विकासन्युज

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले ऊर्जा क्षेत्रको समग्र विकास र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई समेत सम्बोधन गर्ने प्रयास गरिएको बताए।  बर्षायाममा बढी बिजुली उत्पादन हुने र हिउँदमा एक तिहाई मात्रै उत्पादन भई असन्तुलित रहेको अवस्थालाई ख्याल गरेर जलाशय र अर्धजलाशययुक्तः प्रकृतिका आयोजना निर्माणलाई जोड दिइएको उनको भनाइ छ ।  प्रस्तावित विधेयकमा ठूला विद्युत् आयोजना सङ्घीय सरकारले, २५ मेगावाटसम्मका आयोजना प्रदेश सरकार र पाँच मेगावाटसम्मका आयोजना स्थानीय सरकारले अगाडि बढाउने गरी प्रस्ताव गरिएको मन्त्री बस्नेतको भनाइ छ ।  ऊर्जा क्षेत्रलाई सकारात्मक प्रतिस्पर्धाका माध्यमबाट अगाडि बढाउने लक्ष्यका साथ विधेयकमा नयाँ व्यवस्था प्रस्ताव गरिएको उनले उल्लेख गरे । विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई समेत पहिलो पटक सम्बोधन गरिएको जानकारी दिँदै उनले कानुन र विकासबीचको सम्बन्धलाई एकीकृत गरेर लैजान खोजिएको बताए । यस्तै, विद्युत् उत्पादनको प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेपनि प्रसारण पूर्वाधार निर्माणमा रहेको समस्या समाधान गर्न प्रस्तुत विधेयकमा नयाँ प्रावधान प्रस्ताव गरिएको उनको भनाइ छ । उनले विकास र समृद्धिको आवश्यकतालाई मध्यनजर गरेर विधेयक प्रस्ताव गरिएको र यसमा सघन छलफल गरेर थप समृद्ध पार्नुपर्ने आवश्यकता औँल्याए ।

‘चिनी आयात गर्न नपाउँदा बजारमा अभाव भयो, सिजनमै अनुगमन हुँदा हतोत्साहित बने व्यापारी’

काठमाडौं । साल्ट टेड्रिङ कर्पोरेशनका विभागीय प्रमुख ब्रजेश झाले समयमै सरकारले चिनी आयातको अनुमति नदिँदा बजारमा चिनी अभाव भएको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको चाडपर्वमा बजार अनुगमन र नागरिकको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अभावको कारण कम्पनीसँग थोरै चिनी भएकाले जतिपुग्छ त्यति बिक्री वितरण गर्ने उनले बताए । साथै, सरकारले दिएको निर्देशन अनुसार सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको बताउँदै उनले कर्पोरेशनका बिक्री काउन्टरबाट प्रतिपरिवार २ किलोका दरले बिक्री वितरण भइरहेको जानकारी गराएका छन् । कोरोना काल र भारतको नाकाबन्दीमा नभोगेको समस्या अहिले देखा परेको उपभोक्ता जागरण नेपालमा अध्यक्ष कृष्ण प्रसाद भण्डारी बताउँछन् । ‘उपभोक्ता समस्यामा हुँदा सरकारले राहत दिन सकेको छैन, मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले समेत प्रभावकारी रूपमा काम गर्नै सकेन, राजनीतिले बजार ध्वस्त बनायो, यसमा सरकारले ध्यान दिन सकेन भने उपभोक्ताले सरकार भएको अनुभूति गर्नै सक्दैनन्,’ उनले भने । त्यस्तै, सबैले वाणिज्य विभागको मुख ताक्ने अनि सरकारले राम्रो काम गर्न खोज्ने विभागका डीजीको सरूवा गर्ने प्रविधिको अन्त्य हुनुपर्ने बताउँदै स्थानिय तहलाई दिएको अधिकारको उपयोग नभएको गुनासो गरेका छन् । कार्यक्रममा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले छुट्टा छुट्टै निकायबाट आउने अनुगमनले व्यवसायीलाई हतोत्साहित बनाएको गुनासो गरेका छन् । ‘व्यापारको सिजनमै अनुगमन धेरै हुँदा समस्या भयो,’ उनले बताए । सरकारले समयमै निर्णय गर्न नसक्दा त्यसको प्रत्यक्ष असर उपभोक्ताले भोग्नु परेको बताउँदै उनले सरकारले समयमै निर्णय गर्न नसक्ने हो भने अबको ५/७ महिनामा नेपालमा चामल अभाव हुने समेत बताए ।

