विकासन्युज

१४०% सम्म प्रतिफल दिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश ४ वर्ष यताकै उच्च, यस्तो छ २४ वर्षको इतिहास

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले पाँच वर्षयताकै उच्च लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जुन पछिल्लो चार आर्थिक वर्ष यताकै बढी लाभांश दर हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने त्यसअघि १३.०६ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ११.८४ र आव २०७५/७६ मा २२.५ र आव २०७४/७६५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपालको बैंकिङ्ग क्षेत्रमा स्टाण्डर्ड चार्टर्ड बैंकले ३६ वर्ष योगदान गरेको छ । वि.स. २०५३ सालामा स्थापना भएको स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २०६४ साल साउन ९ गते मात्रै सूचीकृत भएको थियो । संस्थापक समूहको ७५ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको यस बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । नेपालमा कर्पोरेट बैंकिङ अग्रणी बैंकमा रहेको यो बैंकले विगत २४ वर्षदेखि लाभांश वितरण गर्दै आएको छ । यस बैंकले हालसम्म्म न्यूनतम ११.८४ प्रतिशतदेखि अधिकतम् १४० प्रतिशतसम्म लाभांश वितरण गरेको छ । यस्तो छ बैंकको लाभांश इतिहास बैंकले आर्थिक वर्ष २०६५/६६ मा सेयरधनीहरूलाई ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरि कूल १०० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६६/६७ मा सेयरधनीहरूलाई ५५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/६८ मा बैंकलेसेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ४५ प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६९/७० मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ४० प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ४१.५ प्रतिशत नगद गरि कूल ५१.५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १९.२१ प्रतिशत नगद गरि कूल ४४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७२/७३ मा बैंकलेसेयरधनीहरूलाई ३३(३३ प्रतिशत बोनस र १.७५ प्रतिशत नगद गरि कूल ३५.०८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७३/७४ मा सेयरधनीहरूलाई १०० प्रतिशत बोनस र ५.२६ प्रतिशत नगद गरि कूल १०५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरूलाई १७.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरूलाई २२.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद गरि कूल ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि कूल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७८/७९ मा १६.५१ प्रतिशत लाभांश वितरण गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा हाल अध्यक्षको रुपमा जरुन दारुवालाले नेतृत्व गरिरहेकी छन् भने प्रमुख कार्यकारी अधिकृतका रुपमा अनिर्वाण घोष दास्तिदारले काम गरिरहेका छन् । यस बैंकको व्यवस्थापिक अभ्यास सिको गर्ने बैंक नेपालमा धेरै छन् ।

नविल बैंकले दियो इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा

काठमााडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको छ । नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा दिने भएको छ । बैंकले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत कर्जा सुविधा सुनिश्चित गरेको हो । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र नबिल बैंक बिच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा पाउनेछन् । जस अन्तर्गत कुनै पनी ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्ने कम्पनीले जनाएको छ । एफडी मोटर्सले हाल दुईवटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ । ग्रन्थ ईभीले चाँडै एफ फाइब प्रो र एफ फाइब ए प्रो पनि बजारमा ल्याउन लागेको जनाएको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १९ प्रतिशत लाभांश, बोनस नदिने

काठमाडाैं । स्टयान्डर्ड चार्टर्ड बैंकले सेयरधनीले लाभांश प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आवको नाफाबाट कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले तिलगंगा अस्पताललाई दियो दुई लाख रूपैयाँँ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वर्षमा प्रवेश सांग्रिला गरेको छ । डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सोमबार बैंकले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो । बैंकले बिहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम रु २,००,०००।– (अक्षरुपी दुई लाख मात्र) को आर्थिक सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ । यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्दि्य कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गरेका थिए ।

डब्लूएचओको क्षेत्रीय निर्देशक बन्ने दौडमा आचार्य, ५०० मिलियन डलरको बजेट चलाउने अवसर

