विकासन्युज

डिम्याट खाता नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाऔं : सीईओ आचार्य

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्ण पर्साद आचार्यले डिम्याट खाता नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाउन आवश्यक रहेको बताएका छन् । उनले डिम्याट खाता नवीकरणमा सिडिएसको लागत नउठ्ने बताउँदै यस्तो बताएका हुन् । ‘डिम्याट खाता नवीकरणमा सिडिएसको लागत पनि उठ्दैन, नवीकरण गर्दा १ सय रुपैयाँ शुल्क लिँदा सिडिएसले १० रुपैयाँ मात्रै लिन्छ, जुन अपुग हो,’ आइतबार काठमाडौंमा आयोजित ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले भने । त्यस्तै, उनले सिडिएसले कम जनशक्तिमा रातदिन काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । साथै, सबै लगानीकर्तालाई केवाइसी अनिवार्य भर्न आग्रह गर्दै उनले संस्थागत लगानीकर्ताको संख्या बढ्यो भने बजार बढ्न सक्ने बताए ।

घर जग्गाको कारोबारमा भ्रष्टाचार बढी भयो, कित्ताकाट गर्नै सकिएन : वाग्ले

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका सल्लाहकार इच्छा बहादुर वाग्लेले घर जग्गाको कारोबारमा नीतिगत भ्रष्टाचार बढी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित रियल इस्टेट व्यवसायी वृहत् भेला २०८० मा बोल्दै वाग्लेले यस्तो बताएका हुन् । ‘नीतिगत भ्रष्टाचार जग्गा व्यवसायमा धेरै भएको छ, जग्गाको व्यवसायमा भएको भ्रष्टाचार भन्सार विभागले पनि भेट्दैन,’ उनले भने । जग्गाको कित्ताकाट खुलेता पनि सहज रूपमा भने कित्ताकाट गर्न नसकेको वाग्लेले बताएका छन् । वाग्लेले जग्गा व्यवसायी आफ्नै शैलीमा जाने हो भने व्यवसायीका समस्या समाधान नहुने बताउँदै जग्गाको कित्ताकाट फुकुवा भए पनि कित्ताकाट गर्न नपाएको बताए । उनका अनुसार घर जग्गा व्यवसायले हरेक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुर्याउने छ । ‘यस क्षेत्रमा धेरै व्यवसायीहरू जोडिनु भएको छ, घर जग्गाको कारोबार सहज रूपमा भए कर पनि सरकारलाई नै बढी उठ्छ,’ उनले भने । बैंकले सहज रूपमा घर कर्जा उपलब्ध गराउनु पर्ने पनि वाग्लेको भनाइ छ ।

बजार चलायमान हुन मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्नुपर्छ : लगानीकर्ता पौडेल

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बजार चलायमान हुन मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अब मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्न तिर जोड दिनु पर्छ, यो समस्या छिटोभन्दा छिटो भयो भने बजार बढी चलायमान हुन्थ्यो,’ उनले भने । त्यस्तै, पुँजी बजार बढ्नु भनेको चलखेल हुनु, सीमित व्यक्तिले कमाउनु मात्रै रहेको भन्ने बुझाइ रहेको तर बजार बढ्नु भनेको राजस्व बढ्नु लगायत राम्रा पक्षका बारेमा बुझाउन नसकिएको उनी बताउँछन् । पुँजीगत लाभकर स्पष्ट नहुँदा लगानीकर्ता अन्यौलमा परेका बताउँदै उनले पुँजी बजारको संस्थागत विकासका लागि नियामाक निकायले काम गर्नु पर्ने सुझाव राखे । त्यस्तै, ब्रोकरको संख्या थप गर्दा लगानीकर्ताको लागि पनि नयाँ व्यवस्था गर्नु पर्ने लगानीकर्ता पौडेलको भनाई छ ।

