भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक
काठमाडौं । प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टूको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित डकुमेन्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताए । अनुसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायी घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको एसएसपी राठौरले जानकारी दिए । ‘नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरूमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साइरस विशंखे, काठमाडौंका दीपक के.सी र सल्यानका बलबहादुर रावत छन्’,उनले भने । अनुसन्धानको क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जानकारी दिए । गिरोहले भिजिट भिषामा नक्कली कागजतामा पठाउने विषयमा कतिपय मानिसहरूलाई थाहा समेत नभएको पाइएको बताए। विदेश जानको लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको उनको भनाइ छ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र लगायत अन्य २९६ कागजातहरू बरामत गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक के.सी.ले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरू बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।
वडा सदस्यमा हारेका पद्माका श्रीमान सहकारीको अध्यक्षमा पनि पराजित
स्याङ्जा । स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएका नेकपा (एमाले) केन्द्रीय सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मिपति पौडेल सहकारीको निर्वाचनमा पुन: पराजित भएका छन् । स्याङ्जा जिल्लाकै ठूलो मध्यको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा भएको निर्वाचनमा पौडेल यामकान्त खनालसँग पराजित भएका हुन् । अध्यक्ष पदमा खसेको २६११ मतमा विजयी उम्मेदवार यामकान्त खनालले १५७१ मत ल्याएका थिए भने पराजित पौडेलले जम्मा ७१५ मत प्राप्त गरेका थिए । पछिल्लो समयमा अलोकप्रिय हुँदै गएका व्यक्तिलाई पार्टीले बोकेर निर्वाचन गराउँदा सो नतिजा आएको भन्दै एमाले कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विचार अभिव्यक्त गरेका छन् ।
विद्यालयमा ‘फोर्स मर्जर’को नीति आवश्यक छ : मेयर थपलिया
काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका नगर प्रमुख हुन् महेश थपलिया । खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायतका विषयलाई प्राथमिकता दिएर काम गरिरहेका मेयर थपलिया नगरपालिकाको विकासको लागि अहोरात्र खट्दै आएका छन् । दीर्घकालीन सोच र लक्ष्यलाई प्राप्त गर्ने गरी नगरपालिकाको प्रथम आवधिक नगर विकास योजनाले स्थापित गरेका विषयगत योजनालाई सबल र सफलरूपमा कार्यान्वयन गर्दै अघि बढेका थपलियाले गरेका कामको परिणाम क्रमिकरूपमा देखिरहेको छ । उनै नगरप्रमुख थपलियासँग नगर विकासका योजना, भएका कामको उपलब्धिलगायतका समसामयिक विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । तपाईं पालिकामा निर्वाचित भएर आउनुभएको डेढ वर्ष भयो, यो अवधिमा तपाईंले गर्नु भएको महत्वपूर्ण काम के हो ? डेढ वर्षको अनुभव कस्तो रह्यो ? हामी निर्वाचित भएर आएपछि खाँदबारी नगरपालिकामा केही न केही विकास भयो भन्ने महसुस भएको छ । नागरीकले पनि त्यो विषयको