एनआईसी एशिया क्यापिटलको चाडपर्व अफर, निःशुल्क लगानी व्यवस्थापन सेवा
काठमाडौं । विश्व लगानीकर्ता सप्ताह तथा नेपालीहरुको महान चाड बडादसैं, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसर पारेर एनआईसी एशिया क्यापिटलले निःशुल्क लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ । कम्पनीले असोज २१ देखि मंसिर १५ सम्म आबद्व हुने ग्राहकलाई निःशुल्क लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको हो । जसअनुसार निःशुल्क लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, बाहिरिँदा शुल्क नलाग्ने र नाफाको १० प्रतिशत मात्र पफर्मेन्स शुल्क लाग्ने कम्पनीले जनाएको छ । त्यस्तै असोज महिनाका लागि वार्षिक ११.४६ प्रतिशत ग्यारेन्टेड प्रतिफल दिनुका साथै अन्य शुल्क लागू नहुने कम्पनीले जनाएको छ । सोही अवसरमा कम्पनीले सेयर क्लिनिक र संस्थापक समूहको सेयर कारोवार गर्न प्लेटफर्म उपलब्ध गराउने भएको छ । सेयर क्लिनिकमार्फत ग्राहकले होल्ड गरेका सेयरलाई रिब्यालेन्सिङ र रिकन्सट्रक्सन गर्न आवश्यक सेवा उपलब्ध गराइने छ । त्यस्तै न्यून जोखिम लिई अधिकतम नाफा प्राप्त गर्न सकिने सन्दर्भमा विशेषज्ञहरुबाट आवश्यक परामर्श उपलब्ध गराउने तथा सेयरबजारको समग्र परिस्थिति अध्ययन गरी लगानी रणनीति बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ । त्यस्तै हाल धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको संस्थापक समूहको सेयर खरिद-बिक्री प्रक्रिया झन्झटिलो रहेको र कारोबार गर्न लामो समय लाग्ने भएकाले संस्थापक समूहको सेयर कारोबारलाई सहज गरिदिने मुख्य उद्देश्यका साथ संस्थापक सेयर कारोबार प्लेटफर्म सञ्चालनमा ल्याएको क्यापिटलले जनाएको छ ।
२५ वर्षको लगानी १० करोडभन्दा बढी सम्पत्ति क्षणभरमै खरानी
जनकपुरधाम । धनुषा जनकपुरधाम उपमहानगरपालिका-९ रामानन्द चोकस्थित रामबाबु रायको ‘जनकपुर बिग मार्ट’ मा गएराति भीषण आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घन्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घन्टामै बारुणयन्त्र घटनास्थल पुगे पनि मार्टमा कपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो । सञ्चालक रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीनतले घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए उनले मार्टको दोस्रो तलामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए । जनकपुरधाम। धनुषा जनकपुरधाम उपमहानगरपालिका-९ रामानन्द चोकस्थित रामबाबु रायको ‘जनकपुर बिग मार्ट’ मा गएराति भीषण आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घन्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घन्टामै बारुणयन्त्र घटनास्थल पुगे पनि मार्टमा कपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो । सञ्चालक रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीनतले घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए उनले मार्टको दोस्रो तलामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए । ‘क्षणमै जल्यो सम्पत्ति’ सर्लाही मलङ्गवा नगरपालिका-११ स्थायी घर भएका राय २५ वर्षदेखि व्यापार गरिरहेका छन् । सुरुमा उनले काठमाडौंमा घरघर गएर सामान बेच्ने काम गरे र पछि अरूकै पसलमा बजार व्यवस्थापक भएर काम गरेका थिए । त्यसपछि आफ्नै व्यापार सुरु गरेका थिए । ‘म शून्य लगानीबाट उठेको मान्छे हो । सुरुमा काठमाडौंका घरघर गएर सामान बेचेँ। त्यसपछि काठमाडौं बाहिर जिल्ला–जिल्ला गएँ। त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ,’ रायले भने, ‘तर, २५ वर्षसम्म गरेको मिहिनेत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोलामात्रै बोकेर सडकमा आइपुगेँ ।’ व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५/१६ वर्ष उनले काठमाडौं न्युरोडस्थित रञ्जना हाउस र महाबौद्धबाट व्यापार गरेका थिए। तर, २०७२ सालको भूकम्पपछि व्यापारमा मन्दी भएपछि जनकपुर झरेका रायले रामानन्द चोक नजिकै कपडा व्यापार थालेका थिए । छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सबै लगानी डिपार्टमेन्ट स्टोरसमेत रहेको घरमा खन्याएका थिए । ‘म एकैपटक ठूलो लगानी गरेर आएको होइन । स–सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएर जनकपुर आएँ । यहाँ आएपछि अरू सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब ३ करोडमा यही घर र व्यापारमा लगानी गरेँ, तर एकरातमा सबै सखाप भयो,’ रायले भने । रायले यही व्यापार बढाउन काठमाडौं थानकोटमा रहेको चार आना जग्गा, लज र अरू सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक जनकपुरबाट ३ करोड ६५ लाख रुपैयाँ ऋण लिएको बताए । ‘पीडामाथि पीडा’ रायलाई व्यापारमा हिम्मत गर्न सघाउने श्रीमती हुन्, उनले बाहिर र श्रीमतीले पसल सम्हालिरहेका थिए । ‘घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुईवटै किड्नी फेल भयो । त्यसपछि हाम्रा दुःखका दिन सुरु भए,’ रायले पीडा सुनाए, ‘आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो ।’ जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रको व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भोगे। सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दीले समस्या भोगेका उनी दसैं आएपछि केही राहत होला भन्ने आशामा थिए । दसैं लक्ष्य गरी केही दिनअघि मात्रै मार्टमा नयाँ सामान थपेका थिए । ‘समस्या थियो, तर पनि हिम्मत हारेको थिइनँ । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दसैं–तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपेँ, तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए,’ आँसु पुछ्दै रायले भने, ‘भगवान, पीडामाथि पीडा किन दिएको? अब के गरेर खानु? कसरी ऋण तिर्न? कुनै विकल्प रहेन मसँग ।’ सबैभन्दा दुःखको कुरा, रायले बैंकबाट ऋण लिँदा गरिने बिमाबाहेक सामानको बिमा गरेका छैनन् । ‘जायजेथा बेचेर लगानी बढाएँ। २५ वर्ष पसिना बगाएँ काठमाडौंबाट भूकम्पले विस्थापित गर्यो, फेरि उठ्न खोज्दै थिएँ,’ उनले निराश हुँदै भने, ‘जनकपुरले त उठिबास नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने?’ रासस
दशैंको लागि २०० सीसीको एड्भेन्चर मोटरसाइकल किन्दा ५० हजार नगद छुट
काठमाडौं । दशैं तिहारको सिजन सुरु भएसँगै बजारमा मोटरसाइकलको बिक्री निकै सुस्त रहेको समयमा कम्पनीहरुले तँछाड मछाड गरेर स्कीम सार्वजनिक गर्दैछन् । यसरी कम्पनीहरु बीच ग्राहकलाई दिने फाइदामा तिब्र प्रतिस्पर्धा हुँदा मोटरसाइकल किन्न पर्खेर बसेका धेरैले फाइदा लिन सक्ने देखिएको छ । एसवाईएमको आधिकारीक बिक्रेता केजी इन्टरनेशनलले ग्राहकलाई आफ्नो १८३ सीसी क्षमताको एड्भेन्चर मोटरसाइकलमा नै ५० हजार नगद छुट दिने स्कीम ल्याएको हो । भोलि असोज २२ गतेदेखि कम्पनीले ग्राहकलाई स्कीम दिन लागेको कम्पनीको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । उनका अनुसार यो स्कीममा एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ । रेगुलर मूल्याङ्कनमा थप १५ हजार ग्राहकलाई दिनेछ । ताइवानी ब्राण्ड एसवाईएमले बिक्री गर्दै आएको एनएचटी २०० मोटरसाइकलमा १८३ सीसी क्षमताको इन्जिन छ । उक्त इन्जिनले अधिकतम १८.३५ पीएस पावर र १५.७ एनएम टर्क प्रदान गर्छ । लामो दुरीमा सहज यात्रा गर्न सक्ने मोटरसाइकलमा ११ लिटर क्षमताको इन्धन ट्याङ्क पाउन सकिन्छ ।
कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?