काठमाडौं । विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एशिया क्षेत्रीय निर्देशकमा नेपालले लामो समयदेखि विश्व स्वास्थ्य संगठनमा काम गर्दै आएका डा. सम्भु आचार्यलाई प्रस्ताव गरेको छ । सोही पदका लागि बंगालादेशकी डा. साइमा बाजेदले उम्मेदवारी दिएकी छन् । आचार्य नेपालको तर्फबाट डब्लुएचओमा काम गरेर माथिल्लो ओहदामा पुगेका पहिलो नेपाली हुन् । उनी डब्लुएचओको मुख्यालय जेनेभामा कार्यरत रहँदै आएका छन् । त्यस्तै बंगालादेशकी साइमा जाबेद पेसाले क्लिनिकल साइकोलोजिस्ट र बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । विश्व स्वास्थ्य संगठनको दक्षिण पूवी एशिया क्षेत्रमा नेपालसहित बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र पूर्वी टिमोर गरी ११ देश रहेका छन् । सो क्षेत्रको निर्देशक बन्नको लागि बहुमत देशका स्वास्थ्य मन्त्रीहरुले मत दिनुपर्ने हुन्छ । त्यसैले विश्व स्वास्थ्य संगठनको सो महत्वपूर्ण पदमा आचार्यलाई नियुक्त गर्नका लागि नेपालको तर्फबाट कुटनीतिक भूमिका महत्वपूर्ण देखिन्छ । सोमबारदेखि डब्लुएचओको दक्षिण पूर्वी एशियाको ७६ औं बैठक शुरु भएको छ, जुन नोभेम्बर ३ सम्म चल्नेछ । सो बैठकमा ११ वटै देशका स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशक सहित उच्च अधिकारीहरु सहभागी हुनेछन् । सो बैठकमा नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी भएका छन् । अहिलेसम्मको अवस्थामा क्षेत्रीय निर्देशकको लागि नेपाल र बंगालादेश दुवैले अगाडि सारेको उम्मेदवारको पक्ष वा विपक्षमा कसैले पनि आफ्नो औपचारिक धारणा अगाडि सारेका छैनन् । नेपालले निर्देशक पदको लागि अगाडि सारेका उम्मेदवार आचार्यले तीन दशक बढी समय डब्लुएचओमा काम गरेका क्षमतावान र अनुभवी व्यक्ति हुन् तर, उनले बंगालादेशकी प्रधानमन्त्रीकी छोरीसँगको प्रतिस्पर्धालाई सामना गर्ने विषयलाई महत्वपूर्ण ढंगले हेरिएको छ । निर्देशक पदमा नियुक्ति हुने व्यक्तिले झण्डै २ अर्ब मानिसमा पाँच सय मिलियन डलर बराबरको बजेट रहने कार्यक्रम सञ्चालन गर्ने अधिकार राख्छ । नेपालले आफ्नो उम्मेदवारलाई सो पदमा नियुक्तिको लागि आवश्यक कुटनीतिक मत सिर्जना गर्न सकेमा दक्षिण एशियाली कुटनीतिक सम्बन्ध विस्तार र नेपालको स्वास्थ्य क्षेत्रमा थप लाभ प्राप्त गर्न सक्छ । नेपालले यस अगाडि क्षेत्रीय निर्देशक पदमा नियुक्ति गर्दा भारतलाई समर्थन गर्दै आएको थियो । डब्लुएचओको दक्षिण पूर्वी एशियाली क्षेत्रीय संगठनमा रहेका अन्य देशहरुसँग पनि नेपालको राम्रो सम्बन्ध रहँदै आएको छ । तर, नेपालले कुटनीतिक रुपमा अन्य सदस्य राष्ट्रहरुलाई कति विस्वास दिलाउन सक्छ भन्नेमा आचार्यको नियुक्तिको सम्भावना रहेको देखिन्छ । आजदेखि बिहीबारसम्म सञ्चालन हुने क्षेत्रीय सत्रमा गोप्य मतद्वारा निर्देशक पद चयन हुन्छ । त्यसपछि जनवरीमा हुने डब्लुएचओको कार्यकारी बोर्डको बैठकले जिम्मेवारी प्रदान गर्नेछ ।

