कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत बैकिङ्ग सेवा
काठमाडौं । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैँकले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७,००० भन्दा बढि ग्राहकलाई आधुनिक बैँकिङ सेवा सुविधा प्रदान गर्दै आएको हो । बैँकले कर्णाली प्रदेशको बैँकिङ विस्तारलाई विशेष प्राथमिकता दिदै आएको छ । देशकै उचाईमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो जिल्ला डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैँकिङ सुविधा प्रदान गर्दै आएको छ । यसका साथै बैँकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैँकले लिएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल ज्युले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा आज आयोजित एक कार्यक्रमका विच महान चाड बडा दशैंको उपलक्ष्यमा समस्त कर्णालीवासी लगायत सम्पूर्ण कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारजनलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । साथै यस प्रदेश अन्तर्गतका १० वटै शाखा प्रबन्धकहरुसँग जुमको माध्यमबाट बैठक एवं छलफल गर्दै यस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरल सहज र गुणस्तरीय बैकिङ्ग सेवा मार्फत यस क्षेत्रका सर्वसाधारणको मन जित्न सवैलाई निर्देशन दिए । बैँकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट संचालनमा ल्याई सकेको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन् । यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । डा. सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार छन् । उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए । हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो ।
दसैँमा टेलिकमको ग्रुप एसएमएसमार्फत सामूहिक सन्देश पठाउन सकिने
काठमाडौं । दसैँमा टेलिकमको ग्रुप एसएमएसमार्फत सामूहिक सन्देश पठाउन सकिने भएको छ । नेपाल टेलिकमले बडादसैँको अवसरमा सामूहिक रुपमा शुभकामना सन्देश पठाउन आफ्ना विभिन्न प्याकेज सर्वसाधारणका लागि फलदायी हुने जनाएको छ । पहिलादेखि नै सञ्चालनमा रहेको ‘ग्रुप एसएमएस’ सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिने टेलिकमले जनाएको छ । यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने जनाइएको छ । २ हजार ५०० रुपैयाँमा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ भने ५ हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नरहेको पनि टेलिकमले प्रस्ट पारेको छ । यो सेवाप्रयोग गर्न प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने पनि जनाइएको छ । यो सेवाप्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सक्ने जनाइएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहो¥याई आफूले चाहेबमोजिमका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।
एनसेलले ३५ सय ग्राहकलाई दियो १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान
काठमाडौं । एनसेल आजियाटाले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार जनही १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत संचालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो । भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए । दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु १०० बोनस ब्यालेन्सका लागि छानिएका थिए । विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्।् । साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो । एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्नेछ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् । ४५ हजार भन्दा बढी नाराहरु पठाई यो योजनालाई बृहद रुपमा सफल बनाउन योगदान पुर्याएकोमा एनसेलले आफ्ना ग्राहकहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