चाडपर्व लक्षित काठमाडौं उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालनमा

काठमाडौं । सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आईतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गरेको हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वागमती प्रदेशिक कार्यालय थापाथलीबाट मन्त्री रिजालले सहुलियत पसलको उद्घाटन गरे । सरकारले हरेक वर्ष देशभरका विभिन्न क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत पसलहरु सञ्चालन गर्छ । जसअनुसार यो वर्ष पनि सरकारले उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यका र बाहिर गरी ४९ बिक्री स्थल राखेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मुलुक भरका ४३ जिल्लाका ४९ स्थानहरुबाट आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको बताए । सहुलियत पसलमा खाद्य वस्तुहरुका चामलमा प्रतिकेजी सात र खाने तेल लगायतका वस्तुहरुमा पनि ७ रुपैयाँ छुट दिएको, कर्णालीका उत्पादन गेडागुडी, खसी बोका र भेडा च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँका दरले छुट,  लोककल्याणकारी राज्य होस् भनेर सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको १० वर्ष भएको,  सरकारले खाद्य वस्तुहरुको उपलब्धता सहज र घुम्ति पसल पनि सञ्चालन गर्ने तयारीमा रहेको’, उनले भने । काठमाडौं उत्यका भन्दा बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र महेन्द्रनगर खाद्य व्यवस्थाले सहुलियत पसल राखेको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ । सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछन् ।

मनाङका होटलमा पर्यटक भरिभराउ, दैनिक दुई सय पर्यटक आउने

मनाङ । हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढेको छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् । दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । दुई वर्ष कोभिडका कारणले गर्दा पूर्ण रुपमा बन्द रहेको पदमार्गमा अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । मनसुन लम्बिए पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मौसममा सुधार हुनासाथ पर्यटक आगमन बढेको यहाँका होटल व्यवसायी बताउँछन् । हिमपात भएको समयमा पदयात्रा गर्दा जोखिम बढी हुने भएकाले यस समयमा पदयात्रा गर्न सहज हुने जिल्लास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयले जनाएको छ । पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरदेखि पर्यटक पैदलयात्रा गरिरहेको देखिने आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताए । उनले सिजन सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल बढेको भन्दै दैनिक एक सय ५० देखि दुई सयसम्म पर्यटक मनाङ भित्रिन थालेका जानकारी दिए । प्रमुख भुजेलले भने, ‘मनाङ भित्रिएका पर्यटक विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल (चार हजार नौ सय १९ मिटर), विश्वकै १०औँ स्थानको जोखिमयुक्त पदमार्गअन्तर्गतको थोराङ्ला पासतर्फ जाने गरेका छन् ।’ सन् २०२३ को सुरुआतदेखि सेप्टेम्बरसम्म १२ हजार दुई सय बाह्य पर्यटक भित्रिएको (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका अनुसार गत वर्ष सन् २०२२ मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य गरी १९ हजार पर्यटक भित्रिएका थिए । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका भुजेलले जानकारी दिनुभयो । सन् २०२३ को जनवरीमा ४२ देशका नागरिकले मनाङ भ्रमणका लागि प्रवेश गरेको तथ्याङ्क रहेको आयोजना इलाका कार्यालयले जनाएको छ । उनका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक भ्रमणका लागि आएको तथ्याङ्क छ । ‘विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ । यस वर्ष हिउँ पर्न सकेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो । सिजन सुरु भएपछि अहिले पर्यटक यहाँ भित्रिन थालेका छन्’, भुजेलले भने । नयाँ वर्षको योजनाअनुरुप कोरियाका पर्यटक भ्रमणमा आएको उनले बताए । ‘कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुन्छन्, जसले गर्दा हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेका हुन्’, प्रमुख भुजेलले भने । हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताल लगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको उनको भनाइ थियो । ‘विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिन्छौँ । यो मार्ग जोखिम छ, केही जानकारी दिन्छाँै भने गाइड लिएर आएमा जोखिम कम हुन्छ भन्ने हो’, उनले भने, ‘यस वर्ष मनाङमा हिमपात नभए पनि पर्यटक बढ्ने क्रममा छ ।’ ‘हिमपात भएपछि हिउँ पहिरा आउन सक्ने भएकाले पूर्ण रुपमा यात्रा रोकिन्छ । तर, यसपटक हिमपात भएको छैन । पर्यटकलाई यात्रामा सहज हुन्छ । त्यसै पनि जोखिमपूर्ण यात्रा हुन्छ यस पदमार्गमा । आवश्यक सतर्कता अपनाउन सुझाव दिने गरेका छौँ’, भुजेलले भने । उनका अनुसार मस्र्याङ्दी नदीको किनार हुँदै यस पदमार्गको यात्रा गर्नुपर्दछ । सडक र पदमार्ग एउटै हुँदा पर्यटकलाई सकस हुने गरेको उनले बताए । यात्राका क्रममा सवारी चल्दा हिलाम्मे भएको क्षेत्रमा हिलो छ्यापिने र धुलो भएको स्थानमा धुलोले बाटो छिचोल्न समस्या हुने गरेको भुजेलको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जोखिमयुक्त यात्रा गर्नुपर्ने भएकाले सचेतता अपनाउन सुझाव दिने गरिएको बताए । उनले भने, ‘उच्च हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले गन्तव्यमा पुग्न सकस हुन्छ, जसले गर्दा आवश्यक सचेतता अपनाउन सुझाव छ ।’ पर्यटन व्यावसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटक देशकै आयस्रोत भएकाले उनीहरुको आकर्षण बढाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने, “सडकको स्तरोन्नतिसँगै पदमार्गलाई पनि व्यवस्थित बनाउन आवश्यक छ । सडक र पदमार्ग एउटै भएको स्थानमा वैकल्पिक पदमार्ग बनाउनतर्फ सबैको चासो पुग्नुपर्छ ।” उनका अनुसार जिल्लामा करिब सानाठूला गरी तीन सय होटल रहेका छन् । विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दै गएको सङ्घका अध्यक्ष गुरुङले बताए । ‘आन्तरिक पर्यटकलाई सहज हुने गरी विकास गर्न आवश्यक छ । यहाँ आउने पर्यटकलाई स्वागत गर्दा यहाँको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्छ’, उनले भने, ‘यसका साथै फिल्म सुटिङको गन्तव्य बनाउन पनि सबै लाग्नुपर्छ ।’ पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई सिजन गरी यहाँ पर्यटक घुम्न आउने गर्दछन् । रासस

