मुग्लिन पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो
दमौली । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ । उनले भने, ‘यस खण्डमा ‘अस्फाल्ट प्रविधि’मा कालोपत्र सुरु गरिएको छ । सडक आवागमनलाई सहज बनाउन अहिले एकतर्फी मात्रै काम भइरहेको छ ।’ यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो । आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको जनाइएको छ । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३६ प्रतिशत काम सकिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यस खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने सुस्त छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस
प्राइम कमर्सियल बैंकले भूकम्प पीडितलाई २५ लाख ५१ हजार सहयोग गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति बेहोर्नु परेको अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आर्थिक सहयोग घोषणा गरेको हो । कम्पनी सचिव राजकुमार कार्कीले जारी गरेको विज्ञप्तिमा तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने जनाइएको छ ।
ग्लोबल आइएमई बैंकको डीसीईओमा सुमन पोखरेल नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंकको डीसीईओमा नियुक्त गरेको हो । यसअघि उनी आइएमई ग्रुपको बरिष्ठ उपाध्यक्षको भूमिकामा थिए । उनले यसअघि आईएमई रेमिटमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । उनले डिसहोमका प्रबन्ध निर्देशक समेत सम्हालिसकेका छन् । उनी रेमिटर्स एसोशिएसनको पूर्व अध्यक्ष समेत हुन् । उनले यसअघि नेपाल व्यवस्थापक संघको उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् । बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका उनीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ । उनीसँग एभरेष्ट बैंकमा पनि काम गरेको अनुभव छ । उनीसँग ग्लोबल आइएमई बैंक र नेपाल इन्फ्राष्ट्रक्चर बैंक को सञ्चालक समिति सदस्य भएर बैंकको नेतृत्व गरेको अनुभव पनि छ । वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल ब्यवस्थापकको रुपमा उनी परिचित छन् । नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पून: आवद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए । ‘बैंक ठूलाे छ, अब यसलाई अब्बल बनाउनुपर्छ’ उनले विकासन्युजसँग भने । यस बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य छन् भने बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र राज रेग्मी रहेका छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।
१६औँ योजनाका लागि दैश दौडाहामा योजना आयोग, सदस्यको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ । कसको नेतृत्वमा कुन प्रदेश ? आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते आज र भोलि २१ गते बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ । यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार यि दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए । प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।
बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग
गलकोट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले तीन लाख ७५ हजार र छ गाउँपालिकाले दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य सङ्घ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य सङ्घ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताए । भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य सङ्घमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा सङ्कलन गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । बारबर्दियाद्वारा पाँच लाख सहयोग बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि पाँच लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट पाँच लाख २५ हजार दिने निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायतका कार्यमा सहयोग पुर्याउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिए । रासस
गणित विज्ञानमा महिलालाई आकर्षित गर्न सम्मेलन
