अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । सोही अवसरमा अर्थमन्त्री डा महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने जनाइएको छ । त्यसै गरी सोही अवसरमा युएस एडसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँचसम्बन्धी जोखिम तत्त्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवं चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल हुने छ । अर्थमन्त्री डा. महतले दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्नेछन् । त्यसै गरी अर्थमन्त्री डा महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्नेछन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रतिनिधिसँग संयुक्तरूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री डा महतले वार्ता गर्नेछन् । त्यसै गरी विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) का उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी (एमआइजिए)का उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको जनाइएको छ । अर्थमन्त्री डा. महतका साथमा अर्थसचिव डा कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन् । बैठकमा विश्वभरका एक सय ८९ देशका अर्थ तथा विकास मन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकको सहभागिता रहनेछ ।
राष्ट्र बैंकको नीतिले बजार बढ्नुको विकल्प छैन : अध्यक्ष ढकाल
काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकिकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ त्यसले लगानीकर्ताको समस्या केहीहदसम्म सुन्ने र बुझ्ने काम भयो भन्ने ठानेका छौं,’ उनले भने, ‘अबका दिनका हामीले एकअर्कालाई दोषारोपण भन्दा पनि सकारात्मक सन्देश दिएका अघि बढ्नु जरुरी छ ।’ नेपालमा सेयर बजार र घरजग्गा कारोबारीबीच अन्तरसम्बन्ध रहेको र राष्ट्र बैंकको नीतिले घरजग्गा धितो राखेर कर्जा लिन पाउने सीमा बढाउँदा समग्र अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको धारणा थियो । यसैगरी राष्ट्र बैंकले एकै प्रकृतिका कर्जा तथा सापटीको ब्याज अन्तर बढीमा २ प्रतिशत विन्दुभन्दा फरक हुन नपाउने व्यवस्था गर्दा आगामी दिनमा कर्जाको ब्याज सस्तो हुन गई सेयर बजारका लगानीकर्तालाई उच्च ब्याजको पीडाबाट राहत पुग्ने बताए । ‘यसअघि बैंकहरुले राष्ट्र बैंकको नीति अनुसार एउटै प्रकृतिको कर्जामा ५ प्रतिशत विन्दुसम्म फरक गरेर ब्याज लिर्ईरहेका थिए,’ उनले भने, ‘उक्त नीतिले अबका दिनमा सेयरधितोमा प्रबाह हुने कर्जाको पनि ब्याज घट्ने छ तसर्थ पुँजी बजार सुधारका लागि नियामकको विरोध मात्रै होइन सकारात्मक सोच लिएर अघि बढ्ने सकेमा बजारको विकास र वृद्धि हुने विश्वास छ ।’ तर अहिले बजारमा उच्च रुपमा सप्लाई बढ्दा नकारात्मक सन्देश गएको उनको तर्क छ । ‘अर्थशास्त्रको सिद्धान्त अनुसार बजारले गति लिन माग र पूर्तिको नियम लागू हुनुपर्छ,’ उनले भने, ‘तर पछिल्लो समय उच्च रुपमा आईपीओ आउँदा सप्लाईतर्फ उच्च बढ्यो माग सिर्जना हुन सकेन जसको नकारात्मक असर अहिले बजारमा देखियो ।’ अबका दिनमा बजारमा सप्लाई मात्रै बढाउनु भन्दा पनि माग बढाउनेतर्फ नियामक निकायले ध्यानदिनुपर्ने उनको तर्क छ । यसैगरी स्वदेशी तथा विदेशी पूँजी आकर्षित गरि ठूलाठूला पूर्वाधार निर्माणदेखि स–साना स्टार्टअपको संचालनको लागि आवश्यक पूँजीको दीर्घकालीन व्यवस्थापन पूँजीबजारबाट गर्नको लागि सहज हुने हुँदा पूँजी बजारको बिकास र विस्तारको विकल्प नरहेको उनको तर्क थियो । तथ्यांकलाई नै आधारका मन्दा पछिल्लो विवरण अनुसार हितग्राही खाता (डीम्याट) खोल्नेको संख्या करिब ५९ लाखभन्दा बढी रहेको अहिले सेयर बजारमा धेरै नेपालीहरु आबद्ध रहेकाले यसलाई अबका दिनका सकारात्मक सन्देश फैल्याएर सुधारतर्फ लैजानुको विकल्प नरहेको समेत उनले बताए । अबका दिनमा इन्ट्रा डे ट्रेडिङ, वन्ड मार्केटको विकाश गर्ने तथा मार्जिन ट्रेडिङ सम्बन्धी नीति ल्याउन आवश्यक छ । साथै तत्कालै सेटलमेन्ट फण्ड ल्याउनुपर्ने समेत उनले बताए ।