‘आइएमई तथा आइएमई पे’ मा कलाकारको वृहत चासो र संग्लनता
काठमाडौं । आइएमई तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित आइएमई पे आइएमई गरौँ, करोडपति बनौँ योजना सार्वजनिक गरेको छ । जसमा आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ । आफ्नो स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको आइएमई तथा आइएमई पे को यस करोडपति योजनामा पनि एम्बासडरदोयको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ । साथै सो योजनाको थप जानकारी हरेक दिन आइएमई तथा आइएमई पे’ को अफिसियल टिकटकको लाइभ मार्फत प्राप्त गर्न सकिने छ । जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल ब्राण्ड इन्फ्युसरको रुपमा उत्साहपूर्ण संग्लनता देख्न सकिन्छ । यसराज गराच हाल नेपालको चर्चित कलाकार हुन् जसले लगभग एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय भन्दा बढी नेपाली म्युजिक भिडिओमा पनि काम गरेका छन् साथै बिभिन्न टेलीभिजनका कार्यक्रम प्रस्तोता पनि रहेका छन् । साक्षी लम्साल पनि अहिले चर्चामा रहेकी नेपाली कलाकार हुन् जसले धेरै नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने बिभिन्न टेलीभिजनका कार्यक्रम प्रस्तोता पनि रहेकी छिन् साथै धेरै चर्चित ब्राण्डहरुको ब्राण्ड मोडेलको रुपमा पनि उनलाई देख्न सकिन्छ तेस्तै प्रणिमा दाहाल पनि अहिले नेपाली कलाकारितामा रुचाएको नाम हो ,उनले विभिन्न नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने धेरै टेलीभिजनका कार्यक्रम प्रस्तोताको रुपमा पनि रहेकी छिन् साथै उनलाई उत्कृटको रुपमा पनि चिन्न सकिन्छ । अर्को नेपाली कलाकारिता मा चर्चित नाम हो गोपाल ढकाल जो नेपाली कलाकारितामा छन्दे भनेर परिचित छन् । उनि बिगत १८ वर्ष देखि नेपाली कलाकारितामा लोकप्रिय छन् र विशेषगरि नेपाली हास्य टेलीचलचित्रमा उनि रुचाएको कलाकार हुन् । माथि उल्लेखित सबै चर्चित कलाकारहरुलाई अहिले आइएमई तथा आइएमई पे ले आफ्नो ब्राण्ड इन्फ्युसरको रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमई पे को हरेक योजनामा ब्राण्ड इन्फ्युसरहरूको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ । यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आइएमई तथा आइएमई पे’मा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आइएमई तथा आइएमई पे’ द्वारा प्रबर्दित भिडियो मा देख्न सकिने छ । ‘आइएमई पे’ ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिव पेमेन्ट पार्टनरपनि रहेको छ। जसको माध्यमबाट पनि आइएमई तथा आइएमई पेमा कलाकारहरुको चासो बढेको छ । खेल तथा खेलाडीसँग पहिले देखिनै सहकार्य गर्दै आइरहेको आइएमई तथा आइएमई पे’ मा हाल कलाकारहरुको पनि वृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पुर्याएको छ ।
प्रति १० ग्राम दुई हजारले बढ्यो सुन, विश्वबजारमा सुनको मूल्य उच्च