गुटेरेस माला र टोपीमा सजिँदा…

  गण्डकी । पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो । मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए ।  उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए । तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैँ भान मिल्थ्यो । आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो । महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरेका थिए । चारदिने औपचारिक भ्रमणमा क्रममा आइतबार नेपाल आएका उनी आज पोखरा भ्रमणमा आएका हुन् । उनी सोमबार फेवा किनारस्थित होटल फिस्टेलमा बस्ने छन् । महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। अन्नपूर्ण आधार शिविरबाट फर्केपछि पोखरा विमास्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महासचिव गुटेरेसको भ्रमणलाई लक्ष्य गरी पोखराको सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । उनी लुम्बिनी भ्रमणका लागि मङ्गलबार बिहान पोखराबाट भैरहवा प्रस्थान गर्ने जनाइएको छ । महाचिव गुटेरेसको भ्रमणसँगै पछिल्लो समय पोखरा अतिविशिष्ट विदेशी पाहुनाको भ्रमणस्थलका रूपमा स्थापित हुँदै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यहरूले पर्यटकीय महत्त्व पाएका हुन् । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रा पछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका पेरिफेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो । सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो । इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए । त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको महत्वलाई अझै बढाएको थियो । पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बनेका थिए ।  पोखरा आएका अतिविशिष्ट व्यक्तिले यस स्थललाई प्रकृतिको वरदान आदि उपमा दिनुले पनि यहाँको विश्वव्यापी प्रवद्र्धन भइरहेको छ । महासचिव गुटेरेसको भ्रमणलाई पोखरेलीले यहाँको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण अवसरका रुपमा लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । रासस

नेपालका ६ लाख घर रित्तै, एक तले घरमा बस्छन् अधिकांश परिवार

काठमाडौं । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो । त्यस्तै, दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको देखिएको छ । तथ्यांक अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ । तथ्यांक अनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको छ भने सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरु ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए । त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ । त्यसैगरी, देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ । यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तिय संस्थामा एउटा खाता रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ । त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ । राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले सार्वजनिक गरिएको तथ्यांकले हाम्रो वित्तिय पहुँच कति छ, सीपयुक्त जनशक्तिको अवस्था, घरको अवस्था कस्तो छ ? लगायतका विषय समेटिएको बताए । उनले यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने पनि जानकारी दिए । उनले योजना तर्जुमा गर्नका लागि पनि यसको भुमिका हुने उल्लेख गरे । उप–प्रमुख तथ्यांक अधिकारी रेग्मीले करिब ६ लाख भन्दा बढी घरहरु रित्तो अवस्थामा रहेको पनि बताए ।

‘मसँग दुई/अढाई करोडको पोर्टफोलियो छ, ऋणले सेयर बजारलाई प्रभाव पार्दैन’