व्यवसायबाट उदाएका अध्यक्ष टेकराज राजनीतिमा पनि रम्दै

काठमाडौं । व्यक्तिसँग आ–आफ्नै किसिमका गुण, स्वभाव, चरित्र र विशेषता हुन्छन् । एउटा व्यक्तिसँग भएको विशेषता अर्को व्यक्तिसँग नहुन सक्छ । भनिन्छ नी, ‘भगवानले सबैलाई एउटा–एउटा गुण तथा विशेषता दिएर पठाएका हुन्छन् ।’ तर, सीमित व्यक्तिमा बहुगुण र विशेषता हुन्छन् । अर्घाखाँचीका टेकराज न्यौपानको जन्म गरिब परिवारमा भयो । किसानको छोरा । लामो मिहेनत र संघर्षपछि व्यवसायी बन्छन् । व्यवसायबाटै धेरैको मन जित्छन् । उनको व्यवसायप्रतिको इमानदारिता र ग्राहकलाई गर्ने व्यवहारले उनलाई धेरैले रुचाउँछन् । उनलाई राजनीति गर्ने मोह चल्छ र पाइँला राजनीतितर्फ मोड्छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नम्बर ७ मा जन्मिएका टेकराज न्यौपाने अहिले सोही गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । हिजो पसलमा सेवा लिन आउने सेवाग्राहीहरु आज पनि उनका सेवाग्राही बनेका छन् । तर, निःशुल्क । हिजो सामान बिक्री गरेर ‘साहुजी’ बनेका न्यौपाने आज सिंगो पालिकाका अभिभावक बनेका छन् । ५७ वर्षका टेकराज हिजो व्यवसाय गर्दा जति फुर्तिला र मिहेनती थिए उनको त्यो सक्रियता आज पनि उति नै छ । बिहान–बेलुका घाँस दाउरा गर्दै बाल्यकाल बिताएका उनी पछि व्यवसायी हुँदै अहिले पालिकाका अभिभावक बनेका छन् । ‘गाउँको एउटा सामान्य किसानको छोरा हुँ, सामान्य पारिवारिक माहोलमा मेरो जन्म भयो, संघर्ष गर्दै जाँदा चाहेको सफलता पनि हात लाग्दो रहेछ,’ न्यौपानेले विगत स्मरण गर्दै भने । घरका कान्छा छोरा टेकराजको संघर्षको फेहरिस्थ भने लामो छ । टेकराजले कक्षा तीनसम्मको अध्ययन जिल्लाकै विद्या बिनोद विद्यालयबाट गरे । कक्षा ४ देखि १० सम्म शारदा माध्यमिक विद्यालयबाट पास गरे । विद्यार्थी जीवनमा आफु औसत विद्यार्थी भएको उनी सुनाउँछन् । १० कक्षा पास गरेपछि उनी उच्च शिक्षा पढ्न भारततर्फ लागे । ‘भारत पढ्न गइयो तर पढाई पुरा गर्न सकिएन, साइला दाई बितेको खबरले पढाइलाई बिचैमा छाडेर नेपाल आउनु पर्यो, त्यसपछि पढाइलाई निरन्तरता दिन सकिएन, प्लसटु पास नगर्दै पढाइ छोडें,’ उनले विद्यार्थी जीवन सुनाउँदै भने । उनले पढाइलाई निरन्तरता नदिने भएपछि गाउँमै व्यवसाय गर्ने निधो गरे । वि.सं. २०४२ मा एउटा पसल सञ्चालन गरे । ‘सुरुमा गाउँमा सबै सामान पाइने किराना पसल खोलेँ, व्यवसाय राम्रै चल्यो,’ उनले भने, ‘अब व्यवसाय विस्तार गर्ने योजना बनाएँ ।’ लामो समय गाउँमा पसल सञ्चालन गरेपछि उनलाई शहरमा पसल सञ्चालन गर्ने सोच आयो । उनले गाउँको पसललाई छाडेर वि.सं. २०६७ बाट बुटवलमा भाँडा पसल सञ्चालन गरे । त्यहाँ पनि राम्रै बिजनेस भएको उनी बताउँछन् । ‘आफूलाई व्यवसायमा सफल भएको म ठान्छु, पढाइलाई निरन्तरता दिन नसकेता पनि व्यवसायमा चाहिँ सफल भएँ, सानै व्यवसाय भए पनि व्यापारमा राम्रै प्रगती गरियो भन्ने महसुस भएको छ,’ उनले भने । …त्यसपछि बने अध्यक्ष टेकराज न्यौपाने व्यवसायसँगै राजनीतिमा पनि सक्रिय बने । सफल व्यवसायीका रुपमा आफुलाई चिनाएका उनी हुन त विद्यार्थीकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । परिणामस्वरुप उनको सक्रियताको सम्मान गर्दै नेकपा एमाले पार्टीले टिकट दियो र उनी २०७९ को स्थानीय तहको निर्वाचनमा पाणिनी गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बने र जिते पनि । उनले वि.