
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुई वर्षभित्र १० करोड रुपैयाँको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेका छन्।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै १ करोड रुपैयाँबराबरको सहयोग जम्मा भएको छ ।
जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसारभरिका नेपालीले दिल खोलेर सहयोग गरेको स्मरण गरे । उनले तीनै तहका सरकारसँग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडितलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए ।
उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५ सय ५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख, कृष्णजीवि पन्थले २ लाख १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
त्यस्तै उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही १ लाख रुपैयाँ प्रदान गर्ने जनाए ।
एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए ।
भूकम्प पीडितका लागि संसारभरिका एनआरएनहरुबाट सहयोग आउने क्रम जारी छ।