काठमाडौं । नेपाल बैंकले ३३३ जनाको लकर आफैं फोर्ने भएको छ । बक्यौता शुल्क चुक्ता नगर्ने लकरधनीहरूको लकर फोर्ने बैंकले जनाएको छ ।
काठमाडौं बैंकिङ अफिसमा लकर लिएका ३३३ जना ग्राहकहरूले लामो समयदेखि नियमानुसार बुझाउनुपर्ने लकर शुल्क तिर्न बाँकी रहेको र सो रकम बुझाउन पटक-पटक पत्राचार गर्दा समेत नबुझाएपछि आफैं लकर फोर्ने बैंकले जनाएको छ ।
बैंकले लकर शुल्क तिर्न बाँकी रहेका ग्राहकहरुलाई ३५ दिनभित्र बक्यौता रकम भुक्तानी गरी आफ्नो लकर नियमित गर्न आग्रह गरेको छ । यदि सो समयमा पनि शुल्क नबुझाएमा सरकारी प्रतिनिधिहरूको रोहवरमा लकर फोडी नियमानुसार अगाडि बढ्ने बैंकले जनाएको छ ।
नेपाल बैंकका प्रवक्ता तथा सूचना अधिकारी प्रकाश कुमार अधिकारी विगत १० वर्षदेखि शुल्क नतिरि लकर मात्रै ओगट्ने ग्राहकहरुको सूचना सार्वजनिक गरेको बताउँछन् । ३५ दिनभित्र शुल्क तिरेमा लकर नियमित हुने र सो समयमा नतिरे नियमअनुसार मुचुल्का बनाएर राख्ने उनको भनाइ छ । साथै, लकर अरुलाई प्रयोग गर्न दिने उनले बताए ।
‘सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आउन सक्छन्, यदि आएनन् भने सरकारी प्रतिनिधि, प्रहरी, वडा प्रतिनिधि लगायत सबैको रोहवरमा मुचुल्का बनाएर राख्छौं, लकरमा भएको सम्पत्ति तत्काल सरकारको नाममा जाँदैन, केही समय बैंकमा नै रहन्छ,’ उनले भने, ‘मुचुल्का बनाएर राखेको लकरको हकदावी गर्न आउनुस भनेर फेरी सार्वजनिक सूचना जारी गर्छाैं, त्यो सूचनामा पनि कोही आउनु भएन भने त्यसपछि सरकारको नाममा जान्छ ।’
कतिपय लकरधनीहरुको मृत्यु भएको हुने भएकाले इष्टमित्र वा आफन्तहरुले पनि सम्पर्क गर्न सक्ने उनले बताए । कतिपय लकरधनीहरुले परिवारको सदस्यलाई जानकारी नराएको हुन सक्ने उनको भनाइ छ ।
‘लकरको शुल्क वार्षिक भुक्तानी गर्नु पर्छ, लकरको आकार हेरेर शुल्क निर्धारण गरिएको छ, बैंकसँग एक्स्ट्रा लार्ज ‘ए’, ‘बि’, ‘सी’ गरेर ४ क्याटागोरीका लकर छन्,’ उनले भने, ‘सबैभन्दा सानो ‘सी’ क्याटागोरी लकरको अनुमानित वार्षिक २५ सय, ‘बी’ क्याटागोरीको ५ हजार रुपैयाँ, ‘ए’ क्याटागोरको ७५ सय र सबभन्दा ठूलो लकरको २०/२५ हजार रुपैयाँसम्म शुल्क निर्धारण तोकिएको छ ।’
ग्राहकले साँचो हराउन सक्छ भनेर बैंकले धरौटी पनि लिएको हुन्छ । लकर भाडामा लिएपछि त्यसको एउटा चाबी ग्राहकले र मुख्य चाबी बैंकले आफैं राख्ने गरेका छन् । ग्राहकले लकरभित्र के र कति मूल्यका सामान राखे भनेर बैंकले हेर्न मिल्दैन ।
[pdf id=444761]