विकासन्युज

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलन सोमबारदेखि

काठमाडौं । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औं सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ। परिसंघ एसिया प्रशान्त क्षेत्रका २६ देशका २८ वटा राष्ट्रिय स्तरका उद्योग वाणिज्य महासंघ–संघहरुको छाता संस्था हो । नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यमा आयोजना हुने सम्मेलनको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन् । समुद्घाटन कार्यक्रमलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्। अर्थमन्त्री डा. प्रकाशरण महत, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासघका पूर्वअध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी उद्यमी र नेपालका उद्यमी व्यवसायी, सरकारी प्रतिनिधि समेत गरी दुई सयभन्दा बढीको सहभागिता रहने छ। सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तारलगायतमा छलफल हुनेछ। सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै कार्तिक २१ गते समापन गरिने छ । सन् १९६६ मा स्थापना भएको क्यासी एसिया–प्रशान्त क्षेत्रभित्रका व्यावसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रबीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवर्द्धनमा काम गर्दै आएको छ।

भूकम्पबाट अवरुद्ध सडक खुला

जाजरकोट । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिए । राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ ।

कामना सेवा फुटसल कप सिजन ३ सहित विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु शनिवार सम्पन्न गरेको छ । सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ । त्यसैगरि महिला तर्फको फाइनल खेलमा माछापुछ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । विजेता तथा उपविजेता टिमलाई बैकको तर्फवाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख संचालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्रि नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरे । त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतित्यथा र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दया वहादुर सिलवालको आतित्यथामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोला देखी धरान सम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्याङ्की निर्माण कार्यको लागि श्रमदान गरिएको हो । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको समेत उपस्थिती रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालले बताए । बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख दिने

  काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुई वर्षभित्र १० करोड रुपैयाँको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेका छन्। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै १ करोड रुपैयाँबराबरको सहयोग जम्मा भएको छ । जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसारभरिका नेपालीले दिल खोलेर सहयोग गरेको स्मरण गरे । उनले तीनै तहका सरकारसँग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडितलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए । उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५ सय ५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख, कृष्णजीवि पन्थले २ लाख १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही १ लाख रुपैयाँ प्रदान गर्ने जनाए । एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए । भूकम्प पीडितका लागि संसारभरिका एनआरएनहरुबाट सहयोग आउने क्रम जारी छ।

आइएमई लाइफद्वारा नेपाली क्रिकेट खेलाडीलाई २५ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा

काठमाडौं । नेपाल टी-२० विश्‍वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा टी-२० नेपाली क्रिकेट टोलीलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिमांक २५ लाख रुपैयाँ बराबरको आइएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मनोबल बढाउन र सम्मानस्वरुप खेलाडीलाई उक्त जीवन बीमा प्रदान गर्ने भएको कम्पनीले जनाएको हो । टी-२० विश्‍वकप फाइनल एसियाका टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका सबै २० खेलाडीलाई उक्त पोलिसीबाट पुरस्कृत गर्ने कम्पनीले जनाएको गरेको छ । यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरी फाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी-२० विश्‍वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । नेपाली क्रिकेट टोलीलाई टी-२० विश्‍वकप फाइनल एसियाको फाइनल खेलका लागि शुभकामना दिनुका साथै कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्‍न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौंलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए।

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्राधिकारणका कर्मचारीले कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विभिन्न माग राखेर आइतबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे ध्यानआकर्षण अघि सार्दै कात्तिक १४ गतेदेखि आन्दोलनरत प्राधिकरणका कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आइतबार, सोमबार र मंगलबार कार्यकारी निर्देशक सहित उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्न नदिने जनाएका छन् । संगठित रुपमा आन्दोलनरत कर्मचारीहरुले विद्युत विधेयक, २०८० खारेजी, हाजिरी, जीवन बीमा, ज्यालादारी कर्मचारी ज्याला लगायतका मागहरु राखेका छन् । माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारी संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।