काठमाडौं । इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आज शुक्रबार प्रति १० ग्राम ९९ हजार २५ मा पुगेको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम दुई हजार एक सय ४५ ले बढी हो । इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भएका कारणले सुनको मूल्य वृद्धिमा चाप परेको बताइएको छ । दुई साता अघिसम्म निरन्तर बढेको सुनको मूल्य त्यसयता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि केही दिन घटेको थियो । द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतारचढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्नसक्ने विश्लेषकको अनुमान छ । यस्तै यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन एक हजार एक सय ९२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन आज शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय रुपैयाँ पुगेको छ ।
कर्णालीका सडकमा भगवान् भरोसे यात्रा, चाडपर्वमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने
सुर्खेत । विसं २०७९ असोज १२ गते बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जीप कपुरकोट गाउँपालिका–६ जलवाङ दुर्घटनामा पर्यो । देशैभर दसैँको रौनक छाएको बेला रा १ ज ५६३ नम्बरको जीप दुर्घटनामा नौ जनाले ज्यान गुमाएपछि जलवाङ गाउँ शोकमा डुब्यो । जीपमा सवार नौ जनामध्ये आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भयो । जीपमा सवार सबै बाँकेको ढकेरीस्थित आफन्तको बिहेबाट सल्यान फर्किँदै थिए । मृत्यु हुने सबै एकै गाउँका हुन् । सोही दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आइरहेको ट्रक दुर्घटनामा पर्याे । जुम्लाको हिमा गाउँपालिका–१, लिहीमा बागमती प्रदेश ०३–००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना हुँदा मकवानपुरका ट्रक चालक अविनाश लामाको मृत्यु भयो भने उनका सहयोगी हरी न्यौपाने घाइते भए । असोज १५ गते सल्यानकै कुमाख गाउँपालिका–७, डुमकोटमा रा १ ज ७९८ नम्बरको जीप दुर्घटनामा पर्यो । दुर्घटनामा कुमाख गाउँपालिका–७, डुमकोटका दुई जनाको मृत्यु भयो भने १७ जना घाइते भए । ओभर लोडका कारण उकालोमा चढ्न नसकेर जीप दुर्घटनामा परेको थियो । असोज १५ मै जुम्लाको तिला गाउँपालिका–१, कालजेनीमा खलङ्गाबाट नराकोटतर्फ जाँदै गरेको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भयो । भे १ च १८७३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा इलाका प्रशासन कार्यालय नाराकोटका प्रमुख मधुशङ्कर उपाध्यायसहित चार जना घाइते भए । उनीहरू दसैँ मान्न घर फर्किंदै थिए । यी घटना चाडपर्वका बेला बर्सेनि कर्णालीका सडकमा ज्यान गुमाउनेहरूका दुःखान्त उदाहरण हुन् । कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन जस्ता कारणले चाडपर्वका बेला दुर्घटना बढेको देखिन्छ । कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको चाडपर्वको बेला २१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । प्रदेश प्रहरी कार्यालयका अनुसार दसैँमा ठूलो मानवीय क्षति हुने गरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हुँदा दैलेखमा चार सवारी दुर्घटनामा सात जना घाइते भएका थिए । सल्यानमा दुई सवारी दुर्घटनामा १६ जना घाइते भएका थिए भने जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा एक÷एक सवारी दुर्घटना हुँदा, दुई जनाको मृत्यु भयो । चाडपर्वका बेलामा मादक पदार्थ सेवन (मापसे)को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्नेलगायतका कारण दुर्घटना बढेको देखिन्छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी गोपालचन्द्र भट्टराईले दुर्घटना न्यूनीकरणका लागि प्रहरीले भरमग्दुर प्रयास गर्दै आएको बताए । उनले भने ‘प्रहरीले दुर्घटना न्यूनीकरणमा धेरै प्रयास गरेको छ, हाम्रो प्रयासले मात्रै पुग्दैन । सबै पक्षको सहकार्य भएमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’ सरकारले कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजना बनाए पनि कार्यान्वयन फितलो हुँदा सडक दुर्घटना घट्नुको साटो बढ्दै गएको छ । विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता कारणले हरेक वर्ष चाडपर्वका बेला कर्णालीमा सडक दुर्घटना बढ्दै गएको प्रहरीको तथ्याङ्क छ । कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०७६/७७ को असोज महिनामा कर्णाली प्रदेशमा ३३ वटा सडक दुर्घटना भएका थिए भने आव २०७७/७८ को असोज महिनामा १८ वटा र २०७८/७९ मा २३ वटा सडक दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी तथ्यांकअनुसार गत तीन आवको असोज महिनाको समयमा मात्र कुल ७४ वटा सडक दुर्घटना भएको देखिन्छ । आव २०७६/७७ को कात्तिक महिनामा २० वटा, आव २०७७÷७८ को कात्तिकमा २९ र आव २०७८/७९ को कात्तिकमा ४१ वटा गरी कुल ९० वटा सडक दुर्घटना भएका छन् । चाडपर्वका बेला गाउँघर फर्किनेहरूको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्री बोक्ने र तीव्र गतिमा हाँक्ने गर्नाले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको विश्लेषण छ । रोजगारी, अध्ययन तथा व्यापार व्यवसायका लागि प्रदेश बाहिर रहेका कर्णालीका नागरिक चाडबाड नजिकिएसँगै घर फर्कने क्रम सुरु भएको छ । कर्णाली भित्रिने मुख्य मार्ग भनेको स्थलमार्ग नै हो । कर्णालीमा अन्य समयभन्दा चाडपर्वका बेला बढी मात्रामा सडक दुर्घटना हुने गरेका छन् । रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएका कर्णालीका श्रमिक तथा विद्यार्थीहरूको ठूलो संख्या दसैँ तिहार बिदामा घर फर्कने गर्छन् । विभिन्न नाकाबाट दैनिक हजारौँको संख्यामा नागरिक कर्णाली प्रवेश गरिरहेका छन् । कर्णालीमा यात्राका लागि सडक मार्ग निर्विकल्प जस्तै छ । कर्णालीका लागि यात्रुहरूले बर्सेनि बाटोमा सास्ती व्यहोर्नु पर्ने बाध्यता मात्र होइन, ज्यानसमेत गुमाउनुपर्ने अवस्था छ । साँघुरा र कच्ची सडक तथा सवारीसाधनको क्षमताभन्दा धेरै यात्रु बोक्नेलगायत कारणले कर्णालीका सडकमा भगवान् भरोसामा यात्रा गर्नुपर्ने वर्षौंदेखिको बाध्यता अझै कायम छ । के छ सुरक्षा निकायको तयारी ? सडक सुरक्षाको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले चाडपर्वका समयमा चेकजाँच तथा जनचेतनालाई जोड दिएको छ । अघिल्ला वर्षहरूमा झैँ प्रहरीले चाडपर्वको समयमा हुने सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सबै तयारीहरु गरिरहेको नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीका अनुसार नागरिक सहायता कक्ष, नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही, ट्राफिकसहितको संयुक्त जाँचलगायतका कार्यक्रमहरू अघि सारिएको छ । प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच सञ्चालन गर्नेछ । चाडपर्व सुरक्षा कार्ययोजना २०८० अनुसार सवारी दुर्घटना हुन नदिन प्रहरीले कर्णालीका ५३ स्थानमा ट्राफिक प्रहरीसहित संयुक्त चेकजाँच सञ्चालनका साथै ३१ स्थानमा नियमित जाँच, आवश्यकताअनुसार आकस्मिक जाँच, १८ स्थानमा लामो दूरीका सवारी जाँच (दुई जना चालकको व्यवस्था) गर्ने जनाएको छ । यसैगरी प्रदेशका २६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रवक्ता शाहीले जानकारी दिनुभयो । चाडपर्वका समयमा यात्रुसँग बढी असुल्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको कार्ययोजना रहेको शाहीको भनाइ छ । शाहीका अनुसार लामो दूरीमा सञ्चालन हुने सवारीसाधनका लागि तीन ठाउँमा यात्रु