विकासन्युज

कवड्डीकी कलावती : ‘स्कूलमा कप्तानदेखि एसियालीसम्म’

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ बर्षीय कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन् । बाल्यकालबाटै कवड्डी खेल्ने उनको चाहना विद्यालयका खेलकुद शिक्षक गणेश धामीले खेल सुरु गरेर पूरा गरिदिए । स्कूलमा कवड्डी खेल्न थालेको तीन बर्षमै कलावतीले आफ्नो आफूलाई चर्चाको शिखरमा पु¥याइन् । शिक्षकको सहयोगको भरमा कवड्डीमा आएकी कलावती हालै चीनमा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा महिला कवड्डी टोलीको महत्वपूर्ण खेलाडी थिइन् । उक्त प्रतियोगितामा काष्य पदक बिजेता महिला कवड्डी टोलीमा १२ महिला खेलाडीमध्ये सात सुदूरपश्चिम प्रदेशका थिए । उक्त टोलीका सबै खेलाडी विभागीय टोलीमा आवद्ध रहेपनि कलावती भने सुदूरपश्चिमबाटै छनौट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन् । ‘विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमित प्रशिक्षणदेखि हरेक कुरामा ध्यान दिएका हुन्छन् ।’ उनी भन्छिन्–’ हामी कलेज पढ्दै र घरको पनि काम गर्दै छनौटमा पर्नु सामान्य कुरो होइन् ।’ स्कूलस्तरमा हुने कवड्डी प्रतियोगितामा कलावतीले धर्मजनता माविबाट टोलीकोको कप्तानी गरिन् । त्यहाँ हुने प्रायः प्रतियोगितामा उनको टोली सधै प्रथम भयो । केही बर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनले सुदूरपश्चिमको टोलीबाट पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाएको बताइन् । हाल स्नातक तह अध्ययनको तयारीमा रहेकी कलावतीले आफू पनि विभागीय टोलीमा आबद्ध भएर जागिर खाँदै खेलमा अघि बढ्ने चाहना व्यक्त गरिन् । ‘यसपालि सुदूरपश्चिमका सात जनामध्ये म मात्रै विना बिभागीय खेलाडी थिए ।’ कलावती भन्छिन्,’राज्यले लगानी र नियमित प्रशिक्षणमा ध्यान दिए खेलमा अझ बढी माथि पुग्न सकिन्छ भन्ने चीनको एसियाली कपले सिकायो ।’ नवौं राष्ट्रिय प्रतियोगिता हुनुअघि सुदूरपश्चिमको टोलीमा परेकी उनी सो प्रतियोगिताको पूर्वसन्ध्यामा महेन्द्रनगरस्थित कवड्डी प्रशिक्षण केन्द्रमा तीन महिना बन्द प्रशिक्षणमा बसेको बताइन् । सामान्य परिवारमा हुर्किएकी कलावतीको पारिवारिक खर्च बुवा विक्रम पन्तले भारतमा मजदुरी गरेर टार्दै आएका छन् । ‘बुबाले भारतको उत्तराखण्ड क्षेत्रमा मजदुरी गरेर हामीलाई यहाँसम्म पुर्याउनुभयो ।’ उनी भन्छिन्–’अब खेलसँगै परिवारमा खुसी थप्ने जिम्मा हाम्रो पनि काँधमा आएको छ ।’ तीन बहिनी र दुई भाईमध्ये बहिनीबाट कान्छी हुन् कलावती । उनले राज्यका लागि एसियालीमा पदक ल्याउँदा काठमाण्डौँमा प्रोत्साहन र सम्मान मिलेपनि गृह प्रदेश र जिल्लामा भने कुनै वास्ता नभएको गुनासो गरिन् । ‘विभागीय टोलीमा रहेका प्रायः सबै खेलाडीहरू पदक जितेर र राम्रो प्रर्दशन गरेर आएपछि सम्मानित र पुरस्कृत भएका फोटोहरू सामाजिक सञ्जालमा धेरै नियालेँ ।’ कलावती भन्छिन्, ‘सायद विभागीय टोलीमा भएको भए म पनि सम्मानको भागेदार हुन्थे होला ।’ गृहनगर शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा आफूलाई स्वागत गर्न धनगढीस्थित गेटा बिमानस्थल पुगेको उनले जानकारी दिइन् । ‘हामी खेलाडीले सम्मान मागेको होइन् त्यो गुनासो पनि छैन ।’ कलावती भन्छिन्–’ स्थानीय स्तरमा पाइने प्रोत्साहनले थप हौसला मिल्छ भन्ने हो तर त्यो यहाँ भएको छैन् ।’ त्यसैगरी कवड्डी प्रशिक्षक विश्णुदत्त भट्ट पनि कलावती अनुशासित र मेहनती खेलाडी भएको बताउँछन् । ‘उनी स्कूलस्तरको खेलबाट यहाँसम्मआएकी हुन् ।’ उनी भन्छन्, ‘त्यसपछि महेन्द्रनगर प्रशिक्षणमा बसियो र नवौँ राष्ट्रिय खेलकुँद प्रतियोगिता हुँदै एसियालीसम्म पुग्नु उनको ठूलो सफलता नै हो ।’ रासस

