विकासन्युज

सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार योजना

काठमाडौं । नेपालको एक प्रतिष्ठित र पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्स काठमाडौंले वडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ । यस योजना अन्तर्गत बम्पर उपहारमा ३ जनाले हाइसेन्स ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टिभी र वाशिङ मेसिन पाउनेछन् । त्यस्तै अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् । यो योजना दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुनेछ । असाध्यै रुचाइएको सीताराम गोकुल मिल्क्स काठमाडौंले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरु ग्राहकहरु माझ निरन्तर उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरु ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च गुणस्तरको प्याकेजिका साथ बजारमा उपलब्ध छ ।

बुटवल उद्योग वाणिज्य सङ्घमा अर्याल

लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भए । सङ्घको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टङ्कप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भए । निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन भएका छन् । यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भए । मतगणना परिणामअनुसार उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईँ, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छ भने वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भए । खुलातर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भए । सङ्घको यही असोज १९ गते ७०औँ साधारणसभा तथा २५औँ अधिवेशन भएको थियो । अधिवेशनअन्तर्गत सोमबार मतदान हुँदा एक हजार पाँच सय पाँच मत खसेको थियो । सङ्घमा करिब एक हजार सात सय सदस्य मतदाता छन् । रासस

अरिङ्गालले टोकेर दुई बालिकाको निधन

जाजरकोट । कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको निधन भएको छ । निधन हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार निधन भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै निधन भएको थियो । बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेत बताए । उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए । रासस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

झापा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  बिर्तामोड र इटहरी क्षेत्रमा संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्तकार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो । उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सिइओ नीराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रीय प्रबन्धक जितेन्द्र छेत्रीलगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कम्पनीका डेपुटी सिइओ नीराजन कँडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण,  भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए ।  साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया  र तालिम प्रधान गरेका थिए ।

कम एमविपीएसको इन्टरनेट चलाउने ग्राहकलाई टेलिकमको अफर

काठमाडौं । नेपाल टेलिकमले बिहीबारदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको टेलिकमले जनाएको छ । जसअनुसार यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन् । यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नेछन् ।  हाल ८० एमविपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको पनि टेलिकमले जनाएको छ । साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुने प्रवक्ता शोभन अधिकारीले बताएका छन्

घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराए एक हजार जरिवाना

गण्डकी । घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताए । ‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरु गरेको छ’, उनले भने, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ ।’ कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरे । ‘सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ’, उनले भने, ‘एकपटकका लागि रु एक हजार र पटक–पटक शौच गराएको पाइएमा रु १५ हजारसम्म जरिवाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ ।’ महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ । खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गरे । उनले घरमा पालिरहेको कुुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमासमेत कारबाही हुने बताए । रासस

पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन !

सिन्धुली । ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।’ सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिएकी छन् । कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उनले रु ३० लगानी गरेर व्यापार सुरु गरेकी हुन् । उक्त पैसाले ३० वर्षअघि प्रतिमुठा रु पाँचमा छ मुठा फापरको साग किनेर बेचेको उनलाई हिजोजस्तै लाग्छ । व्यापार सुरु गर्दासम्म उनका आँखा चम्किला, दाँत भरिला थिए । कपालको रङ कालो, शरीरको छाला भरिलो थियो । अहिले आँखा धमिलो हुँदै गएका छन् । दाँत झरेर सकिनै लागिसके । कपालको कालो रङ उडेर सेतै भएको छ । शरीरको छाला चाउरिँदै गयो । तर उनले व्यापार छाडेकी छैनन् । ७९ वर्षीया दर्जी सानो लगानीमा स–साना व्यापार गरेरै जीवन र जीविका धान्दै आएकी छन् । रोगले थलिएका श्रीमान्को दरिलो आड र भरोसा उनलाई छ । घरायसी दैनिक खर्चदेखि चाडपर्व र औषधि, स्वास्थ्योपचार खर्चसम्म उनले जोहो गर्नुपर्छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले पनि सघाएको छ । सिन्धुलीमाढीमा शनिबार लाग्ने हाटबजारमा व्यापार गर्न आएकी दर्जी व्यापार गर्न छाड्दा खर्च धान्न मुस्किल पर्ने बताइन् । ‘तीस वर्ष पहिले रु ३० सापटी गरेर व्यापार सुरु गरेको थिएँ । आजको दिनसम्म यही व्यापारबाट आएको नाफाले घरव्यवहारको खर्च टार्न सहज भएको छ’, उनले भनिन् । शनिबारे हाटबजारमा दसैँ नजिकिएकाले खसी व्यापारीको भीड थियो । कपडा, भाडाँकुँडा, तरकारी व्यापारीलगायत ठूलो लगानीमा ठूलै व्यापार गर्ने व्यापारीे थिए । सेवाग्राहीको उस्तै खचाखच । त्यही भीडमा निलो प्लाष्टिक बिच्छ्याएर अदुवा, लसुन, गुन्द्र्रुक, जिरे खुर्सानी भाग–भाग लगाएर उनी बेच्न बसेकी थिइन् । विगत सम्झिँदै उनले सुनाइन्, ‘म पहिलादेखि यस्तै व्यापार गर्ने हो । तन्नेरी उमेरमा पनि श्रीमान् रक्सी पिएर झगडा गर्ने, कुट्ने–पिट्ने र घरव्यवहारको वास्तै नगर्ने भएपछि आफैँले खर्च टार्ने गर्नुपथ्र्यो । खर्च टार्ने उपाय केही नभएपछि काम खोज्न भौतारिए । काम नपाएपछि विरक्तिएर घर फर्किँदा खम्बे चौरमा आफूजस्तै दीदी–बहिनीले दैनिक भान्छामा प्रयोग हुने तरकारीजन्य वस्तु व्यापार गरेको देखे । नजिकै गएर उहाँसँग व्यापार गर्ने तरिका सिके । व्यापार सुरु गर्न श्रीमान्सँग पैसा मागेको ३० रुपैयाँ त्यो पनि फिर्ता गर्ने शर्तमा दिनुभयो । त्यही पैसाले गाउँका किसानकामा गएर प्रतिमुठा रु पाँचका दरले फापरको साग किने । त्यो छ मुठा साग बजार ल्याएर प्रतिमुठा रु १० का दरले बेच्दा रु ३० नाफा कमाएँ । अर्को दिन त्यही नाफा आएको पैसाले अघिल्लो दिन जसरी नै व्यापार गरे । नाफा आएको ३० रुपैयाँ श्रीमानलाई फिर्ता दिए । तीस रुपैयाँले आफ्नो व्यापार बढाउँदै आज यो स्थानमा आइपुगेको छु ।’ फुटपाथमा गरेको व्यापारमा उनी हाल दैनिक रु पाँच हजारसम्मको कारोबार गर्छिन् । आफ्नो एक्लो संघर्षमा सानो लगानीबाट सुरु गरेको स–सानो व्यापार परिवारको बाच्ने गतिलो आधार बनेको छ । मौसम अनुसारको स्थानीय उत्पादन किसानको बारीबाट किनेर बजार ल्याई बेच्दा घाटा नहुने उनले बताइन् । श्रीमान्सँग सापटी लिएको ३० रुपैयाँबाट व्यापारिक यात्रा सुरु गरेकी दर्जीले दृढ इच्छाशक्ति, इमान्दार प्रयास र आँट भए व्यापार गर्न धेरै लगानी नचाहिने आशय व्यक्त गरिन् । उनले भनिन्, ‘थोरै लगानीमा सानै भए पनि जसले व्यापार सुरु गर्छ, उसले भोकै बस्नु पर्दैन । व्यापार नै जीविका धान्ने बलियो आधार बन्छ ।’ ढाटीमाया दर्जीले जसरी व्यापार गरेर आर्थिकरूपमा सवल र आत्मनिर्भर बन्ने महिलाको यकिन तथ्याङ्क जिल्लाका कुनै निकायसँग छैन । सानो लगानीमा स–सानै व्यापार गरेर मालामाल कमाइरहेका र समाजमा उदाहरणीय कहलिँदै गएका महिला भने सिन्धुलीमाढी बजार क्षेत्रको फुटपाथमा बाक्लै भेटिन्छन् । कमलामाई–५ बोजेकी फूलमाया वाइबाले सिन्धुलीमाढीमा साप्ताहिकरूपमा लाग्ने शनिबारे हाटबजार, धुराफाँटमा लाग्ने बुधबारे हाटबजार, भिमानमा लाग्ने शुक्रबारे हाटबजार र अन्य दिन बजार क्षेत्रको फुटपाथमा मौसमी तरकारी, तरकारीजन्य वस्तु तथा कागती, अम्बा, बयरजस्ता फलफूलको व्यापार गर्छिन् । श्रीमान् गणेश वाइबा बितेपछि तीन सन्तानको हुर्काइ, पढाइसहित घरव्यवहारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । उनले २० वर्षअघि सानो लगानीमा व्यापार सुरु गरेका थिए । यसबाट अहिले उहाँ उत्साहित मात्रै हुनुहुन्न, आत्मनिर्भर पनि बनेका छन् । व्यापारबाट महिनामा १५ हजार माथि नाफा कमाउने उनले बताए । ‘खेतीपाती गरेर खाउ भने आफ्नो जग्गा छैन, यही व्यापारको कमाइबाट खर्च टार्छु । भान्छामा प्रयोग हुने सामान बिक्दैन कि भन्ने चिन्ता हुँदैन । सबैलाई दैनिक खान चाहिन्छ’, उनले भने । भान्छामा दैनिक प्रयोग हुने उपभोग्य वस्तु गाउँका किसानबाट थोरै–थोरै ल्याएर रु पाँचदेखि १५ सम्म नाफा हुने गरी बेच्छन् । किसानले थौरे मात्रामा उत्पादन गरेका अग्र्यानिक स्थानीय उत्पादन बजारसम्म ल्याउँदा उपभोक्ताले खुसी भएर किन्ने गरेको उनको अनुभव छ । कमलामाई–६ की देवकुमारी आले सिजनअनुसार हरियो मकै पोलेर बेच्छिन् । किसानसँग प्रतिगोटा रु १० का दरले हरियो मकै किनेर पोलेर रु २० देखि ३० सम्म बेच्ने गरेको उनले बताइन् । उनले वर्षौँदेखि हरियो मकै पोलेर बेच्दै आएकी छन् । सिजनअनुसारका स्थानीय उत्पादन हरियो अखबरे खुर्सानी, अमला, बेसार र साग बेचेर नाफा कमाएको पैसाले घरव्यवहार चलाउँदै आएकी छन् । स्वास्थोपचार र औषधिमा सबैभन्दा धेरै खर्च हुने उनले सुनाइन् । ‘व्यापार राम्रो भएको महिना रु १७ हजारसम्म कमाएको छु । व्यापार गर्न लजाउन हुँदैन, आफ्ना हातगोडा चलुन्जेल आफ्नै पौरखमा बाँच्नुपर्छ’, उनले भनिन् । आफूले खाएर बचेको करेसाबारीको उत्पादन थोरै भए पनि बारीबाटै बिक्ने भएपछि जिल्लाका मुख्य सडकले छोएका र बजारको सहज पहुँच भएका गृहणी पनि मेहनती र उद्यमशील बन्दै गएका छन् । पहिला खेर जाने जङ्गली फलदेखि खेतबारी र करेसाबारीमा उत्पादन भएका तरकारीजन्य वस्तु तथा सिजनअनुसारका फलफूल पछिल्लो समय आफैँ बजार पुर्याएर बिक्री गरी आम्दानी लिन थालेका छन् । यसले यहाँका महिलालाई आर्थिकरूपमा सवल र आत्मनिर्भर बनाउँदै लगेको छ । महिला आर्थिकरूपमा सवल र आत्मनिर्भर भएमा महिलामाथि हुने विभिन्न हिंसाजन्य गतिविधिमा कमी आउने जिल्लाका सफल व्यापारी तथा व्यवसायी महिला बताउँछन् । यसका लागि सरकारले परनिर्भर जीवन बाँचिरहेका महिलालाई सानो लगानीमा पनि व्यापार, व्यवसाय गर्न सकिन्छ भनेर आवश्यक जानकारी दिने, व्यापार, व्यवसायमा लागेकालाई प्रोत्साहन गर्ने, महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग गर्ने, स्वरोजगारमूलक सीप सिकाउने र व्यापार, व्यवसाय गर्न सहज वातावरण बनाइदिनुपर्ने उनीहरूको धारणा छ । रासस

एक कम्पनीको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आज असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते सुकेधारा काठमाडौंमा बिहान ११ बजे १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।