घरजग्गा व्यवसायलाई दलालको जस्तो व्यवहार गर्नु हुँदैन, ८० प्रतिशतसम्म कर्जा दिनुपर्छ : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकाले घर जग्गा व्यवसायलाई दलालको जस्तो व्यवहार गर्न नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘रियल इस्टेट व्यवसायी वृहत भेला २०८०’ मा बोल्दै उनले यस्तो बताएका हुन् । ‘घर जग्गा व्यवसायलाई दलालको जस्तो व्यवार सरकारले गर्नु राम्रो कुरा भएन, सरकारले जग्गा व्यवसायी लाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्छ, यसलाई उद्योगको रूपमा स्थापित गर्नुपर्छ,’ अध्यक्ष मल्लले भने भने घरजग्गाको कित्ता काट्ट खुल्ला भए पनि ढड्डामा रहेको उनको भनाई छ । त्यस्तै, देशमा खर्बौं रूपैयाँ रेमिट्यान्स भित्रिए पनि पर्याप्त नभएको बताउँदै उनले जुन क्षेत्रमा हेर्दा पनि अहिले समस्या रहेको बताए । उनले सरकारले गर्छु भनेका प्रतिवद्धता पुरा नगर्दा पनि चुनौति आएको बताएका छन् । घरजग्गाको मूल्य कहिल्यै नघट्ने भएकाले ८० प्रतिशतसम्म घरजग्गा कर्जा दिने व्यवस्था मिलाउनु पर्ने उनको सुझाव छ । बैंकमा ५ खर्बको तरलता हुँदा पनि ऋण दिन नमानको उनको गुनासो छ । ऐन नियमका कारण पनि व्यवसायी समस्यामा रहेको बताउँदै उनले महासंघसँग चेम्बर सहकार्य गरी अगाडि बढ्न तयार रहेको समेत बताए ।