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट, दैनिक दुई हजार पर्यटक आउने

भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उनको भनाइ थियो । बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । ‘अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्’, अध्यक्ष मल्लले भने, ‘दसैँ र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।’ विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले सानाठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा मोटरबोटले सेवा सुरु गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् । मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँसम्म तोकिएको छ । त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् । रासस

मनकामना केबलकार सञ्चालनमा

मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

सामुदायिक वनमा ‘टाइगर हिल पार्क’ निर्माण

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । पृथ्वी राजमार्गबाट दुई सय मिटर दूरीमा अवस्थित उक्त पार्कमा बाघको मूर्ति पनि निर्माण गरिएको छ । राजमार्गबाट उत्तरतर्फ रहेको सो पार्कमा पुग्न गाउँपालिकाको सहयोगमा सिँढी निर्माण गरिएको छ । पर्यटकीय पार्क बनाउन सकिने यहाँ रक क्लाइम्विङ, इको पदयात्रा, रक गार्डेनिङ, भ्युटावर, वर्ड वाचिङ हाइकिङसमेतको व्यवस्था गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो । अध्यक्ष खनालले भने, ‘यहाँ मनोरम ढुङ्गाका आकृति, बेलको रुखमा ग्लास हाउस, मानिसलाई विश्रामका लागि गोल घरपाटी छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रचारप्रसारमा ध्यान दिएका छौँ ।’ नयाँ नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । उनले भने, ‘जिल्लाका विभिन्न ठाउँमा हरित उद्यान बनाउने कार्यालयको वार्षिक कार्यक्रमअनुसार यहाँ बाघको मूर्तिसहितको उद्यान निर्माण गरिएको हो ।’ उक्त कार्यालयको पाँच लाख रुपैयाँ र वाराही सामुदायिक वनको एक लाख २५ हजार रुपैयाँ गरी छ लाख २५ हजार रुपैयाँमा उद्यान निर्माण गरिएको हो । यहाँ मिनी चिडियाखाना र वनभोजस्थल पनि बनाउने लक्ष्य छ । उक्त कार्यालयले जिल्लाका विभिन्न ठाउँमा हरित पार्क निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालयको सहयोगमा भिमाद नगरपालिका–९ मोहोरिया र व्यास नगरपालिका–४ सिमलटारमा हरित पार्क निर्माण गरिएको छ । वडानं २ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि घरसहितको पार्क बनाइएको छ । पार्कलाई हरियाली बनाउन डिभिजन वन कार्यालयको सहयोगमा वृक्षरोपण र सरसफाइ गरिएको छ । उक्त पार्क वरिपरि बहुवर्षीय पारिजात, म्याङ्गोस्टिक, कपुर र धुपीका करिब दुई सय बिरुवा रोपिएको छ । रासस

रसुवाका ग्रामीण सडक खुला

रसुवा । वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो । नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिकाअन्तर्गतको करिब ३० किलोमिटर सडक सुधार गरिएको छ । स्काभेटरको सहायताले वर्षायाममा सडक सतहमा रहेका लेदो र ढुङ्गा हटाउनुका साथै खाल्टाखुल्टीसमेत पुरेर सवारी साधन सञ्चालन गराइएको कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । आम भञ्ज्याङ, धुसेनी, भोर्ले, कप्थलीटार, पारच्याङ, यार्सा, सरमथली, पाटिखर्क, लाङ्वु, लोकिललगायत क्षेत्रका ग्रामीण सडकमा सवारी साधन ओहोरदोहोर भइसकेको छ । यस्तै उत्तरगया गाउँपालिकाको बनुवा घुम्ती कर्मिडाँडा, डाँडागाउँ, ठूलोगाउँ, गोसाइँकुण्ड तथा आमाछोदिङ्मो क्षेत्रका सडकसमेत सञ्चालन भइरहेको छ । पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुञ्चे, स्याफ्रुबेँसीसम्म डिभिजन सडक कार्यालय र स्याफ्रुबेँसी रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गमा भने रसुवागढी हाइड्रोपावर तथा गल्छी, मैलुङ स्याफ्रुबेँसी सडक सुधार आयोजनाको डोजरले अवरुद्ध सडक खुलाइएको सडक कार्यालयका प्राविधिकले बताए । ठूलो भार्खुडाँडा, सानुभार्खु भिर, याङ्याङको भोटेकोशी पुलनजिक र स्याफ्रुबेँसीदेखि रसुवागढी स्थानको मार्गमा भने सडक सुधार हुन नसक्दा सवारी चालक हैरानीमा पर्ने गरेका त्यहाँका सवारी चालकको गुनासो थियो । रासस

