ । यसबाट शिक्षकको अन्यत्रको संलग्नताको कारण शिक्षण सिकाइलाई असर पुर्याउने अवस्था आउन हुँदैन । शिक्षकले आफ्नो विद्यालयको काममा बाहेक अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नमा रोक लगाईएको छ । उक्त कार्यमा रोक लगाएपनि राष्ट्रिय जनगणना, निर्वाचन, विपद् कार्यमा उद्धार वा यस्तै प्रकारका नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले तोकेको अन्य कुनै काममा संलग्न हुन पाउने व्यवस्था दफामा राखिएको छ । प्रदर्शन र हड्तालमा प्रतिबन्ध उक्त विद्येयकले शिक्षकलाई विभिन्न प्रदर्शन तथा हट्ताल गर्न रोक लगाएको छ । शिक्षकले प्रदर्शन गर्न, बन्द हड्तालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न, घेराउ गर्न, दबाब दिन, पठनपाठन बन्द गर्न वा अन्य कुनै तरिकाबाट बालबालिकाको पढ्ने अधिकारमा बाधा पु–याउन वा सो कार्य गर्ने उद्देश्यले अरुलाई उक्साउन समेत नपाउने व्यवस्था गरिएको छ । यस्तैगरी शिक्षकलाई बहुविवाहमा समेत रोक लगाईएको छ । बहुबिवाह प्रचलित कानून बमोजिम दण्डनीय भएकोले यस्तो कार्य गर्ने शिक्षकलाई विशेष सजाय हुने व्यवस्था ऐनमा गरिएको छ । शिक्षकले विद्यार्थी र अरू कसैप्रति यौनजन्य दुर्व्यवहार गर्नु हुँदैन भनेर यस्ता कार्यलाई आचरणमा समावेश गरिएको छ । कुनै पनि शिक्षकले छात्रछात्रा माथि लैङ्गिक हिंसा र दुर्व्यवहार जस्तो कार्य नगरुन भनेर नै प्रचलित कानून बमोजिम सजाय हुने विषयसमेत आचरणमा समावेश गरिएको छ । शिक्षकले विद्यार्थीलाई कुटपिट गर्न र कसैलाई पनि शारीरिक वा मानसिक यातना दिनु हुँदैन । अध्यापन सम्बन्धी कार्य गर्दा सिकाइलाई प्रभावकारी बनाउन यातना रहीत बालमैत्री वातावरणमा सिकाउनु पर्ने हुन्छ । त्यसैले यातना सम्बन्धी विषयलाई आचरणमा समावेश गरिएको छ ।
लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेप्सेमा सूचीकृत
काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार देखि सूचीकृत भएको छ । फण्डको ८ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । नेप्सेमा एलभीएफ आईआई नामबाट फण्डको इकाईहरु आउदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
स्थानीय तहले तोके अनुसार निजी विद्यालयले शुल्क लिन पाउने, सार्वजनिकमा छुट
काठमाडौं । सरकारले निजी लगानीमा सञ्चालित विद्यालयले स्थानीय तहले तोके अनुसारको शुल्क लिन पाउने व्यवस्था गरेकाे छ । संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ मा सो व्यवस्था समावेश गरिएको हो । उक्त विद्येयक अनुसार सार्वजनिक विद्यालयले विद्यार्थीसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । ‘निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही शुल्क लिन सक्ने व्यवस्था यस दफामा गरिएकोे छ, यसबाट शैक्षिक व्यवस्थापनमा सहजीकरण हुनुका साथै निजी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्य प्रभावकारी रुपमा हुन जानेछ’, उक्त विद्येयकमा भनिएको छ । यस्तैगरी उक्त विद्येयकमा ऐनको पालना नगर्ने विद्यालयको अनुमति रद्द गर्ने अधिकार स्थानीय तहलाई छ । ‘विद्यालयले यो ऐन वा यस ऐन अन्तरगत बनेको नियम विपरीत कुनै काम गरेमा स्थानीय तहले त्यस्तो विद्यालयको अनुमति रद्द गर्नसक्ने तथा सो अगाडी सुनुवाइको मौका दिनुपर्ने व्यवस्था दफामा राखिएको छ, यसबाट विद्यालयबाट आफूखुशी कार्य नहुनुका सार्थ नियन्त्रण र सन्तुलन कायम हुनेछ’ सो विद्येयकमा भनिएको छ ।