एनसेलले भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ दिने
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो । यस्तै, सोही क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउने प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा समेत एनसेलले गरेको छ । यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यो सेवा १५ दिनसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।
नयाँबसपार्कबाट निःशुल्क बससेवा
काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को बेलामा काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिमका जनतालाई सहज सेवा प्रदान गर्नका लागि निःशुल्क बसको व्यवस्था गरेको बताए । जाजरकोट जाने बस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट आज बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले बताए। कम्पनीले दुःखद् अवस्थामा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रुले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौं– ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०,मुग्लिन-९८४५४७२३८४ दमौली – ९८५६०८९१८० र ९८५६०३६६६४ र पोखरा- ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।
खुला आकाशमुनि रात बिताउँदा…
जाजरकोट । शुक्रवार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रूपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको त्यहीँ छ । बस्ने घर भूकम्पले धुजा धुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् । पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिए । राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकै छ । पटक–पटक गइरहेका पराकम्पले उहाँको बास सडकमै भएको हो । यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उनीलगायत अन्य सर्वसाधारण सुतिरहेका छन् । कात्तिक महिनाको चिसोले उनीहरूलाई सताइरहेको छ । त्यही चिसोमा खलङ्गालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास हुँदै आएको छ । कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताए । घरभित्र बसी साध्यै छैन, उनले भने, ‘पराकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ ।’ जाजरकोटका पाँच वटा पालिकाका अधिकांश घर सग्ला छैनन् । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ । त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति बनाएको छ । यहाँका सर्वसाधारणका घर बस्न योग्य नै नभएको अवस्था छ । मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ । नलगाडमा मात्र ५२ जनाको भूकम्पबाट मृत्यु भएको छ । यसपछि भेरी नगरपालिका रहेको छ । भेरीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर सुविधा सम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ । अझै केहीले उपचार नपाएको समेत बताएका छन् । छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनले बताए । त्यस्तै गाउँ–गाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अवस्था छ । पालिकाका मुकाममा रहेका घाइतेको उद्धार शनिवार बेलुकीसम्म जारी थियो । अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन् । भौतिक रूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन । अधिकांश मृतकको सनाखत अझै हुन सकेको छैन । अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले शनिवार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिएका थिए । शनिवार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी राहत र उपचारलाई व्यवस्थित बनाउन एक टोलीसमेत निर्माण गरिएको छ । राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । सरकारी कार्यालयसमेत काम नलाग्ने गरी क्षति भएको उनले जानकारी दिए । प्रजिअको सरकारी आवास र जिल्ला प्रशासन कार्यालयसमेत बस्न नमिल्ने अवस्थामा पुगेको छ । रासस
आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक, लाभांश क्षमता पनि घट्यो
काठमाडौं । अर्थतन्त्रमा परेको समस्याका कारण व्यवसाय खस्किएपछि बैंकहरुको वितरणयोग्य नाफामा असर परेको छ । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा बैंकहरुको वितरणयोग्य नाफा र लाभांश क्षमता घटेको देखिन्छ । असोज मसान्तसम्ममा सबैभन्दा धेरै लाभांश क्षमता स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको ३ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य नाफा रहँदा ४७.२२ प्रतिशत लाभांश क्षमता छ । यस्तै, एभरेष्ट बैंकको ४ अर्ब ५२ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ भने ४२.२६ प्रतिशत लाभांश क्षमता छ । सानिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ११ करोड रुपैयाँ र लाभांश क्षमता १३.८० प्रतिशत, नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६० करोड रुपैयाँ र लाभांश क्षमता १३.३४ प्रतिशत, कृषि विकास बैंकको ४३ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा र १२.९३ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, नेपाल बैंकको वितरणयोग्य नाफा ३६ करोड ७५ लाख रुपैयाँ र लाभांश क्षमता १० प्रतिशत, ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३२ करोड रुपैयाँ र ९.९६ प्रतिशत लाभांश क्षमता, प्राइम बैंकको वितरणयोग्य नाफा ६२ करोड ८६ लाख रुपैयाँ र लाभांश क्षमता ९.७८ प्रतिशत र नेपाल एसबिआई बैंकको वितरणयोग्य नाफा ९४ करोड ६४ लाख रुपैयाँ र लाभांश क्षमता ८.०७ प्रतिशत रहेको छ । लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंकको लाभांश क्षमता ५ प्रतिशतभन्दा कम रहेको वितीय विवरणमा उल्लेख छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा बैंकहरुमध्ये ६ वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । सिटिजन्स बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । जसमध्ये सबैभन्दा धेरै कुमारी बैंकको २ अर्ब १६ करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । यस्तै, हिमालयन बैंकको १ अर्ब ८५ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ९८ करोड ८२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८५ करोड ३२ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ करोड ३ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । सिटिजन्स बैंकको २३ करोड १८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक भएपनि लाभांश क्षमता भने ३.३४ प्रतिशत रहेको तथ्याङ्क छ ।
एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि एनआईसी एशिया ग्रोथ फण्ड २ बिक्री गर्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले मंसिर ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ बिक्री गर्ने भएको हो । ७ वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखी योजना हो । क्यापिटलले अंकित मूल्य प्रतिइकाई १० रुपैयाँका दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरुलाई बिक्री गरिनेछ । क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्डको इकाईमा छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १८ गतेसम्म आवेदन दिन मिल्ने क्यापिटलले जनाएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताहरुले सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
२ जलविद्युत् कम्पनीले घोषणा गरे लाभांश
काठमाडौं । दोस्रो बजारमा हाइड्रोपावर (जलविद्युत्) कम्पनीहरु थपिनेक्रम जारी छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार सूचीकृत ८७ वटा जलविद्युत् कम्पनीको सेयर कारोबार भइरहेको छ । नेप्सेमा जलविद्युत् कम्पनीको बाहुल्यता बढ्दै गएपनि प्रतिफल वितरणमा भने पछि पर्न थालेका छन् । गत आर्थिक वर्ष २०७९/८० सम्पन्न भएको ४ महिना भइसक्यो । तर, हालसम्म सूचीकृत २ वटा जलविद्युत कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सानिमा माइ हाइड्रोपावर र माण्डु हाईड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २३ गतेका दिन १२ औं वार्षिक साधारण सभा डाकेको छ । यस्तै, माण्डु हाईड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले मंसिर १५ गते ठमेल काठमाडौंमा १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
भाग्यले बाँचेका भूकम्प पीडित भन्छन्, ‘बाहिर निस्कन खोज्दा घर गर्ल्याम्म ढल्यो’
काठमाडौं । जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन् । उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए । उद्धारपछि कार्कीले भने, “भाग्यले बाँचे ।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए । घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, “एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।” काका एक्कासी चिच्चयाएको आवाज सुनेर म दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए । उनले भन्नुभयो, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्यायौं, र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।” मन्दीपले काकालाई शनिबार बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्याएका हुन् । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आउनुभएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उनले बताए । विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताए । राति घरमा उनी एक्लै थिए । उनकी श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला विमल कुमारले भने । भगवानले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताए । उनले म घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमानलाई खोज्दै जाजरकोट अस्पताल पुगेको बताए । उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाए । उनी बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको बताए । चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गरे । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ । हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए । उनका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । अस्पतालका मेसु डा रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए । भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।
क्यानले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने
काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । क्यानले आइसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ । क्यानले आज विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबीच त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपिडितलाई सहयोग गर्ने निर्णय गरेको हो । क्यानले भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।