विकासन्युज

सरकारले मुस्ताङमा जलवायु परिवर्तनको असर कम गर्न ५० करोड खर्चने

म्याग्दी ।  तीन दिनको लगातार वर्षपछि गत साउन २८ मा कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । २०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा हुदहुद आँधीमा परेर पदयात्रामा गएका ४३ जनाले ज्यान गुमाए । २०७८ साल कात्तिक २८ र फागुन २१ गते मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरे । उल्लिखित विवरण मुस्ताङमा पछिल्लो समय विपद्का कारण भएको क्षतिको केही उदाहरण हुन् । विश्वव्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण मुस्ताङको जनजीवन प्रभावित हुनाका साथै विपद्को जोखिम बढेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । ‘विशिष्ट भूगोल भएको मुस्ताङको मौसममा भएको परिवर्तनले विपद्को चुनौती थपेको छ,’ उनले भने, ‘पानी बढी पर्न र तापक्रम बढेपछि समग्र जनजिवनमा असर परेको छ ।’ पानी धेरै पर्न थालेपछि माटोले छाएका घर, गुम्बाहरू चुहिने, भत्किने, खोलामा बाढी आएर कटान गर्ने, नदीमा गेग्रान थुप्रिएर बगर बस्तीभन्दा अग्लो हुने, बस्तीमा कटान हुने, खोलाले धार परिवर्तन गर्ने समस्या बढेको छ । यसैगरी, तल्लो भेगमा स्याउ उत्पादन नहुने, माथिल्लो भेगमा स्याउ फल्ने, स्याउ र आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने, पानीका मुहान सुक्ने, चरन क्षेत्रमा घाँस कम उम्रिँदा चौँरी, भेडा र च्याङ्ग्रालाई आहारा अभाव हुने, लामखुट्टेको टोकाइबाट हुने रोगका बिरामी भेटिन थालेका जोमसोमका चन्द्रबहादुर थकालीले बताए । पानी कम पर्दा मुस्ताङका अधिकांश घर, भवनहरू माटोले छाउने चलन थियो । पछिल्लो समय माटोले छाएका घर चुहिने थालेपछि जस्तापाताले छाउने र ढलान गर्ने क्रम बढेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीका ७२ वर्षीय बलबहादुर थकालीले पछिल्लो समय धेरै वर्षात हुने र बेसिजनमा हिमपात हुँदा खेतीबाली लगाउने समय तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए । ‘पुस–माघको हिउँदयाममा हिउँ पर्दैन, असोज कात्तिक र चैत वैशाखमा धेरै हिउँ पर्न थालेको छ,’ उनले भने, ‘गत वैशाख जेठको झरीले फुलेको स्याउ परागशेचन हुन नपाएर यसपालि उत्पादन आधाभन्दा बढीले घटेको छ ।’ स्याउ उत्पादन राम्रो हुन पुस–माघमा हिउँ पर्नुपर्छ । आजकाल मुस्ताङमा फागुन–चैतमा हिउँ पर्छ । स्याउको फुल्ने बेला यस वर्ष वैशाख–जेठमा हिउँ सहितको पानी परेको थियो । २३ वर्षको तथ्याङ्कलाई आधार मानेर डा महेन्द्र बानिया, डा ताल्चा भडेल, डा अर्जुन बानियाँ, इञ्जिनियर लक्ष्मीप्रसाद भण्डारी र इञ्जिनियर नवराज शर्माले गरेको अध्ययन प्रतिवेदनका अनुसार मुस्ताङको पछिल्लो २३ वर्षको वार्षिक तापक्रम ०.१३ प्रतिशतका दरले वृद्धि भएको देखाएको छ । यही अनुपातमा बढ्दा आगामी एक सय वर्षमा सो क्षेत्रको तापक्रम दोब्बर हुने अनुमान गरिएको छ । जोमसोम केन्द्रमा वार्षिक औसत २९२.७ मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जोमसोमदेखि माथिल्लो क्षेत्रमा पछिल्ला वर्षमा पानी बढी पर्न थालेको विभागको तथ्याङ्क छ । जोमसोम केन्द्रमा जुलाई महिनाभरि औसत ४६.८ मिलिमिटर र अगस्तमा ४३.९ मिलिमिटर वर्षा मापन भएको थियो । कागबेनीमा बाढी आउँदाको दिन जोमसोममा २५.२ मिलिमिटर वर्षा मापन भएको थियो । यो औसतभन्दा बढी हो । सोही दिन जोमसोममा कालीगण्डकी नदीको बाढीको सतह २.७७ मिटर उचाइमा पुगेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी भण्डारीका अनुसार कमजोर र भिरालो भूगोल भएको मुस्ताङमा वर्षा धेरै हुँदा माटो बगेर खोलामा मिसिँदा बाढी आउँछ । ‘खोला किनारमा बस्ती बसाउन उपयुक्त र सुरक्षित हुँदैन । भौतिक संरचना बनाउँदा पनि धेरै अध्ययन आवश्यक छ,’ उनले भने, ‘सडक, पुल र भवन जस्ता सार्वजनिक भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढी, पहिरोको इतिहासलाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।’ कालीगण्डकी र सहायक नदीहरूबाट आउने बाढीको कटानका कारण मुस्ताङको छुसाङ, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, छैरो, टुकुचे, खन्ती, कोवाङ, लार्जुङको बस्ती जोखिममा परेका छन् । सर्वोच्च अदालतको आदेशका कारण पछिल्लो तीन वर्षयता कालीगण्डकी नदीको बगर उत्खनन र निकासी रोकिएको छ । खोलामा गेग्रान थुप्रिँदै थाने र व्यवस्थापन नगर्दा बस्तीभन्दा माथि बगर हुन थालेको घरपझोङ गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर थकालीले बताए । सर्वोच्चको आदेशले कालीगण्डकीबाट नदीजन्य बस्तुको उत्खनन र निकासी रोकिँदा स्थानीय तहले राजस्व गुमाउने तथा गेगर थुप्रिएर बाढी तथा कटानको जोखिम बढाएको थकालीको भनाइ छ । चार हजार एक सय मिटर उचाइमा रहेको मुस्ताङको समजोङ गाउँका १८ घरपरिवार पानीको खोजीमा नामसुङमा बसाइँ सरेका छन् । खानेपानी र सिँचाइका लागि पानीको अभाव भएपछि २००९ मा धे गाउँका २३ घरपरिवारलाई थाङचुङ सारिएको थियो । २०४२ र २०४४ सालमा मुस्ताङ हिमताल विस्फोट हुँदा दुई जनाको ज्यान भएको थियो । हिमताल फुटेर विस्थापित भएका ३२ परिवारलाई तनहुँको ढोरफिर्दीमा राखिएको छ । जलवायु परिवर्तनको नियन्त्रण गर्न नसकिने असर देखिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)का प्रमुख रविन कडरियाले बताए । ‘तापक्रम वृद्धिले हिमाली क्षेत्रको वन र जीविकोपार्जनमा प्रत्यक्ष असर देखिएको छ,’ उनले भने, ‘पहिला मुस्ताङको घरमा माटाको छानो हुन्थ्यो । अहिले पानी धेरै पार्न थालेपछि घरहरू जस्तापाटाले छाउने र ढलान  गर्न थालेका छन् ।’ दुई दशकअघिसम्म स्याउ फल्ने कोवाङमा अहिले स्याउ उत्पादन राम्रो हुँदैन । स्याउको विकास, अनुसन्धान हुने मार्फाको शीतोष्ण वागबानी विकास केन्द्रलाई माथिल्लो क्षेत्रमा सार्नुपर्ने आवाज उठेको छ । ताङ्वे, छुसाङ, फलेक, झोङलगायत माथिल्लो भेगमा स्याउ खेती हुन थालेको छ । स्याउ मुुस्ताङबाट निकासी हुुने प्रमुख फलफूल हो । स्याउ, आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने र गुणस्तरमा पनि असर पर्न थालेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । यसपालि स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुुमान गरिएको छ । ‘फूल खेलेर परागशेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको छ,’ उनले भने, ‘यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागशेचन (पोलिनसन) हुन पाएन ।’ मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । गत वर्ष मुस्ताङमा छ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । रु ५० करोड मूल्य बराबरको चार हजार ६ सय २० मेट्रिक टन स्याउ म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत सहरमा निकासी भएको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङ वेमौसमी र अत्याधिक वर्षातका कारण माटोले बनेका घर भत्किन थालेको बताउँछन् । ‘गत साउनमा तीन दिनको वर्षातपछि कागखोलाको बाढीले कागबेनीलाई तहसनहस बनायो,’ उनले भने, ‘२०७९ असोजको एक हप्ताको झरीले यहाँका धेरै माटोले बनेका घरहरू चुहिने र भत्किन थालेपछि पलास्टिकको टनेल वितरण गरेका थियौँ ।’ मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भौतिक निर्माणलाई वातावरणमैत्री बनाउनुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधताको संरक्षण र विकसित देशले हरितगृह ग्यास उत्सर्जन गरेबापत दिने क्षतिपूर्ति रकमलाई अनुकूलनका कार्यक्रम बनाएर परिचालन गर्नुपर्ने बताए । सरकारले मुस्ताङमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ५० करोडको कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही कात्तिक १ गते राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जोमसोममा आयोजना गरेको ‘जलवायु संवाद’ मा भाग लिन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोले सो बजेट उपलब्ध गराउने घोषणा गरेका थिए । ‘जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने ५० करोड मुस्ताङमा खर्चने निर्णय गरेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘संयुक्त राष्ट्रसंघको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनले नेपालमा पुर्‍याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाएको छु ।’ वन तथा वातावरणमन्त्री महतोले जलवायु परिवर्तनको असर र क्षति न्यूनीकरण गर्न विकास योजनालाई वातावरणमैत्री बताउनुपर्ने बताए । ‘अवैज्ञानिक किसिमको निर्माणले प्रकृतिमा असर गरेको छ,’ उनले भने, ‘भविष्यमा हुने क्षति र असरको विश्लेषण नगरी विकासका काम गर्ने प्रवृत्ति रोक्न आवश्यक छ ।’ जलवायु परिवर्तनका कारण जनजीवनमा परेको असरका बारेमा स्थलगत निरीक्षण र नागरिकको गुनासो सुनेर अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा ती विषय उठानका लागि प्रधानमन्त्री र विभागीय मन्त्रीको उपस्थितिमा संवाद गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले बताए । रासस

