काठमाडौं । मौसम विज्ञहरुले थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा भएको प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले प्रतिकुल मौसमी अवस्था र त्यसले पार्ने प्रभाव पत्ता लगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनीहरुले मौसम कस्तो छ ? पानी पर्छ की पर्दैन ? भनेर मात्रै नभई पानीले के—के प्रभाव पार्छ ? भन्ने किसिमको जानकारी सहितको पूर्वानुमानका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान चाहिने बताए । सिनियर डिभिजनल मेटेरियोलोजिस्ट शान्ति कँडेलले प्रभावमा आधारित मौसम पूर्वानुमानले मौसमपश्चात पार्ने प्रभाव जानकारी पाउन र आवश्यक कार्ययोजना बनाउन सहयोग पुग्ने जानकारी दिए ।
‘मौसम पूर्वानुमान गर्दापनि क्षति भइरहेको छ । मौसम पूर्वानुमान मात्रै होइन प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नुपर्दो रहेछ । सोचेअनुरुप क्षति कम गर्न सकेनौँ । यसले गर्दा प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नुपर्ने रियलाइजेसन भयो । प्रभावमा आधारीत मौसम पूर्वानुमानले प्रतिकुल मौसमी अवस्थाहरु के कस्ता हुन सक्छन् ? प्रकोपहरु के के हुन सक्छन् ? त्यो प्रकोपले पार्न सक्ने प्रभावको आँकलन गर्ने र पूर्व सूचना गर्ने कुराहरु प्रभावमा आधारीत मौसम पुर्वानुमानमा पर्छन् जुन चाहीँ आजको आवश्यकता हो । कुनैपनि प्रकोप घट्नसक्ने सम्भावना र प्रकोपले हुनसक्ने प्रभावहरुको सम्भावना पनि यस भित्र पर्छ । यसले निर्णयकर्तालाई विभिन्न किसीमका निर्णयहरु लिन सहज हुन्छ ’,उनले भने ।
जल तथा मौसम विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान, जल पूर्वानुमान, बाढी पूर्वानुमान सम्बन्धी सही सूचना पुर्याउन सञ्चार माध्यमको भुमिका अग्रणी रहने बताइन् । उनले जल तथा मौसम पूर्वानुमानको महत्व, जलवायु परिवर्तनको बारेमा जनचेतना जगाउन र नीति निर्मातालाई सुसुचित गर्न मिडियाको भुमिका महत्वपूर्ण रहने बताइन् । श्रेष्ठले नेपालको पर्वतीय मौसमले नेपाल मात्र नभई एशिया र समग्र विश्वलाई पनि प्रभाव पार्ने जानकारी दिइन् ।
‘धनजनको क्षति न्युनिकरणको लागि मौसम पूर्वानुमान, जल पूर्वानुमान, बाढी पूर्वानुमान सम्बन्धी सही सूचना पुर्याउन मिडियाको ठूलो भुमिका हुन्छ । अर्को भनेको जल तथा मौसम पूर्वानुमानको महत्व, जलवायु परिवर्तनको बारेमा जनचेतना जगाउने र नीति निर्मातालाई सुसुचित गर्ने पनि मिडियाको भुमिका हुन्छ । साइन्समा इन्भेष्ट(लगानी) गरेर अवसर लिनसक्छौँ । कृषि, आन्तरिक हवाई सुरक्षाका लागि पर्वतीय मौसम प्रणालीको अध्ययन गर्ने एकदमै जरुरी छ । पर्वतीय मौसम प्रणालीको अध्ययन अनुसन्धानका लागि लगानी गर्नुपर्ने देखिन्छ । नेपालको पर्वतीय मौसमले नेपाल मात्र नभई एशिया र समग्र विश्वलाई पनि प्रभाव पार्छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन भइरहेको छ । त्यसको लागि मिडियाको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय निकायलाई घच्घच्याउन जरुरी छ’, उनले भनिन् ।
उनले कृषि, आन्तरिक हवाई सुरक्षाका लागि पर्वतीय मौसम प्रणालीको अध्ययन गर्न जरुरी रहेको बताइन् ।