पोल्ट्री व्यवसायीको २ खर्ब लगानी संकटमा, बैंकको ऋण टिकाउन घाटामा चल्दै
काठमाडौं । सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ । बैंकको ऋण टिकाउनैका लागि कतिपयले कुखुरा पालिरहेका छन् । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म ८ हजार वटासम्म पुगेका थिए । यो सङ्ख्या घटेर अहिले ४ हजारभन्दा तल छ । पोल्ट्री व्यवसायीसमेत रहेका उनले भने, “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैंकलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।” देशभरमा पोल्ट्री व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि अर्बौँ लगानी गरेका पोल्ट्री व्यवसायी विनोद पोखरेलले आफ्नो अगुवाइमा नेपाल लेयर्स कुखुरापालक सङ्घगठन गरे । उनले भने, “व्यवसाय सिद्धिने अवस्थामा पुगेपछि गत वर्ष हामीले सङ्गठित बनेर देशव्यापी दौडाहा अभियानमा लाग्यौँ ।” आफ्नो व्यवसाय छाडेर सामूहिक हितका लागि पोखरेलको समूहले देशका सबै जिल्लामा पुगेर अण्डाको बजारीकरणसँगै सचेतना काममा जुट्यो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा ४ लाख लेयर्स कुखुरा पाल्दै आएका दाउन्ने कर्पोरेटका सञ्चालक पोखरेलले भने, “टिक्नका लागि हामी सङ्गठित भएर लागेका हौँ ।” बाहिरबाट देखिएजस्तो अवस्था नरहेको उनले बताए । वर्षौदेखि नोक्सानमा काम गर्नुपर्दा धेरै विस्थापित भएको र रहेकाहरू ऋणमा टिकेको उनको भनाइ छ । अहिले अण्डाको लागत मूल्य प्रतिगोटा १७ रुपैयाँ हुन आउँछ । किसानले हाल १३ रुपैयाँ हाराहारीमात्रै पाएका छन् । लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको उनी बताउँछन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लेयर्स कुखुरा फार्म, ह्याचरीसहित पोल्ट्रीसँग सम्बन्धित किसान र व्यवसायी धेरैजसो विस्थापित भएको बताए । सरकारको नीतिका कारण धेरै समस्या व्यहोर्नुपरेको उनको गुनासो छ । कोभिडअघिसम्म दैनिक ५५ लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर ३० लाख हाराहारीमा झरेको उनको भनाइ छ । ५ लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको यो व्यवसाय धान्न मुस्किल अवस्थामा पुगेको उनले बताए । पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेल ३४८ ह्याचरी घटेर १२० मा झरेको जानकारी दिए । भएकामध्येले पनि क्षमताको आधाभन्दा कम उत्पादन गरिरहेको उनको भनाइ छ । उनले भने, “पछिल्ला वर्षहरूमा पोल्ट्रीसँग सम्बन्धित सबै उद्योग धरासायी बन्दै गएका छन् ।” राज्यले नहेर्ने हो भने केही समयपछि नै सम्पूर्ण व्यवसाय धरासायी हुने उनको भनाइ छ । बैंकको ऋणले मात्रै व्यवसाय टिकेको जनाउँदै उनले समयमा सुधार हुन नसके कुल ग्रार्हस्थ उत्पादनमा करिब ४ प्रतिशत योगदान दिएको यो व्यवसाय समाप्त भएर जाने उनको भनाइ छ । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट राज्यले व्यवसायीका समस्या बुझ्न नसक्दा पोल्ट्री व्यवसाय समस्यामा परेको बताए । उनले भने, “सरकार फेरिएपिच्छे मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पुर्याएका छौँ, हाम्रा कुरा कसैले सुनेन ।” नेपालको पोल्ट्री क्षेत्रमा २ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । समयमै राज्यले सम्बोधन गर्न नसकेमा यहाँको पोल्ट्री व्यवसाय पूरै समाप्त हुने अध्यक्ष विष्टले बताए । उनले भने, “आत्मनिर्भर रहेको यो व्यवसाय जोगाउन वा समाप्त पार्ने भन्ने राज्यको हातमा छ ।” पोल्ट्री व्यवसाय धरासायी भएमा एकातर्फ आयातमा भर पर्नुपर्ने छ भने अर्कातर्फ रोजगारीका अवसरसमेत गुम्ने उनको भनाइ छ । रासस
काठमाडौं उपत्यका खानेपानीले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खुल्ला प्रतिस्पर्धा मार्फत् प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने भएको छ । कम्पनीले नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको हो । कम्पनीले मंगलबार सूचना प्रकाशन गर्दै ३० दिनभित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन पेश गर्न आग्रह गरेको छ । कम्पनीका अनुसार ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको ब्यक्तिले आवेदन पेश गर्न सक्ने छन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिङ, व्यवस्थापन, वित्त, वाणिज्य वा सार्वजनिक प्रशासनमा कम्तिमा स्नातकोत्तर पास गरेको र सरकारी वा गैर सरकारी संघसंस्थामा अधिकृतस्तरको पदमा १० वर्ष कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । चार वर्ष पदावधि रहेको उक्त पदका लागि आवेदन दिन दरखास्त दस्तुर १० हजार रुपैयाँ तोकिएको छ । इच्छुक व्यक्तिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालय त्रिपुरेश्वरमा दरखास्त पेश गर्नु पर्नेछ ।
अरुण काबेलीले असोज ३० गतेदेखि सवा २० लाख कित्ता सेयर बेच्दै
काठमाडौं । अरुण काबेली पावर असोज ३० गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २० लाख १४ हजार ८१७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको २० लाख १४ हजार ८१७ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । कम्पनीको हकप्रदमा सेयरमा नबिल इन्भेष्टमेन्ट र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
कुमारी बैंकले कात्तिक २ गतेदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने, १० प्रतिशत ब्याज दिने
काठमाडौं । कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ५ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।