प्रधानमन्त्री प्रचण्डले सडकमा शक्ति प्रदर्शन गर्ने, माओवादी केन्द्रको ६ बुँदे परिपत्र जारी

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्रले सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोध लगायत विषयमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । यसका लागि पार्टीले मातहतका कमिटीमा ६ बुँदे परिपत्र जारी गरेको छ । ‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ’, परिपत्रमा उल्लेख छ । गतवर्ष पुस १० गते तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्ड पछिल्लो सयम प्रतिगमनविरूद्ध सडकमा लाखौं जनता उतार्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । संघ, प्रदेश र स्थानीय तहसम्म माओवादी सरकारमा छ ।

आइआइएमएसका प्राध्यापकहरुलाई टेलर्स विश्वविद्यालयद्वारा प्रशिक्षण

काठमाडौं । आइआइएमएस कलेजका प्राध्यापकहरुलाई विश्वको प्रतिष्ठित टेलर्स विश्वविद्यालय, मलेसियाले प्रशिक्षण प्रदान गरेको छ । विश्वस्तरीय शैक्षिक ब्राण्ड स्थापित गरेको विश्वविद्यालयले सम्बन्धन लिएका कलेजहरुको शैक्षिक गुणस्तर र व्यवस्थापन उत्कृष्ट बनाउन प्रशिक्षण प्रदान गरेको हो । आइआइएमएस कलेका अनुसार मलेसिया स्थित विश्वविद्यालयमा अक्टोबर १८ देखि २३ सम्म भएको प्रशिक्षण कार्यक्रममा कलेजको तर्फबाट ७ जना सहभागी भएका थिए । जसमा ब्याचलर अफ कम्प्युटर साइन्स फ्याकेल्टीको तर्फबाट एकेडेमिक को-अर्डिनेटर सुजन अर्याल, प्रोग्राम को-अर्डिनेटर आहाना श्रेष्ठ, लेक्चर सुदिप तिमल्सिना र लेक्चर सचिन श्रेष्ठ सहभागी भएका थिए । त्यस्तै, प्रशिक्षण कार्यक्रममा ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट फ्याकेल्टीको तर्फबाट एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघु, प्रोग्राम को-अर्डिनेटर रिमा मानन्धर र टिम लिडर तथा लेक्चर सुमित रायमाझी सहभागी भएका थिए । कार्यक्रममा सहभागी ब्याचलर अफ इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका एसोसिएट डाइरेक्टर अस्वीनी कुमार लघुले विश्वविद्यालयमा आफूहरुले प्रशिक्षण र अध्ययन अवलोकन भ्रमण गरेको बताए । टेलर्स विश्वविद्यालयमा के कसरी अध्यापन गर्ने काम गरिन्छ, शैक्षिक प्रशासनको व्यवस्थापन कसरी हुन्छ, अध्ययन अध्यापनमा सूचना प्रविधिको प्रयोग कसरी गरिन्छ, परीक्षा कसरी लिने काम