सं. २०४९ सालमा एमाले पार्टीको गाउँ कमिटीको सचिव भएर काम गरे । इलाका कमिटीको इचार्ज हुँदै जिल्ला कमिटीको सदस्य भएर पनि काम गरेको अनूभव उनीसँग छ । उनी वि.सं. २०५४ सालमा अड्गुरी गाविसको अध्यक्षको पदमा चुनाव नलडेको होइन । तर, उनी पराजित बने । उसो त उनले २०७४ को स्थानीय तहको निर्वाचनमा चुनावी माहोलमा प्रतिस्पर्धा गर्ने योजना उनले गरेपनि टिकट पाउन सकेनन् । तर, २०७९ मा व्यवसायको जिम्म्मेवारी छोरालाई सुम्पिँदै उनी पाणिनी गाउँपालिकाकाको अध्यक्ष बने । उनको जितले पालिकाले विकासमा फड्को मार्ने अपेक्षा स्थानीहरुको छ । सम्वृद्ध पालिका बनाउने सपना गाउँपालिकाको अध्यक्षको रूपमा निर्वाचित भइसकेपछि टेकराज पालिकाको विकास र सम्वृद्धिको लागि दौडधूप गरिरहेका छन् । कृषि र पशुमा आधारित रोजगारी सिर्जना र यस क्षेत्रको विकासको लागि काम गरिरहेको उनी बताउँछन् । अध्यक्ष न्यौपाने गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण गरी सञ्चालन ल्याएको बताउँछन् । पालिकाले अहिले १५ शैयाको अस्पताल निर्माण गरिरहेको छ । गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकास तथा पहिचान र प्रचार प्रसार गर्ने कार्यमा पनि जुटेको उनी बताउँछन् । उनले प्रत्येक वडामा स्वास्थ्य चौकीका भवन निर्माण भइरहेको बताउँदै लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुर्याएको बताए । ‘संघ र प्रदेशबाट समयमा बजेट नआउँदा पालिकालाई केही समस्या परिरहेको छ, हामीले आँटेको काम पूरा गर्न समस्या भइरहेको छ,’ उनले भने । चुन ढुङ्गाको उत्खनन गर्ने काम भएपछि पालिकाको आन्तरिक आम्दानी पनि बढ्ने उनको विश्वास छ । गाउँमै मान्छे अडिने वातावरण बनाउने कार्यक्रम बनाउन आवश्यक रहेको उनी बताउँछन् । ‘गाउँमा मान्छे रित्तिँदै छन्, गाउँमै मान्छे अडिने वातावरण कसरी बनाउने भन्ने विषय चुनौतिपूर्ण छ, हाम्रो पालिकामै प्राविधिक शिक्षा पढाइ हुन्छ, तर मान्छे गाउँमै अडिन चाहँदैनन्,’ उनले भने । आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटी राखेका टेकराज अहिले सम्वृद्ध पालिका बनाउनका लागि खटिरहेका छन् ।

प्रतिनिधिसभा बैठक : उपभोक्ता बजार नियमन र अनुगमनको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरुले बोलेका हुन् ।  त्यस्तै, प्यालेस्टाइनको लडाकू समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेका नेपालीको उद्धार र स्वास्थ्योउपचारमा पनि गम्भीर हुन उनीहरूले सरकारको ध्यानाकर्षण गराए । सांसद बिजुला रायमाझीले आम उपभोक्ताले चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या भोग्नु परेको, यातायात सुविधा सहज हुन नसकेको, सडक छेउका होटलमा अखाद्य सामग्री बिक्री वितरण भइरहेको विषय उठाए । सांसद बिनिता कुमारी सिंहले खाद्यजन्य वस्तुमा प्रयोग हुने हानिकारक विषादी भइरहेको विषय उठाइन् । फलफूल, तरकारीमा र खाद्य सामग्रीमा विषादी परीक्षण बढाउनुपर्ने उनको भनाइ छ  । सांसद शान्ति विकले चरम मूल्यवृद्धि जनताले धान्न