संकटमा पनि लाभांश बाँढ्ने ‘टप टेन’ सहकारी, यस कारण देखिएन समस्या

काठमाडौं । अहिले अधिकांश सहकारीको अवस्था हायलकायल छ । सदस्यको बचत फिर्ता गर्न नसकेर सहकारी सञ्चालकहरु तनाबमा छन् । अझ कतिपय सहकारीका सञ्चालक तथा अध्यक्ष फरार नै भएका छन् । त्यसले बचतकर्तालाई थप तनाब सिर्जना गरिरहेको छ । परिणामस्वरुप उनीहरु सम्बन्धित निकायममा उजुरी दिन बाध्य भइरहेका छन् । सञ्चालकहरु पनि पक्राउ हुने डरले फरार भइरहेका छन् । कतिपय सञ्चालकहरु पक्राउ पनि परिसकेका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको छ । यो चुनौतिपूर्ण अवस्थामा देशका केही सहकारी भने निर्वाद रुपमा काम गरिरहेका छन् । ती सहकारीमा बचतकर्ताले निर्धक्क रुपमा पैसा जम्मा गरिरहेका छन् भने ऋणीले धमाधम ऋण लिइरहेका छन् । सेयर सदस्यहरुले वर्षेनी लाभांश पाइरहेका छन् । देशमा केही यस्ता सहकारी छन् जुन सहकारीमा अहिलेको समस्याले छोएको छैन । उल्टै मासिक रुपमा तरलता थपिँदै गएको छ । हामीले समस्या सिर्जना नभएर वार्षिक रुपमा सेयर सदस्यहरुलाई लाभांश वितरण गरिरहेका उत्कृष्ट १० सहकारीको वर्तमान वित्तीय अवस्था र लाभांश रकमसहितको सामग्री तयार गरेका छौं । सहकारी ऐनको दफा ७१ मा सहकारी संस्थाहरुको लाभांश कोष हुने व्यवस्था छ । सोही दफाको उपदफा २ मा सहकारी संस्थाहरुले सेयर पुँजीको १८ प्रतिशत बढी लाभांश वितरण गर्न नसकिने व्यवस्था छ । सहकारीहरुले १८ प्रतिशत लाभांशको सीमा नघाघ्ने किसिमले वर्षेनी लाभांश वितरण गर्दै आएका छन् । नवजीवन सहकारी सुदूरपश्चिमको धनगढीमा रहेको नवजीवन बहुउद्धेश्यिय सहकारी संस्था सिंगो सुदूरपश्चिमको विश्वासिलो सहकारी हो । यो सहकारीको सेवा सुविधा र व्यवस्थापिक कुशलताले पनि धेरैले यसलाई बैंकका रुपमा चिन्छन् । वित्तीय साक्षरता फैलाउन पनि महत्वपूर्ण काम गर्दै आएको यस सहकारीमा पनि वर्तमान सहकारीको समस्याले छुन सकेको छैन । त्यस कारणले पनि यस सहकारीले वर्षेनी सेयर सदस्यलाई लाभांश वितरण गर्दै आइरहेको छ । सहकारीले अहिले साधारणसभा गर्ने तयारी गरिरहेको छ । यस सहकारीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ९५ लाख ५४ हजार रुपैयाँ लाभांश वितरण गरेको थियो भने आव २०७७/७८ मा यस सहकारीले ३ करोड ११ लाख ८८ हजार रुपैयाँ लाभांश वितरण गरेको थियो । यस्तै, सहकारीले कर्मचारीलाई बोनस पनि वितरण गरिरहेको छ । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा ६० लाख र त्यसअघिल्लो आर्थिक वर्ष ६३ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । कर्मचारी व्यवस्थापनमा पनि उत्कृष्ट सहकारीको छवि बनाएको नवजीवनको कुल सेयर पुँजी २८ करोड ५० लाख ८८ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म ४ अर्ब ३७ करोड ४५ लाख रपैयाँ बचत संकलन गरेको यस सहकारीले ३ अर्ब ९० करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको छ । हाल सहकारीसँग २४.७० प्रतिशत तरलता छ । किसान सहकारी नवलपरासीको एक उत्कृष्ट सहकारीको छवि किसान बचत तथा ऋण सहकारी संस्थाले निर्माण गरेको छ । यस सहकारीले पनि वर्षेनी सेयर सदस्यहरुलाई लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा सहकारीले ५४ लाख ८८ हजार रुपैयाँ कर्मचारी बोनस वितरण गरेको सहकारीले वार्षिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष ९६ लाख ७४ हजार रुपैयाँ बोसन वितरण गरेको थियो भने सहकारीले आव २०७९÷८० मा ७ करोड नाफा गरेको थियो । सहकारीले गत आर्थिक वर्षमा १९ लाख ९७ हजार रुपैयाँ लाभांश वितरण गरेको उल्लेख छ । किसान बचत तथा ऋण सहकारी संस्थाको ३३ करोड ५० लाख ५९ हजार रुपैयाँ सेयर पुँजी छ । साउन मसान्तसम्म यस सहकारीको बचत संकलन २ अर्ब ७७ करोड ९६ लाख ६४ हजार रुपैयाँ रहेकोमा २ अर्ब ४४ करोड २७ लाख ४२ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस सहकारीसँग २३.