गरिन्छ लगायतका विषयहरुमा प्रशिक्षण र अवलोकनको माध्यमबाट अनुभव आदानप्रदान गर्ने काम गरिएको थियो । एसोसिएट डाइरेक्टर लघुका अनुसार विद्यार्थीलाई कसरी पढाउने, शिक्षण सामग्री कसरी बनाउने, संकायमा के–के विषयहरुको आवश्यक पर्छ, परीक्षा पत्र कसरी तयार गर्ने जस्ता महत्वपूर्ण विषयहरु टेलर्स विश्वविद्यालयले प्रशिक्षण तथा प्रत्यक्ष अवलोकनको माध्यमबाट अनुभव प्रदान गर्ने काम गरेको थियो । प्रशिक्षणको क्रममा विद्यालय तह अर्थात् कक्षा १२ उत्तिर्ण भएर विश्वविद्यालय तहको अध्ययन गर्न आउने विद्यार्थीहरुमा के कस्ता मनोवैज्ञानिक समस्या देखिन सक्छन र ती समस्याहरु समाधान गर्न के कसरी परामर्श गर्ने भन्ने विषयमा पनि अनुभव आदान प्रदान गरिएको थियो । विश्वस्तरीय शैक्षिक प्रतिष्ठा हासिल गरेको टेलर्स विश्वविद्यालयको कलेजमा कसरी गुणस्तर कायम गर्न नीतिगत र व्यवहारिक रुपमा के–के गर्न आवश्यक छ भन्ने विषयमा पनि धारणा साझा गर्ने काम भएको कार्यक्रममा सहभागी भएका एसोसियट डाइरेक्टर लघुले बताए । उनका अनुसार आधुनिक प्रविधिलाई अध्यापनमा कसरी जोड्ने, भौतिक पूर्वाधार कस्तो हुनुपर्ने विषयमा पनि प्रशिक्षण तथा अनुभव आदानप्रदान गरिएको थियो । टेलर्स विश्वविद्यालयमा सम्बन्धन लिएर सञ्चालन भएका कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक सेमेस्टर विश्वविद्यालयमा नै अध्ययन गर्ने सुविधा रहेको छ, सो विषय र विश्वमा जुनसुकै ठाउँमा कलेजका विद्यार्थीलाई कसरी इन्टर्नसिपमा पठाउन सकिन्छ भन्ने विषयमा पनि आवश्यक छलफल भएको उनले बताए । साथै, विद्यार्थीहरुको तथ्यांक फाइलिङ कसरी व्यवस्थापन गर्ने विषयमा पनि प्रशिक्षण तथा अवलोकनमार्फत् धारणा साझा गरिएको थियो । टेलर्स विश्वविद्यालयले सम्बन्धन आफूसँग सम्बन्धन लिएका कलेजहरुलाई नियमित नियमन गर्ने, आवश्यक प्रशिक्षण दिने, विश्वविद्यालयकै लेक्चरहरुमार्फत् प्रत्यक्ष अध्यापन गराउने काम गर्दै आएको छ । प्रशिक्षणको सन्दर्भमा अहिलेसम्म भर्चुअल हुने गरेकोमा पहिलोपटक कलेजका प्राध्यापकहरुलाई विश्वविद्यालयमा नै आमन्त्रण गरेर प्रत्यक्ष प्रशिक्षण तथा अवलोकनको अवसर प्रदान गरेको हो । विश्वविद्यालयले प्रदान गरेको सो अवसरले आइआइएमएस कलेजको आगामी शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर थप विकास योगदान पुर्याउने अपेक्षा गरिएको छ ।  