नसक्ने अवस्थामा पुगेको बताइन्। आर्थिक मन्दीका कारण बजार माग घटेको तर मूल्यवृद्धि भएको उनको भनाइ छ । त्यस्तै, अहिले किसानले दूधको मूल्य नपाएको पनि उनले संसद्मा उठाइन् । सांसद शान्ति श्रेष्ठले दसैँ, तिहारलगायत चाडबाड मान्न घर जानका लागि महँगो सवारी टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरिन् । त्यस्तै, धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही र सडकको अवस्था सुधार गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।  सांसद सीता मिजारले बजारमा कृत्रिम अभाव, कालोबजारी, एकाधिकार, सवारी टिकट अभावको समस्यालगायतका   विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद बिना लामाले देशका दुर्गम स्थानमा खाद्य आपूर्ति सहज बनाउन संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद सूर्यमान तामाङ दोङले चाडपर्वका बेला नागरिक झन् सास्तीमा परेको बताए। ठेकेदारको कमजोरीले देशका विभिन्न स्थानमा सडक अलपत्र परकोे र निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पाउन नसकेको विषय पनि उनले संसद्मा उठाए। सांसद शिशिर खनालले इजरायलमा भएको आक्रमण र त्यहाँ रहेको नेपालीको अवस्थाको विषय उठाउँदै तत्काल अवस्थाको यकिन जानकारी लिनुपर्ने र उद्धार थाल्नुपर्ने बताए। सांसद हितराज पाण्डेलले पनि इजरायलमा भइरहेको युद्धमा परी घाइते भएका नेपालीको उद्धारमा राज्यले गम्भीरता देखाउनुपर्ने बताए। सांसद ज्ञानबहादुर शाहीले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्नका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए । सांसद ज्ञानु बस्नेत सुवेदीले पनि इजरायलमा रहेका नेपालीको उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना जैसवालले मिटरब्याज पीडितको समस्या अझै समाधान नभएको विषय संसद्मा उठाए। सरकारले मिटरब्याज पीडितका समस्या समाधान सम्बन्धमा अध्यादेश ल्याएको भए पनि त्यो पीडितका पक्षमा देखिन नसकेको उनको भनाइ छ ।  सांसद शेरबहादुर कुँवरले गत मंगलबार बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टरस्केलको भूकम्पबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसद शोभा ज्ञवालीले संसद्को प्रभावकारिता देखिन नसकेको बताइन् । संसद्मा सांसदले प्रश्न गर्ने र मन्त्रीले जवाफ दिने तर संसद्मा उठेका विषयको प्रभावकारिता देखिन नसकेको उनको भनाइ छ । त्यस्तै, सदनमा पटक-पटक एउटै विषय दोहोर्‍याउनु परेको अवस्था रहेको ज्ञवालीले उल्लेख गरिन् । सांसद सराज अहमत फारुकीले नेपालको जनशक्ति विदेशिने क्रम बढेको बताउँदै स्वदेशमै रोजगारीको सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए। त्यस्तै, पछिल्लो समय विभिन्न धार्मिक हिंसा बढेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद शंकर भण्डारीले आर्थिक सुशासनको विषय उठाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी पर्ने गरेका कारण विकासको प्रक्रिया अस्तव्यस्त हुन पुगेको बताए।  