सुदूरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने
गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् । मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेतव्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन् । इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ । रासस
स्याङ्जाको एउटै गाउँबाट पाँच करोडको बीउ, तरकारी र दूध निर्यात
वालिङ । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै पाँच करोड रुपैयाँ भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताए । कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि पनि हो । आँधीखोला जलविद्युत आयोजनाअन्तर्गत् यहाँ सिंचाईको ब्यवस्था भएसँगै यो क्षेत्रले कृषिमा फड्को मारेको हो । आक्वामा हाल ५५८ किसान आवद्ध छन् । उनीहरु ब्यावसायिक वा घरायसी प्रयोजनका लागि भएपनि खेती किसानी गर्दै आएका छन् । जिमुहामा बीउ आलु तथा खानका लागि प्रयोग हुने आलु, मकैको बीउ, धानको बीउ, बोडी, करेला, काँक्रा, लौका, घिरैँला, बन्दा, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको ब्यावसायिक उत्पादन हुने गरेको अध्यक्ष कँडेलले बताए। यहाँ करिव दुई सय हेक्टर जमिनमा जनकदेव, एमएस ४२, खुमल रातो, खुमल उज्जल जातका बीउ आलु उत्पादन हुने गरेको छ । यहाँ खानका लागि प्रयोग गरिने आलुमात्रै करिव तीन सय मेट्रिकटन उत्पादन हुने अध्यक्ष कडेलले बताए । त्यस्तै बीउका लागि प्रयोग गरिने आलु खेतीबाट करिव चार सय मेट्रिकटन, अरुण–दुई जातको मकैको बीउ करिव एकसय मेट्रिकटन, साबित्री, रामधान करिव एकसय ५० मेट्रिकटन, गौतम, स्वर्गद्वारी, एनएल ९७१ जातको प्रमाणित गहुँको बीउ दुई मेट्रिकटन, दूध दैनिक चार सय लिटर, बोडीलगायत मौसमी तथा बेमौसमी तरकारी बाली यहाँबाट अन्यत्र निकासी हुने गरेको उनको भनाइ थियो । वर्षेनी अनुमानित बीउ आलु बिक्रीबाट २१ लाख, खाने आलु बिक्रीबाट १२ लाख, मकैको बीउ बिक्रीबाट एक करोड २० लाख, धानको बीउ बिक्रीबाट एक करोड १२ लाख ५० हजार, दूध बिक्रीबाट वार्षिक एक करोड ४४ लाख र बोडी, काउली, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट ६० रुपैयाँलाख गरी वार्षिकरुपमा अनुमानित चार करोड ६९ लाख ५० हजार गाउँमा भित्रिने गरेको अध्यक्ष कँडेलको जिकिर थियो । ‘आक्वा तथा जिमुहा शीत भण्डार सहकारी संस्थामा आवद्ध भएर यहाँका कृषकहरु ब्यावसायिकरुपमा अगाडि बढेका छन्’ उनले भने, ‘ब्यक्तिगत तथा सामूहिकरुपमा पनि यहाँ खेती गर्ने गरिएको छ ।’ उत्पादित बीउ तथा दूधको बजारीकरणका लागि समस्या नभए पनि कहिलेकाँही तरकारी बिक्रीका लागि भने समस्या हुने गरेको छ । कृषि कर्मलाई नै मुख्य आम्दानीको स्रोत देखेर काम गर्ने कृषकहरु धेरै भएको र घरायसी प्रयोजनकालागि मात्रै कृषि गर्नेहरु पनि यहाँ छन् । ‘ठूलो जमिनमा ब्यावसायिक उत्पादन गर्नेहरु अहिले सन्तुष्ट छन्, निरन्तर यही पेसामा रमाएका पनि छन्’ अध्यक्ष कँडेलले भने, ‘सामान्य तरिकाले थोरै जमिनमा खेती गर्दा पनि यहाँ जीविकोपार्जनका लागि कुनै समस्या छैन, सहज छ ।’ गत वर्षदेखि गहुँको बीउ उत्पादन थोरै परिमाणमा थालिएकाले यसवर्षदेखि ठूलो परिमाणमा उत्पादन थाल्ने तयारी गरिएको छ । यहाँबाट उन्नत जातका गाईका बाच्छी उत्पादन गर्ने उद्देश्यसहित प्रजनन् केन्द्रको रुपमा गतिविधिहरु अगाडि बढाउने काम पनि सुरु भएको उनले बताए । रासस
सुनको मूल्य तोलामै एक हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।
मलाई बैंकले पत्याएनन्, काठमाडौं भ्यू टावरको काम तत्काल अगाडि बढ्दैन-भेटवाल
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको काम अगाडि बढाउन निर्माण कम्पनीलाई सकस परेको छ । निर्माण कम्पनीलाई आर्थिक अभाव भएपछि निर्माणाधीन भ्यू टावरको काम अगाडि बढाउन मुस्किल परेको हो । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका अध्यक्ष मनोज कुमार भेटवालले पुँजी जुटाउन नसकेपछि काम अगाडि बढाउन समस्या भएको बताएका छन् । ‘अहिले भ्यू टावरको काम पैसा नभएका कारण रोकिएको छ, बैंकहरुले पनि लगानी गर्न मान्दैनन्, पैसा नभएपछि परियोजना अगाडि बढाउन समस्या भइरहेको छ,’ उनले भने । काठमाडौं महानगरले २०६८ सालमा पुरानो बसपार्क हटाएर सार्वजनिक-निजी साझेदारी मोडलमा बहुपयोगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो । काठमाडौं महानगरसँग निर्माण कम्पनीले सम्झौता गरेपछि २०७२ कार्तिकबाट उक्त भ्यूटावर निर्माणको काम सुरु भएको थियो । भ्यू टावर निर्माण सुरु गरेको ८ वर्ष बितिसकेको छ । भवन निर्माणको लागि कुनै पनि बैंकले निर्माण कम्पनीलाई कर्जा नदिएपछि निर्माण कार्य अस्तव्यस्त हुन पुगेको बताइएको छ । उनी बैंकको कालोसूचीमा परेकोले उनलाई बैंकले कर्जा दिन मानिरहेका छैनन् । उनी धेरै पटक कर्जा सूचना केन्द्रको कालोसूचीमा परिसकेका छन् । कामपा वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्गीले भ्यू टावरको काम भेटवालले पैसा भएको बेला गर्ने र नभएको बेला रोक्ने प्रवृति देखिएको बताए । ‘अहिले भ्यू टावरको काम रोकिएको छ, काम नभएको धेरै समय भइसक्यो, महानगरले जग्गा निश्चित अवधिको लागि उपलब्ध गराएको छ, त्यसैले समयमै काम सकेर सञ्चालनमा ल्याउँदा उहाँलाई नै फाइदा पुग्छ,’ उनले भने । पैसा छैन, तला थप्ने होडबाजी निर्माणाधी भ्यू टावरका लागि लगानीको अभाव भइरहेको बेला भुेटवालले तला थप्ने योजना सुनाइरहेका छन् । उनले काठमाडौं भ्यू टावरमा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको बताए । हालसम्म मा १२ तलाको काम सम्पन्न भइसकेको छ । १२औं तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन कामपालाई बुझाइ सकेको छ । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको र नक्सा पास गर्ने तयारीमा महानगर रहेको कामपाका सूचना प्रविधि विभाग निर्देशक तथा भ्यू टावरका फोकल पर्सन महेश कुमार काफ्लेले बताए । उनका अनुसार केही हप्ताभित्रै महानगरले नक्सा पास गरिसक्नेछ । काफ्लेका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कति तला थप्नेबारे यकिन गर्नेछ । भ्यु टावर २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । भेटवालले ३२ तलाको भ्यू टावर बनाउने उद्देश्य सहित यो आयोजनाको काम अगाडि बढाएका थिए । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो । भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो । ‘उहाँले सम्झौता अनुसारको समयावधिमा काम सक्नुपर्छ, बिचमा छोड्न पनि पाउनु हुन्न, महानगरले समय पनि थप्दैन,’ उनले भने । बस टर्मिनल सञ्चालनमा समस्या निर्माण कम्पनीले काठमाडौं महानगरपालिकालाई ६ महिनाभित्र बस टर्मिनल सञ्चालनमा ल्याउने गत वर्ष नै सम्झौता भएको थियो । तर, अहिले पनि बस टर्मिनल भने सञ्चालनमा आउन सकेको छैन । बस टर्मिनलको काम पूरा नभइ सकेकोले सञ्चालनमा नआएको काफ्लेले बताए । सो भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले ४ पाङ्ग्रे साना सवारी साधन र २ पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ ।
३ वटा सडकलाई एकतर्फी बनाउने तयारी गर्दै काठमाडौं महानगर
काठमाडौं । दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार अहिले दोहोरो सवारी सञ्चालन भइरहेका ३ सडकखण्डलाई एकतर्फी बनाउन लागिएको हो । अब काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइने छैन । त्यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइनेछ । पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको श्रेष्ठले बताए ।
सरकारले इजरायलबाट शव ल्याउन विमान तयारी अवस्थामा राख्ने
काठमाडौं । इजरायल–हमास द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने र इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार गठन गरिएको उक्त संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ।
अग्रिम टिकट खुलेको पहिलो दिनमै थामि नसक्नु भीड, सुरक्षाका लागि ड्रोन प्रयोग गर्दै प्रहरी
काठमाडौं । दशैँमा घर जाने यात्रुका लागि आज (सोमबार) देखि अग्रिम टिकट बुकिङ शुरु भएको छ । सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ शुरु भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर, यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् । त्यस्तै कालिकोटसम्म जानुपर्ने यात्रुलाई जुम्लासम्मको टिकट काट्न बाध्य बनाइएको उनीहरुले गुनासो छ । उनीहरुले सम्बन्धित जिल्लाका सांसदहरुले यस विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए । उनीहरुले जिल्लावाइज टिकट काउण्टर राख्न सुझाव दिएका छन् । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको बताए । उनले काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको बताए । विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको जानकारी दिए । उनले यस पटक सुरक्षाका लगि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने बताए । ‘यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौं जिल्लाका लागि मात्रै यसअन्तर्गत हामीले १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ । आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन सुरक्षा प्रदान गर्न र थप जनशक्तिसहित विभिन्न टेक्नोलोजी तयार गरेका छौँ । सिसिटिभी र ड्रोन लगायत हामीले काठमाडौं उपत्यकामा प्रयोग गर्ने क्रममा छाैँ, ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौँ’, उनले भने । त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरु लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताए । उनले बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज रहको भन्दै सरकारले सडक स्तरोन्नति गर्नुपर्ने जानकारी दिए । सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र अग्रिम टिकट बुकिङ खुलाएको औचित्य नहुने बताए । ‘यात्रुहरु विहान ४ बजेदेखि नै लाइनमा हुनुहुन्छ । ६ बजेदेखि हामीले अग्रिम बुकिङ खुलाएका छौँ । यात्रुहरुले आफू जानुपर्ने स्थानको टिकट काट्न शुरु भइसकेको छ । बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरु गन्तव्य स्थल लैजान असहज छ । समयमा सवारीसाधन आइपुग्दैन । अग्रिम टिकट दिएको अर्थ हुँदैन । सरकारले सडक स्तरोन्नति गर्नैपर्छ । अग्रिम टिकट दिनु भनेर मात्रै हुँदैन । परिचय पत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्नुहोला । सडक राम्रो भए उहाँहरुलाई व्यवस्थित ढंगबाट गन्तव्यमा लैजान्छाैँ’, उनले भने । चाडबाडको बेलामा यात्रुहरुलाई ठग्न सक्ने भन्दै परिचय पत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएर मात्रै टिकट काट्न आग्रह गरे । हरेक वर्ष दशैँ, तिहार र छठ जस्ता पर्वलाई लक्षित गरी लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ । विशेष गरी संघीय राजधानी काठमाडौंबाट आ–आफ्नो घर फर्किने यात्रुले अग्रिम टिकट लिने गर्दछन् । दशैँ तिहार मनाउन यस पटक करिव १६ लाख मानिसहरुले काठमाडौं छोड्ने अनुमान छ ।
कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी
चितवन । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले बिरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए । संघका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताए । क्षेत्रीले भने, ‘कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको छ, त्यस प्रक्रियामा हाम्रो असहमति रहेको छ ।’ उनले महानगरपालिको बोलपत्रको प्रक्रिया रोकेर स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गरे । उनले आफूहरु सिधै महानगरपालिकालाई कर तिर्न तयार रहेको जानकारी दिए । अध्यक्ष खत्रीले व्यवसायीसँग महानगरपालिकाले समन्वय नगरेको र छलफलसमेत गर्न नमानेको गुनासो गरे । व्यवसायीले गत बिहीबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए । तर उपप्रमुख अधिकारीले व्यवसायीका कुरा नसुनेको सचिव पुरन मल्ल ठकुरीले बताए । उनले यही अवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको बताए । उनले कवाडीजन्य वस्तु निकासी गर्दा ठाउँठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नुपरेको गुनासो गरे । संविधानले कुनै पनि वस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको सङ्घले जनाएको छ । भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुको व्यवसाय गर्दै आएका छन् । महानगरभित्र करिब एक हजार पाँच सय जना यो व्यवसायमा प्रत्यक्ष जोडिएका छन् । घर–घर पुगेर साइकलमा कवाडी सामान सङ्कलन गर्नेको सङ्ख्या चितवन जिल्लाभरमा करिब चार हजार पाँच सय छ । उनीहरूले सङ्कलन गरेका फलाम, तामा, पित्तल, बोतल, सिसा, प्लास्टिक, कागज, पुराना जुत्ता, चप्पललगायतका सामान पुनःउपयोगका लागि उद्योगमा पठाइन्छ । धेरैजसो समान भारत पठाइने गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार महानगरपालिकाको क्षेत्राधिकारभित्र उत्पादन हुने कवाडीजन्य वस्तुमा कर लगाउन खोजिएको हो । कवाडी सामानमा प्रतिगोटा तथा प्रतिकेजी निश्चित कर लगाउने गरी ठेक्का आह्वान गरिएपछि व्यवसायीले विरोध गरेका हुन् । भरतपुर महानगरपालिका गत भदौ २४ गते कर सङ्कलनका लागि दुई वर्षको ठेक्का आह्वान गरेको छ । रासस