डा. सुवेदी र देउजालाईलाई सयपत्री राष्ट्रिय सम्मान

बनेपा । सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई प्रदान गरिने भएको छ । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजालाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको संयोजकत्वमा गठित श्रष्टा छनौट समितिले राष्ट्रिय स्तरबाट डा. सुवेदी र काभ्रेबाट देउजाको नाम सिफारिस गरेकोलाई प्रतिष्ठानको हिजो सोमबार बसेको बैठकले अनुमोदन गरेको थियो । सयपत्री प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा विगत २०५५ सालदेखि वर्षेनी जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडीलाई दम्पत्ति सहित सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ । यस वर्ष आगामी कार्तिक २५ गते शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तिको अवसरमा डा. सुवेदीलाई उनकी जीवनसंगिनी विन्दु सुवेदी र साहित्यकार देउजालाई उनकी जीवनसंगिनी सावित्री देउजाकासाथ सयपत्री राष्ट्रिय सम्मान २०८०द्वारा सम्मानित गरिनेछ । सयपत्री सम्मानमा सम्मानित जोडीलाई सम्मान पत्र, सयपत्रीको माला, दुवोको माला, दोसल्ला, र बाटो खर्च पाँच हजार एक नगद रहेकोछ । कार्यक्रममा देशका विभिन्न क्षेत्रका र जिल्लाका श्रष्टाहरुको कविता वाचन हुने समेत अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरन्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज शिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मन्जुल, डा. खगेन्द्र लुइटेल, मोदनाथ प्रश्रित, डा.रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, डा. सुरेजराज शर्मा, ज्ञानकाजी मानन्धरको दम्पत्ति सहित ६६ जनालाई सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गरिसकेको छ ।

चर्चामा आउन थाले ओझेलमा परेका पर्यटकीय गन्तव्य, चर्चित भएर पनि ओझेलमा

बागलुङ । पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् । नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् । यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले सम्भावना बोकेको छ, तर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन । तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ । ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिम, कालीगण्डकी करिडोरले चीन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन यामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए । पहिलेको तुलनामा पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँ चर्चामा आउन थालेको उनको भनाइ छ । केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उनको भनाइ छ । नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचार–प्रसार गरी पर्यटक भित्र्याउनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खड्का बताए । अध्यक्ष खड्काले भने, ‘सामाजिक सञ्जालले पनि धेरै ओझेलमा रहेका ठाउँलाई बाहिर ल्याउन मद्दत गर्नुका साथै धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको छ ।’ बजार नजिकै भए पनि भिरलाँकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उनले बताए । धेरैजसो पदयात्रामार्फत भिरलाँकुरी पुग्ने गरेको उनी बताए । आचार्यले भने, ‘यो ठाउँ पहिला सुनसान, स्थानीयले घाँस काट्ने ठाउँ थियो, तर अहिले हरेक दिन मान्छे आउन थालेपछि चहलपहल बढेको छ, यस्तो ठाउँ पर्यटकीय गन्तव्य होला भन्ने कसैले पनि सोचेका थिएनौँ, अहिले ‘ट्रेकिङ’ गर्नेहरूका लागि यो ठाउँ उपयुक्त बनेको छ, बिदाको दिन अझ बढी पर्यटक आउने गरेका छन् ।’ नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताए । पहिले–पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उनको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उहाँले बताए । खाने र बस्ने सुविधाका लागि होटल तथा रेष्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताए । ‘धेरै पर्यटक ढोरबराह मन्दिर र खापाथरसम्म आएरमात्रै फर्किन्थे, तर अहिले टाढा–टाढा पुग्ने गरेका छन्, पर्यटक आउन थालेसँगै होटल व्यवसाय पनि राम्रो हुँदै गएको छ, पहिले जनैपूर्णिमाका बेलामात्रै पर्यटक ढोरपाटन आउँथे, तर अहिले बाह्रै महिना आउने गरेका छन्’, उनले भने, ‘जलजला पुग्न समस्या छैन, सडक बनेको छ, ठाउँ-ठाउँमा गोठ छन्, वरपर जङ्गल र डाँडाकाँडाले पर्यटकलाई आकर्षित गरेको छ, बर्खामा यहाँ थुप्रै गोठ बस्ने गर्छन् ।’ चर्चित भएर पनि ओझेलमा बागलुङका धेरै चर्चित गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने गाजाको दह, सहस्रधारा झरना, अर्नाकोट, बराह ताल, बुद्ध हिललगायतका दर्जन बढी ठाउँमा निकै कम पर्यटक पुग्ने गरेका छन् । त्यहाँसम्म पुग्ने सडक तथा पैदलमार्ग सहज नहुँदा पर्यटक कम जाने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष खड्का बताए । मुख्य सडकमै पर्ने गाजाको दहसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण र अप्ठ्यारो हुँदा ओझेलमा परेको उनी बताए । स्थानीय तुलबहादुर थापाले बागलुङ बजारबाट करिब दुई घण्टा गाडीको यात्रामा पुग्न सकिने गाजाको दह निकै सुन्दर भए पनि पर्यटक कम आएको बताए । पर्यटकले सहजता बढी खोज्ने हुँदा गाजाको दह ओझेलमा परेको उनी बताए । पहिले कहिलेकाहीँ पैदलयात्रामार्फत विदेशी पर्यटक पुग्ने गरे पनि अहिले सुनसानजस्तै रहेको थापाको भनाइ छ । पर्यटक भित्र्याउनका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी रहोको उनले जानकारी दिए । तमानखोलाको बराह ताल जिल्लाकै उच्च स्थानमा रहेको छ । यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा पर्यटक कम मात्रामा जाने गरेका छन् । पर्यटकको सहजताका लागि तमानखोला गाउँपालिकाले यस वर्ष मोटर बाटो निर्माण गरेको छ । मोटर बाटोको स्तरोन्नतिपछि मात्रै तालमा पर्यटक पुग्ने अपेक्षा लिइएको छ । रासस

