काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले बजार दिनानुदिन घट्नुमा नियामक दोषी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘विश्व लगानिकर्ता सप्ताह २०२३’ अन्तर्क्रिया तथा समापन कार्यक्रममा बोल्दै सहभागी लगानीकर्ताहरुले संयुक्त रुपमा राष्ट्र बैंकको गलत नीतिले अर्बौं डुबेको र बजार घट्नुमा नियामक दोषी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै लगानीकर्ता तारा फुलेलले नेपालको सेयर बजार दिनानुदिन घट्नुमा नियामक निकाय दोषी रहेको आरोप लगाएका छन् ।
‘नियामकले आफ्नो दायराभन्दा बाहिर गएर नीति निर्देशन जारी गर्दा बजारमा लगानीकर्तालाई दिग्भ्रमित बनाउने काम गर्यो, नियामक निकायको सद्वुद्धि आओस् भन्ने कामना गर्छु,’ लगानीकर्ता फुलेलले भने ।
त्यस्तै, लगानीकर्ता राधा पोखरेलले बजार घट्दा नेपाल धितोपत्र बोर्ड (सेबोन) मुकदर्शक बनेर बसेको बताएकी छिन् ।
साथै, उनले आफ्नै लगानीमा ४३ जिल्लामा लगानीकर्ता शिक्षा दिएको बताउँदै पुँजी बजारलाई सिंहदरबार वरिपरि मात्रै नभई दूर दराजमा पनि पुर्याउन आवश्यक रहेको बताइन् ।
लगानीकर्ता तुल्सीराम ढकाल पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीकर्ताको आवाज नसुनेका बताएका छन् । ‘सेयर बजार घट्दा कति लगानीकर्ता घरवारबिहीन भएका छन्, केहिको सम्बन्ध बिच्छेद भएको छ, कति लगानीकर्ता आत्महत्या गर्न बाध्य भएका छन् ।’ उनले भने- ‘यस्तो अवस्थामा पनि राष्ट्र बैंकका गर्भनरले आवाज सुनेनन् ।’
लगानीको शिक्षा नहुँदा लाखौं लगानी डुबेको उनको भनाई छ । धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा कार्यक्रममा लगानीकर्तालाई नबोलाइ शिक्षा कार्यक्रम आयोजना गरेको भन्दै उनले बोर्डमाथी गम्भीर आरोप लगाए ।
साथै, पुँजी मुटुको धड्कन भएको बताउँदै उनले अर्थतन्त्र ध्वस्त भएको बेला पुँजी बजारलाई चलायमान गर्नुपर्ने सुझाव दिए ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियार पनि राष्ट्र बैंकले पुँजी बजारलाई मरणासन्न अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।
‘राष्ट्र बैंकले लगानीकर्तालाई जिस्काउने पारामा नीति ल्यायो, पुँजी बजारलाई मरणासन्न अवस्थामा पुर्यायो,’ उनले थपे- ‘स्वायत्त संस्था राष्ट्र बैंकले मनपरि काम गर्यो, जसको गलत नीतिले लगानीकर्ताको अर्बौं रकम डुब्यो ।’
साथै, बैंकको गलत नीतिले लगानीकर्ता सबै डिप्रेशनमा रहेका उनी बताउँछन् । त्यस्तै, बैंकमा तरलता पर्याप्त हुँदा हुँदै पनि राष्ट्र बैंकले ब्याजदर घट्न नदिएकोमा उनको गुनासो छ ।
साथै, पुँजी बजारसँग सम्बन्धित कार्यक्रम हुँदा लगानीकर्तालाई विशेष स्थान दिनु पर्ने लगानीकर्ता रौनियारको भनाई छ ।
यता कार्यक्रममा बोल्दै लगानीकर्ता संजोग कोइराला सेयर सम्बन्धी जानकारीमूलक सामाग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउँछन् ।
लगानीकर्ता रोहन कार्कीले पनि सबैको सहकार्यमा पुँजीबजारलाई जोगाउनु पर्ने बताएका छन् ।
‘बजार साच्चिकै समस्यामा परेको छ, सबैजना एउटै डुंगामा छौं, सबैको सहकार्यमा पुँजी बजारलाई जोगाउनु पर्छ,’ उनले भने । पुँजी बजार संकटमा परेको बेला नियामक निकाय गम्भीर भएर अघि बढ्न जरुरी रहेको लगानीकर्ता कार्की बताउँछन् ।