जुनसुकै विषयमा बिना तथ्य बेनामे उजुरी पर्दा समस्या देखिएको उनको भनाइ छ । सांसद सरिता भुसालले मदरसा शिक्षालाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताइन्। सरकारले तोकेको धानको समर्थन मूल्य किसानले नपाएको विषय उठाउँदै सांसद शान्ति चौधरीले सरकारले नै तत्काल किसानको धान खरिद गर्नुपर्ने बताइन् । सांसद सुनिता बरालले नेपालमा आउने पर्यटकमध्ये धेरैजसो पोखरा घुम्न आउने गरेको र त्यहाँ जानका लागि सहज यातायात सुविधा नरहेको विषय उठाइन् । त्यस्तै, हवाई टिकटको मूल्य बढेको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन् । सांसद सूर्यकुमारी श्रेष्ठले नेपालको जनशक्ति विदेशिनुमा कृषि क्षेत्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको बताइन्। बङ्गलादेशले कृषि क्रान्तिमार्फत आर्थिक समृद्धि हासिल गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर युवाशक्ति विदेश जानबाट रोक्नुपर्ने बताइन् । सांसद सोनु मुर्मुले इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क बढाएको विषय संसद्मा उठाए।  सांसद हरि ढकालले भूमिहीन र सुकुम्बासीका समस्याका विषय संसद्मा उठाए। अहिले भ्रष्टाचार र घुसखोरीका घटना स्थानीय तहमा बढी देखिरहेको बताउँदै सांसद हेमराज राईले नागरिकले सुविधा पाउन सकस हुने गरेको उल्लेख गरे । सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार आवश्यक रहेको विषय संसद्मा उठाए । सांसद विद्या भट्टराईले वीर अस्पतालका दुई सय ३० जना डाक्टरलाई हटाउने निर्णय फिर्ता लिन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए। कोभिड-१९ महामारीका समयमा नियुक्त गरिएका ५० जना डाक्टर, एक सय ६२ नर्स, ११ प्रयोगशाला प्राविधिक र सात जना रेडियोलोजिस्टलाई असोज २१ गतेबाट काममा नआउनु भनेर निर्देशन दिएको विषय उनले उठाए । आर्थिक अवस्थालाई देखाएर वीर अस्पतालको स्वास्थ्य सेवा नै खल्बलिने गरी सरकारले यस्तो निर्णय लिन नहुने उनको भनाइ छ ।

किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी

वालिङ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बेझाङका कृषक किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । बेझाङमा नमूनाका रुपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताए । गाउँमा किवी खेतीका लागि सम्भावना राम्रो देखिएपछि अहिले समूह तथा व्यक्तिगत रुपमा नै किवी खेती थालिएको छ । किवी खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउन आँधीखोला गाउँपालिका र १ नं वडा कार्यालयले किवीका बिरुवा उपलब्ध गराएको उनले बताए । ‘कोदो रोप्दै आएको जमिन र बाँझो जमिनमा गत वर्ष तीन सय किवीका बिरुवा रोपिएको छ’, उनले भने, ‘किवीका लागि यहाँको हावापानी उपयुक्त हुनाका साथै बाँदरले पनि नष्ट नगर्ने भएकाले पछिल्लो समय किवी खेतीतर्फ आकर्षण बढ्दो छ ।’ थोरै थोरै बिरुवा लगाएर थालनी गरेका यहाँका किसानले आगामी वर्ष थप बिरुवा लगाउने गरी तयारी गरेका उनले बताए। ‘मैले गत वर्ष ५० बिरुवा लगाएको छु, राम्रो भएको छ’, उनले भने, ‘बाँझो रहेको अरू जग्गामा पनि थप बिरुवा लगाउँछु, यहाँ मजस्तै अरू किसानहरुले पनि व्यावसायिक रुपमा किवी खेती गर्ने मनसाय गर्नुभएको छ ।’ कोदो रोप्दै आएको जमिनमा तीन वर्षअघि परीक्षणका लागि २० किवीका बिरुवा ल्याएर लगाएको स्थानीय दीपक गुरुङ बताउँछन् ।  