जलवायु अनुकुलनको लागि छुट्याइएको रकम नेपालले पाउनु पर्छ : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् । मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महासचिव गुटेरेसले जलवायु अनुकुलनको लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरुले पाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरुलाई आग्रह गरे । उनले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए । उनले भने,‘हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिम नदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन् । धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ यसलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु । पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकुलनको लागि धेरै कोषहरू पनि छन् । यी कोषहरू क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन् । त्यसको उपयोग हुनुपर्छ ।’ महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यववद्धता आवश्यक रहेको बताए ।

७४ वर्षीय गुटेरेस : प्रधानमन्त्री र राष्ट्रपति हुँदै यूएनको महासचिवसम्म, यस्तो छ उनको जीवन कथा

काठमाडौं । पछिल्लो केही दिनयता नेपाली राजनीतिक दल र सञ्चार माध्यमको प्राथमिकतामा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस परेका छन् । चार दिने भ्रमणका लागि नेपाल आएका गुटर्रेसको विभिन्न व्यक्तिहरुसँगको भेटघाट, उनले दिएको अभिव्यक्ति लगायतका विषय अहिले नेपाली सञ्चार माध्यमको प्रमुख प्राथमिकतामा परिरहेका छन् । राष्ट्रसंघको ७८औं महासभामा भाग लिन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव गुटेरेस लाई नेपाल भ्रमणमा निम्त्याएपछि नेपाल आइपुगेका गुटर्रेसले आइतबार काठमाडौं ओर्लिनासाथ उच्च सरकारी अधिकारी तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटेर राष्ट्रसंघ र नेपालबीच दशकौंदेखि मित्रवत् र सौहाद्रपूर्ण सम्बन्ध रहेको धारणा राखे । जलवायु परिर्वतनबाट नेपालमा परेको प्रभाव नजिकबाट हेर्ने र आगामी नोभेम्बरमा हुने ‘कोप २८’ को एजेन्डा बनाउन, अतिकम विकसितबाट स्तरोन्नति हुन लागेको नेपाललाई धन्यवाद दिन र शान्ति प्रक्रिया चाँडो टुंग्याउन आग्रह गर्ने एजेन्डा लिएर नेपाल आएका उनी यतिखेर पोखरामा छन् । गुटेरेस सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा सहभागी भई नेपाली नेताहरूलाई आफ्ना एजेन्डा सुनाए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, रक्षा, परराष्ट्रलगायत मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर नेपाल आउनुको उद्देश्य सुनाएका थिए । नेपाली सेनाको विमानमार्फत् सोमबार दिउँसो पोखरा पुगेका महासचिव गुटेरेसलाई पोखरेलीले न्यानो स्वागत गरे । उनलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सांस्कृतिक झाँकीसहित मौलिक नाच समेत प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाती समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले गुटेरेसलाई स्वागत गरेका थिए । महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त राष्ट्रसंघका नवौं महासचिव गुटेरेसले सन् २०१७ जनवरी १ मा पदभार ग्रहण गरेका थिए । शरणार्थी शिविरदेखि युद्ध क्षेत्रसम्म संसारका सबैभन्दा कमजोर मानिसका पीडा देखेर गुटेर्रेसले सबैका लागि मानव मर्यादा सुनिश्चित गर्न आफ्नो प्रयास