बागलुङ । पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् ? कहिले बन्छ होला है ?’ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको छेवैमा व्यवसाय गरेर बसेका हरि केसीले सुन्दै आएका प्रश्न हुन् यी । बर्खामा उर्लिने हिउँदमा निरन्तर बगिरहने कालीगण्डकीमा पक्की पुल बन्न थालेको सात वर्ष बित्यो । कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसकेका देखिन्छन् । अहिलेसम्म पुलले सानोतिनो आकार मात्र लिएकाले पुल बनिहाल्छ जस्तो नलाग्ने सर्वसाधारण बताउँछन् । जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको काम सात वर्षदेखि चलिरहेको छ । ‘विभिन्न कारणले लामो समयदेखि काम अगाडि बढ्न सकेन् । अघिल्लो वर्ष धेरै काम भएको छ । अब २० प्रतिशत काम मात्रै बाँकी छ’, सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पोखरेलले भने, ‘कठिन काम सकियो । निर्माण कम्पनीको म्याद पनि सकिएको छ । म्याद र बजेट थप भए अबको एक वर्षमा पुल निर्माण सम्पन्न हुन्छ ।’ उनले पाँच वर्षसम्म अलपत्र रहेको कामले अघिल्लो वर्ष गति लिएको बताउँदै अघिल्लो वर्ष मात्रै ४५ प्रतिशत काम भएको जानकारी दिए । पोखरेलका अनुसार त्यसभन्दा अघिको वर्ष करिब ३५ प्रतिशत काम भएको थियो । ‘पुलका पिल्लर बनिसकेका छन् । ढलान स्लापको काम बाँकी हो । आसपासका एप्रोज रोड र पुल जोगाउन तारजालीको लागि भिओ गर्नुपर्ने छ’, पोखरेलले भने, ‘कूल बजेटको १५ प्रतिशत भित्रै हुने गरी भिओ बनाउने योजना छ । भिओ भएको बजेट स्वीकृत हुँदा आगामी असारसम्म पुल तयार हुन्छ ।’ जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देविस्थान जोड्ने गरी २०७३ असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो । प्राविधिक कारणले लामो समयसम्म काम रोकिएको थियो । काम थालेको पाँच वर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेकामा गत आर्थिक वर्षमा भएको कामसमेत गरेर ८० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले जनाएको छ । बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचनाको काम सकिएको छ । कालीगण्डकी नदीको बीचमा दुईवटा पिल्लर तयार भएका छन् । पाँचाैँ पटक म्याद थपका लागि निवेदन दर्ता गराएको निर्माण कम्पनीले जनाएको छ । ‘कामको गति हेर्दा म्याद नथप्नुपर्ने कुनै कारण छैन्’, इञ्जिनियर पोखरेलले भने, ‘भिओ स्वीकृत हुने नहुने मुख्य प्रश्न हो ।’ उनका अनुसार १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ मा तीस महिनाभित्र काम सक्नेगरी सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ । समयमै पुल नबन्दा तीन वर्ष अघि भदौमा आएको पहिरोले मध्यपहाडी लोकमार्ग एक साता अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न नपाएको स्थानीय हरि केसीले बताए । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाईसमेत करिडोरको पहुँचमा ल्याउने उनको भनाइ थियो । उनका अनुसार ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नुपर्दैन । रासस
घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएसँगै हाइड्रोले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले असोज १८ गते मात्रै कम्पनीलाई हकप्रदको लागि स्वीकृति दिएको थियो ।
७ हजारको हवाइ भाडा कसरी पुग्यो १७ हजार ?
