विकासन्युज

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत ११ः३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । उनले भने, “इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब सकिएको छ । बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । आक्रमणमा परि डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो । डोटी लामीखाल-८ का पदम थापा, डोटी पचनाली-३ का राजन फुलारा र सल्यान सारदा-३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिए । रासस

नेपालको ओमानलाई १८५ रनको विशाल लक्ष्य, रोहित र गुल्सनको अर्धशतक

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा नेपालले ओमनलाई १८५ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाउन सक्यो । खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरेका छन् । झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५४ रन बनाए भने कप्तान रोहित पौडेलले पनि ५२ रन बनाए । करन केसीले ६ बलमा २० रन बनाएर अबिजित रहे । यस्तै, कुशल भुर्तेलले ३१, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

सिटिजन्स बैंकले भुकम्प पिडितको लागि २५ लाख रुपैयाँ दिने

काठमाडौं । सटिजन्स बैंकले भुकम्प पिडितको लागि २५ लाख रुपैयाँ दिने भएको छ । सिटिजन्स बैँकले कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वस्थ लाभका लागि कामना गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । सिटिजन्स बैँकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैँकले लिएको छ । बैँकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट संचालनमा ल्याई सकेको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदानगर्दै आएको छ ।

राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट–भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले भूकम्प प्रभावित जनतालाई विश्वासमा लिएर तयारीका साथ काम गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री  दाहालले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनःनिर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले विपदपछिको उद्दार, राहत र पुनःनिर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गरेका हुन् । प्रधानमन्त्री दाहालले भूकम्प गएलगत्तै तीनै तहका सरकार र निकायबाट गरिएको पहल सकारात्मक रहेको उल्लेख गरे । उनले विस २०७२ को भूकम्प गएको समयमा गरिएको असल अभ्यासका आधारमा विद्यमान ऐन, नियम र संरचनालाई पुनःसंरचना गरी शीघ्र रुपमा काम गर्नका लागि तयारी गरिएको बताए । “भूकम्पपछि सबै दल, सङ्घीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु । हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपथ्र्यो, हामीले त्यो काम मूलभूत रुपमा पूरा गरेका छौँ । अब राहत र पुनःस्थापनातर्फ केन्द्रित हुनुपर्छ”, प्रधानमन्त्री दाहालले भने । उनले भूकम्पपीडितहरुलाई न्यानो कपडाको व्यवस्थापन गर्न र उपचार प्रभावकारी बनाउन निर्देशन दिए । नेपाल प्राकृतिक विपदको जोखिममा रहेको मुलुक भएको भन्दै प्रधानमन्त्री दाहालले सरकारले जति पहल गर्नुपर्ने हो र जनतामा जति चेतना अभिवृद्धि गर्नुपर्ने हो त्यो नपुगेको बताए । “अबको तीन दिन राहतका निम्ति अधिकतम पहल गरौँ । पुनःस्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ । विद्यमान ऐन, विधि र संरचनाले पुनःनिर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ”, उनले भने । विसं २०७२ को भूकम्पपछि पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै उनले भूगोलको अध्ययन गरी कुन भूगोल भूकम्पको जोखिममा छ भन्ने विषय त्यसको अध्ययन आवश्यक भएको बताए । “यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतर्फ सोच्नुपर्छ । विपदका लागि आवश्यक सामग्री सबै जिल्लामा राख्ने गरी काम गरौँ । अहिलेदेखि नै ती सामग्री ‘स्टोर’ गरेर राखौँ”, प्रधानमन्त्री दाहालले भने, “यसपटक एकद्वार प्रणालीबाट जान्छौं । जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन । राहतमा हुने दुरुपयोग रोक्छौं । केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं ।” विगतमा सरकारनिरिह भएको अनुभव सुनाउँदै प्रधानमन्त्री दाहालले यसपटक त्यस्तो नहुने बताए । “यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौँ”, उनले भने । बैठकमा उपप्रधानमन्त्री एव् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपन्छी विकास मन्त्री मन्त्री डा बेदुराम भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, सहरी विकास मन्त्री सीता गुरुङ, भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतले प्रधानमन्त्री दाहालले देखाउनुभएको सक्रियता र खटाइको प्रसंशा गरेका थिए । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, “प्रधानमन्त्री आफैले उद्धारको पहल लिनुभयो, उद्धारको काम लगभग पूरा भएको छ । अहिले कोही पनि बेपत्ता छैनन् । अब हाम्रो ध्यान राहतमा केन्द्रित हुनुपर्छ ।” पूर्वमन्त्री गङ्गाधर तुलाधरले प्रधानमन्त्रीको सक्रियताले भूकम्पपीडितप्रति सरकार कति गम्भीर छ भन्ने कुरा प्रष्ट भएको धारणा राखे । उर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री स्वयंले पहल लिएका कारण राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालित भएको बताउँदै भूकम्प पीडितको घाउमा मलहम लगाउन सरकार सफल भएको बताए । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्प प्रभावितको उद्धार, राहत र उपचारमा प्रधानमन्त्री स्वयंले नेतृत्व लिनु सकारात्मक भएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले प्रधानमन्त्रीको तदारुकता प्रशंसायोग्य रहेको भन्दै जिम्मेवार र सक्रिय प्रधानमन्त्री पाएकोमा खुसी व्यक्त गरे । नेपाल सेनाका प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री स्वयं खट्दा सिङ्गो राज्ययन्त्र परिचालित भएको बताए ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मधेश प्रदेशमा नयाँ शाखा

कलैया । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरे । उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली, लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले २६१ शाखा कार्यलय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने

काठमाडौं । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् । यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।

गण्डकीद्वारा कर्णालीलाई एक करोड सहयोग

गण्डकी । गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँँ सहयोग गर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘भूकम्पबाट कर्णालीमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्काले सहयोग गर्नुपर्छ भनेर गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड दिने निर्णय गरेका हौँ’, उनले भने । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन शनिबार नै औषधिसहित चिकित्सकको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री पाण्डेले बताए । मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकटसहित भूकम्पका घाइतको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष सुवेदीले लिए शपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ ग्रहण गरेका छन् । अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बाबुराम सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । सुवेदीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव पनि हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, कम्पनी सचिव हेमराज खरेल लगायतको उपस्थिति रहेको थियो ।