केन्द्रित गरिरहेका छन् । उनले कोरोना महामारीमा काम गर्न, जलवायु आपतकाल सम्बोधन गर्न, लैङ्गिक समानता अगाडि बढाउन र २१औं शताब्दीको महत्वाकांक्षी सुधार हासिल गर्ने काम सुरु गर्न संयुक्त राष्ट्र चार्टरप्रति आफ्नो प्रतिबद्धतालाई आकर्षित गरेका छन् । शान्ति, दिगो विकास, मानव अधिकार र मानवीय सहायता सुरक्षित गर्न संगठनको महत्वपूर्ण प्रयासमा उनले उल्लेख्य काम गर्दै आएका छन् । महासचिव नियुक्त हुनुअघि गुटेरेसले सन् २००५ जुनदेखि सन् २०१५ डिसेम्बरसम्म शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तका रूपमा काम गरेका थिए । पछिल्ला दशकहरूमा सबैभन्दा गम्भीर मानव विस्थापन संकटको समयमा विश्वको अग्रणी मानवीय संस्थाहरूमध्ये एकको नेतृत्व उनले गरेका थिए । सिरिया र इराकको द्वन्द्व र दक्षिण सुडान, मध्यअफ्रिकी गणतन्त्र र यमनका सङ्कटले युएनएचसिआरका गतिविधिमा ठूलो वृद्धि ल्याएको थियो । किनभने द्वन्द्व र उत्पीडनबाट विस्थापित मानिसको संख्या २००५ मा ३ करोड ८० लाखबाट बढेर २०१५ मा ६ करोडभन्दा बढी पुगेको थियो । युएनएचसिआर प्रवेश गर्नुअघि गुटेरेसले सरकारी र सार्वजनिक सेवामा २० वर्षभन्दा बढी समय बिताए । उनी सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्री थिए । त्यसबेला उनी पूर्वी टिमोरको संकट समाधान गर्न अन्तर्राष्ट्रिय प्रयासमा धेरै नै संलग्न भएका थिए । सन् २००० को सुरुवातमा युरोपेली काउन्सिलको अध्यक्षका रूपमा उनले विकास र रोजगारीका लागि लिस्बन एजेन्डा अपनाउने नेतृत्व गरेर पहिलो युरोपेली संघ-अफ्रिका शिखर सम्मेलनको सह–अध्यक्षता गरेका थिए । उनी सन् १९९१ बाट २००२ सम्म पोर्चुगल राज्य परिषदको सदस्य थिए । गुटेरेस सन् १९७६ मा पोर्चुगल संसदमा निर्वाचित भएका थिए जहाँ उनले १७ वर्षसम्म सदस्यका रूपमा सेवा गरेका थिए । त्यस अवधिमा उनले संसदका अर्थ, वित्त तथा योजना समिति र त्यसपछि प्रादेशिक प्रशासन, नगरपालिका तथा वातावरणसम्बन्धी संसदीय समितिको अध्यक्षता गरेका थिए । उनी आफ्नो पार्टीको संसदीय दलका नेता पनि थिए । गुटेरेस सन् १९८१ देखि १९८३ सम्म युरोप काउन्सिलको संसदीय सभा सदस्य थिए । जहाँ उनले जनसांख्यिकी, आप्रवासन र शरणार्थी समितिको अध्यक्षता गरेका थिए । गुटेरेस धेरै वर्षसम्म सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरूको विश्वव्यापी संगठन सोसलिस्ट इन्टरनेसनलमा सक्रिय थिए । उनी सन् १९९२ देखि सन् १९९९ सम्म समूहको उपाध्यक्ष थिए । पछि अफ्रिकी समिति र विकास समितिको सह-अध्यक्ष बने । उनले सन् १९९९ देखि २००५ को मध्यसम्म राष्ट्रपतिका रूपमा सेवा गरे । उनले पोर्चुगिज शरणार्थी परिषदका साथै पोर्चुगिज उपभोक्ता संघ डिईसिओ स्थापना गरे र सन् १९७० सुरुवातमा लिस्बनको गरिब छिमेकमा सामाजिक विकास परियोजनाहरू सञ्चालन गर्ने संस्था कन्ट्रो डे एक्काओ सोसल युनिभर्सिटारियोको अध्यक्षका रूपमा सेवा गरेका थिए । गुटेरेस क्लब अफ म्याड्रिडका सदस्य छन्, जुन विश्वभरिका प्रजातान्त्रिक पूर्वराष्ट्रपति र प्रधानमन्त्रीहरूको नेतृत्व समूह हो । महासचिव गुटेरेसको जन्म लिस्बनमा सन् १९४९ मा भएको थियो । उनले इन्स्टिट्युटो सुपेरियर टेक्निकोबाट इन्जिनियरिङमा स्नातक गरेका छन् । उनी पोर्चुगिज, अंग्रेजी, फ्रेन्च र स्पेनिस भाषामा दक्ष छन् । उनले क्याटरिना डे अल्मेडा वाज पिन्टोसँग विवाह गरेका छन् र उनका दुई छोराछोरी, एक सौतेनी छोरा र तीन नाति नातिना छन् ।