काठमाडौं । एक साताअघिसम्म काठमाडौं–धनगढी रुटको हवाइ भाडादर साढे ७ हजार रुपैयाँ हाराहारी थियो । काठमाडौंबाट धनगढी जाने यात्रुहरुले सहजै रुपमा टिकट काटेर धनगढी जान पाउँथे । तर, अहिले धनगढी जानका लागि यात्रुहरुले अधिकतम् १७ हजार १८६ रुपैयाँ भाडा तिर्नु पर्ने देखिन्छ । यसअघि सो रुटको न्यूनतम न्यूनतम् भाडा ७ हजार रुपैयाँदेखि उच्चतम ११ हजार रुपैयाँसम्म थियो । एक साताको बीचमा धनगढी रुटको भाडा १० हजारले बढेको छ । यस्तै, यसअघि ६ हजारको हाराहारीमा पर्ने सुर्खेतको हवाइ भाडा अहिले १४ हजार १६८ रुपैयाँ, सोही हाराहारीमा पर्ने नेपालगञ्जको भाडा पनि १३ हजार ३९४ रुपैयाँ कायम भएको छ । काठमाडौंदेखि भद्रपुर पुग्न यसअघि चार हजार हारहारी लाग्नेमा अहिले बढाएर अधिकतम् १२ हजार ३८३ रुपैयाँ कायम गरिएको छ । एक सातामै यो किसिमको महँगीले यात्रुलाई आश्चर्य बनाएको छ । वायुसेवा कम्पनीहरुले हाल उडान हुँदै आएका सबै गन्तव्यको भाडादर उपर रेटमा राखेका छन् । चाडपर्व सुरु हुन लागेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा अचाक्ली रुपमा बढाउन थालेका हुन् । यसअघि न्यूनतम फेयरमा उडान गर्दै आएका वायुसेवा कम्पनीले चाडपर्व सुरु भएसँगै उच्चतम फेयरमा टिकट बिक्री गर्न थालेको देखिन्छ । कतिपय ठाउँको हवाइ भाडा शतप्रतिशत बढेको देखिन्छ । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द् कर्णले सुरुमा टिकट बुकिङ गर्नेहरुले बुकिङ गर्दा महँगो टिकट मात्रै बाँकी रहेको बताए । ‘जति पहिला टिकट काट्यो त्यति सस्तो पर्ने हो, दशैंका लागि डेढ महिनादेखि बुकिङ भएको थियोे, सुरुमा टिकट बुक गर्नेले सस्तोमा बुक गर्दा अहिले मंहगो टिकट मात्र बाँकी रहेको हो’, उनले भने । उनले दशैंमा काठमाडौंबाट सम्बन्धित गन्तव्यमा जानेहरु बढ्ने र उताबाट फर्कदा जहाज लगभग खाली नै फर्कनुपर्दा उच्च मूल्यका टिकटहरु राखिएको जानकारी दिए । ‘अहिले काठमाडौंबाट बाहिर जानेको भीड छ, उताबाट जहाज खाली जस्तै फर्कनु पर्छ, प्राधिकरणले दिएको भाडादरभित्र बसेर हामीले मर्का नपर्नेगरी भाडादर तय गरेका हौं,’ उनले भने । उसो त कतिपय ठाउँको अहिले टिकट नै पाइँदैन । वायुसेवा कम्पनीले महँगो मूल्यमा टिकट बिक्री गरिरहेतापनि तुम्लिङटारको भने टिकक बुकिङ भैसकेको देखिन्छ । डेढ महिनादेखि नै उक्त रुटको टिकट काटिएको भन्दै अहिलेका लागि टिकट नै बन्द भएको वायुसेवा कम्पनीहरुले बताउने गरेका छन् । बुद्ध एयरले उक्त रुटको टिकट सकिएको बताएको छ । कर्ण डेढ महिनादेखि उक्त रुटका लागि टिकट बुकिङ भएको भन्दै अहिले तोकिएका सबै टिकट सकिएको बताउँछन् । उनले सुर्खेतका लागि समेत टिकट सकिएको जानकारी दिए । ‘अहिले तुम्लिङटार र सुर्खेतका सबै टिकट बुकिङ भैसक्यो, हामीले उडान गर्ने गरेका यी बाहेक अन्य सबै गन्तव्यका ९० प्रतिशत हाराहारिमा बुकिङ भैसकेको छ’, उनले भने । उनले उक्त रुटमा अग्रिम टिकट बुकिङ गरेका यात्रुले टिकट रद्द गरे मात्र बुकिङ गर्न पाइने बताए । बुद्धले हाल १६ वडा एटिआर जहाजमार्फत् दैनिक दुईतर्फी गरी एक सय ५० उडान गरिरहेको छ । उनले