विद्युत महशुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने दुई सय १४ ग्राहक कालोसूचीमा परेका छन् । यस्तै ३९ वटा उद्योग, छ वटा संस्थागत, तीन वटा पानी उद्योगलाई पनि कालो सूचीमा राखिएको छ । लामो समयसम्म बक्यौता रकम नतिर्ने ग्राकलाई कालोसूचीमा राख्ने र दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाईन काट्ने काम सुरु गरिएको उनले बताए । दुई महिनासम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइनकाट्ने काम आइतबारदेखि सुरु गरिएकामा पहिलो दिन विद्युत् महसुल धेरै बाँकी रहेका दस ग्राहकको लाईन काटिएको छ । लाइन काटेसँगै कतिपयले रकमसमेत भुक्तानी गरिसकेका छन् । प्राधिकरणका कर्मचारीले विद्युत् मिटरबक्स रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको हो । इञ्जिनीयर पौडेलले थपे ‘सुरुवातमा विद्युत् महसुल धेरै भएका ग्राहकको लाइन काटिने छ । कम्तीमा रु दसहजारसम्म तिर्न बाँकी रहेका ग्राहकको लाईन काट्ने गरी काम अघि वढाएका छौँ ।’ दुई महिना नाघेका ग्राहकबाट मात्रै रु ३५ करोड ४१ लाख ५३ हजार शुल्क उठ्न बाँकी रहेको उनले जानकारी दिए । दुई वर्षभन्दा माथिको रु दस करोड ५६ लाख ४४ हजार बक्यौता रकम उठाउन बाँकी रहेकोे छ । कार्यालयले चालु आर्थिक वर्षसम्म रु ४३ करोड ५५ लाख ७८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको इञ्जिनीयर पौडेलले बताए । दुई महिनादेखि छ महिनासम्म महसुल नतिर्ने ग्राहकबाट रु चार करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिनासम्मको महसुल नतिर्ने ग्राहकबाट रु दुई करोड आठ लाख २८ हजार, एक वर्षदेखि दुई वर्षसम्मको महशुल नबुझाउने ग्राहकबाट रु तीन करोड २९ लाख ५८ हजार उठ्न बाँकी रहेको छ । रासस
नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक छ : पूर्व अर्थमन्त्री
चितवन । पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानाका रूपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएका छन् । पत्रकारहरुसँगको कुराकानीमा उनले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताए । ‘जुन अभियानले लगानीका लागि गन्तव्य नेपाल बनोस् । देशभित्रका उद्यमी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न सजिलो बनाउने गरी सरकारले नीति निर्माण गरोस् पूर्वअर्थमन्त्री आचार्यले भने ‘लगानीकर्तालाई लगानीका लागि हिन्दूस्तान, चीन, बङ्गलादेश र श्रीलङ्का जानुभन्दा नेपालमा सजिलो छ भन्ने वातावरण बनाइ लागनीको गन्तव्य बनाउन सिङ्गो देश लाग्नुपर्छ ।’ राजनीतिक स्थिरतासँगै जिम्मेवार सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भने ‘मुलुकमा लगानी बढाउन र समुदायको आयआर्जनलाई फराकिलो बनाउन आवश्यक छ । जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’ निर्यात साँघुरो बन्दै गएको, आयातमा निर्भरता बढ्दै गएको र राजस्व परिचालन अपेक्षाअनुसार हुन नसक्दा खर्चको संरचना नियन्त्रण बाहिर जान खोजेजस्तो देखिएको उनको भनाइ थियो । चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा असन्तुलन बढेको उनले बताए ।
स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय बबरमहलमा सर्ने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय अहिले भएको ठाउँ टेकुबाट बबरमहलमा सर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै बोर्डको केन्द्रीय कार्यालय बबरमहल स्थित औषधि लिमिटेड कम्पनी रहेको स्थानमा सर्ने जनाएको हो ।
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, ‘नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।’ सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सवल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गरे । उनले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गरेका हुन् । शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पारे । उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाँदा पीडितलाई केन्द्रका राख्नुपर्ने स्मरण गराए । महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृङ्खला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन् गरेर काम गर्नुपर्ने बताए । नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्रसङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे । संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उनको भनाइ थियो । कार्यक्रममा गायिका आनी छोइङ डोल्माले शान्तिभावका गीत प्रस्तुत गरेका थिए भने समारोहपश्चात् महासचिव गुटेरेसले राष्ट्रसङ्घ भवन परिसरमा वृक्षरोपण गरेका थिए । चारदिने भ्रमणमा लागि महासचिव गुटेरेसले यही कात्तिक १२ गते नेपाल आएका हुन् । रासस