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

गोरखा । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी अध्यक्ष दुर्गा गरन्जा मगरले बताए । पालिकाभित्र अधिकांश भोजभतेरमा प्लास्टिकबाट बनेका सामग्री प्रयोग हुन थालेपछि त्यसलाई विस्थापित गर्न टपरी उद्योग सञ्चालनमा ल्याइएको हो । ‘पछिल्लो समय भोजभतेरमा मात्र होइन हरेकजसो चिया पसल र घरको भान्सामा समेत प्लास्टिकका गिलास, प्लेट चम्चाको प्रयोग बढ्न थाल्यो’, उनले भने, ‘प्लाटिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाइ हुने, वातावरण पनि प्रदूषित हुने भएकाले सालको पातबाट बनेको टपरी र बोता प्रयोगमा प्रोत्साहन गर्न उद्योग सुरु गरिएको छ ।’ प्लास्टिकका प्लेट, गिलास, चम्चालगायतका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसबाट निस्कने प्रदूषणले स्वास्थ्यमा असर पुर्याउने हुँदा सालको पातबाट बनाइएका सामग्री प्रयोग गर्नु राम्रो हुने भएकाले जङ्गलमा खेर गइरहेका पातबाट गाउँमै दुना, टपरीलगायत उत्पादन गर्न थालिएको अध्यक्ष मगरको भनाइ छ । ‘हाम्रा सामुदायिक वनमा खेर गइरहेका सालका पात अहिलेसम्म हामीलाई पैसा पर्दैन’, उनले भने, ‘बिरुवाको संरक्षण गरेर पात सहजै ल्याउन सकिन्छ, त्यसबाट टपरी र बोता उत्पादन गर्यौँ भने दिदीबहिनीको खेर गइरहेको समय पनि सदुपयोग हुने, आयआर्जन पनि हुने र प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्न पनि पर्दैन ।’ उद्योगबाट स्थानीय महिलाको आयआर्जन वृद्धिमा सहयोग पुग्ने केन्द्रकी परिचालक गीता श्रेष्ठले जानकारी दिए । ‘रु दुई लाखमा मेसिन खरिद गरेर उद्योग सुरु गरिएको हो’, उनले भने, ‘फुर्सदको समयमा समूहका सदस्यले जङ्गलबाट पात सङ्कलन गरेर ल्याउने र मेसिनबाट टपरी उत्पादन गर्ने गर्छौँ ।’ महिला समूहमा १४ महिला आबद्ध छन् । उद्योगबाट अहिले टपरी बोता (दुना)लगायत उत्पादन गर्ने गरिएको छ । उत्पादित टपरी प्रतिगोटा सात र बोता प्रतिगोटा पाँचमा बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिए । उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ । ‘अहिलेसम्म बजारको कुनै समस्या भएको छैन, जति उत्पादन भयो त्यति बिक्री भइरहेको छ’, श्रेष्ठले भने । उद्योगमा उत्पादित सामग्री स्थानीयस्तरमा नै खपत हुने गरेको उनले बताए । उद्योगमा टपरी र बोता उत्पादन गरेर राख्ने र माग भएपछि बजारमा पठाउने गरिएको छ । ‘‘महिला समूहका दिदीबहिनी वनमा गएर सालको पात टिपेर ल्याउँछन्, उत्पादित सामग्री बिक्रीबाट हुने आम्दानी महिला समूह र सिकाइ केन्द्रले लिने गरेको छ’ उनले भने । चाडपर्व, विवाह, व्रतबन्ध, भोजभतेरलगायत सामूहिक कार्यक्रम गर्दा स्थानीयस्तरमा उद्योगमा उत्पादित सामग्री बिक्री हुँदै आएको छ । स्थानीवासी सचेत भएका कारण पनि उत्पादित सामग्रीको बजार समस्या नहुने श्रेष्ठले विश्वास व्यक्त गरे । पर्याप्त प्रचार–प्रसार गर्न सके यसको माग अझै बढ्न सक्ने छ । जुनसुकै ठाउँबाट माग आए पनि सामान उत्पादन गरी पुर्याउन सकिने उद्योगले जनाएको छ । रासस