नेपाल इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, डाक्यो साधारण सभा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको साधारण सभा मंसिर ६ गते झम्सिखेल ललितपुर दिउँसो साढे ४ बजे सुरु हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । त्यस्तै, सञ्चालकहरुको सञ्चालक भत्ता अनुमोदन गर्नेछ ।
कवाडीमा कर, विरोधमा व्यवसायी
काठमाडौं । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए । सङ्घका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताए । उनले भने, “कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको छ, त्यस प्रक्रियामा हाम्रो असहमति रहेको छ ।” उनले महानगरपालिको बोलपत्रको प्रक्रिया रोकेर स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गरे । उनले आफूहरु सिधै महानगरपालिकालाई कर तिर्न तयार रहेको जानकारी दिए । अध्यक्ष खत्रीले व्यवसायीसँग महानगरपालिकाले समन्वय नगरेको र छलफलसमेत गर्न नमानेको गुनासो गरे । व्यवसायीले गत बिहीबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए । तर, उपप्रमुख अधिकारीले व्यवसायीका कुरा नसुनेको सचिव पुरन मल्ल ठकुरीले बताए । उनले यही अवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको बताए । उनले कवाडीजन्य वस्तु निकासी गर्दा ठाउँठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नुपरेको गुनासो गरे । संविधानले कुनै पनि वस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको सङ्घले जनाएको छ । भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुको व्यवसाय गर्दै आएका छन् । महानगरभित्र करिब १ हजार ५ सय जना यो व्यवसायमा प्रत्यक्ष जोडिएका छन् । घर–घर पुगेर साइकलमा कवाडी सामान सङ्कलन गर्नेको सङ्ख्या चितवन जिल्लाभरमा करिब ४ हजार ५०६ रहेका छन् । उनीहरूले सङ्कलन गरेका फलाम, तामा, पित्तल, बोतल, सिसा, प्लास्टिक, कागज, पुराना जुत्ता, चप्पललगायतका सामान पुनःउपयोगका लागि उद्योगमा पठाइन्छ । धेरैजसो समान भारत पठाइने गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार महानगरपालिकाको क्षेत्राधिकारभित्र उत्पादन हुने कवाडीजन्य वस्तुमा कर लगाउन खोजिएको हो । कवाडी सामानमा प्रतिगोटा तथा प्रतिकेजी निश्चित कर लगाउने गरी ठेक्का आह्वान गरिएपछि व्यवसायीले विरोध गरेका हुन् । भरतपुर महानगरपालिका गत भदौ २४ गते कर सङ्कलनका लागि २ वर्षको ठेक्का आह्वान गरेको छ ।रासस
आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु
काठमाडौं । आजदेखि दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ खुलेको छ । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । हरेक वर्ष दशैं, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । हरेक वर्ष दशैं, तिहार तथा छठ पर्वका लागि राजधानी काठमाडौंबाट १० लाख यात्रु बाहिरिने गरेका छन् ।
लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय
काठमाडौं । शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खाना र ढिँडोको परिकार पस्कँदै आएको ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउँछन् । “अघिल्ला महिनाहरुमा रेष्टुरेन्टमा दैनिक मुस्किलले १० देखि १५ जना स्वदेशी तथा विदेशी पाहुना खाना खान आउनुहुन्थ्यो, यो महिना दैनिक ४५ देखि ५० जनासम्म आउने गर्नुभएको छ, रेष्टुराँमा आएकामध्ये अधिकांश विदेशी पाहुना हुनुहुन्छ”, थापा भन्छन् । ठमेलमा डेढ दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरे पनि पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउँछन् । “पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटकहरु देखिन थालेका छन्”, उनले भने । अन्तर्राष्ट्रियस्तरमै पहिचान बनाएको ठमेलका विग्रेका सडक मर्मत नहुँदा भने पर्यटकले सास्ती खेप्नुपरेको उनी बताउँछन् । लामो समयदेखि ठमेलमा कपडा व्यापार