अनुभुति गर्नुपर्छ भन्ने मलाई लाग्छ । खानेपानीको सन्दर्भमा लिफ्ट सिचाईं योजना अघि बढाउनेदेखि खानेपानीको मुहान खरिद गर्नेसम्मका कार्य गरेका छौं । खाँदबारीमा हिजोको दिनमा पानीको जुन समस्या थियो, त्यसलाई हामीले न्यूनीकरण गरेका छौं । र, खानेपानीको महसुल पनि ५० प्रतिशत घटाएका छौं । पहाडमा सबैभन्दा ठूलो समस्याको विषय सडक हो । सडक निर्माण तथा विस्तारका लागि बजेट थप गर्यौं, टेन्डर गरी ठेक्का पनि लगाइयो केही सडकहरूलाई पिच गर्ने प्रक्रिया अगाडि बढाएका थियौं । तर, अहिलेसम्म त्यो काम ठेकदारबाट पूरा भई नसक्दा समस्या भएको छ । एकबाट अर्को छिमेकी पालिकाहरूसँग जोड्ने सडकहरू सुधार तथा मर्मत गर्ने काम भएका छन् । नगरले सडकको पिच गर्न नसके पनि यस पटकको बर्खामा गाडीको आवत जावत रोकिएन । किनभने हामीले सोही अनुरूपको सडक सुधारमा ध्यान दियौं । तपाईंले खाँदबारी नगरपालिकाभित्रको सबै ठाउँमा खानेपानी पुर्याउन ‘एक घर एक धारा’ अभियान सञ्चालन गर्नु भएको थियो, यो कार्यक्रमबाट कति नागरिक लाभान्वित भए ? हामीले २५ लाख रुपैयाँ लगानी गरेर खानेपानीको मुहान खरिद गरेका छौं । यो मुहान पाङ्मामा छ । खाँदबारीमा अहिलेले नै खानेपानीको समस्या भएको छैन । हामीले नागरिकलाई व्यवस्थित तरिकाले खानेपानी खुवाइरहेका छौं । एक द्वारबाट खानेपानी सञ्चालन गर्न नसकिरहेको अहिलेको अवस्था हो । माङसीमा खानेपानीको कामलाई पनि व्यवस्थित गरेर ‘एक घर एक धारा’ दिने र सबैमा एक द्धार सिस्टमबाट खानेपानी सञ्चालन गर्ने भन्ने हाम्रो योजना हो । हामीलाई माङसीमा खानेपानीलाई व्यवस्थित रूपमा यहाँ ल्याउनको लागि गाह्रो भइरहेको छ । उत्तर दक्षिण सडकमा १४ करोड रुपैयाँ बजेट छ । त्यो १४ करोडबाट नै त्यसलाई व्यवस्थित गरेर खानेपानी समिति मार्फत् त्यसलाई व्यवस्थित गर्यौं भने ‘एक घर एक घारा’ दिन सक्छौं । नगरभित्र ४ वटा लिफ्टीङ खानेपानी रहेको छ । अहिले नयाँ धारा जोडिएको छैन । ‘एक घर एक धारा’ मेरै कार्यकालभित्र पाउँछौं । सडक सञ्जालको विस्तार तथा विकासमा तपाईंले गरेको काम के हो, आफ्नो कार्य अवधिभित्र कति सडक कालोपत्रे वा विस्तार गर्ने लक्ष्य राख्नुभएको छ ? खाँदबारीमा धेरै जसो ठाउँमा सडकको ट्र्याक खुला गर्ने काम भइसकेको छ । थप केही ठाउँमा सडकका नयाँ ट्र्याक खोल्ने काम पनि भएका छन् । नयाँ ट्र्याक खुलाले मात्र राम्रो सर्भिस दिन सकेको छैन भने सडकलाई व्यवस्थित बनाउन सकिरहेका छैनौं । किनभने बजेट अभाव नै ठूलो समस्याको रूपमा देखा पर्यो । हामीले नगरपालिकाभित्रका सडकलाई दुई भागमा वर्गीकरण गरेका छौं । एउटा पालिका टु पालिका जोड्ने र अर्को वडा टु वडा जोड्ने सडकलाई दोस्रो प्राथमिकता दिएका छौं । अरू सडक तेस्रो प्राथमिकताभित्र पर्छन् । दशैं अगाडि नै हामीले सकेसम्म एक लट सडकलाई सुधार गरेका छौं । एक किलोमिटर सडक पिच गर्न झन्डै ३ करोड रुपैयाँ चाहिन्छ । उक्त रकम खर्च गरेर सडक पिच गर्न सक्ने अवस्था नगरको छैन । तथापि, अहिले खाँदबारीभित्र जति सडक सुधार भएको छ, पिचको प्रक्रिया सुरु भएको छ यो प्रक्रिया संखुवासभाका अन्य पालिकाभन्दा सडक सञ्जालको पहुँचमा अलिकति माथि नै छौं । किनभने यो खाँदबारी सदरमुकाम पनि हो । हामीले झन्डै १० करोड रुपैयाँ दायित्व तिर्नुपर्ने भयो । प्रशासकीय भवन, जेष्ठ नागरिक भवन, घिमिरे गाउँमा भएको