१२ प्रतिशत तरलता छ । बिकू सहकारी नवलपरासीमा नै रहेको बिकु सहकारी पनि एक ठूलो सहकारी मध्येमा पर्छ । यस सहकारीले गत वर्ष ९ करोड ५९ लाख २० हजार रुपैयाँ लाभांश वितरण गरेको छ । गत साउनसम्मको तथ्यांक अनुसार ८९ करोड ७९ लाख ९० हजार रुपैयाँको सेयर पुँजी रहेको यस सहकारीले ७ अर्ब ४२ करोड ३६ लाख ६७ हजार रुपैयाँ बचत संकलन गरेको छ भने ६ अर्ब ८२ करोड १२ लाख ५५ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस सहकारीसँग ३१.८३ प्रतिशत तरलता छ । पोखरा रोयल कास्कीको पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको सेवा सुविधा पनि बैंकको भन्दा कम छैन । अहिले अधिकतम् तरलता हुने सहकारी संस्थामा यो सहकारी पनि पर्छ । यस सहकारीसँग अहिले २६.२० प्रतिशत तरलता छ । सहकारीले गत आर्थिक वर्ष २०७९/८० को साधारणसभा पनि सम्पन्न गरिसकेको छ । कुल २१ करोड ८ लाख रुपैयाँ सेयर पुँजी भएको यस सहकारीले १ अर्ब ६४ करोड १६ लाख रुपैयाँ बचत संकलन र १ अर्ब ७७ करोड ४१ लख रुपैयाँ कर्जा लगानी गरेको छ । यस सहकारीले आर्थिक वर्ष २०७९/८० मा १२ प्रतिशत अर्थात् २ करोड ५३ लाख ७३ हजार रुपैयाँ लाभांश वितरण गरेको छ । अघिल्लो वर्ष सहकारीले २ करोड ११ लाख २८ हजार रुपैयाँ छुट्याएको थियो । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङ आफुहरु नीति विधि र प्रविधिको आत्मसात गरेको कारण समस्या नआएको बताउँछिन् । ‘हामी सुरुदेखि नै सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरु पालना गरेर काम गरिरहेका छौं, अनुशासित भएर काम गरियो भने समस्या आउँदैन, तर सहकारीको कानुन नमानेर आफुखुसी काम गर्ने विनाधितो ऋण दिने सहकारीमा समस्या आएको हो,’उनले भनिन् । बुडोल सहकारी काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले पनि गत आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । गत आर्थिक वर्ष २०७९/८० मा यस सहकारीले १५ प्रतिशत अर्थात् २ करोड ४८ लाख ९० हजार रुपैयाँ लाभांश वितरण गरेको छ । संस्थाले सेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई ३.५५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय पनि गरेको छ । सहकारीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७२ लाख २५ हजार रुपैयाँ छुट्याएको थियो । यस सहकारीले कर्मचारी बोनस अन्र्तगत ६६ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । १५ करोड ९८ लाख ५४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीले हालसम्म १ अर्ब ४२ लाख ६७ हजार रुपैयाँ बचत संकलन गरेको छ । सहकारीले १ अर्ब २९ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीसँग कुल ३३.६३ प्रतिशत तरलता रकम छ । सामुदायिक सहकारी काभ्रेकै सामुदायिक बचत तथा ऋण सहकारी पनि एक ठूलो कारोबार गर्ने सहकारी मध्येमा पर्छ । यस सहकारीले असोज २७ गते साधारणसभा गर्दैछ । कुल ३९ करोड ५७ लाख १७ हजार सेयर पुँजी रहेको यस सहकारीले गत भदौसम्म २ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ३ अर्ब ६० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सहकारीसँग भदौ मसान्तसम्म तरलता १६.