गर्दै आउनुभएका सीताराम रेग्मी ठमेलमा पर्यटकीय चहलपहल बढे पनि व्यापार भने नबढेको बताउँछन् । उनले भने, “गत वर्षका तुलनामा यस वर्ष ठमेलमा कपडा व्यापार घटेको छ ।” पर्यटकको गतिविधि बढेसँगै ठमेलका होटलमा समेत विदेशी पाहुना भरिन थालेका छन् । ठमेलस्थित चारतारे होटल रमदा इन्कोरका महाप्रबन्धक महेश फुँयाल शरद ऋतुका लागि एक महिना अगाडिदेखि नै होटेलका कोठा बुकिङ हुन थालेको बताउँछन् । विसं २०७६ सालबाट सञ्चालित उक्त होटलमा ९२ कोठा रहेका छन् । ठमेलस्थित काठमाडौँ एक होटलका सञ्चालक सहदेव धमला पछिल्लो समय छोटो समयका लागि पर्यटक ठमेल घुम्न आउँदा ठमेलभित्रका व्यवसायीको सोचेजस्तो व्यापार हुन नसकेको बताउँछन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला विदेशी पर्यटकलाई ठमेलमा कसरी लामो समय राख्न सकिन्छ भन्नेबारे परिषद्ले विभिन्न निकायसँग छलफल चलाइरहेको बताउँछन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भने ठमेलका गल्लीमा विदेशी पर्यटक बढ्न थालेकोे बताउँछन् । उनले भने, “पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद् लागेको छ ।” रातको समयमा ठमेलभित्र हुने भीडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरि परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको उनको भनाइ छ । परिषद्ले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारलाई व्यवस्थापन गर्नेदेखि सिसि क्यामरा जडान र खाल्डो परेका सडक पुर्नका लागि सरोकारवाला निकायसँग सहकार्य समेत गरिरहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै सन् २०२३ को ९ महिनामा ६ लाख ९२ हजार ३७२ विदेशी पर्यटक नेपाल आएका छन् । जसमध्ये सेप्टेम्बर महिनामा मात्र ९१ हजार १२ पर्यटक नेपाल आएका छन् । सेप्टेम्बर महिनामा नेपालमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै, चिनियाँ पर्यटक ८ हजार १७४, अमेरिकी पर्यटक ७ हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यसैगरी, बङ्गलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ५४०, श्रीलङ्काबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको बताउँछन् । “नेपाल पर्यटन बोर्डले पछिल्लो समय भारत र चीनका पर्यटकलाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको छ”, उनले भने । विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहजरुपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने उनको भनाइ छ । नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने डा.रेग्मी बताउँछन् । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१, सन् २०२० मा २ लाख ३० हजार, सन् २०२१ मा १ लाख ५० हजार ९६२ र सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका थिए ।रासस
सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार सानिमा बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बैंकको ९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २४७.४३ रुपैयाँ कायम भएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता २६९.७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २४७.४३ रुपैयाँलाई आधार मानेर हुने छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न कात्तिक २ गते कुण्डलिनी दरबार ब्यान्केट चण्डोल काठमाडौंमा बिहान ११ बजे १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
असोज २९ गतेदेखि नयाँ नोट सटही, कहाँबाट पाइन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय डिजिटल कारोबार बढेसँगै नयाँ नोटको सख्या पनि बजारमा कम पठाउने तयारी रहेको राष्ट्र बैंकका सहप्रवक्ता डा.डिल्लीराम पोखरेलले बताए । उनका अनुसार नयाँ नोटको संख्या बजारमा कम पठाएपनि प्रतिव्यक्ति भने १८ हजार ५ सय रुपैयाँ नै बाँड्ने तयारी रहेको छ । राष्ट्र बैंकले यसपटक पनि प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध गराउने छ ।