
काठमाडौं । विगत केही वर्षदेखि सुस्ताउँदै आएको रुद्राक्षको व्यापार यस वर्ष भने उत्साहजनक भएको छ । रुद्राक्षको, खरिदबिक्री बढेसँगै व्यापार पनि उत्साहजनक भएको हो ।
रुद्राक्षले यस वर्ष आकर्षक मूल्य पाएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले बताए । लामो समयदेखि रुद्राक्षले उचित मूल्यन पाउँदा किसान र व्यवसायीहरू समस्यामा परेका थिए । चापागाईंकाअनुसार यस वर्ष रुद्राक्षको मूल्य दोब्बर हुँदा किसानले पनि राम्रो आम्दानी लिन सफल भएका छन् । ‘रुद्राक्षबाट किसानहरूले राम्रो आम्दानी लिनु भएको छ, रुद्राक्षको आकार, बनावट तथा त्यसको प्रकृति हेरेर किन बेच हुने भएकाले मूल्य यति नै पर्छ भन्न सकिँदैन, तर रुद्राक्षले यस पटक मूल्य पाएको छ,’ उनले भने ।
बजारमा अहिले २१ मुखे रुद्राक्ष करिब २२/२३ वटा किनबेच भएको चापागाईंले बताए । उनकाअनुसार सबैभन्दा बढी १६/१७/१८/१९ मुखे रुद्राक्ष उत्पादन भएको छ । रुद्राक्ष व्यापारी प्रयाग गौतमले २१ मुखे रुद्राक्षको कारोबार प्रतिगोटा २० लाखदेखि ५३ लाख रुपैयाँसम्म भएको बताए । उनकाअनुसार पहिलाको तुलनामा सानो रुद्राक्ष (७ देखि १४ मुखे) २० प्रतिशत मात्र उत्पादन भएको छ ।

‘गतवर्ष भन्दा यस वर्ष रुद्राक्षको व्यापार राम्रो छ, रुद्राक्षको मूल्य पनि दोब्बर छ, १५ मुखे रुद्राक्ष न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख रुपैयाँसम्म कारोबार हुँदै छ,’ उनले भने । १६ मुखे रुद्राक्ष ४० हजारदेखि ३ लाख रुपैयाँसम्म किनबेच भएको गौतमले बताए । उनकाअनुसार १७ मुखे रुद्राक्षको खरिदबिक्री एक लाख ६० हजारदेखि ६ लाख रुपैयाँसम्म र १८ मुखेको २ लाख ३० हजारदेखि ९ लाख रुपैयाँसम्म बिक्री भएको छ ।
यसैगरी १९ मुखे रुद्राक्षको चार लाखदेखि लिएर ११ लाख रुपैयाँसम्म र २० मुखेको ५ लाखदेखि लिएर १३ लाख रुपैयाँसम्म बिक्री भएको गौतमले बताए । संखुवासभा, भोजपुर लगायतका जिल्लालाई रुद्राक्षको हब मानिन्छ । सो जिल्लाका किसानहरूको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो । षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानीलगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ ।

रुद्राक्षको हेरचाह, गोडमेल तथा यसलाई प्रशोधन गर्नुपर्दछ । यसको खेती गर्दा अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नुनपर्ने तथा राम्रो आम्दानी हुने भएकाले धेरै कृषकको रोजाइमा पर्दै आएको छ । रुद्राक्षको दानाचोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानलाई यसको सुरक्षामा समेत समस्या छ । संघका अध्यक्ष चापागाईंले केही हप्ता अघि पाँचखपनमा ४५ लाख रुपैयाँ बराबरको रुद्राक्ष बोटै काटेर चोरी भएको बताए । यसको सुरक्षाको निमित्त सम्बन्धित निकायले पनि चासो देखाउनु पर्ने बताए ।
रुद्राक्ष वर्षेनी उत्पादन हुन्छ भने यसको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ । चीन र भारत मात्र निर्यात हुँदै आएको रुद्राक्ष हाल अमेरिका, क्यानडा, सिंगापुर लगायका देशमा पुग्नथालेको व्यवसायीहरु बताएका छन् ।