अर्थतन्त्र सुधारिन थालेकाले लगानीका अवसर छोप्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरु भएकाले लगानी बढाउन बेलायतमा रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । नेपाल जनसम्पर्क समिति बेलायतले लन्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत र पर्यटनमा लगानी प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् । बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनु पर्ने कारण नरहेको बताए । सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसनसहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मे हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवसीय नेपालीलाई आग्रह गरे । कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णालीको चिसापानीको जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गर्न थालिसकेकाले लगानीको अवसर हातमै आइपुगेको पनि अध्यक्ष ढकालले जानकारी गराए । यसैगरी गैर आवासीय नेपालीसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत परियोजना सम्पन्न भइसकेकोले अन्य जलविद्युत परियोजनामा समेत लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे। विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्यरूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकिङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानीका अवसर छोप्न पनि अध्यक्ष ढकालले आग्रह गरे। लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउन ढिलाइ नगर्न नहुने पनि अध्यक्ष ढकालको भनाइ थियाे ।
अब ट्राफिक प्रहरीलाई नागरिक एपको लाइसेन्स देखाए हुने
काठमाडौं । सवारी साधन चलाउनेहरुले ट्राफिक प्रहरीलाई नागरिक एपमा देखिने आफ्नो लाइसेन्स देखाए हुने भएको छ । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा प्रहरीलाई नागरिक एपको लाइसेन्स देखाए मान्यता दिने व्यवस्था देशव्यापी लागू भएको नागरिक एपले जनाएको छ । सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै नागरिक एपले भनेको छ, ‘नेपाली नागरिकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौं । pic.twitter.com/Fkbm43q15m — NagarikApp (@nagarikapp) October 30, 2023
काभ्रेमा डेङ्गुको सङ्क्रमण बढ्दै
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित चार महिलासहित छ जना बनेपा नगरपालिका पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाको बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा. अनिता खनालले जानकारी दिए । उनका अनुसार अझै केही दिन डेङ्गु सङ्क्रमण बढेनसक्ने अनुमान गरिएको छ । अघिल्ला दुई दिन नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयको दैनिक तथ्याङ्कअनुसार कात्तिक महिनाको १२ दिनमा २७ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै यस आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लामा ८९ महिला र ८४ पुरुष गरी एक सय ७३ जनामा डेङ्गु पुष्टि भएको कार्यालयले जनाएको छ । जिल्लामा गत असोज अन्तिम साता पुनः डेङ्गुको सङ्क्रमण देखिएको थियो । जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोक गाउँपालिका बाहेक हाल १२वटै स्थानीय तहमा डेङ्गुका सङ्क्रमित पुगेका थिए । तीमध्ये सबैभन्दा बढी बनेपा नगरमा ७१ सङ्क्रमित थिए । यस्तै धुलिखेल नगरमा २१, पनौती नगरमा २०, पाँचखाल नगरमा सात, नमोबुद्ध नगरमा २२ जना डेङ्गु सङ्क्रमित थिए । मण्डनदेउपुर नगरमा १८, भुम्लु गाउँपालिकामा एक, रोशीमा आठ, तेमालमा दुई, खानीखोलामा एक, महाभारत र चौंँरीदेउराली गाउँपालिकामा एक-एकजना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ । जिल्लामा गत आवको अन्त्यसम्म छ सय ८० जना डेङ्गुबाट सङ्क्रमित भएका थिए । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गुको उच्च जोखिम रहेको दस जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको बिरामीलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक तथा गिँजाबाट रगत बग्ने, शरीरमा रगत जेमेको दाग देखापर्ने तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ । लामखुट्टेले बसोबास गर्नसक्ने सवारी साधन थगन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामग्री, मठ–मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्न तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ । रासस
‘एआई’ मार्फत् सम्भव छ मानिसको सर्जरी ?