पछिल्लो समय केन्द्रिय बैंकसँग धेरैको ठूलो अपेक्षा छ । कोरोनाकालमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् केही रिल्याक्सेसन दिएपछि मानिसहरुको राष्ट्र बैंकप्रति बढी अपेक्षित बने । तर, त्यस्तो होइन । राष्ट्र बैंकको पनि आफ्नै दायरा छन् । केन्द्रिय बैंक के हो ? यसको मेन्डेट के हो ? यसका सीमाहरु के–के हुन् ? यस विषयमा सबैले स्पष्ट हुन जरुरी छ । आर्थिक स्थायित्व कायम गर्ने, मूल्य स्थीरता कायम गर्ने, वित्तीय क्षेत्रको स्थायित्व र सरकारले लिएका आर्थिक एजेण्डाहरु कार्यान्वयन गर्ने काम केन्द्रिय बैंकको हो । यो काम राष्ट्र बैंकले गरिरहेको छ । अनावश्यक रुपमा मुद्रास्फिति बढ्न नदिनका लागि केन्द्रिय बैंकले नीति लिन्छ । सरकारले रोजगारी बढाउने, अर्थतन्त्रको विकार विस्तार गर्ने, बजार चलायमान गराउने र निजी क्षेत्रसँग समन्वय गराउन वित्तीय नीतिमार्फत् काम गर्छ । तर, त्यो काम केन्द्रिय बैंकको होइन । केन्द्रिक बैंकले वित्तीय प्रणालीमा प्रयाप्त रुपमा तरलता उपलब्ध गराउने हो । मार्केटलाई लिक्विड गराउने हो । आर्थिक वृद्धि र रोजगारी सिर्जना वित्त नीतिले नै गर्ने हो । तर, राष्ट्र बैंक समक्ष मान्छेहरुका अपेक्षा बढे । पछिल्लो समय अधिकांशले सेयर बजारको घटबढको कारक राष्ट्र बैंकको नीतिलाई लिए । मेरो अनुरोध छ, राष्ट्र बैंकलाई सेयर बजारसँग नजोडिदनुस् । १८ सय, २ हजार, ३२ सयको इन्डेक्सलाई राष्ट्र बैंकको नीतिसँग जोड्नु हुँदैन । जोड्नु छ भने नेपाल धितोपत्र बोर्ड, नेप्सेसँग जोड्नुस् । राष्ट्र बैंकले लिएका नीतिहरु उत्पादनशील क्षेत्रमा कसरी ऋण परिचालन गर्न सकिन्छ भन्ने नै हो । त्यसमा पनि हामीले सेयर बजारमा ऋण प्रवाह बन्द गरेका छैनौं । एउटा व्यक्तिले १२/१५ करोडको ऋण लिनु भनेको धेरै हो । यो रकम भनेको सानो होइन । ऋणले सेयर बजार बढाउने होइन । सेयरका लागि फण्डामेन्टल एनालायसिस आवश्यक हुन्छ । अर्थतन्त्र सबल हुँदा माथि जान्छ । कमजोर भएको बेला घट्छ । यसलाई अन्यथा लिनु हुँदैन । सेयर लगानीकर्ताले बैंकको भर पर्नु हुँदैन । हामीले धेरै क्षेत्रहरुलाई प्राथमिकतामा राख्नु पर्नेछ । बैंकले जलविद्युत, पर्यटन तथा पूर्वाधार लगायत क्षेत्रहरुमा लगानी बढाउनु पर्नेछ । त्यसैले बैंकको ऋणमा लगानीकर्ताले भर पर्नु हुँदैन । ऋणको भर पर्नु भयो भने यस्तै उतारचढाव भइरहन्छ । ऋण नपाइँदा सेयर बजार घट्नु भएन । राष्ट्र बैंकलाई यसमा दोष दिनु हुँदैन, लिंक गर्नु हुँदैन । यहाँ कतिपय मान्छेले धेरैलाई फसाएका छन् । आफु जोगिनका लागि एर्कालाई आरोप लगाइरहेका छन् । कति मान्छेहरुले बाठा कुरा गरेर बिकिरहेका छन् । उनीरुले राष्ट्र बैंकलाई दोष लगाएर आफु उम्किन खोजिरहेका छन् । १५ करोडको सीमा सानो फिगर हो ? भारतीय केन्द्रिय बैंकले १० लाख रुपियाँको