कर्वड हललगायतका कामको दायित्व तिर्नुपर्यो । जसले गर्दा विकास बजेट चाहिँ छुट्याउन गाह्रो भयो । हाइड्रोपावरले दिएको मुआब्जा समयमा नपाएको र जग्गा मुल्याङकन कम भएको भन्ने नागरिकको गुनासो छ नि ? खाँदबारी नगरपालिकाभित्र ४ सय केवी प्रसारण लाइनको मुआब्जा रोकिएको छ । एउटा तल्लो अरुण मुआब्जाको विषय छ । पहुँच मार्ग छ्याङ कुटी दिदिङखण्डको मुआब्जा निर्धारण गरे पनि मुआब्जा नपाइरहेको अवस्था छ । यो तीनवटै विषयबाट खाँदबारी नगरपालिका प्रभावित छ । मुआब्जाको प्रक्रिया आरम्भ भइसकेको छ । मुआब्जा कम भएको भन्ने विषय पनि आएको छ । तल्लो अरुणको प्रारम्भिक अधिकारी छनोट नभएको कारणले काम अगाडि बढाउन सकिरहेका छैनौं । तल्लो अरुणको गिद्धेदेखि परसम्मको भाग जो अहिले सडक रहेको छ । सडक बनेको जग्गाधनीलाई पनि मुआब्जा पाउने व्यवस्था मिलाएका छौं । थप कति रकम उपलब्ध गराउने भनेर प्रारम्भिक वर्क आउट पनि गरेका छौं । ढिलो चाँडो भए पनि उहाँहरूले मुआब्जा भने पाउनुहुन्छ । स्वाभाविकरूपमा मान्छेहरूले बढी मुआब्जा पाउँ भन्ने अस्वाभाविक भएन । हामीले जनतालाई मारमा पारेर निर्णय गर्ने विषय हुँदैन । रोजगारीका लागि युवाहरू विदेशिने क्रम बढी छ । नगरभित्र रोजगारी सिर्जना गराउने, उत्पादन तथा व्यापार वृद्धि गर्ने काम के–के भएका छन् ? विदेश जाने मान्छेलाई रोक्न सक्छु, केही मान्छेलाई उद्यमी बनाउन सक्छु, कृषि, पशुपालन, तथा होटल व्यवसायमा युवालाई जोडेर उद्यमी बनाउन सक्छु भन्ने थियो । यस्ता थुप्रै विषयमा काम गर्न सक्छु भन्ने निर्वाचित भएपश्चात् लागेको थियो । तर, अहिले मान्छे विदेशी ट्रेन्ड बढ्दै गएको देखिन्छ । यस विषयमा काम गरे पनि काम नगरे जस्तो भयो । विदेशमा ३० हजार भन्दा घटी तल तलब कुनैले नदिने भए । त्यसमाथि उनीहरूको ओभर टाइम पनि हुन्छ । लगभग उसको आम्दानी विदेशमा सामान्य ५० हजार बढी हुने भयाे । कमाउनेले महिनामै २/३ लाख रुपैयाँ पनि विदेश गएर कमाइरहेका छन् । अनि यहाँ के गर्यो भने ५० हजार रुपैयाँ आम्दानी हुने अथवा ३० हजार रुपैयाँ के गरेर कमाउन सक्छन् भने विषय पहिचान गर्दै गयौं । त्यसको लागि उपयुक्त क्षेत्र कृषिलाई देख्यौं । त्यसको लागि हामीले पकेट क्षेत्रहरू छुट्याइ काम गरिरहेका छौं । अर्को विषय यहाँ राम्रो तरकारी उत्पादन गरेर पनि सहजरूपमा बेचबिखन गर्ने स्थान छैन । जति उत्पादन गरे पनि बिक्री हुन्छ भने आत्मविश्वास कृषकमा छैन । यो परिस्थितिको निर्माण गर्न हामीले पनि सकेका छैनौं । अरुण–३ जलविद्युत आयोजना आयो । त्यहाँ काम गर्ने कर्मचारीले यहाँको लोकल उत्पादन खान्छन् भनौं भने उनीहरूले भारतबाट ल्याएर तरकारी खाइरहेका छन् । यसलाई रोक्नको लागि अप्ठ्यारो छ । शैक्षिक गुणस्तर तथा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने काममा नगरपालिका कसरी काम गरिरहेको छ ? खाँदबारी नगरलाई विकास गर्नको लागि सबैभन्दा ठूलो विषय शैक्षिक क्षेत्रलाई देखेका छौं । शैक्षिक क्षेत्रको विकास तथा गुणस्तरका लागि नगर अहोरात्र लागिरहेको छ । प्राविधिक शिक्षा र प्राविधिक शिक्षालयको विकास हुनु पर्छ भनेर सुरु पनि गरेका छौं । प्राविधिक शिक्षा विद्यालयमा लागू गर्न पनि समस्या छ । विद्यालयमा विद्यार्थी संख्या पनि काम हुँदै गएका छन् । अर्को जहाँ पढाउने हो त्यहाँ पूर्वाधारको पनि कमी छ । यसलाई