विकासन्युज

बकंरमा अड्कीएका विद्यार्थीलाई प्रधानमन्त्रीको आश्वासन : नआत्तिनु, शीघ्र उद्धार गछौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताएका थिए । उनले सोही विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको र सर्वदलीय बैठकमा समेत सोही विषयमा छलफल हुने बताए । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरायली दूतावाससँग पनि यसबारेमा नियमित छलफल भइरहेको उल्लेख गरेका थिए । उनले यी सबै कुरा त्यहाँका अरु विद्यार्थीलाई पनि सञ्चार गरिदिन आग्रह समेत गरे ।

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

फाइल फोटो काठमाडौं । नेपाल सरकारले हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् । मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारले जनही १२ लाख रुपैयाँ पाउने भएका छन् । इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका आठ जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ ।

थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान आवश्यक : मौसम विज्ञ

काठमाडौं । मौसम विज्ञहरुले थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले प्रतिकुल मौसमी अवस्था र त्यसले पार्ने प्रभाव पत्ता लगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनीहरुले मौसम कस्तो छ ? पानी पर्छ की पर्दैन ? भनेर मात्रै नभई पानीले के—के प्रभाव पार्छ ? भन्ने किसिमको जानकारी सहितको पूर्वानुमानका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान चाहिने बताए । सिनियर डिभिजनल मेटेरियोलोजिस्ट शान्ति कँडेलले प्रभावमा आधारित मौसम पूर्वानुमानले मौसमपश्चात पार्ने प्रभाव जानकारी पाउन र आवश्यक कार्ययोजना बनाउन सहयोग पुग्ने जानकारी दिए । ‘मौसम पूर्वानुमान गर्दापनि क्षति भइरहेको छ । मौसम पूर्वानुमान मात्रै होइन प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नुपर्दो रहेछ । सोचेअनुरुप क्षति कम गर्न सकेनौँ । यसले गर्दा प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नुपर्ने रियलाइजेसन भयो ।  प्रभावमा आधारीत मौसम पूर्वानुमानले प्रतिकुल मौसमी अवस्थाहरु के कस्ता हुन सक्छन् ? प्रकोपहरु के के हुन सक्छन् ? त्यो प्रकोपले पार्न सक्ने प्रभावको आँकलन गर्ने र पूर्व सूचना गर्ने कुराहरु प्रभावमा आधारीत मौसम पुर्वानुमानमा पर्छन् जुन चाहीँ आजको आवश्यकता हो । कुनैपनि प्रकोप घट्नसक्ने सम्भावना र प्रकोपले हुनसक्ने प्रभावहरुको सम्भावना पनि यस भित्र पर्छ । यसले निर्णयकर्तालाई विभिन्न किसीमका निर्णयहरु लिन सहज हुन्छ ’,उनले भने । जल तथा मौसम विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान, जल पूर्वानुमान, बाढी पूर्वानुमान सम्बन्धी सही सूचना पुर्याउन सञ्चार माध्यमको भुमिका अग्रणी रहने बताइन् । उनले जल तथा मौसम पूर्वानुमानको महत्व, जलवायु परिवर्तनको बारेमा जनचेतना जगाउन र नीति निर्मातालाई सुसुचित गर्न मिडियाको भुमिका महत्वपूर्ण रहने बताइन् । श्रेष्ठले नेपालको पर्वतीय मौसमले नेपाल मात्र नभई एशिया र समग्र विश्वलाई पनि प्रभाव पार्ने जानकारी दिइन् । ‘धनजनको क्षति न्युनिकरणको लागि मौसम पूर्वानुमान, जल पूर्वानुमान, बाढी पूर्वानुमान सम्बन्धी सही सूचना पुर्याउन मिडियाको ठूलो भुमिका हुन्छ । अर्को भनेको जल तथा मौसम पूर्वानुमानको महत्व, जलवायु परिवर्तनको बारेमा जनचेतना जगाउने र नीति निर्मातालाई सुसुचित गर्ने पनि मिडियाको भुमिका हुन्छ । साइन्समा इन्भेष्ट(लगानी) गरेर अवसर लिनसक्छौँ । कृषि, आन्तरिक हवाई सुरक्षाका लागि पर्वतीय मौसम प्रणालीको अध्ययन गर्ने एकदमै जरुरी छ । पर्वतीय मौसम प्रणालीको अध्ययन अनुसन्धानका लागि लगानी गर्नुपर्ने देखिन्छ । नेपालको पर्वतीय मौसमले नेपाल मात्र नभई एशिया र समग्र विश्वलाई पनि प्रभाव पार्छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन भइरहेको छ । त्यसको लागि मिडियाको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय निकायलाई घच्घच्याउन जरुरी छ’, उनले भनिन् । उनले कृषि, आन्तरिक हवाई सुरक्षाका लागि पर्वतीय मौसम प्रणालीको अध्ययन गर्न जरुरी रहेको बताइन् ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आरविवि मर्चेन्ट बैकिङ्गद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा आरविवि मर्चेन्ट बैकिङ्गले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम मनाएकोे छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संगठनको आव्हानमा असोज १५ देखि २१ गतेसम्म देशभरी विभिन कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह–२०२३ मनाएकोे छ । सोही अवसरमा आरविवि मर्चेन्ट बैकिङ्गले आश्विन १९ गते शुक्रबारका दिन श्री विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवनमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षक महानुभावहरु माझ लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा श्री राष्ट्रिय बाणिज्य बैंक, भरतपुरका शाखा प्रमुख सविन राज अधिकारी साथै अन्य कर्मचारी, विरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा.दया राम पौडेल, वित्त संकाय प्रमुख डा.सुदिप वाग्ले तथा अध्ययनरत विद्यार्थीेहरुकोे उलेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य वक्ता आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडका प्रबन्धक अजय घिमिरे थिए भने अन्तरक्रिया सत्रलाई लगानी व्यवस्थापनबाट राम नारायण तिवारीले संचालन गरेका थिए । साथै छलफल मा उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए । ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को अवसरमा आयोजीत यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नेछ भन्ने विश्वास गरिएको छ ।