बुद्धले मात्र दैनिक १० हजार हाराहारीमा यात्रुलाई सेवा उपलब्ध गराएको भन्दै यात्रुको माग अनुसार उडान थप गर्न सकिने जानकारी दिए । ‘हामीले दैनिक डेढ सय उडान मार्फत १० हजार यात्रुलाई सेवा उपलब्ध गराउँदै आएका छौँ, दशैंका लागि थप उडानको माग आयो भने हामीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट अनुमति लिएर थप उडान गर्न सक्छौं । तर, अहिले नै थप उडान गर्छौं भनिहाल्ने अवस्था छैन’, उनले भने । महँगो भाडा नलिन प्राधिकरणको निर्देशन नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीलाई महँगो भाडा नलिन निर्देशन नै दिएको छ । गत साता सबै वायुसेवा कम्पनीका सञ्चाललाई नै बोलाएर प्राधिकरणले सन्तुलित रुपमा भाडादर लागू गर्न निर्देशन दिएको थियो । प्राधिकरणले चाडपर्वको समयमा सन्तुलित भाडा लिन वायुसेवा कम्पनीका सञ्चालकलाई निर्देशन दिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । ‘वायुसेवा कम्पनीलाई प्राधिकरणले न्यूनतमदेखि उच्चतम रेट तोकेर भाडादर दिएको हुन्छ, हामीले दिएको भाडादर भन्दा महँगोमा टिकट बिक्री गर्न पाइँदैन, महँगो नराखेपनि अहिले अधिकांश वायुसेवा कम्पनीले उच्च भाडादर तोकेको पाइएको छ’, उनले भने । उनले एक साताअघिसम्म न्यूनतम ७ हजार रुपैयाँ रहेको रुटमा एक्कासी १७ हजार भाडादर तोकिँदा यात्रुुलाई समस्या भएको बताए । ‘यस विषयमा हामीले थप अध्ययन गरिरहेका छौँ, सन्तुलित रुपमा भाडादर लिन हामी पुनः निर्देशन गर्छौ’, उनले भने । आन्तरिक उडानका बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुई तर्फी उडानमार्फत् झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन् ।
फोर्स गाडी किन्न रिलायन्स फाइनान्सले ७० प्रतिशत कर्जा दिने
काठमाडौं । फोर्स गाडी किन्न रिलायन्स फाइनान्सले ७० प्रतिशत कर्जा दिने भएको छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्ससंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ । आयाम इन्टरकन्टिनेटलका तर्फबाट कम्पनीका अध्यक्ष डा.धु्रव थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्य ज्यूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटलको सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रा. लि.का देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन । साथै, फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ । यस कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा फ्री लगायतका आफरहरु सार्वजनिक गरेको छ ।
दशैंको मुखमा अखाद्य वस्तुको बिगबिगी, स्वास्थ्यमा प्रतिकूल असर पर्ने
गलकोट । बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । उक्त झिनियाँको न त उत्पादन मिति छ न त उपभोग्य मिति नै छ । यस्तै जिल्लामा उत्पादन भइरहेको धौलागिरि भुजाले उपभोग्य मिति नै केरमेट बनाएर बजारमा ल्याएको छ । भुजाको उत्पादन मिति र उपभोग्य मिति केरमेट गरेर नयाँ मिति कायम गरेको पाइएकाले उक्त भुजालाई गोदाममा फर्काउन निर्देशन दिइएको छ । झिनियाँ र भुजा मात्रै होइन