७८ प्रतिशत तरलता छ । यस सहकारीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट विभिन्न कोष बाँडफाँड गर्दा यस वर्ष शेयर सदस्यहरूलाई ११.६५ प्रतिशतको दरले लाभांश वितरण गर्न सकिने बताएको छ । आव २०८०/०८१ को नाफाबाट १२.८२ प्रतिशत लाभांश वितरण गर्न सकिने अनुमान यस सहकारीको छ । जनसचेतन सहकारी दोलखाको जनसचेतन बचत तथा ऋण सहकारीको १६ करोड ५८ लाख ७१ हजार सेयर पुँजी छ । सहकारीले १ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बचत संकलन गरेको छ भने १ अर्ब ८० करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । यस सहकारीले आर्थिक वर्ष २०७८/७९ मा ९६ लाख ४६ हजार रुपैयाँ लाभांश वितरण गरेको छ । त्यसअघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा सहकारीले १ करोड १९ लाख ५१ हजार रुपैयाँ लाभांश वितरण गरेको थियो । भदौसम्म यस सहकारीसँग २८ करोड रुपैयाँ तरलता रकम छ । कर्णाली सहकारी झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था पनि कोसी प्रदेशको परिचित सहकारी संस्था हो । भदौ मसान्तसम्म ४९ करोड २२ लाख ८८ हजार रुपैयाँको सेयर पुँजी भएको यस सहकारीले २ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ३ अर्ब ७८ करोड १२ लाख रुपैयाँ ऋण लगानी गरेको छ । यस सहकारीमा भदौसम्म १९.७८ प्रतिशत तरलता रकम रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ११ लाख ६२ हजार रुपैयाँ लाभांश वितरण गरेको यस सहकारीले अघिल्लो आर्थिक वर्ष २ करोड ९० लाख २८ हजार रुपैयाँ लाभांश सेयर सदस्यलाई वितरण गरेको थियो । साहरा नेपाल झापाको विर्तामोडमा रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ६५ करोड ५३ लाख रुपैयाँ सेयर पुँजी रहेको छ । चालु आर्थिक वर्षको भदौसम्म ११ अर्ब २८ करोड ५४ लाख रुपैयाँ बचत संकलन गरेको यस सहकारीले १० अर्ब ९० करोड २३ लाख रुपैयाँ ऋण लगानी गरेको छ । भदौसम्म सहकारीसँग २७.५६ प्रतिशत तरलता छ । यस सहकारीले आर्थिक वर्ष २०७९/८० मा १६ करोड ७० लाख ७८ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा गर्दैछ । अघिल्लो आर्थिक वर्ष यस सहकारीले २० करोड ८३ लाख ६३ हजार रुपैयाँ लाभांश वितरण गरेको थियो । साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी समुदायमा आधारित सहकारीहरुमा समस्या नभएकोले सहज रुपमा लाभांश पनि वितरण भइरहेको बताउँछन् । उनका अनुसार जथाभावी लगानी नगर्दा र सानो खालका दीर्घकालीन बचतलाई प्राथमिकता दिँदा अन्य सहकारी जस्तो समस्या सिर्जना नभएको हो । ‘हामी ठूलो ऋण दिदैनौं, तत्काल भुक्तानी गर्नु पर्ने ठूलो बचत पनि राख्दैनौं, जगेडा कोषबाट पनि नाफा दिँदैनौं, वास्तविक जति नाफा हो, त्यति नै वितरण गर्छौं, तरलताका लागि विभिन्न टुल्सहरु प्रयोग गरेर लगानी गर्छौं, त्यसकारण पनि समस्या नआएर सहज रुपमा सहकारी सञ्चालन गरिरहेका छौं,’ उनले भने । एनएमसी सहकारी झापाको मेचीनगरमा रहेको नेपाल बहुउद्धेश्यिय सहकारी संस्था (एनएमसी) सहकारी पूर्वको ठूलो सहकारीमध्येमा पर्छ । १ अर्ब ३९ करोड ४ लाख रुपैयाँ सेयर पुँजी रहेको एनएमसी सहकारीले ९ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ बचत संकलन गरेको छ भने १० अर्ब ५४ करोड ३२ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीसँग साउन मसान्तसम्म १७.९६ प्रतिशत तरलता छ । यस सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सेयर सदस्यहरुलाई लाभांश वितरण गरेको थियो । गत वर्ष आर्जन गरेको खुद मुनाफामध्ये सेयर लाभांश कोषमा जम्मा हुन आएको ५ करोड ६४ लाख ३४ हजार रुपैयाँ लाभांश वितरण गरेको सहकारीले बताएको छ ।