दुर्गा प्रसाईंलाई अज्ञात समूहले दले कालोमोसो (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय विवादास्पद अभिव्यक्ति र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् । स्वतन्त्र रुपमा आएका युवाहरुले प्रसाईं मेडिकल माफिया रहेको र समुदायमाथि धावा बोलेको भन्दै कालोमोसो दलेका हुन् । साथै युवाहरुले दुर्गा प्रसाईं मुर्दावाद भन्दै नारा समेत लगाएका थिए । बैंकको अर्बाैं ऋण नतिरेको र दुवैबाट सुन तस्करि गर्ने गरेको आरोप उनीहरुले लगाएका छन् । गणतन्त्रवादी युवाहरुले बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै प्रसाईंलाई कालोमोसो दलेका बताइएको छ । प्रसाईंले सोमबार उक्त होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए । प्रसाईं आफैंले विगतमा बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान घोषणा गरेर विभिन्न व्यवसायीहरुलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । साथै, उनले मारवाडी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक शब्द बोल्दै आएका छन् । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

हरेक पसलमा अनिवार्य बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले हरेक पसलमा मूल्यसूची राख्न र अनिवार्यरुपमा बीलबिजक जारी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । साथै समितिको निर्देशन कार्यान्वयन भए वा नभएको प्रगति विवरण एक महिनाभित्र समितिलाई उपलब्ध गराउन पनि आजको बैठकले निर्देशन दिएको छ । निर्देशन परिपालना भए नभएको सम्बन्धमा समितिबाट पनि अनुगमन र मूल्याङ्कन हुने समितिको भनाइ छ । समितिले गैरकानुनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको छ । साथै वस्तु तथा सेवाको गुणस्तर र बजारमूल्यको नियमित अनुगमन गर्न÷गराउन, गैरकानुनी काम गर्नेलाई तत्काल कानुनबमोजिम कारबाही गर्न, विभिन्न वस्तु आयात गर्दा हुने गरेको गैर कानुनी पुँजी पलायनलाई तत्काल नियन्त्रण गर्न, आयात गर्दा गरिने न्यून बिजकीकरणको अनुगमन गरी नियन्त्रण गर्न गराउन पनि समितिले निर्देश गरेको छ । समितिले कालोबजारी र सिन्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय निकायमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी आवश्यक समन्वय गर्न र सोको सेवा प्रवाहको अवस्था अनुगमन मूल्याङ्कनका लागि आवश्यक संयन्त्र निर्माण गर्न पनि सरकारलाई निर्देशन दिएको छ । ग्यास उद्योगले होटललगायत औद्योगिक प्रयोजनको लागि ५० केजी र चार सय ५० केजीका सिलिन्डर बिक्री वितरण गरेको विषयमा केकस्तो भएको हो रु स्पष्ट पार्न पत्राचार गरेकामा हालसम्म जानकारी नगराएकाले तीन दिनभित्र सो सम्बन्धमा भए गरेका कामकारबाहीका कागजातसहितको विवरण समितिलाई उपलब्ध गराउन समितिले निर्देशन दिएको छ । त्यसैगरी यस्तो गैरकानुनी कार्यलाई तत्काल रोक लगाई गैरकानुनी कार्य गर्ने ग्यास उद्योगलाई कायम गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । ‘अत्यावश्यक खाद्यान्नलगायतका ग्यास, पेट्रोलियम पदार्थ भण्डारणको अवस्था विगतदेखि नै कमजोर छ । यस विषयमा विगतदेखि नै संसदीय समितिले विषय उठान गरे पनि परिणामुखी कार्यसम्पादन हुन सकेको देखिँदैन । भण्डारणका सम्बन्धमा हालसम्म भएका कामको विवरण र भावी कार्ययोजना के छ भन्ने विषयमा सात दिनभित्र समितिलाई उपलब्ध गराउन समिति नेपाल सरकार उद्योग, तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देश गर्दछ’, समितिको निर्देशनमा भनिएको छ । समयमा टेन्डर नगर्ने, अरु निकायलाई दोष दिने प्रवृत्तिलाई अन्त्य गरी आफ्नो कार्यक्षेत्रभित्रको विषयमा जवाफदेही बन्न जिम्मेवारी पन्छाउने काम नगर्न र नगराउन साथै नागरिकको हकअधिकारप्रति सचेत भई कार्यसम्पादन गर्न र सार्वजनिक उत्तरदायित्वको विषयलाई आत्मसात गरी कार्यसम्पादन गर्न समितिले निर्देशन दिएको छ ।

