बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा
तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ । बाख्राको दूधबाट बनाइएको चीज आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाले यसको माग बढ्दै गएको हो । बाख्राको दूधमा ल्याक्टोजन नहुने र रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि अति उत्तम मानिन्छ । दूध र चीजका लागि पछिल्लो समय कृषकबाट सानन जातका बाख्राको माग अत्यधिक भइरहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए । बाख्राको दूधबाट बनेको चीज बाहिर सहरमा प्रतिकिलो रु तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको छ । सानन जातको बाख्रा तनहुँसहित बत्तीस जिल्लामा निर्यात र करिब बाइस जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको सो कार्यक्रमले जनाएको छ । पोखराको लेकसाइड र काठमाडौँका होटलमा चीजको राम्रै माग भइरहेको कार्यक्रम संयोजक राजु कँडेलले जानकारी दिए। याक र गाईबस्तुको दूधबाट बनेको चीजको तुलनामा बाख्राको दूधबाट बनेको चीज गुणस्तरिय र मिठो हुने भएकाले बाख्राकै दूधबाट बनेको चीज खोज्ने गरेको उनले बताए । पछिल्लो समय बाख्राको दूध र चीज प्रयोग गर्ने सर्वसाधारणकोसमेत सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एकपटकमा चार लिटरसम्म दूध दिने क्षमताको हुन्छ । उक्त कार्यालयमा अहिले दैनिक ४२ लिटर दूध उत्पादन हुँदै आएको छ । उक्त दूध सङ्कलन गरी चीज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको हो । कार्यालयले विसं २०७१ मा ५० माउ र सात बोका अष्ट्रेलियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान सुरु गरेको उनले बताए । अगुवा बाख्रा उत्पादक कृषकलाई पशु कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा हाल अनुसन्धानका लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायतका करिब पाँच सयको हाराहारीमा बाख्रा छन् । रासस
अर्बौं रकम जुट्दैछ भूकम्प पीडितका लागि
काठमाडौं । शनिबार राति जाजरकोट केन्द्र भएर गएको भूकम्पले पुर्याएको क्षतिमा उद्दार तथा राहतका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग उठ्न लागेको छ । आइतबार बिहानसम्म दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, निजी क्षेत्र, विभिन्न संघ-संस्था र व्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय सरकारले भूकम्प पीडितको खोज, उद्दार, राहत र व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ । सरकारले आइतबार बिहान मन्त्रीपरिषद्को बैठक बसेर मृतक भएका परिवारलाई तत्काल दुई लाख राहत र सम्पूर्ण घाइतेहरुलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । साथै सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्दार तथा राहतका लागि विभिन्न प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको छ । भूकम्पपीडितलाई राहतका लागि १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको नेपालका लागि चीनका राजदूत छेन सङले सामाजिक सञ्जालमा लेखेका छन् । बागमती प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारले भूकम्प पीडितलाई एक करोड ५० लाख/एक करोड पचास लाख सहयोग गर्ने निर्णय गरेका छन् । त्यस्तै, गण्डकी, सुदुरपश्चिम र कोशी प्रदेश सरकारले एक–एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । विभिन्न स्थानीय तहहरुले पनि भूकम्प प्रभावित क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेका छन् । पोखरा महानगरपालिकाले ५० लाख, डोटीको बोगटान फुड्सिल गाउँपालिकाले दुई लाख र तिलोत्तमा नगरपालिकाले १० लाख सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । त्यस्तै, डोल्पाको ठूलिभेरी, सिन्धुलीको घ्याङलेख, भोजपुरको पौवादुङ, सिन्धुुपलान्चोकका विभिन्न स्थानीय तह लगायत ठूलो संख्याका स्थानीय तहहरुले सहयोगको घोषणा गरेका छन् । त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठानहरुले पनि भूकम्प प्रभावितहरुलाई सहयोगको घोषणा गरेका छन् । बुद्ध एयरले एक करोड, कैलाश हेलिकप्टरले १० लाख, भाटभटेनी सुपरमार्केटले १ करोड ११ लाख र अर्ना बियरले २५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । निजी क्षेत्रबाट सञ्चालित बैंकहरु मध्ये अहिलेसम्म सिटिजन्स बैंकले २५ लाख र एनआइसी एशिया बैंकले ५१ लाख सहयोग गर्ने घोषणा गरेका छन् । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म निःशुल्क सेवा दिने निर्णय गरेको छ । भने एनसेलले ५० लाख रुपैयाँ सहयोग र ४० लाख रुपैयाँ बराबरको निःशुल्क ब्यालेन्स प्रदान गर्ने भएको छ । राजनीतिक दलहरुद्वारा पनि सहयोग घोषणा भूकम्प पीडितहरुलाई राजनीतिक दलहरुले पनि सहयोग गर्ने घोषणा गरेका छन् । जसमा नेपाली कांग्रेसले ५० लाख, नेकपा (एमाले)ले एक करोड र नेपाल कम्युनिष्ट पार्टीले एक लाख सहयोग गर्ने भएका छन् । त्यस्तै, नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ७ लाख सहयोग गर्ने भएको छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कोष स्थापना गर्ने जनाएको छ । भूकम्प पीडितलाई राष्ट्रिय सभाका अध्यक्ष देखि विभिन्न साांसदहरुले पनि आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने घोषणा गरेका छन् । विभाजित एनआरएनएका समूहले सहयोग गर्ने विभाजित अवस्थामा पुगेको एनआरएनएले पनि भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । जसमा आरके शर्मा समूहले २१ लाख र बद्री केसी समूहले १० लाख प्रदान गर्ने भएका छन् । साथै केसी समूहले एक करोड १० लाखको कोष निर्माण गर्ने घोषणा गरेको छ । त्यस्तै गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा व्यवसायी शेष घलेले सहयोग गर्ने घोषणा गरेका छन् । नेपाल क्रिकेट संघले टि ट्वान्टी एशिया छनोट अन्तर्गत टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । भूकम्प पीडितलाई संस्थागत तथा व्यक्तिगत रुपमा प्रत्यक्ष सहयोग गर्न नपाइने सरकारले भूकम्प पीडितलाई संस्था तथा व्यक्तिले प्रत्यक्ष रुपमा सहयोग गर्न नपाइने बताएको छ । आइतबार सिंहदरबारमा भएको मन्त्रीपरिषद्को बैठकले सरकारको माध्यमबाट एकद्वार रुपमा सहयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । अहिलेसम्म संघ, प्रदेश र स्थानीय सरकार, विभिन्न निकाय, निजी क्षेत्र, विभिन्न संघसंस्था र व्यक्तिहरुले घोषणा गरेको सहयोगको रकमलाई हेर्दा भूकम्प प्रभावितहरुको उद्दार र पुनःस्थापनाका लागि आन्तरिक रुपमा नै अबौं बराबरको रकम उठ्ने अनुमान गर्न सकिन्छ । साथै, अन्तर्राष्ट्रिय रुपमा छिमेकी मुलुक भारत, चीन, रुस, अमेरिका, पाकिस्तान लगायतले पनि भूकम्प प्रभावितहरुको सहयोग गर्ने आश्वासन दिएका छन् । सरकारले आवश्यक भरपर्दो र विश्वासिलो संयन्त्र बनाएर समयमा कोष निर्माणतर्फ लागेमा भूकम्पपीडितको पुर्नस्थापना सहज हुने अनुमान गर्न सकिन्छ ।
एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने घोषणा गरेको छ । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोगको घोषणा गरेको हो । ‘शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो । यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा यस बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ’, बैंकले विज्ञप्तीमा उल्लेख गरेको छ । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सका थप दुई शाखा विस्तार
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले थप दुई शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले काभ्रेको बनेपा र सुनसरीको इटहरीमा गरी २ वटा शाखा कार्यालय विस्तार गरेको जनाएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा कम्पनीले एकैपटक दुई शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार बनेपा शाखा शुक्रबार उद्घाटन गरि सञ्चालनमा ल्याएको हो । यस्तै, इटहरी शाखा भने आज आइतबारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ । यी दुई शाखासहित थप ४ ठाउँमा शाखा विस्तार गर्ने कम्पनीले जनाएको छ । सानो इन्स्योरेन्स, ठूलो केयर भन्ने नाराका साथ कम्पनीले आफ्नो सेवा देशभरि पुर्याइरहेको छ ।
तिहारमा भेटायोले ४५ सयमा घर झिलिमिलि बनाउँदै
काठमाडौं । काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घरमा ४५०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको हो । यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने कम्पनीले जनाएको छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काम , कीट नियन्त्रणमा समेत विशेष छुटको व्यवस्था गरिएको छ । यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ । तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेज एयर कन्डिसनर खरिद गर्दा ३००० हजार सम्मको विशेष छुट पाउन सकिन्छ । थप ‘दक्षिणा’ प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १० प्रतिशत छुट पाउन सकिन्छ साथसाथै खल्ती बाट भेटायोको बिल तिर्दा ५ प्रतिशत को क्यासब्याक पाउने छन् । भेटायोले धेरै विभिन्न संस्था तथा व्यक्तिहरूबाट ठूलो मान्यता र विश्वास कमाउन सफल भएको छ । यसले ३० दिनको सेवाको वारेन्टी दिने भएको कारण उचित मूल्यमा सेवाहरू प्रदान गर्दछ । दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सम्पर्क गर्न सकिन्छ ।
यी ३३३ जनाको लकर फोर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंकले ३३३ जनाको लकर आफैं फोर्ने भएको छ । बक्यौता शुल्क चुक्ता नगर्ने लकरधनीहरूको लकर फोर्ने बैंकले जनाएको छ । काठमाडौं बैंकिङ अफिसमा लकर लिएका ३३३ जना ग्राहकहरूले लामो समयदेखि नियमानुसार बुझाउनुपर्ने लकर शुल्क तिर्न बाँकी रहेको र सो रकम बुझाउन पटक-पटक पत्राचार गर्दा समेत नबुझाएपछि आफैं लकर फोर्ने बैंकले जनाएको छ । बैंकले लकर शुल्क तिर्न बाँकी रहेका ग्राहकहरुलाई ३५ दिनभित्र बक्यौता रकम भुक्तानी गरी आफ्नो लकर नियमित गर्न आग्रह गरेको छ । यदि सो समयमा पनि शुल्क नबुझाएमा सरकारी प्रतिनिधिहरूको रोहवरमा लकर फोडी नियमानुसार अगाडि बढ्ने बैंकले जनाएको छ । नेपाल बैंकका प्रवक्ता तथा सूचना अधिकारी प्रकाश कुमार अधिकारी विगत १० वर्षदेखि शुल्क नतिरि लकर मात्रै ओगट्ने ग्राहकहरुको सूचना सार्वजनिक गरेको बताउँछन् । ३५ दिनभित्र शुल्क तिरेमा लकर नियमित हुने र सो समयमा नतिरे नियमअनुसार मुचुल्का बनाएर राख्ने उनको भनाइ छ । साथै, लकर अरुलाई प्रयोग गर्न दिने उनले बताए । ‘सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आउन सक्छन्, यदि आएनन् भने सरकारी प्रतिनिधि, प्रहरी, वडा प्रतिनिधि लगायत सबैको रोहवरमा मुचुल्का बनाएर राख्छौं, लकरमा भएको सम्पत्ति तत्काल सरकारको नाममा जाँदैन, केही समय बैंकमा नै रहन्छ,’ उनले भने, ‘मुचुल्का बनाएर राखेको लकरको हकदावी गर्न आउनुस भनेर फेरी सार्वजनिक सूचना जारी गर्छाैं, त्यो सूचनामा पनि कोही आउनु भएन भने त्यसपछि सरकारको नाममा जान्छ ।’ कतिपय लकरधनीहरुको मृत्यु भएको हुने भएकाले इष्टमित्र वा आफन्तहरुले पनि सम्पर्क गर्न सक्ने उनले बताए । कतिपय लकरधनीहरुले परिवारको सदस्यलाई जानकारी नराएको हुन सक्ने उनको भनाइ छ । ‘लकरको शुल्क वार्षिक भुक्तानी गर्नु पर्छ, लकरको आकार हेरेर शुल्क निर्धारण गरिएको छ, बैंकसँग एक्स्ट्रा लार्ज ‘ए’, ‘बि’, ‘सी’ गरेर ४ क्याटागोरीका लकर छन्,’ उनले भने, ‘सबैभन्दा सानो ‘सी’ क्याटागोरी लकरको अनुमानित वार्षिक २५ सय, ‘बी’ क्याटागोरीको ५ हजार रुपैयाँ, ‘ए’ क्याटागोरको ७५ सय र सबभन्दा ठूलो लकरको २०/२५ हजार रुपैयाँसम्म शुल्क निर्धारण तोकिएको छ ।’ ग्राहकले साँचो हराउन सक्छ भनेर बैंकले धरौटी पनि लिएको हुन्छ । लकर भाडामा लिएपछि त्यसको एउटा चाबी ग्राहकले र मुख्य चाबी बैंकले आफैं राख्ने गरेका छन् । ग्राहकले लकरभित्र के र कति मूल्यका सामान राखे भनेर बैंकले हेर्न मिल्दैन । [pdf id=444761]
राष्ट्र बैंकले बेच्न थाल्यो १ लाखभन्दा बढी मूल्यका सुनका असर्फी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारबाट १ लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका असर्फी बेच्न थालेको छ । केन्द्रीय बैंकले तिहार लक्ष्य गरी विभिन्न तौलका सुनका असर्फी र चाँदीका सिक्का बेच्न थालेको हो । राष्ट्र बैंकका अनुसार २.५ देखि २५ ग्रामसम्मका सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) १ हजार ६ सय रुपैयाँदेखि १ लाख २ हजार ३ सय ६५ रुपैयाँसम्म बिक्री गर्न थालिएको हो । केन्द्रीय बैंकका अनुसार २.५ ग्रामका सुनको असर्फीको मूल्य २५ हजार ५ सय ९२ रुपैयाँ, ५ ग्रामको असर्फीको मूल्य ५१ हजार १ सय ८३ र १० ग्रामको असर्फीको मूल्य १ लाख २ हजार ३ सय ६५ रुपैयाँ तोकिएको छ । त्यसैगरी १० ग्राम चाँदीको सिक्का १ हजार ६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य तोकिएको छ । १० ग्राम चाँदीको सिक्कामा लक्ष्मी र गणेश र गजलक्ष्मी र गाई अंकित छन् भने २५ ग्रामको सिक्कामा गाई अंकित छ । सुनका असर्फी तथा चाँदीका सिक्का आगामी शुक्रबारसम्म बिक्री वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
भूकम्प पीडितलाई सांसद पौडेल र प्रदेशसभा सदस्य सुवेदीको एक महिनाको तलब
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । सांसद पौडेलले आइतबार विज्ञप्ति प्रकाशन गरी भूकम्पले पुर्याएकाे विपत्तिमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले संघीय सांसदका रूपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । उनले जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । त्यसैगरी, गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले पनि भूकम्प पीडितको सहयोगका लागि आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् । हिजो बागलुङमा उनले भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत तथा उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने जानकारी दिएका हुन् । बागलुङ क्षेन नम्बर १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले भूकम्पमा परेर घाइते भएकाहरुको यथोचित स्वास्थ्य उपचार र त्यसपछि राहातको व्यवस्था गर्न माग पनि गरे । उनले सो प्राकृतिक बिपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।