महानगरले श्रम बैंकमा आवद्ध सबैको बीमा गरिदिने, यसरी समाधान गर्दैछ बेरोजगारको समस्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको बेरोजगारको समस्यालाई ३ वर्षभित्र समाधान गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र साहले ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ नामक योजना सार्वजनिक गर्दै उक्त योजना मार्फत बेरोजगारको समस्या हल गर्ने बताएका हुन् । उनका अनुसार यो योजनाअन्तर्गत हरेक वर्ष कम्तिमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तिमा पाँच हजारलाई नयाँ रोजगारी सृजना गर्ने महानगरको लक्ष्य छ । साथै, महानगरले श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको मेयर बालेनले बताए । महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंकको स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याइएको मेयर बालेन बताउँछन् । महानगरले ल्याएको श्रम बैंकमा महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आवद्ध हुन सक्नेछन् । यस्तो छ महानगरको उद्देश्य श्रम बैंकमा आवद्ध भएका दक्ष कामदारहरुलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउने, अर्धदक्ष जनशक्तिलाई क्षमता अभिवृद्धिका लागि तालिम दिई काममा लगाउने, अदक्ष कामदारहरुलाई रोजगारी र आयवृद्धि काठमाडौंको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने रहेको छ । श्रम बैंकमा आवद्ध जनशक्तिलाई महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन, महानगर जब पोर्टलमार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु, महानगरको श्रम बैंक एप मार्फत पार्ट टाइम जबको रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटकेका रुपमा जुनसुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने मेयर बालेनले बताए । सबै किसिमका कामदारहरुलाई काम गर्दाका अनिवार्य बीमा गरिने उनले बताए । गौरबको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टरको स्थापना गरि बाह्रै महिना बिहानदेखि साँझसम्म नियमित तालिम संचालन गर्ने महानगरको योजना छ । सोका लागि महानगरले बजार मुखी सिलेबल निर्माणको समेत काम गरिरहेको छ मेयर बालेनले जानकारी गराए । निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र, उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवश्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्रको आवश्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था महानगरले मिलाइएको छ। श्रम बैंकमा आबद्ध हुनका लागि मेयर बालेनले लिंक तथा क्युआर उपलब्ध गराएका छन् । इच्छुकले उक्त लिंक वा क्युआरमा क्लिक गरि फारम भरि आवेदन दिन सक्नेछन् । साथै, महानगर भित्र सञ्चालित विभिन्न जब एजेन्सीहरु र तालिम प्रदायक संस्थाहरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिने छ । महानगरले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित ह्याडिम्यान जस्तै श्रम बैंक एपको ओपन एपीआई हाल सञ्चालनमा रहेका अन्य निजी कम्पनीका सोहि प्रकृतिका एपहरुलाई निशुल्क उपलब्ध गराइने जानरकारी समेत मेयर बालेनले दिएका छन् ।