तीन वर्षअघि लगाएका बिरुवाबाट हाल उत्पादन राम्रो भएकाले यहाँका स्थानीयहरुले यो खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै गरेको गुरुङले बताए। ‘गाउँमा कोदो रोप्दै गरेको जमिन र बाँझो जमिनमा कस्तो हुँदोरहेछ भनेर काभ्रेबाट मगाएर तीन वर्षअघि किवीका बिरुवा लगाएँ’, उनले भ, ‘किवीका लागि हाम्रो ठाउँको हावापानी अनुकूल भयो र राम्रो उत्पादन भयो ।’ किवीसम्बन्धी केही पनि जानकारी नभई लगाएको खेतीबाट उत्पादन राम्रो भएपछि स्थानीय तथा आफ्ना आफन्तहरूलाई कोसेलीस्वरुप दिने गरेको उनले बताए। गाउँबाट बसाइँ सर्ने दर बढ्दै जाँदा गाउँ रित्तो हुँदै गएको उनले बताए। उनका अनुसार गाउँबाट ३० घर पोखरा र सात घर काठमाडौँमा बस्दै आएका छन् । पोखरामा बस्दै आएका गुरुङले गाउँमा रहेको जमिनमा परीक्षणका रुपमा लगाएको किवीबाट उत्पादन राम्रो भएसँगै स्थानीयलाई सिकाइ र अनुभव लिने अवसर मिलेको छ । ‘मैले कस्तो हुँदोरैछ, गाउँको हावापानीमा किवी हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न लगाएको थिएँ, व्यावसायिक रुपमा गरेको थिएन’, उनले भने, ‘जब फसल राम्रो भयो तब जोस र जाँगर बढेर आयो, अब बिस्तारै गाउँमा नै फर्केर किवी खेतीलाई व्यावसायिक रुपमा लैजान पर्छ कि भन्ने सोचाइमा छु ।’ सैद्धान्तिक ज्ञान भए पनि किवी खेती व्यावसायिक रुपमा गर्नका लागि प्रयोगात्मक ज्ञान भने अझै कमी रहेकाले यसको खोजीमा रहेको उनले बताए । बेझाङ समुद्र सतहदेखि एक हजार चार सयदेखि एक हजार पाँच सय मिटरको उचाइ रहेकाले यहाँ किवीका लागि आवश्यक पर्ने हावापानी भएको उनले बताए । रासस

सेयर कर्जाको सीमा बढ्दा पनि सन्तुष्ट देखिएनन् लगानीकर्ता, बजार ३५ अंकले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाउँदा पनि आइतबारको सेयर बजार बढ्न सकेन । बजार कारोबार शुरु भएदेखि बन्द हुँदा सम्मनै निरन्तर घट्यो । अर्थात नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ बिन्दुमा झर्यो । जुन गत बिहीबारको तुलनामा १.८२ प्रतिशत हो । आइतबारको बजार दोहोरो अंकले घट्नुले लगानीकर्ताहरु राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्ट रहेको बुझिन्छ । राष्ट्र बैंकले गत बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमालाई बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ पुर्याएको थियो । जसप्रति सेयर कर्जाको सीमा खुला गर्नु पर्छ भनेर माग गर्दै आएका अधिकांश लगानीकर्ताहरु असन्तुष्ट रहेको जानकारहरु बताउँछन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था थियो । दोहोरो अंकले घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको तुलनामा बढेको छ । गत बिहीबार एक अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने एक अर्ब ८० करोडको सेयर किनबेच भएको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा समूह भने २३८ अंकले घटेको छ । बजार ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेन्चर २०८५ को मूल्य भने प्रतिकित्ता तथा प्रतिथान १० प्रतिशतले घटेको छ । बजार दोहोरो अंकले बढ्दा पनि बाराही हाइड्रोपावर पब्लिक र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को मूल्य भने प्रतिकित्ता तथा प्रतिइकाई ९.५९ र ९.४० प्रतिशतले बढेको छ । यससँगै बाराही हाइड्रो अन्तिम कारोबार प्रतिकित्ता ५५१ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको प्रतिइकाई ८.५० रुपैयाँमा किनबेच भएको छ ।