विकासन्युज

इजरायली सेनाद्वारा बंकरमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार

तस्वीर : सामाजिक सञ्जाल काठमाडौं । इजरायली सेनाले बंकरमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गरेको छ । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा सुरक्षित स्थानमा सारी उद्धार गरिएको हो । हायात रोडमा रहेका ११ मध्ये ९ जनाको उद्धार भइसकेको छ भने बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् । कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।

इजरायलका नेपालीलाई नेपाल र हिमालयन एयरमार्फत स्वदेश ल्याइने, यस्ता छन् सरकारका निर्णयहरु

काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुलाई नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्स मार्फत स्वदेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो । असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको थियो । यस घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न सरकारले २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याइने सरकारको निर्णय छ । त्यस्तै, सरकाले यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । जुन रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने समेत बताइएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने भएको छ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने भएको छ । स्वदेश फर्कन चाहने इजरायलमा रहेका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न समेत अनुरोध गर्ने निर्णय भएको छ । त्यस्तै, इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिनेछ । इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने र नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने भएको छ । इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने सरकारको निर्णय छ । सार्थ, यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सरकारले सबैमा आग्रह गरेको छ ।

ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने

काठमाडौं । नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताएकी छन् । नवनियुक्त राजदूत लोरेन्जोले आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताएकी हुन् । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु परिवर्तन, दिगो विकास, ऊर्जा क्षेत्रको विस्तार एवं प्रवद्र्धन तथा मानव अधिकार संरक्षणलगायत क्षेत्रमा प्रदान गरिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । महत्वपूर्ण विकास साझेदारका हैसियतले पाँच वर्षीय योजनाअन्तर्गत सन् २०२६ सम्मका लागि नेपाललाई तीन खर्ब (तीनसय विलियन) युरो सहयोग गर्नेगरी ईयुको कार्यक्रम सार्वजनिक भएको स्मरण गर्दै उनले लक्षित उपलब्धि हासिल गर्नेका लागि सबैको तर्फबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त  गरिन् । रासस

को हुन् दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा ?

काठमाडौं । केही महिनाअघि बैंकरलाई कालोमोसो दल्ने अभियान सुरु गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार आफु नै कालोमोसोको सिकार बने । केही युवाहरुले उनलाई कालोमोसो दल्दै उनीविरुद्दको नारा लगाए । सोमबार काठमाडौंको एलोप्यागोडा होटलमा केही युटुबरलाई निमन्त्रणा पठाएर उनले कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा उनले उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेतृत्वको आलोचना गरे । उनले कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्माको समेत आलोचना गर्न भ्याए । पछिल्ल्लो समय विभिन्न व्यक्ति तथा समुदायमाथि अराजक अभिव्यक्ति दिँदै आएका प्रसाईंले सोमबार पनि सोही किसिमको अभिव्यक्ति दिएपछि कार्यक्रममा उपस्थित केही युवाहरु आक्रामक बने र उनीमिाथि कालोमोसो दले । हालसम्म उनीहरु को हुन् भन्ने पहिचान हुन नसकेपनि उनीहरूले लगाएको नाराले उनीहरु एमाले निकट विद्यार्थी नेताहरु भएको बुझ्न सकिन्छ । कालोमोसो दल्न होटल परिसरमा पुगेका युवाहरुले एमाले निकट ‘युवा संघ जिन्दावाद’ भन्दै नारा लगाएका थिए । उनीहरुले केपी ओली जिन्दावाद, नेकपा एमाले जिन्दावाद, महेश बस्नेत जिन्तावाद, दुर्गा प्रसाईं मुर्दावादको नारा लगाएपछि उनीहरु एमाले निकट विद्यार्थीहरु भएको बुझ्न सकिन्छ । दुर्गा प्रसाईंविरुद्दको विरोध कार्यक्रममा सहभागी एक युवाले प्रसाईंले सर्वसाधारणको सेन्टिमेन्ट लिनका लागि राजनीतिक प्रपञ्च गरिरहेको आरोप लगाए । ‘प्रसाईं बैंकको कालोसूचीमा छन्, बैंकको अर्बाैं रुपैयाँ ऋण तिर्न बाँकी छ, अहिले सर्वसाधारणको सेन्मिेन्ट लिन तथानाम गाली गर्दैछन्,’ ती युवाले भने ।

हलभित्र मारवाडी समूदायमाथि हमला, हलबाहिर दुर्गा प्रसाईंमाथि आक्रमण (भिडियोसहित)