बिस्तारै सम्बोधन गरेर अगाडि बढ्दै छौं । हामी प्राविधिक शिक्षातर्फ उन्मुख हुँदै गइरहेका छौं । तपाईंले प्राविधिक शिक्षा तर्फ नगरका विद्यालय उन्मुख हुँदै गएको बताउनु भयो, तर अभिभावकले सरकारी विद्यालयको गुणस्तर दिनहुँ खस्किँदै गएको छ नि ? शिक्षाको गुणस्तर चाहेजस्तो भएन भन्ने अभिभावको गुनासो राम्रो छ । हामीले सकेसम्म शिक्षाको गुणस्तर वृद्धिमा काम गरिरहेका छौं । कक्षा अनुसारका विद्यार्थीको स्तर हुनुपर्यो । अहिलेको अवस्थामा विद्यालयहरू मर्ज तथा कतिपयलाई डाउन साइज गर्नुपर्ने अवस्था आएको छ । हिजो सबैले पढ्न पाउनुपर्छ भन्ने हेतुले १० वटा घर छन् भने पनि एउटा विद्यालय खोल्ने सिस्टमको विकास गर्यौं । अहिले हामी त्यसलाई धमाधम मर्ज गर्दैछौं । पहिले विद्यार्थीको जुन स्तर थियो । अहिले त्यो भन्दा माथि उठेको छ । कुनै–कुनै विद्यालयमा समस्या हुन पनि सक्छ । सुधार गर्दै हामी अगाडि बढ्ने छौं । स्थानीय तहमा योजना बिनाका आयोजना धेरै अगाडि बढेको र भ्रष्टाचार पनि मौलाएकाे सुनिन्छ, तपाईंको पालिकामा यो अवस्था छ कि छैन ? स्थानीय तहमा भ्रष्टाचार छैन भन्न सक्दिनँ । हुन सक्छ । योजनाहरू अगाडि बढाउँदा प्लान बनाएर नै अगाडि बढाएका छौं । धेरै पालिकाहरू आर्थिक अभावले काम गर्न सकेका छैनन् । गलत ठाउँमा पैसा लगानी गरेर दुरुपयोग गरेको अवस्था खाँदबारी नगरपालिकाकाे छैन । हामी पालिकाको आन्तरिक आम्दानी बढाउनको निमित्त पनि लागेका छौं । ३/४ करोडका नगरको आन्तरिक आम्दानीलाई ७ करोड पुर्याउने लक्ष्य लिएर काम गरिरहेका छौं ।
एक करोड ३१ लाख भ्रष्टाचार गरेको अभियोगमा सचिव अधिकारीविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७५र७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत किसानलाई कृषियन्त्र आपूर्ति गर्ने काममा भ्रष्टाचार भएको पाइएको जनाएको छ । सम्झौताविपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बद्नियत देखिएकाले आयोगले अनुसन्धान गरेको थियो । सो काममा एक करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध पनि समान बिगो दावी गरिएको छ । उनीहरुविरुद्ध एक करोड ३१ लख ६० हजार रुपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । रासस
लुम्बिनी विकास बैंकले चन्द्रज्योति माध्यामिक विद्यालयलाई दियो प्रिन्टर
काठमाडौं । लुम्बिनी विकास बैंकले चन्द्रज्योति माध्यामिक विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरेको छ । बैँकको देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा अवस्थित श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई १ थान प्रिन्टर हस्तान्तरण गरेको छ । सो प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैँकको तर्फबाट देविघाट शाखाका प्रमुख रमेश कुमार नेपाल, बट्टार शाखाका प्रमुख बिश्वम्भरमान सिंह डंगोल, ढिकुरे शाखाका प्रमुख सुर्य कुमार पण्डित र विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल र विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुको पनि उपस्थिती रहेको थियो । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहकरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
कर्मचारीको तलब काटेर भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने
चितवन । भरतपुर महानगरपालिकाले जाजरकोटसहितका जिल्लाका भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पु¥याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड जम्मा गर्ने निर्णय गरेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताइन् । प्रमुख दाहालका अनुसार भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गरिएको छ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुमलगायतका जिल्लाका धेरै कच्ची घर भत्किएका छन् भने मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामा क्षति पुगेको छ ।
सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने
काठमाडौं । सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावितका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख सहयोग गर्ने घोषणा गरेको हो । ‘शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) गहिरो दुःख व्यक्त गर्दछ’, सिबिफिनले विज्ञप्तीमा उल्लेख गरेको छ । भूकम्पका घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनाका लागि १० लाख रुपैया आर्थिक सहयोग गर्ने सिबिफिनले विज्ञप्ती मार्फत जनाएको छ । त्यस्तै प्रभावित क्षेत्रमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी आएको भन्दै सिबिफिनले राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्याउने मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । ‘विनाशकारी भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाईतेहरुको शिघ्र स्वाथ्यलाभको हार्दिक कामना व्यक्त गर्दछौं । साथै, दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं’, सिबिफिनले विज्ञप्तीमा उल्लेख गरेको छ ।
नेप्सेमा दोहोरो अंकको गिरावट, लाभांश घोषणा गरेकै दिन घट्यो ग्लोबल आइएमईको सेयर मूल्य
काठमाडौं । साताको पहिलो कारोबार दिन पुँजी बजार ओरालो लागेको छ । आइतबारको बजार सूचक दोहोरो अंकले घटेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ अंकले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको हो । आज दिनभरिमा २८९ कम्पनीको ३५ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ३२२ पटक खरिद बिक्री हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार एनआईसी एशिया लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । लघुवित्तको सेयर मूल्य ६.९७ प्रतिशत बढेर ६१४ रुपैयाँमा अन्तिम कारोबार भएको देखिन्छ । यस्तै, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ५.४७ प्रतिशत बढेर ७११.९० रुपैयाँ अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार हिमालयन लघुवित्तको सेयर मूल्य १० प्रतिशत घटेको छ । आइतबार वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आइतबार नबिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको सेयर प्रतिकित्ता ३०७.२० रुपैयाँमा १ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । यस्तै, आइतबार लाभांश घोषणा गरेको ग्लोबल आइमएई बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य २.४३ प्रतिशत घटेर प्रतिकित्ता २०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । तर, बैंकको सेयर कारोबार भने ३ करोड १७ लाख ७९ हजार रुपैयाँको भएको नेप्सेको तथ्याङ्क छ ।