चिरख्वा हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । चिरख्वा हाइड्रोपावरले आज असोज २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयलाई बिक्री गरेको थियो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८० हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली, २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा स्थानीय वासिन्दाले आवेदन नदिएको १ लाख ९५ हजार ३ सय कित्तासहित ८ लाख ५९ हजार ३ सय कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओमा छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
केपी ओली र महेश बस्नेतलाई दुर्गा प्रसाईंको चेतावनी- ‘पैंचो तिर्छु’
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र नेकपा एमालेका नेता महेश बस्नेतलाई पैंचो तिर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा कालोमोसोको सिकार बनेका व्यवसायी प्रसाईंले सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै यस्तो चेतावनी दिएका हुन् । ‘तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ, प्रतीक्षा गर्नुहोस्,’ उनले लेखेका छन् । प्रसाईंले केपी ओली र महेश बस्नेतलाई धन्यवाद दिँदै यस्तो लेखेका हुन् । उनले भनेका छन्- ‘हजुरबुबा के पी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ।’ पछिल्लो समय विवादास्पद अभिव्यक्ति र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिँदै आएका प्रसाईंलाई सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले कालोमोसो दलेका हुन् । सम्बन्धित सामाग्री दुर्गा प्रसाईंलाई अज्ञात समूहले दले कालोमोसो (भिडियोसहित) को हुन् दुर्गा प्रसाईंलाई कालोमोसो दल्ने युवा ? हलभित्र मारवाडी समूदायमाथि हमला, हलबाहिर दुर्गा प्रसाईंमाथि आक्रमण (भिडियोसहित)
सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै एफएनसीसीआई
फाइल फोटो काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमबार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले यस्तो जानकारी दिएको हो । महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागेको बताए । उक्त मेलाको लागि ५० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताउँदै उनले मेलामा करिब ३ सय स्टलहरु रहने बताए । उनले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गरे । साथै, मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको बताउँदै अध्यक्ष ढकालले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए । मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इन्डोनेसिया, मलेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । मेलामा भारत चेम्बर अफ कमर्स र नेपालको नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेदसम्बन्धी उत्पादनको प्रदर्शनी एवं प्रवचन कार्यक्रमसमेत हुनेछ । मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो हस्तकला उत्पादनहरु, एनटीआईएस प्रोडक्ट, कमोडिटी पेभिलियन रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्यसमेत राखिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्धन तथा लगानीबारे छलफल हुनेछ । मेलाको स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ । मेलामा जेष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । त्यस्तै उपाध्यक्ष सुरकृष्ण वैद्यले एउटा छुट्टै ब्रान्ड बनाउन सफल मेला निजी क्षेत्रका लागि बलियो प्ल्याटफर्म भएको बताए । उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघको छुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने बताए ।
अब काठमाडौंवासीलाई रगत पाउन झन्झट नहुने, महानगरले नै निःशुल्क दिने
काठमाडौं । अब काठमाडौं महानगरवासीले निःशुल्क रुपमा रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गर्दै काठमाडौं महानगरले महानगरवासीलाई उक्त सेवा दिने भएको हो । यससँगै काठमाडौं महानगरका जोसुकैले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्ततत्व पाउने भएका छन् । आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासीले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका महानगरले असोज २२ गते नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गरेको हो । यसबाट काठमाडौंवासी सबै लाभान्वीत हुने महानगरको अपेक्षा छ । महानगरका अनुसार काठमाडौं महानगरवासी भएको प्रमाण खुल्ने, नागरिकता वा बसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निःशुल्क रुपमा रगत तथा रक्ततत्व पाइने महानगरका मेयर बालेन्द्र शाह बालेनले जानकारी गराए । राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्नेछ । रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट २०० रुपैयाँ सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराइने मेयर बालेनले जानकारी गराए । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा बिना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रतियुनिट १३ सय रुपैयाँ उपलब्ध गराउने बालेनले बताए । नागरिकले तिरेको करको उच्चतम उपयोग गर्दै सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन महानगर प्रतिवद्ध रहेको बताउँदै मेयर बालेनले महानगरबासीलाई स्वस्थ राख्न र रोग लागेकालाई उपचारमा सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको समेत जानकारी गराए ।