कालो अक्षर, रातो अक्षर : वर्तमान शिक्षा प्रणालीको ऐना

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ‘कालो अक्षर, रातो अक्षर’ नामक नाटक प्रदर्शन गरिरहेको छ । अनेरास्ववियुले असोज १७ देखि २७ सम्म काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक प्रदर्शन गरिरहेको हो । नाटकमा शिक्षामा भइरहेको निजीकरण र शैक्षिक माफियाहरूको चलखेलको विषय समेटिएको छ । वर्तमान शिक्षा प्रणालीका समस्या, त्यसमा विद्यार्थी नेताहरुले गरिरहेको आन्दोलन र त्यो आन्दोलनलाई असफल पार्न शिक्षा माफिया र राजनीतिक दलका उच्च पदस्थ नेताहरुको साँटगाँठका विषय प्रष्ट गर्न खोजिएको छ । आन्दोलनबाट कुनै पार नलागेपछि कामको खोजीमा भौतारिँदै विदेशिने विद्यार्थीको मार्मिक कथावस्तु पनि नाटकमा देखाइएको छ । नाटकका लेखक आरके रोमसले देशको वर्तमान शिक्षा प्रणालीमा भइरहेको बेथिती, त्यसमा विद्यार्थीहरुले उठाएको आवाज र विद्यार्थीको आवाजलाई दबाउन खोज्ने पात्र र प्रवृतिको विषय नाटकमा देखाउन खोजिएको बताए । उनले विद्यार्थीहरुले देशमा जति नै क्रान्ती तथा आन्दोलन गरेपनि त्यो आन्दोलन तुहाउन अनेकौं प्रयासहरु हुने र अन्नतः विद्यार्थी निराश हुँदै आफ्नो भविश्य खोज्दै विदेशिन बाध्य हुने वर्तमान परिपाटीलाई जस्ताको त्यस्तै नाटकमा देखाउने प्रयास गरिएको धारणा राखे । कुनै र कसैमाथि कुनै पूर्वाग्रह नराखेर नाटक मञ्चन भएको उनको भनाइ छ । नाटकमा केही विद्यार्थीहरु शिक्षा माफियाकै साँटगाँठमा लागेर बिचमै क्रान्ति छोडेको विषयवस्तु पनि देखाइएको छ । तर, केही विद्यार्थीहरु भने आफ्नो कर्ममा नियमित लागेको देख्न सकिन्छ । अधिकांश राजनीतिक दलका नेताहरुले पनि नाटक हेरिरहेका छन् । उनीहरुले पनि ‘कालो अक्षर, रातो अक्षर’ नाटक वर्तमान शिक्षा प्रणालीको ऐना रहेको प्रतिक्रिया दिने गरेका छन् । नाटकमा लेखन आर के रोमस , परिकल्पना समिक बडाल र निर्देश दिलीप खड्का र सह–निर्देशक खिलकुमार राईको रहेको छ । नाटकमा अनुप न्यौपाने, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनु नाथ योगी, रमिला मोक्तान, संगिता थापा, सञ्जिब राई, सुजैन सिलवाल, सुदिप खड्का र शान्ता मोक्तानलाई कलाकारको भूमिकामा देख्न सकिन्छ ।

नेप्से दोहोरो अंकले घट्दा एक अर्बमा खुम्चियो सेयर कारोबार

काठमाडौं । सोमबारको बजारमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बजारमा परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार एक अर्ब ८० करोड रुपैयाँ बराबरको भएको कारोबार सोमबार एक अर्ब १७ करोड रुपैयाँमा खुम्चिएको छ । सोमबार नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घटेको बजारमा सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.८८ प्रतिशतले बढेको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । आइतबारको तुलनामा हाइड्रोको सेयर मूल्य ३३ रुपैयाँले बढेर प्रतिकित्ता ५१३ रुपैयाँ पुगेको छ । बराही हाइड्रोपावर र हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यससँगै दुई कम्पनीको सेयर मूल्य घटेर क्रमशः प्रतिकित्ता ४९५ र ६१२ रुपैयाँमा झरेको छ । बजारमा उत्पादनमूलक र ट्रेडिङ समूह बढेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।