मात्रै सिलिङ तोकेको छ । राष्ट्र बैंकको नीतिलाई दोष दिएर गाली गर्नु भनेको आत्मसन्तुष्टि लिनु मात्रै हो । यहाँ आफु डुबेपछि अर्कालाई दोष लगाउने परिपाटी छ । अर्थतन्त्र राम्रो चल्यो भने यो इन्डेक्स के हो र ? आफै माथि जान्छ । धेरै देशको सेयर बजारको इन्डेक्स कति माथि पुगेको हुन्छ । कम्पनीहरुले राम्रो लाभांश दिने वित्तिकै सेयर बजार आफै बढ्छ । नेपालमा पनि १५ सय प्रतिशत लाभांश दिने कम्पनीहरु छन् । ती कम्पनीहरुको सेयरमूल्य पनि उच्च छ । भोलि सबै कम्पनीहरुले त्यस्तै लाभांश दियो भने इन्डेक्स अवश्य नै बढ्छ । त्यसमा बैंकले दिने ऋणले कुनै प्रभाव पर्दैन । कम्पनी राम्रो हुने वित्तिकै सेयर बजार बढ्छ । कहिले काहिँ राजनीतिक नेतृत्वले पनि मलाई फोन गर्नु हुन्छ । उहाँहरुले फोन गर्नु पनि स्वभाविक हो । राजनीतिक नेतृत्वले कार्यकर्ताको कुरा सुन्नु पर्छ । उहाँहरुले भन्नु पनि पर्छ । तर, हामीले सही वा कस्तो सल्लाह भनेर बुझेर निर्णय लिने हो । यहाँ मासले भनेको आधारमा कतिपय नीति बन्छन् । त्यो गलत हो । माइतीघरमा भएको धर्नाको भरमा नीति परिवर्तन गरेकोले पछि त्यसको ठूलो प्रभाव पर्छ । यो विषयलाई पनि मनन् गर्नु पर्छ । आफुले सही गरेको छ कि छैन भनेर आत्मसमीक्षा गर्नु पर्छ । मासले भन्यो भन्दैमा निर्णय लिनु हुँदैन । मासले धेरै कुरा गाइड गर्छ । तर, म आफु सही ठाउँमा छु । मेरो ड्युटी सही रुपले गरिरहेको छु । मलाई कसैले गाली गर्यो, आलोचना गर्यो भनेर म काउन्टर गर्दिनँ । संस्थाले गरेको काम पुनर्विचार भने गर्नु पर्छ । गरेको काम रिभिजिट गर्नु पर्ने हुन्छ । तर, मासले जे भन्यो त्यही गर्यो भने पछि ठूलो असर पर्न सक्छ । अहिले राष्ट्र बैंकसँग धेरैको आक्षेप र अपेक्षा धेरै छन् । आक्षेप पोजिसनमा भएकोलाई आउँछ । हामी अधिकांश निर्णय सामुहिक रुपमा गर्छौं । राष्ट्र बैंकले समग्रतामा हेर्नु पर्छ । सबै क्षेत्रको विकास र विस्तार हुनु पर्छ भन्ने कोणबाट राष्ट्र बैंकले काम गर्छ । तर, केही क्षेत्रका मान्छेहरुले यो काम भएन, त्यो काम भएन, यस्तो हुनु पथ्र्यो, यस्तो भयो भन्ने खालका टीप्पणी गर्नु हुन्छ । तर, हामीले सबै क्षेत्रलाई सन्तुलित रुपमा अगाडि बढाउने हो । केहीले हामीलाई गाली पनि गर्छन् । हामीले त्यसलाई स्वभाविक रुपमा लिन्छौं । हुन त म सेयर बजारको विषयमा विज्ञ होइन । मैले आफै पनि फोर्स सेभिङ गरेको छु । सिए पढेर आउँदा मैले पनि केही लगानी गरेको थिएँ । राष्ट्र बैंकमा आएपछि स्वार्थ बाझिने बाहेक क्षेत्रमा लगानी पनि गरेको छु । मसँग दुई/अढाई करोडको पोर्टफोलियो होला । तर, अहिले कामको व्यवस्तताले नियमित पोर्टफोलियो हेर्ने समय हुँदैन । गभर्नरका रुपमा रिटायर्ड भएपछि हेर्नु पर्ला । (गभर्नर अधिकारीले ‘बिएन पोडकाष्ट’ मा राखेकाे धारणाको सम्पादित अंश)