विकासन्युज

नेपालको बैंकिङ क्षेत्रका अभिभावक एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधन भएको छ । लामो समयदेखि बिमारी भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको सोमबार निधन भएको हो । ९४ वर्ष उमेर पुगेका श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्ष सम्हालेका थिए । उनले विदेशी पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेन्चरको रुपमा भित्र्याउन सफल भएका थिए । स्वर्गीय श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् । उनलाई मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको थियो । जीवनको अन्तिम अवस्थासम्म पनि बैंक हाँकेका श्रेष्ठ निर्णय क्षमता भएका व्यक्ति थिए । श्रेष्ठको निधनले नेपालको बैंकिङ क्षेत्रले एउटा अभिभावक गुमाएको छ । श्रेष्ठले गत वर्ष मंसिरको साधारणसभामा बोल्दै आफू बिमारी भएपनि बैंक स्वस्थ भएको बताएका थिए । ‘म अस्वस्थ भएपनि बैंक स्वस्थ छ, नेपाली सीईओ बनेपछि ढुक्क छु’

दशैंमा सहकारी पीडितको विचल्ली, मन्त्री निवासमा सञ्चालकहरुको भीड

काठमाडौं । केही दिनअघि भूमि सुधार तथा सहकारी मन्त्रालयमा सर्वसाधारणको निकै नै भीड थियो । सहकारी सञ्चालकहरु आफ्नो सहकारीलाई समस्याग्रस्त घोषणा नगर्नका लागि अनुरोध गर्न पुगेका थिए । अर्कोतिर, समस्याग्रस्त घोषणा भइसकेका सहकारी सञ्चालकहरु त्यो हटाउनका लागि सहकारीमन्त्री रञ्जिता श्रेष्ठलाई भेट्न गएका थिए । मन्त्रालयमा मात्र होइन्, विभागमा पनि सहकारी सञ्चालकहरुको लस्कर थियो । सहकारी सञ्चालकहरु आफ्नो सहकारीलाई समस्याग्रस्त हुनबाट जोगाउन हरकोशिस गरिरहेका छन् । प्रलोभन देखाएर हुन्छ कि पहुँच लगाएर सहकारी सञ्चालकहरु आफ्नो योजना सफल पार्न जोडतोडका साथ लागिपरेका छन् । मन्त्री र विभागका महानिर्देशक भेट्ने दौडधुप चलेको छ । अहिले ठूलो संख्यामा सहकारी समस्यामा रहेको पाइन्छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता दिन सकिरहेका छैनन् । यता, बचतकर्ताले सहकारीमा बचत गर्न नै छोडिदिएका छन् । सरकारले सहकारी जोगाउनका ऐन नै परिवर्तन गर्न लागेको छ । पहिलेको ऐनमा एउटा व्यक्तिले सहकारीमा २५ लाख रुपैयाँ मात्र राख्न पाउने उल्लेख छ । हाल सीमा हटाउन सहकारीका सञ्चालकहरुले माग गरिरहेको मन्त्रालयका एक अधिकारीले बताए । सहकारीले बचत फिर्ता नदिँदा लाखौ बचतकर्ताको दशैं नै खल्लो भएको छ । पैसा नहुँदा कतिपय गाउँ जान सकेनन् त कतिपयलाई दशैं मान्नै महामुश्किल पर्यो । यता, सहकारी सञ्चालकलाई चाँहि मन्त्री र विभागका महानिर्देशक भेटेर भ्याइनभ्याइ छ । आफ्नो निक्षेप डुबेपछि यसअघि सहकारी पीडितहरुले महिनौं आन्दोलन गरेका थिए । सरकारले उनीहरुको आन्दोलन रोक्न आश्वासन दियो । सात बुँदे सहमति गरेको थियो । यता, सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारले कमिटीसमेत गठन गरेको थियो । उक्त कमिटीले भदौ २५ गते प्रतिवेदन बुझाइसकेको छ । तर, सो प्रतिवेदन दराजमा थन्काइएको छ । बचतकर्ताहरु बचत गुमेपछि रोएर हिँडेका छन् । हजारदेखि करोडसम्म डुबेको छ । करोडपतिबाट रातारात सडकपति बनेका छन्, बचतकर्ता । यद्यपि, सहकारी सञ्चालकहरु अझैपनि कालो सिसा भएको गाडी चढेर हिँडेका छन् । सरकारचाँहि तिनीहरुलाई कारबाही गर्नुको साटो उल्टै तिनकै कुरा सुनिरहेको छ ।