काठमाडौं । पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा विश्वभर निकै भइरहेको छ । के एआईको सहायताले मेडिकल जगतमा क्रान्ति आउन सम्भव छ ? के एआईले चिकित्सकको स्थान लिन सक्छ ? अहिले यी सबालहरुको जवाफ खोज्ने कोसिस वैज्ञानिकहरुले गरिरहेका छन् । युनिभर्सिटी कलेज अफ लन्डन जहाँ एआईको मद्दतले मानिसको मस्तिस्कको सर्जरी ट्रायल भइरहेको छ । ब्रिटेन सरकारले सो ट्रायल सफल भएमा मेडिकल क्षेत्रमा क्रान्ति हुने बताएको छ । निकोला प्रशिक्षक सर्जन हुन्, उनले पहिलोपटक एआईको मद्दतद्वारा मस्तिस्कको सर्जरी गर्न सिकिरहेकी छन् । अहिले उनले एक नक्कली अपरेसन थियटरमा नक्कली मानिसमाथि सर्जनको अभ्यास गरिरहेकी छन् । यो पिट्युटरीको अप्रेसन हो, पिट्युटरीको बीच भागमा ट्युमर रहेको छ । ‘यसले निकै मद्दत मिलेको छ, यसको अप्रेसनको दौरानमा थाहा हुन्छ की अगाडि के हुनेवाला छ र मैले के गर्नुपर्छ’, निकोलाले भन्छिन् । एकातर्फ एआई निकोलालाई प्रशिक्षण दिने काम गरिरहेको छ भने अर्कोतर्फ दोस्रोतर्फ स्वयं आर्टिफिसियल इन्टेलिजेन्सले पनि सिक्ने काम गरिरहेको छ की वास्तविकतामा यो कसरी गर्न सकिन्छ भन्ने बारेमा । ‘हामीलाई विश्वास छ की आगामी एक–दुई वर्षमा यो तरिकाको आर्टिफिसियल इन्टेलिजेन्सलाई अपेरसन थिएटरमा प्रयोग गरिन्छ, ताकि एआईको मद्दतबाट सर्जनलाई सहि निर्णय गर्न सजिलो हुन्छ’, न्युरो सर्जन हेनी मार्कसले बताए । अप्रेसन गरेका दुई सय भन्दा धेरै भिडियो हेरेर आर्टिफिसियल इन्टेलिजेन्सले सिक्ने काम गरेको छ । सामान्य चिकित्सकलाई यो अनुभव हासिल गर्न १० वर्ष लाग्छ, जबकी आर्टिफिसियल इन्टेलिजेन्सले १० महिनामा गरेको छ । प्रविधिको विकास भइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स बढाउने र मानिसको सुरक्षा गर्न अत्यन्त महत्वपूर्ण भइरहेको छ । ‘जुन खालको एआईसँग हामीले काम गरिरहेका छौं, यो सबै प्रविधि आधारित हुन्छ, म र मेरो टिममा रहेका वैज्ञानिकहरु सयौं घण्टा लगाएर यो तय गरिरहेका छौं, जुन जानकारी हामीले एआइमा फिट गरिरेहका छौं, त्यो सही हुन्छ’, स्पेशियलिटी रजिष्ट्रार दानियल खानले भने । यो प्रविधिले चिकित्सकको स्थान अहिले नै लिन त सक्दैन, तर उपचारको सन्दर्भमा भने भविष्यमा यसको प्रयोगको सम्भावना निकै नै रहेको छ । ‘आउने केही दिनमा एआइले सर्जनलाई सहयोग गर्नेछ’, न्युरो सर्जन हेनी मार्कसले बताए । बिबिसी मार्फत् ।