नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायो
काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए । त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन् । नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । आसिफले २७ रन बनाए । उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाएका हुन् । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक, एक विकेट लिए । त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे । नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई, दुई विकेट लिए । नेपालको दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्य रहेको छ । यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो । अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि २० विश्वकप खेल्न पाउनेछन् । विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिङ्गापुर र ओमान छन् । त्यस्तै समूह बी मा युएई, हङ्कङ, बहराइन र कुवेत छन् । रासस
२७ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि बोलकबोल आहृवान गरेको हो । २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने सूचनामा उल्लेख छ । जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, १३ अर्ब रुपैयाँको १८२ दिने र १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । कात्तिक १४ गते मंगलबार ट्रेजरी बिल वितरण गरिनेछ ।
पुँजीगत खर्चको तुलनामा ऋणको साँवाव्याज भुक्तानी करिब तीनगुणा बढी
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले रू २५ अर्ब ७८ करोड ९० लाख बराबर पुँजीगत खर्च गरेको छ । त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न रू ६७ अर्ब ७० करोड ७१ लाख खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीनगुणाले बढी हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा रू ४२ अर्ब ८४ करोड १७ लाख र ब्याज रू १३ अर्ब ७१ करोड ५० लाख ब्याज गरी कूल रू ५६ अर्ब ५५ लाख ६७ लाख बराबर भुक्तानी भएको छ । त्यस्तै, बाह्य ऋणको रू आठ अर्ब ७० करोड ३६ लाख साँवा र रू दुई अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कूल रू ११ अर्ब १५ करोड चार लाख बराबर भुक्तानी भएको छ । त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक र रू नौ अर्ब ४७ करोड ८० लाख बाह्य गरी कूल रू एक खर्ब छ अर्ब ७८ करोड ८० लाख बराबर ऋण लिएको छ । योसँगै नेपालको कूल सार्वजनिक ऋण रू २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ । गत असोज मसान्तसम्ममा नेपालले रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख आन्तरिक र रू ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख बाह्य ऋण तिर्न बाँकी देखिएको हो । अर्कोतर्फ सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ । हालसम्म कूल तीन खर्ब तीन अर्ब ६५ करोड ३७ लाख बराबर बजेट खर्च हुँदा राजस्व सङ्कलन भने रू दुई खर्ब ४८ अर्ब २८ करोड ५० लाख बराबर देखिएको छ । अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च रू ५५ अर्ब ६७ करोड बढी छ । रासस
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तक्र्रिया गरेका थिए । सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए । उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको बताएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा स्थानीय समुदायले हिमनदी पग्लिने क्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएका अध्यक्ष अधिकारीले जानकारी दिए । साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए । महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान यहाँ आईपुगेका हुन् । उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरिएको थियो । भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने तालिका छ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने बताईएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् । रासस
बढ्दो घुम्ने संस्कृति