लगानीकर्ताहरुको एउटै स्वर : राष्ट्र बैंकको गलत नीतिले हाम्रो अर्बौं डुब्यो, सेबोन मुकदर्शक बन्यो

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले बजार दिनानुदिन घट्नुमा नियामक दोषी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘विश्व लगानिकर्ता सप्ताह २०२३’ अन्तर्क्रिया तथा समापन कार्यक्रममा बोल्दै सहभागी लगानीकर्ताहरुले संयुक्त रुपमा राष्ट्र बैंकको गलत नीतिले अर्बौं डुबेको र बजार घट्नुमा नियामक दोषी रहेको बताएका छन् । कार्यक्रममा बोल्दै लगानीकर्ता तारा फुलेलले नेपालको सेयर बजार दिनानुदिन घट्नुमा नियामक निकाय दोषी रहेको आरोप लगाएका छन् । ‘नियामकले आफ्नो दायराभन्दा बाहिर गएर नीति निर्देशन जारी गर्दा बजारमा लगानीकर्तालाई दिग्भ्रमित बनाउने काम गर्यो, नियामक निकायको सद्वुद्धि आओस् भन्ने कामना गर्छु,’ लगानीकर्ता फुलेलले भने । त्यस्तै, लगानीकर्ता राधा पोखरेलले बजार घट्दा नेपाल धितोपत्र बोर्ड (सेबोन) मुकदर्शक बनेर बसेको बताएकी छिन् । साथै, उनले आफ्नै लगानीमा ४३ जिल्लामा लगानीकर्ता शिक्षा दिएको बताउँदै पुँजी बजारलाई सिंहदरबार वरिपरि मात्रै नभई दूर दराजमा पनि पुर्याउन आवश्यक रहेको बताइन् । लगानीकर्ता तुल्सीराम ढकाल पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीकर्ताको आवाज नसुनेका बताएका छन् । ‘सेयर बजार घट्दा कति लगानीकर्ता घरवारबिहीन भएका छन्, केहिको सम्बन्ध बिच्छेद भएको छ, कति लगानीकर्ता आत्महत्या गर्न बाध्य भएका छन् ।’ उनले भने- ‘यस्तो अवस्थामा पनि राष्ट्र बैंकका गर्भनरले आवाज सुनेनन् ।’ लगानीको शिक्षा नहुँदा लाखौं लगानी डुबेको उनको भनाई छ । धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा कार्यक्रममा लगानीकर्तालाई नबोलाइ शिक्षा कार्यक्रम आयोजना गरेको भन्दै उनले बोर्डमाथी गम्भीर आरोप लगाए । साथै, पुँजी मुटुको धड्कन भएको बताउँदै उनले अर्थतन्त्र ध्वस्त भएको बेला पुँजी बजारलाई चलायमान गर्नुपर्ने सुझाव दिए । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियार पनि राष्ट्र बैंकले पुँजी बजारलाई मरणासन्न अवस्थामा पुर्याएको आरोप लगाएका छन् । ‘राष्ट्र बैंकले लगानीकर्तालाई जिस्काउने पारामा नीति ल्यायो, पुँजी बजारलाई मरणासन्न अवस्थामा पुर्यायो,’ उनले थपे- ‘स्वायत्त संस्था राष्ट्र बैंकले मनपरि काम गर्यो, जसको गलत नीतिले लगानीकर्ताको अर्बौं रकम डुब्यो ।’ साथै, बैंकको गलत नीतिले लगानीकर्ता सबै डिप्रेशनमा रहेका उनी बताउँछन् । त्यस्तै, बैंकमा तरलता पर्याप्त हुँदा हुँदै पनि राष्ट्र बैंकले ब्याजदर घट्न नदिएकोमा उनको गुनासो छ । साथै, पुँजी बजारसँग सम्बन्धित कार्यक्रम हुँदा लगानीकर्तालाई विशेष स्थान दिनु पर्ने लगानीकर्ता रौनियारको भनाई छ । यता कार्यक्रममा बोल्दै लगानीकर्ता संजोग कोइराला सेयर सम्बन्धी जानकारीमूलक सामाग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउँछन् । लगानीकर्ता रोहन कार्कीले पनि सबैको सहकार्यमा पुँजीबजारलाई जोगाउनु पर्ने बताएका छन् । ‘बजार साच्चिकै समस्यामा परेको छ, सबैजना एउटै डुंगामा छौं, सबैको सहकार्यमा पुँजी बजारलाई जोगाउनु पर्छ,’ उनले भने । पुँजी बजार संकटमा परेको बेला नियामक निकाय गम्भीर भएर अघि बढ्न जरुरी रहेको लगानीकर्ता कार्की बताउँछन् ।

व्यवसायीहरु राष्ट्र बैंकले ल्याउने नीतिको त्रासमा छन् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीहरु नेपाल राष्ट्र बैंकले ल्याउने नीतिको त्रासमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘रियल इस्टेट व्यवसायी वृहत भेला २०८०’ मा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्र बैंकमा आज एउटा नीति आउँछ भोलि अर्को आउँछ, अब के आउँछ भन्ने त्रास पनि व्यवसायी छन्,’ उनले भने । त्यस्तै, उनले राष्ट्र बैंकले निजी क्षेत्रको सुझावलाई नस्वीकार्दा अथर्तन्त्र सिथिल हुँदै गएको बताएका छन् । ‘निजी क्षेत्रले आफ्नो स्वार्थको लागि मात्र काम गर्छ भनेर हामीले दिएको सुझाव नस्वीकार्दा आज यो अवस्था आएको हो,’ अध्यक्ष ढकालले भने । पछिल्लो समय भने सरकारले निजी क्षेत्रका कुरालाई मनन् गर्दै गएको बताउँदै उनले निजी क्षेत्रको मागको सुनुवाइ क्रमिक रुपमा हुँदै जाने बताएका छन् । यद्पि अर्थतन्त्र क्रमिक रुपमा सुधार हुँदै जाने र व्यवसाय पनि आउने दिनमा पुरानै लयमा फर्किने विश्वासमा ढकाल छन् । साथै, पछिल्लो समय रेमिट्यान्स बढ्दै जानु, पर्यटनको आवागमन हुनुले अर्थतन्त्रमा सुधारको संकेत देखिँदै गएको अध्यक्ष ढकाल बताउँछन् ।