विश्राम कक्ष निर्माण गरिएको छ । कर्णाली राजमार्गमा चल्ने सवारीसाधनका लागि सुर्खेतको बड्डीचौर, प्रदेश बाहिरिने सवारीका लागि सुर्खेतकै छिन्चु र डोल्पा सडक खण्डमा सल्यानको कपुरकोटमा यात्रु विश्राम कक्ष स्थापना गरिएको छ । सुरक्षा योजनामा प्रदेशका सीमा नाकामा कुकुर परिचालन गर्नेदेखि प्रदेशका राजमार्गमा स्कर्टिङ मोवाइल गस्ती र तत्काल रेस्पोन्स टिम परिचालन गर्नेसम्मका योजना समेटिएका छन् । चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । ‘अवैध चोरी निकासी रोक्ने, धार्मिक सद्भाव कायम राख्ने र कुनै पनि साम्प्रदायिक घटना हुन नदिने, दुर्घटना न्यूनीकरण गर्ने र जुतावास खेल्न रोक्नेलगायत चाडबाडको समयमा हुनसक्ने कुनै पनि आपराधिक क्रियाकलाप रोक्ने प्रहरीको योजना छ,’ नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयले भनेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी गोपालचन्द्र भट्टराईका अनुसार प्रदेशका १० जिल्लामा करिब ५१०० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । ‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं,’ उनले भने, ‘प्रदेशभर क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिनेछ ।’ राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रदेशका मुख्य बजार क्षेत्रमा चेतनामूलक पर्चा, पम्प्लेट र माइकिङ पनि गरिने प्रहरीले जनाएको छ । अपराध हुन नदिने वैज्ञानिक उपकरणको समेत प्रयोग गरिएको बताइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, जिल्ला सदरमुकामका बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी भइरहेको र राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भट्टराईले जानकारी दिए । ‘बढी भीड हुने ३८ स्थानमा यात्रु सहायता कक्ष तयार गरिएको छ,’ उनले भने, ‘तोकिएको दरभन्दा बढी भाडा लिएर यात्रु ठग्नेलाई कारबाही गर्छौं ।’ उनका अनुसार सार्वजनिक यातायात साधनहरुको सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्न लाइडर स्पीड ‘राडर गन’ लगायतका प्रविधिहरुको प्रयोग गरिनेछ । के छ सुरक्षा जोखिम ? प्रहरीले चाडपर्वको समयमा सुरक्षा जोखिममा हुने स्थानहरु पनि छुट्टयाएर सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा सडक दुर्घटना, कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, विष्फोटन, तस्करी, र ट्राफिक नियम उल्लङ्घनलगायतका क्रियाकलाप हुन सक्ने प्रहरीको विश्लेषण छ । ‘बैंक वित्तीय संस्थाहरुमा चोरी, लुटपाट हुन सक्छ । सामान किनबेच हुने स्थानहरुमा अत्यधिक भिडभाड भई असुविधा हुनसक्नेतर्फ पनि हामी सचेत छौं । यसका लागि सबै प्रकारका सुरक्षा पद्दतिहरु अपनाइएको छ । चाडपर्वमा कुनै पनि अवाञ्छित गतिविधि हुँदैनन्,’ सूचना अधिकारी भट्टराईले भने। ‘चाडपर्वको समयमा नागरिकका घर, सम्पत्ति, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक संस्थाजस्ता स्थान सुरक्षा जोखिममा हुन्छन् । त्यस्तै नाकादेखि लिएर होटल, रेष्टुरेन्ट, राजमार्ग तथा ग्रामीण वस्ती र उच्चपदस्थ व्यक्तित्वहरुको आवतजावत हुने क्षेत्रलाई पनि विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरेका छौं,’ उनले भने । ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौँ’ यातायात व्यवसायी सङ्घ कर्णाली प्रदेशका संयोजक रमेशकुमार सापकोटाले चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित गन्तव्यमा पु¥याउन प्रतिबद्ध रहेको बताए । उनले राज्यको नीति नियममा रहेर यातायात व्यवसायीहरूले यात्रुलाई सहज र सुरक्षित सेवा दिने जिम्मेवारीमा कुनै पनि कमी हुन नदिने उल्लेख गर्दै राज्यका कारण कर्णालीमा यात्रुलाई कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए । ‘कर्णालीका अधिकांश सडक समयमा बन्दैनन्, बजेट छुट्याएर सडकको स्तरोन्नति पनि गरिँदैन । जबसम्म सडक राम्रो हुँदैन, तबसम्म यात्रुहरूको यात्रा जहिले पनि कष्टकर नै हुन्छ,’ सापकोटाले भने । राज्यले विशेष गरी चाडपर्वका समयमा यातायात व्यवसायीलाई सहज र सुरक्षित यातायात सञ्चालनमा रचनात्मक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार प्रदेश राजधानी सुर्खेत भित्रिने र बाहिरिने जिल्लाहरूमा सवारीसाधन थपेर सेवा सुरु गरिएको छ । चाडपर्वको समयमा प्रशासनबाट सवारीचालक र कर्मचारीलाई विभिन्न खाले हैरानी दिने गरिएको उल्लेख गर्दै यस्ता हैरानी बन्द हुनुपर्ने सापकोटाले बताए । रासस
क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो
तस्बिर : रोयटर्सबाट एजेन्सी । क्यानाडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गरेकी छन् । ‘अहिलेसम्म भारतले भोलि अक्टोबर २० (शुक्रबार) सम्ममा नयाँदिल्लीमा रहेका २१ क्यानाडाली कूटनीतिज्ञ र आश्रितबाहेक सबैलाई अनैतिकरूपमा कूटनीतिक उन्मुक्ति हटाउने उसको योजनाबारे औपचारिकरूपमा बताएको म पुष्टि गर्न सक्दछु, यसको अर्थ ४१ क्यानाडाली कूटनीतिज्ञ र तिनीहरूका ४२ आश्रितमाथि कुनै मनमानी मितिमा उन्मुक्ति हटाउने खतरा थियो र यसले उनीहरूको व्यक्तिगत सुरक्षा जोखिममा पर्नेछ’, क्यानाडाली कूटनीतिज्ञहरूको प्रस्थानको पुष्टि गर्दै मन्त्री जोलीले भनिन् । दुई मुलुकबीच जारी कूटनीतिक विवादका कारण ‘समानता’ को माग गर्दै भारतले क्यानाडाको भिसा सञ्चालन निलम्बनसँगै भारतमा क्यानाडाली कूटनीतिज्ञहरू कटौती गर्न आह्वान गरेपछि क्यानाडाली कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो । ‘भारतबाट उनीहरूको सुरक्षित फिर्तीका लागि हामीले सहज बनाएका छौँ, यसको अर्थ अब हाम्रा कूटनीतिज्ञ र उनीहरूका परिवारले कूटनीतिक छुटलाई परित्याग गरेका छन्, उनीहरू जहाँबाट आएका भए पनि र जहाँ पठाइए पनि कूटनीतिज्ञहरूलाई सुरक्षित राखौँ, प्रतिरक्षाले कूटनीतिज्ञहरूलाई उनीहरूको देशबाट प्रतिशोध वा गिरफ्तारीको भयबिना आफ्नो काम गर्न अनुमति दिन्छ’, मन्त्री जोलीले भनिन् । ‘तिनीहरू कूटनीतिको मूलभूत सिद्धान्त हुन् र यो दुईतर्फी बाटो हो, प्रत्येक देशले नियमको पालना गर्दा मात्र काम गर्छ, कूटनीतिक विशेषाधिकार र उन्मुक्तिको एकतर्फी खारेज अन्तर्राष्ट्रिय कानूनविपरीत हो, यो कूटनीतिक सम्बन्धमा भियना महासन्धिको स्पष्ट उल्लङ्घन हो र यस्तो गरेर धम्की दिन अव्यावहारिक र तनावपूर्ण हो’, उनले भनिन्, ‘यदि हामीले कूटनीतिक प्रतिरक्षाका मानकलाई उल्लङ्घन गर्न दियौँ भने पृथ्वीमा कुनै पनि कूटनीतिज्ञ सुरक्षित हुने छैन’, उनले यसबारे क्यानाडाले ‘त्यस्तै व्यवहार’ नगर्ने बताइन् । आप्रवासन, शरणार्थी र नागरिकमन्त्री मार्क मिलरसँगै मन्त्री जोलीले ‘भारतसँगको स्थिति’ माथि विकसित घटनाक्रमबारे घोषणा गर्दै कूटनीतिज्ञहरूको फिर्तीपछि क्यानाडाले दिने सेवा वितरणमा यसको कस्तो प्रभाव पर्नेछ भन्ने बारे जानकारी गराइन् । ‘भारतको यो निर्णयले दुवै मुलुकका नागरिकलाई सेवाको स्तरमा कुनै असर पर्नेछैन, दुर्भाग्यवश हामीले चन्डीगढ, मुम्बई र बेङ्गलोरमा हाम्रा वाणिज्य दूतावासका सबै व्यक्तिगत सेवा रोक्नुपर्यो’, उनले भनिन्,‘कन्सुलर सहयोग आवश्यक पर्ने क्यानाडालीहरूले अझै पनि दिल्लीस्थित हाम्रो उच्चायोगमा जान सक्नुहुन्छ, तपाईँले अझै पनि फोन र इमेलमार्फत व्यक्तिगत सेवा लिन सक्नुहुन्छ ।’