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ । सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् । प्रसाईंले होटलको हलभित्र यूट्युवर सम्मेलन गरी मारवाडी समूदायलाई हिलो छ्याप्ने काम गरेका थिए । त्यसपछि बाहिर निस्कँदै गर्दा केही युवाहरुले उनीमाथि कालोमोसो दलेका थिए । प्रसाईंले यूट्युवर सम्मेलनमा विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपमाथि विभिन्न आरोप लगाएका थिए । विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपले व्यापारको नाममा तस्करी गर्दै आएको, राज्यलाई कर नतिर्ने गरेको, बालमन्दिर, पशुपति विकास क्षेत्र लगायतको सार्वजनिक सम्पत्ति हडपेको, व्यवसायिक साझेदारसँग विवाद गरेर उनीहरुको सम्पत्ति कब्जा गरेको जस्ता आरोप लगाएका थिए । उक्त सम्मेलनमा प्रसाईंलाई साथ दिन राकेश अडुकिया, बैद्यनाथ अग्रवाल, रमेश अग्रवालले मञ्चमा बसेका थिए । कार्यक्रममा विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपका मुख्य पात्रहरुको फोटोहरुसहित विभिन्न आरोप पेपर प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम सकेर निस्केका प्रसाईं होटल परिसरबाट निस्कनै लाग्दा कालोमोसो दलिएको थियो । कालोमोसो दल्ने युवाहरुले प्रसाईं मेडिकल माफिया रहेको र मारवाडी समुदायमाथि धावा बोलेकोले कालोमोसो दलेको बताउँदै थिए । साथै, युवाहरुले दुर्गा प्रसाईं मुर्दावाद भन्दै नारा समेत लगाएका थिए । दुर्गा प्रसाईले बैंकबाट लिएको अर्बौं ऋण नतिरेको, दुवाईबाट सुन तस्करी गर्ने गरेको आरोप उनीहरुले लगाएका छन् । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रि वस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए । प्रसाईं आफैंले विगतमा बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । र, विभिन्न जिल्लामा बैंकका कर्मचारीमाथि कालोमोसो दलेका थिए । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान घोषणा गरेर विभिन्न व्यवसायीहरुलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । साथै, उनले मारवाडी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक शब्द बोल्दै आएका छन् ।प्रसाइले सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक विचार व्यक्त गर्दै गर्दा त्यसलाई यूट्युवरहरूले उच्च प्राथमिकता दिने गरेका छन् ।

अर्थशास्त्रतर्फको नोबोल पुरस्कार अमेरिकी अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई

एजेन्सी । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्रो महिला हुन् । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार लागि गठित समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने, ‘श्रम बजारमा महिलाको भूमिकालाई बुझ्नु समाजका लागि महत्वपूर्ण छ । क्लाउडिया गोल्डिनको आधारभूत अनुसन्धानबाट हामी अब अन्तर्निहित कारकहरूको बारेमा धेरै बुझ्न सक्नेछौँ । यसले भविष्यमा हुने महिला श्रम कठिनाईलाई सम्बोधन गर्न आवश्यक सहयोग पुग्नेछ ।’ पुरस्कार प्राप्त गरेपछि ७७ वर्षीय गोल्डिनको प्रतिक्रियाबारे एलेग्रेनले भने, ‘उहाँ पुरस्कार प्राप्त गर्दा आश्चर्यचकित र अत्यधिक खुशी हुनुभएको छ ।’ ‘क्लाउडिया गोल्डेनको खोजले महिला श्रम बजारमा व्यापक सामाजिक प्रभाव पार्छ,’ पुरस्कार समितिका सदस्य र्यान्डी हजलमार्सनले भने, ‘अन्ततः समस्यालाई बुझेर र यसलाई सही नामले पुकारेर, हामी अझ राम्रो तरिकाले अगाडि बढ्न सक्षम हुनेछौं ।’ यसअघि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू गत साता घोषणा गरिसकिएको छ । सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगत्मा ‘बैंक अफ स्वीडेन पुरस्कार’को रूपमा चिनिन्छ । सन् २००७/०८ को वित्तीय सङ्कटमा अमेरिकाको आक्रामक प्रतिक्रियालाई आकार दिन मद्दत गर्ने बैंकको असफलताबारे अनुसन्धान गरेका कारण गत वर्ष फेडरल रिजर्भका पूर्व अध्यक्ष बेन बर्नान्के, डगलस डब्लु डायमन्ड र फिलिप डाइभिगले पुरस्कार जितेका थिए । रासस

मंगलबार राष्ट्रिय शोक घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने

फाइल फोटो काठमाडौं । सरकारले हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शोकमा असोज २३ गते मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो घोषणा गरेको हो । असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको थियो । यस घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न सरकारले २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याइने सरकारको निर्णय छ । (सच्याइएको)