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

  काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले राससलाई जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उनले बताए । हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन रहेका छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो । रासस

बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम, दूध र चीजका लागि सानन बाख्रा

तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै आइएको छ । तनहुँ, कास्की, गोरखा, लमजुङ, चितवनलगायत विभिन्न जिल्लामा बोर बाख्रा निर्यात गर्दै आएको कार्यक्रमका संयोजक राजु कँडेलले जानकारी दिए । विसं २०७१ मा ५० वटा माउ र सात वटा बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान गरिएको उनले बताए। अगुवा बाख्रा उत्पादक कृषकलाई पशु उक्त कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आइएको छ । कार्यक्रमअन्तर्गत हाल अनुसन्धानको लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायत करिब पाँच सय बाख्रा छन् । कृषकको मागअनुरुप विभिन्न जिल्लामा बोरका बोका बिक्री गर्ने गरिएको छ । दूध र चीजका लागि सानन बाख्रा त्यसैगरी सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए । बाख्राको दूधमा ल्याक्टोजिन नहुने र रोग प्रतिरोधी हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि उत्तम हुने उनले बताए । बाख्राको दूधबाट बनेको चिज बाहिर सहरमा प्रतिकिलो तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो एक हजारमा बिक्री गर्दै आएको छ । विगत पाँच वर्ष अघि अमेरिकी डेरी गोटका अध्यक्ष डेनिल लेनिईले चिज बनाउने उद्योग खोली व्यावसायिक बाख्रापालन कृषकलाई सीप हस्तान्तरणसमेत गरे । पोखराको लेकसाइड र काठमाडौँका सहरमा चिजको माग भइरहेको छ । अधिकृत आचार्यले भने, ‘याक र गाईबस्तुको दूधबाट बनेको चिजको तुलनामा बाख्राको दूधबाट बनेको चिज गुणस्तरीय र मिठो हुन्छ ।’ पछिल्लो समय सानन बाख्राको दूध र चिज प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एक पटकमा चार लिटरसम्म दूध दिन्छ । उक्त कार्यालयमा अहिले दैनिक बयालिस लिटर दूध उत्पादन हुँदै आएकोले चिज बनाउने गरिएको छ । उक्त दूध सङ्कलन गरी चिज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको संयोजक कँडेलले जानकारी दिए ।

बैंकर बिके श्रेष्ठको अन्तिम सम्बोधन : ‘नेपाली सीईओ बनेपछि ढुक्क छु’

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रकै अग्रज तथा एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा मंगलबार निधन भएको छ । जीवनको उत्तरार्धसम्म पनि बैंकको सफल नेतृत्व गरेका श्रेष्ठ जिम्मेवारीमा रहँदा रहँदै संसारबाट विदा भएका छन् । नेतृत्व क्षमता र निरन्तर सफल बैंकर बनिरहने दृढ इच्छाशक्ति भएका श्रेष्ठले एभरेष्ट बैंकलाई भारतको पञ्जाव नेशनल बैंकसँग जोइन्ट भेन्चर गरेर सञ्चालन गर्न सफल भएका थिए । एभरेष्ट बैंकलाई सापेक्षित रुपमा सफलतामा पुर्याएका बैंकर श्रेष्ठले एक वर्ष अगाडि गतसाल मंसिरमा भएको बैंकको साधारणसभामा आफू अस्वस्थ भएपनि बैंक स्वस्थ भएको र नेपाली सिइओ बनेपछि ढुक्क भएको बताएका थिए । बैंकको वित्तीय सूचकहरु सकारात्मक रहेकाले अझै प्रगति गर्नुपर्नेमा श्रेष्ठले जोड दिएका थिए । पछिल्ला दुई वर्षमा विश्वव्यापी कोरोना महामारी, डेंगु, रूस-युक्रेन युद्धले गर्दा बैंकलाई पनि असर गरेको अध्यक्ष श्रेष्ठले बताएका थिए। साथै तरलता संकटका कारणले पनि अर्थतन्त्र नाजुक अवस्थामा रहेकाले रिकभरीको समस्या बैंकले खेप्नु परेको उनले उक्त साधारसभामा भनाइ राखेका थिए । ‘बैंकले राम्रो प्रगति गरेको छ, अहिलेको कठिन अवस्थामा पनि बैंकले सेयरधनीहरुलाई राम्रो प्रतिफल दिएको छ, मेरो आफ्नो स्वास्थ राम्रो नभएपनी बैंकको स्वास्थ राम्रो छ,’ उनले भनेका थिए । आफूलाई स्वास्थ्यले साथ नदिएको भएपनि बैंकलाई अझै उचाईमा पुर्याउने गरी बैंकका सीईओले काम गरिरहेको उनको भनाइ थियो । पहिलो पटक नेपाली नै बैंकको सीईओ भएकाले बैंकको थप ग्रोथ हुनेमा स्वर्गीय श्रेष्ठले विश्वास व्यक्त गरेका थिए ।