विदेशबाट फर्की स्वरोजगार बनेका भोजपुरका सुमन

भोजपुर । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ । तुलानात्मकरूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न सकिन्छ । खास गरेर युवावर्गलाई सवारी साधन चलाउन सिक्ने बढी चाहना हुन्छ तर भोजपुरवासीलाई सवारी साधन चलाउन सिक्न भने त्यति सहज छैन । उनीहरुलाई सवारी साधन चलाउने सीप आर्जन गर्न जिल्ला बाहिरका सहरमा जानुपर्ने बाध्यता छ । यसरी सीप लिनको लागि बाहिर जाँदा धेरै खर्च हुन्छ । भोजपुरवासीले भोगेको दुःखलाई ध्यानमा राखेर वैदेशिक रोजगारीबाट फर्किएका युवा सुमन प्रधानले आफू स्वरोजगार बन्ने र अरुलाई पनि स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले ड्राइभिङ सेन्टर सञ्चालन गरेपछि स्थानीयवासीलाई सहज भएको छ । विदेशमा दुई वर्ष बिताएर आएका उनले सीपको अभावमा मलेसियामा नेपालीले पाएको दुःख देख्न नसकेर आफ्नै गाउँमा फर्केर पहिलो पटक यो काम सुरु गरेको बताए । मानिसलाई सहजरुपमा जीवनयापन गराउने आधार नै सीप हो’, उनले भने, ‘सीप भएको मानिसले जहाँ पनि आफ्नो क्षमता देखाएर खानसक्छ । विदेशमा पनि सीपका कारण धेरैले दुःख पाएको देखेँ । त्यहाँका नेपालीले भोगेको दुःख बुझेरै सवारी साधन चलाउने सीप प्रदान गर्दै आएको छु ।’ योसँगै आफूले टेम्केमैयुङ–२ कृषि समूह गठन गरेर छिनामखुमा व्यावसायिकरूपले सुन्तला खेतीसमेत गर्दै आएको व्यवसायी प्रधानले बताए। उनले भने, ‘मेरो अगुवाइमा कृषि समूह गठन गरेर अरुलाई पनि यसमा समेटेको छु । विदेशमा गएर दुःख गर्नुभन्दा यही नै फरक ढङ्गले काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ कृषिबाट बाँकी रहेको समय सदुपयोग गर्दै व्यवसायी प्रधानले पाँच वर्षअघिदेखि पाथीभरा ड्राइभिङ सेन्टर खोलेर स्थानीयवासीलाई दुई पाङ्गे्र, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन चलाउन सिकाउँदै आएका छन् । ‘विदेशमा धेरै दुःख गरियो । त्यहाँ गर्ने मेहनत यहीँ गर्ने हो भने राम्रो आम्दानी हुने रहेछ’, व्यवसायी प्रधानले भने, ‘आफ्नै ठाउँमा फरक केही काम गरेर उदाहरणीय बनौँ भनेर जिल्लामै पहिलो पटक यो काम थालेको हुँ । मैले सीप सिकाएका धेरै जना आफैँ स्वरोजगार बनेर काम गरिरहेका छन् । यहाँ सीप सिकेर वैदेशिक रोजगारीमा गएका दुई जनाले ड्राइभिङ गरेर राम्रो तलब खाँदैछन् ।’ भोजपुर नगरपालिका–५ मा वार्षिक रु ७५ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर सीप सिकाउँदै आएको तर यो सेन्टर सञ्चालन गरे पनि त्यसलाई धान्न भने समस्या रहेको उनको भनाइ थियो । उनको भनाइ थियो । ‘सीप लिनका लागि स्थानीयवासीलाई धेरै खर्च गरेर बाहिर जानुपर्ने समस्या अन्त्य भएको छ’, प्रधानले भने, ‘तर सानो ठाउँ भए पनि व्यवसाय धान्न भने निकै सकस भएको छ । यस्ता सीपमूलक काम गर्ने मानिसलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।’ हालसम्म जिल्लाका सात सयभन्दा बढीलाई सवारी साधन सञ्चालनसम्बन्धी सीप दिलाएका प्रधानले भोजपुरजस्तो सानो ठाउँमा सञ्चालन गरेको यो व्यवसायबाट आफूले पनि सीप सिक्न पाउँदा खुसी लागेको अरुण गाउँपालिकाका युवा सचिन भुजेलले बताए । आफ्नै ठाउँमा सीप सिक्न पाउँदा धेरै खर्च गरेर धरान, इटहरी, विराटनगरलगायत सहरमा जानुपर्ने बाध्यता हटेको र यही सीप सिकेर अहिले आफू स्वरोजगार बनेको उनको भनाइ थियो। ‘जिल्लामै सीप सिकेर स्वरोजगार बनेको छु’, सचिनले भने, ‘सीप सिकेर अहिले गाउँपालिकाको गाडी चलाउँदै आएको छु । आफ्नै ठाउँमा सीप लिन नपाएको भए यो सम्भव थिएन । सीपले मलाई जीवन गुजारा गर्न सहज बनेको छ । मजस्ता धेरै साथीले आफ्नो खाएर घर पाएकमै सीप लिन पाएका छौँ ।’ रासस ।

एउटै रुद्राक्षको ५३ लाखसम्ममा कारोबार, कुनको कति मूल्य ?

