इजरायलका नेपालीलाई नेपाल र हिमालयन एयरमार्फत स्वदेश ल्याइने, यस्ता छन् सरकारका निर्णयहरु

<p>काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुलाई नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्स मार्फत स्वदेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो । असोज २० गते दक्षिण इजरायलको किबुज [&hellip;]</p>

काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुलाई नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्स मार्फत स्वदेश ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको थियो । यस घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न सरकारले २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याइने सरकारको निर्णय छ ।

त्यस्तै, सरकाले यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । जुन रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने समेत बताइएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने भएको छ ।

इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने भएको छ । स्वदेश फर्कन चाहने इजरायलमा रहेका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न समेत अनुरोध गर्ने निर्णय भएको छ ।

त्यस्तै, इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिनेछ ।

इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने र नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने भएको छ ।

इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने सरकारको निर्णय छ ।

सार्थ, यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सरकारले सबैमा आग्रह गरेको छ ।

Share News