नारायणी मोडेल माविलाई रेन वाटर हार्भेष्टिङ र खानेपानीको समाधान हस्तान्तरण

काठमाडौं । स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोका–कोला बेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ । २०८० भाद्रमा सुरु भएको यस परियोजना १८ असोजमा वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको उपस्थितिमा नारायणी मोडेल माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण सम्पन्न भएको छ । ३८०० भन्दा बढी विद्यार्थी सहितको चितवनको सबैभन्दा ठूलो नमूना सामुदायिक विद्यालय नारायणी मोडेल सेकेन्डरी स्कूलमा दैनिक गतिविधिहरूका लागि पानीको अत्याधिक आवश्यकता पर्दछ । परियोजना मार्फत पिउने पानीका लागि १२ बोतल फिलरका ट्याप र ८ वटा बबलर फसेट ट्याप सहित दुईवटा यूएफ फिल्टर सिस्टम जडान गरिएको थियो । साथमा डुअल स्पाउट सहित ४ वटा बाटर स्टेसन पनि जडान गरिएको थियो । यस प्रणालीले विद्यार्थी र विद्यालय सदस्यहरू सहित ५०० भन्दा बढी व्यक्तिहरूलाई लाभान्वित गर्नेछ । परियोजना मार्फत सम्भावित पानी रिचार्जको अपेक्षित मात्रा भने वार्षिक १८ लाख लिटर अनुमान भएको छ । साथमा बाल क्लबहरू सिर्जना गरी पनि सेभेन फ्याट्स (सेभेन फ्ल्याग अप्रोच फर टोटल स्यानिटरी प्रोग्राम) सञ्चालन गरिएको थियो । बाल क्लबका सदस्यहरुलाई स्कुल वास प्रोग्रामबारे तालिम प्रदान गरिएको थियो । यस कार्यक्रमको लक्ष्य भनेको नेपाल सरकारले विद्यालयमा रहेको वास इन्फ्रास्ट्रकचरमा आधारित विद्यालयलाई प्रदान गरिने रेटिङमा विद्यालयलाई ३ ताराको स्ट्याटस प्राप्त गर्न मद्दत पु¥याउनु थियो । त्यसैगरी विद्यालयद्वारा फिल्ट्रेसन प्रणाली मर्मत सम्भारका लागि तालिम पनि दिइएको थियो । नारायणी मोडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले भने, ‘हाम्रो विद्यालय परिसरमा भरपर्दो र दिगो खानेपानी आपूर्ति स्थापना गरेकोमा हामी कोका–कोला बेभरेज नेपालप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । हाम्रा विद्यार्थी, शिक्षक र कर्मचारीहरूको जीवनमा परिवर्तन ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद । हामी आशा गर्छौं कि जमिनमा रिचार्ज हुने पानी र आपूर्ति गरिने पिउने पानीले प्रकृति र यहाँका विद्यार्थीलाई सकारात्मक रुपले फरक पार्नेछ । साथमा समुदायलाई पानीको मामिलामा अहिले र भविष्यका लागि थप लचिलो बनाउनेछ ।’   कोका–कोला बेभरेज नेपालका एम डि जी. दीपक सेन्थिल नाथले भने, ‘वाटर स्टेवार्डशिप हाम्रो दिगोपन प्रयासहरूको प्रमुख स्तम्भहरू मध्ये एक हो । नारायणी मोडेल माध्यमिक विद्यालय भरतपुरको समुदायको हिस्सा हो जहाँ हाम्रो दोस्रो प्लान्ट पनि छ । हामी आशा गर्छौं कि जमिनमा रिचार्ज हुने पानी तथा आपूर्ति गरिने पिउने पानीले प्रकृति र यहाँका विद्यार्थी दुवैलाई सकारात्मक तरिकाले फरक पार्नेछ । साथमा हाम्रो समुदायलाई पानीका लागि थप लचिलो बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ स्प्लास नेपालका एक्जिक्युटिभ डाइरेक्टर प्रदीप खड्काले भने, ‘समग्र परियोजनाले विद्यार्थीहरूलाई सफा पिउने पानीको सहज पहुँच पु¥याउने मात्र नभई थ्रि स्टार प्रोग्राममा विद्यालयलाई राम्रो नतिजा हासिल गर्न पनि मद्दत गर्नेछ । प्रणाली कायम राख्न विद्यालयले देखाएको प्रतिबद्धता पनि दिगोपनको लागि एक प्रमुख तत्व हो ।’