गण्डकी । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए । दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्किएका उनी चार दिनको पदयात्रा सकेर आइतबार घर फकिए । पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसकेका छन्। ‘दसैँ बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँघुमौँ लाग्ने याम हो,’ उनले सुनाए, ‘नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ ।’ पदयात्रा आफैँमा रोमाञ्चक र आनन्ददायक हुने खड्काको अनुभव छ । ‘मर्दी यात्रा पनि स्मरणीय रह्यो, छोटो दूरीको पदयात्राका लागि मर्दी ट्रेक उपयुक्त गन्तव्य रहेछ,’ उनले भने, ‘दसैँलगत्तै मर्दी ट्रेक घुम्न निस्केका पर्यटकको बाटैभरि लर्को नै थियो ।’ खड्कासहितको टोली कास्कीको काँडेबाट छिरेर दुई दिनको पदयात्रामा मर्दी हिमालको आधार शिविर पुगेको थियो । फर्किंदा लान्द्रुक, नयाँपुल हुँदै बागलुङ फर्केको खड्काले बताए। पोखरा महानगरपालिका–२९ भण्ढारढिककी आरजु खत्रीले पनि यसपालिको दसैँ बिदामा घुम्नका लागि मर्दी आधार शिविरलाई रोजिन्। काठमाडौंबाट आएका दुई साथीसहित दसैँको पर्सिपल्ट उनले मर्दीका लागि यात्रा तय गरेकी थिइन् । ‘काँडे, अष्ट्रेलियन क्याम्प, देउराली हुँदै पहिलो दिन हाइक्याम्प पुगेर बास बस्यौँ, दोस्रो दिन मर्दी आधार शिविर पुगेर देस्रो दिन घर फर्कियौँ,’ खत्रीले भनिन्, ‘हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।’ सूचना प्रविधि विषयमा अध्ययनरत उनीले दसैँमा लामो बिदा हुने भएकाले घुम्न रुचाउने बताइन् । खत्रीले गत वर्ष हिउँदमा कास्कीकै अर्को पर्यटकीय गन्तव्य खुमै डाँडाको पदयात्रा गरेकी थिइन्। उनले मर्दी आधारशिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनान् । ‘धेरै आन्तरिक पर्यटक नै थिए, विशेष गरी युवा बढी देखिन्थे,’ खत्रीले भनिन्। काठमाडौंमा व्यवसाय गर्ने बागलुङका ओम खत्री पनि दसैँको भोलिपल्टै साथीहरूसँग ढोरपाटन घुम्न निस्किए । आफ्नै जिल्लामा पर्ने भए पनि ढोरपाटन यात्रा उनका लागि पहिलो थियो । ‘ढोरपाटन घुम्न पहिलेदेखिनै उत्सुक थिएँ, अहिले बल्ल मौका जुर्यो,’ खत्रीले भने, ‘व्यवस्तताले नजिकका गन्तव्य पनि घुम्न पाइएको छैन, अब भने बेलाबेला घुमफिरमा निस्कनुपर्छ भन्ने लागेको छ ।’ खत्रीसहित ६ जना मिलेर मोटरसाइकलमा ढोरपाटन पुगेका थिए । उनीहरु तीन दिन लगाएर ढोरपाटन उपत्यका, बुकी, जलजलालगायत ठाउँ घुमेका थिए । दसैँ बिदामा ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहपहल बढी देखिएको खत्रीले बताए । ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष हो । सिकारमा विदेशीको आकर्षण रहे पनि ढोरपाटन क्षेत्र घुम्न जानेमा बढी आन्तरिक पर्यटक नै हुन्छन् । कास्कीका दिवस गुरुङले दसैँको छेकोमा तीन जापानी पर्यटकसहित सात दिन पदयात्रा गरे। कास्कीको नयाँपुल, म्याग्दीको घोरेपानी हुँदै मुक्तिनाथसम्म पदयात्रा गरेको उनले बताए। २९ वर्षीय गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए। मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उनले पदयात्रा गरेका थिए । मुस्ताङदेखि डोल्पा छिर्ने ५ हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उहाँको स्मृतिमा अहिले पनि ताजै छ । गुरुङले विसं २०७५ को दसैँमा पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गरेका थिए। ‘साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो,’ उनले भने, ‘म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।’ जतिसुकै कठिन र लामो यात्रामा पनि उनी एक्लै निस्कन्छन् । कर्णाली यात्रामा जाँदा मुस्ताङ र डोल्पाबीचको याकखर्कमा पाँच दिनसम्म सम्पर्कविहीन भएर बस्नुपरेको गुरुङले सुनाए। ‘हिमपातले अगाडि जान नसकेपछि धर्मशालामा टेण्ट हालेर रात बिताएँ,’ उनले भने, ‘प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।’ गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन एक्लै हिँडेका थिए। उनी पदयात्री पथ प्रदर्शकसमेत हुन्। आम्दानीमा जोडिन पथ प्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाए। ‘घुम्ने र घुमाउने नै मेरो पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न धेरै बाँकी छ,’ गुरुङले भने, ‘बढीजसो म दसैँ र तिहारका बेला घुम्न निस्किरहेको हुन्छु ।’ उनले पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढेको बताए । गुरुङले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाए। ‘थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ,’ गुरुङले भने, ‘आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।’ पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने गुरुङले बताए। ‘पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ’, उनले भने, ‘घुम्नलाई नेपालभित्रै असङ्ख्य सम्पदा, संस्कृति र प्राकृतिक गन्तव्यस्थल छन्, आफ्नै देश चिन्नलाई पनि घुमौँ ।’ दसैँलगत्तै अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक पर्यटकको घुइँचो लागेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए। आन्तरिक पर्यटकको आँकडा राख्ने नगरिएपनि बर्सेनि हजारौँ नेपालीले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गन्तव्यस्थलको भ्रमण गर्ने गरेको उनले बताए। पछिल्लो एक दशकयता नेपालीहरूमा घुम्ने संस्कृति ह्वात्तै बढेको प्रमुख डा कडरियाले उल्लेख गरे । ‘अन्नपूर्ण आधार शिविर, मर्दी, तिलिचो, थोरङ्ला भञ्ज्याङलगायत क्षेत्रमा पदयात्रा गर्नेको सङ्ख्या उल्लेख्य छ, विशेष गरी नेपाली युवामा घुम्ने क्रेज बढ्दो छ, सपरिवार पनि घुम्न निस्कने चलन बढिरहेको छ,’ उनले भने, ‘कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ । रासस
विदेशी बैंकमा एकपछि अर्को अवसर पाउँदै नेपाली बैंकर, सनि महर्जनले पाए महत्वपूर्ण जिम्मेवारी
काठमाडौं । कुनै बेला जनशक्ति नपाउने अवस्थाबाट गुज्रिरहेको नेपाली बैंकिङ क्षेत्र अहिले अनुभवी बैंकर उत्पादन गरेर विदेशमा समेत पठाउने अवस्थामा पुगेको छ । पछिल्लो समय एकपछि अर्को नेपाली बैंकर विदेशका विभिन्न बैंकमा काम गर्ने अवसर मात्रै पाउने होइन महत्वपूर्ण जिम्मेवारी पाउन थालेका छन् । यो सँगै नेपाली बैंकर सनि महर्जनले पनि म्यानमारको म्यानमार सिटिजन्स बैंकमा काम गर्ने अवसर पाएका छन् । उनलाई बैंकले हेड अफ अपरेसनका रुपमान जिम्मेवारी दिएको छ । नेपाली बैंकिङ क्षेत्रमा १८ वर्ष बढी अनुभव भएका उनी यसअघि एनआइसी एशिया बैंकमा कार्यरत थिए । उनी एनआइसी एशिया बैंकमा डेपुटी चिफका रुपमा कार्यरत थिए । म्यानम्यार सिटिजन्स बैंकको नेतृत्व पनि नेपाली बैंकरले नै गरिरहेका छन् । भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा कार्यरत छन् । सो बैंकमा रोमन प्रधानंग पनि सूचना प्रविधि विभागको प्रमुखका रुपमा कार्यरत छन् । पछिल्लो समय विदेशका विभिन्न बैंकमा नेपाली बैंकरले महत्वपूर्ण अवसर पाउने गरेका छन् । तत्कालीन सिभिल बैंकका सीईओ सुनिल पोखरेल पनि विदेशी बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । उनी पपुवा न्यूगिनीको टिसा बैंक लिमिटेडको नेतृत्व गरिरहेका छन् । पोखरेलसँगै सोही बैंकको चिफ रिस्क अफिसरमा पनि नेपाली बैंकर सचिनजंग रायमाझी कार्यरत छन् । यसअघि रायमाझी हिमालयन बैंकको असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसरका रुपमा काम गर्थे । उनी केही दिनअघि देखि मात्रै विदेशी बैंकमा काम गर्न थालेका हुन् ।
लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या
गोरखा । लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए। बिरामीको उद्धारका लागि आइतबार प्रयास गरिएको भए पनि असफल भएको थियो । प्रमुख जिल्ला अधिकारी भुसालले गृह मन्त्रालयले हेलिकप्टर उडानको अनुमति दिएको भए पनि मौसममा खराबीका कारण हेलिकप्टर उडाउन समस्या भएको हो । मन्त्रालयले अल्टिच्यूड एयरको हेलिकप्टर बिरामीको उद्धार गर्ने अनुमति दिएको उनको भनाइ छ । मौसममा सुधार आए आज दुवै जनाको उद्धार गरिने प्रजिअ भुसालले जानकारी दिए । रासस
चांगनले ‘डीपल एसएल०३’ २०२४ मा नेपाल भित्र्याउने
काठमाडौं । आगामी डिसेम्बरमा थाइल्यान्डमा अपेक्षितरूपमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम सेडान डीपल एसएल०३ नेपालमा अंग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ । अटोमोबाइल समूह एमएडब्लु ग्रुपले केही साताअघि सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको डीपल ब्रान्डअन्तर्गतको डीपल एसएल०३ पनि नेपालमा डीपल एस७ सँगै करिब एउटै समयमा सार्वजनिक गर्ने घोषणा गरेका थियो। डीपल एसएल०३ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभुषित कार हो ।