काठमाडौं । विगत केही वर्षदेखि सुस्ताउँदै आएको रुद्राक्षको व्यापार यस वर्ष भने उत्साहजनक भएको छ । रुद्राक्षको, खरिदबिक्री बढेसँगै व्यापार पनि उत्साहजनक भएको हो । रुद्राक्षले यस वर्ष आकर्षक मूल्य पाएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले बताए । लामो समयदेखि रुद्राक्षले उचित मूल्यन पाउँदा किसान र व्यवसायीहरू समस्यामा परेका थिए । चापागाईंकाअनुसार यस वर्ष रुद्राक्षको मूल्य दोब्बर हुँदा किसानले पनि राम्रो आम्दानी लिन सफल भएका छन् । ‘रुद्राक्षबाट किसानहरूले राम्रो आम्दानी लिनु भएको छ, रुद्राक्षको आकार, बनावट तथा त्यसको प्रकृति हेरेर किन बेच हुने भएकाले मूल्य यति नै पर्छ भन्न सकिँदैन, तर रुद्राक्षले यस पटक मूल्य पाएको छ,’ उनले भने । बजारमा अहिले २१ मुखे रुद्राक्ष करिब २२/२३ वटा किनबेच भएको चापागाईंले बताए । उनकाअनुसार सबैभन्दा बढी १६/१७/१८/१९ मुखे रुद्राक्ष उत्पादन भएको छ । रुद्राक्ष व्यापारी प्रयाग गौतमले २१ मुखे रुद्राक्षको कारोबार प्रतिगोटा २० लाखदेखि ५३ लाख रुपैयाँसम्म भएको बताए । उनकाअनुसार पहिलाको तुलनामा सानो रुद्राक्ष (७ देखि १४ मुखे) २० प्रतिशत मात्र उत्पादन भएको छ । ‘गतवर्ष भन्दा यस वर्ष रुद्राक्षको व्यापार राम्रो छ, रुद्राक्षको मूल्य पनि दोब्बर छ, १५ मुखे रुद्राक्ष न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म कारोबार हुँदै छ,’ उनले भने । १६ मुखे रुद्राक्ष ४० हजारदेखि ३ लाख रुपैयाँसम्म किनबेच भएको गौतमले बताए । उनकाअनुसार १७ मुखे रुद्राक्षको खरिदबिक्री एक लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्म र १८ मुखेको २ लाख ३० हजारदेखि ९ लाख रुपैयाँसम्म बिक्री भएको छ । यसैगरी १९ मुखे रुद्राक्षको चार लाखदेखि लिएर ११ लाख रुपैयाँसम्म र २० मुखेको ५ लाखदेखि लिएर १३ लाख रुपैयाँसम्म बिक्री भएको गौतमले बताए । संखुवासभा, भोजपुर लगायतका जिल्लालाई रुद्राक्षको हब मानिन्छ । सो जिल्लाका किसानहरूको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो । षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानीलगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको हेरचाह, गोडमेल तथा यसलाई प्रशोधन गर्नुपर्दछ । यसको खेती गर्दा अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नुनपर्ने तथा राम्रो आम्दानी हुने भएकाले धेरै कृषकको रोजाइमा पर्दै आएको छ । रुद्राक्षको दानाचोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानलाई यसको सुरक्षामा समेत समस्या छ । संघका अध्यक्ष चापागाईंले केही हप्ता अघि पाँचखपनमा ४५ लाख रुपैयाँ बराबरको रुद्राक्ष बोटै काटेर चोरी भएको बताए । यसको सुरक्षाको निमित्त सम्बन्धित निकायले पनि चासो देखाउनु पर्ने बताए । रुद्राक्ष वर्षेनी उत्पादन हुन्छ भने यसको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ । चीन र भारत मात्र निर्यात हुँदै आएको रुद्राक्ष हाल अमेरिका, क्यानडा, सिंगापुर लगायका देशमा पुग्नथालेको व्यवसायीहरु बताएका छन् ।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन्। साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गरे । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन्। आफू टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका छन् । विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो । अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोषकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ ।

आज विजयादशमी, टीका लगाउन बिहान ११ः०२ बजे उत्तम साइत

काठमाडौं । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ । राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ । अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने जनाइएको छ ।

ग्लोबल आइएमईको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लस मार्फत् दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत (एक सय रुपैयाँसम्म) बैंकको आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक पाउनेछन् । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड “दक्षिणा” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ । ग्लोबल आइएमइ बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउने बैंकले जनाएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रुपमा बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।