काठमाडौं । प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टूको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित डकुमेन्टका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताए ।
अनुसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायी घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको एसएसपी राठौरले जानकारी दिए ।
‘नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरूमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साइरस विशंखे, काठमाडौंका दीपक के.सी र सल्यानका बलबहादुर रावत छन्’,उनले भने ।
अनुसन्धानको क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको जानकारी दिए । गिरोहले भिजिट भिषामा नक्कली कागजतामा पठाउने विषयमा कतिपय मानिसहरूलाई थाहा समेत नभएको पाइएको बताए।
विदेश जानको लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको उनको भनाइ छ ।
प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र लगायत अन्य २९६ कागजातहरू बरामत गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक के.सी.ले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरू बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ ।