काठमाडौं । पछिल्लो समय विवादास्पद अभिव्यक्ति र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् ।
स्वतन्त्र रुपमा आएका युवाहरुले प्रसाईं मेडिकल माफिया रहेको र समुदायमाथि धावा बोलेको भन्दै कालोमोसो दलेका हुन् । साथै युवाहरुले दुर्गा प्रसाईं मुर्दावाद भन्दै नारा समेत लगाएका थिए । बैंकको अर्बाैं ऋण नतिरेको र दुवैबाट सुन तस्करि गर्ने गरेको आरोप उनीहरुले लगाएका छन् ।
गणतन्त्रवादी युवाहरुले बैंकको ऋण नतिर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने र राजतन्त्रको वकालत गरेको भन्दै प्रसाईंलाई कालोमोसो दलेका बताइएको छ ।
प्रसाईंले सोमबार उक्त होटलमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रिवस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए ।
प्रसाईं आफैंले विगतमा बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान घोषणा गरेर विभिन्न व्यवसायीहरुलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । साथै, उनले मारवाडी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक शब्द बोल्दै आएका छन् ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्