कुरकुरे, लेज, बियर, कोक, फ्यान्टा र सुजी लगायतका वस्तुमा उपभोग्य वस्तुको मिति गुज्रेको पाइएको छ । यस्ता वस्तुहरु उपभोगका लागि अखाद्य मानिन्छ । बागलुङ बजारमा दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी नै देखिएको छ । चाडपर्वका अवसरमा अस्वाभाविक मूल्यवृद्धि र अखाद्य वस्तुको बिक्री वितरण भइरहेको गुनासोपछि बजार अनुगमनलाई तीव्र गति दिने क्रममा अखाद्य बस्तु अत्यधिक पाइएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । ‘व्यापारीले ज्ञान नभएर हो या उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर हो, आफ्नो पसलमा बिक्रीका लागि राखिएको सामग्रीको उपभोग्य मिति हेर्न आवश्यक छ, कतिपय खुद्रा व्यापारीहरुले मिति सकिएको सामग्री खरिद गरेर ल्याएको समेत पाइयो’, बरालले भने, ‘बागलुङका अधिकांश किराना पसलमा मिति गुज्रेका सामग्री पाइयो जुन अखाद्य पदार्थ हो, स्वास्थ्यका लागि व्यापारीहरुले खेलबाड गरिरहेका छन् ।’ पर्यटन तथा उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्दा अखाद्य पदार्थ पाइएको हो । बागलुङको पुरानो बजारमा बढी म्याद गुज्रेका खाद्य सामग्री पाइएको छ । अनुगमनलाई राष्ट्रिय उपभोक्ता मञ्च र जिल्लाका पत्रकारहरुले साथ दिइरहेका छन् । बागलुङ बजारको भलायटोल, देउरालीचोक, कम्पुटोल, पेन्सन क्यामरोड लगायतका क्षेत्रमा बजार अनुगमन गरिसकेको छ । अनुगमनका क्रममा धौलागिरि भुजामा मिति सच्याएको, अर्ना बियरमा मिति गुज्रेको र रिजालको दालमोठमा मिति गुज्रेको पाइएको छ । यस्तै अनुगमनका क्रममा लेज, सुजी, बिस्कुट, चाउचाउ, मह, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको समेत मिति गुज्रेको पाइएकाले नष्ट गरिएको छ । अनुगमनका क्रममा मिति गुज्रेका सामग्रीसमेत मिति कायम भएका सामग्रीसँगै राखेर बिक्री गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्राविधिक सहन्साकुमार महतोले जानकारी दिए । उनका अनुसार चाडबाडको मुखमा व्यापारीलाई कारबाही नभएर सचेत गराउँदै हिँडेको र अखाद्य बस्तु नष्ट गरिएको छ । दशैंको मुखमा मासु तथा फलफूलको व्यापार बढी हुने भएकाले मासु र फलफूलको अनुमगनसमेत गर्न थालिएको नगर उपप्रमुख राजु खड्काले बताए । बागलुङ बजारलाई चुस्तदुरुस्त र बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बागलुङका थोक व्यवसायी र सरोकारवालाहरूलाई सँगै राखेर छलफलसमेत गर्दै आएको नगरपालिकाले जनाएको छ । चाडपर्व नजिकिँदै गएको अवस्था र बजारलाई चुस्तदुरुस्त, सुरक्षित तथा मर्यादित बनाउनका लागि नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र डिलर एसोसिएसन बीचको छलफलले उपभोग्य मिति कम रहेका सामग्री बागलुङमा नल्याउने र बिक्री नगर्ने, डिलर तथा थोक व्यवसायीहरूले बजारमा म्याद सकिएका खाद्य सामग्री भए नभएको नियमित हेरेर त्यस्ता सामान समय–समयमा उठाउने व्यवस्था गर्ने, बिना बिल कुनै पनि सामान खरिद बिक्री नगर्ने र डिलर तथा थोक व्यवसायीले आफूले सामान दिने खुद्रा बिक्रेताहरूको सूची तयार गरि राख्ने गरी काम भइरहेको उपप्रमुख खड्काले बताए । रासस