काठमाडौं । गणित विषयका ज्ञान आदान–प्रदान गर्ने र सो विषयमा महिलाको आकर्षण बढाउने उद्देश्यले काठमाडौंमा आयोजित तीनदिने सम्मेलन आइतबार सम्पन्न भएको छ । गणित विज्ञानमा नेपाली महिला नामक संस्थाको आयोजनामा भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, फ्रान्स र नेपालका गरी ५८ जना महिला गणित शिक्षक एवं विद्यार्थीको सहभागिता थियो । सम्मेलनमा गणितका विविध पक्षलाई समेटेर ३९ वटा कार्यपत्र प्रस्तुत भएको संस्थाका कार्यसमिति सदस्य सुस्मिता पाठकले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले नेपालमा गणित विषयप्रति देखिएको निरासाले शैक्षिक उन्नयनमा क्षति पुर्याउने भएकाले समयमै राज्यको ध्यान जानुपर्ने बताए । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले पनि गणित शिक्षामा आकर्षण घटेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा हुने यस्ता सम्मेलनले गणितप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरे । सम्मेलन आयोजक संस्थाका अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले गणित विषयमा महिलालाई आकर्षित गर्न र गणित विषय सिक्ने–सिकाउने सिलसिलामा विश्वमा विकास भएका नवीन पद्धतिबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको बताइन् । गणित विषयका शिक्षकहरू संस्थागतरुपमा एकताबद्ध हुँदा अनुभव आदान–प्रदान हुने र विश्वमा भएका विकासबारे जानकारी हुने अध्यक्ष थापाले बताइन् । आगामी दिनमा गणित विषयमा महिलालाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिइन् ।
फूलको व्यापारमा रम्दै स्थानीय तह, आत्मनिर्भर बन्दै कृषक
काठमाडौं । विगतका वर्षहरुमा धरानले छिमेकी देश भारतबाट फूल ल्याएर तिहारको गर्जो टार्थ्याे । वार्षिकरूपमा २ करोड रुपैयाँ बढीको फूलको उपभोग गर्ने धरान यसपालि भने आफैंले रोपेको फूल घाँटीमा पहिराउने सोचमा छ । त्यसको अभियान थालेका हुन् धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले । उनले धरानका विभिन्न ठाउँमा फूल रोप्ने अभियान नै सुरु गरे । अहिले धरानका अधिकांश ठाउँ फूलले ढकमम्क छन् । खासगरी मेयर राईले निशाने डाँडाको सार्वजनिक जग्गामा फूल रोपेका थिए । उनले धरान नगरवासीलाई यसपटक आफैंले रोपेको फूल प्रयोग गर्न पनि आव्हान गरेका थिए । यतिसम्म कि उनले धरानमा फूलको आयातसमेत रोक्ने उद्घोष गरेका थिए । धरान उपमहानगरका उपप्रमुख अईन्द्र विक्रम बेघा अहिले धरानका भिर पाखा फूलले ढकमक्क भएको बताउँछन् । ‘भिर पाखामा फूल रोपेका थियौं, हामीले रोपेको फूलले धरानभित्र उपयोग गर्ने पुग्छ कि भन्ने विश्वास छ, तिहार निजिकिँदै गर्दा फूलले थप रौनक थपको छ,’ उनले खुसी हुँदै भने । यस्तै, तिहारमा बढी फूल उपभोग गर्ने सहर धनगढी पनि हो । धनगढी उपमहानगरपालिकाले पनि आफैंले फूल खेती गरेको छ । उपमहानगरले १५ कट्ठा जमिनमा ‘प्रदर्शनी प्लट’ भन्दै फूल खेती गरेको छ । उक्त जमिनमा अनुमानित २० क्विन्टल फूल फुल्नसक्ने धनगढी उपमहानगरका कृषि अधिकृत लोकेन्द्र सिंह बताउँछन् । अधिकृत सिंहका अनुसार उपमहानगरको राजस्व समितिले उत्पादन भएको फूल बिक्री गर्ने निर्णय गरेको छ । ‘उपमहानगरले बेच्नकै लागि भनेर फूलको उत्पादन गरेको भने होइन, कसरी उत्पादन गर्न सकिन्छ भनेर किसानहरूलाई डेमो देखाउन उत्पादन गरेको हो , तर अहिले राम्रो उत्पादन भएपछि बेच्ने निर्णय भएको छ, समितिले फूल बिक्री गर्ने पनि निर्णय गरेको छ,’ उनले भने । उपमहानगरले स्थानीय तथा हाइब्रिड जातका फूलहरू रोपेको छ । धनगढी उपमहानगरभित्र व्यवसायिक रूपमा अहिले २६ जनाले फूल खेती गरेको पनि सिंहले बताए । ‘फूल खेती गर्ने संख्या धेरै होलान् । तर, २६ जना कृषकले करिब ८०/८५ कट्ठा जमिनमा विभिन्न प्रकारका फूल रोप्नुभएको छ,’ उनले भने । यस वर्ष उपमहानगरभित्र मात्र करिब २० टन फूल उत्पादन हुने अनुमान गरिएको सिंहको भनाइ छ । उपमहानगरले कृषकलाई फूल रोप्ने, फूलबाट सजावटका सामाग्री बनाउने, माला डेकुरेसनको तालिम पनि दिँदै आएको छ । उपमहानगरले नेपाल फ्लोरिकल्चर एसोसिएसनकासँग समन्वय गरेर बढी उत्पादन भएको फूल सो एसोसिएसनमार्फत् बिक्री गर्ने तयारी पनि गरेको छ । धनगढीमा यस पटक बाहिरबाट फूल आयात नगरेर यतैको फूलले धान्ने उनको भनाइ छ । तिहारको अवधिमा धनगढीभित्र उत्पादन भएको फूल धनगढीमै खपत हुने पनि सिंहले बताए । ‘एक बोट फूल उत्पादन गर्नको लागि कृषकको बढीमा ३० रुपैयाँसम्म लगानी हुन्छ, एउटा बोटबाट दुई मालामात्र फूल उत्पादन भयो भने करिब दुई सय रुपैयाँ बिक्री हुन्छ । एउटा बोटबाट कृषकलाई सय डेढ सय रुपैयाँ मुनाफा आउँछ,’ उनले भने । घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले उपमहानगरभित्र फूल खेती प्रतिवर्ष विस्तार भइरहेको बताए । उनका अनुसार कृषकहरूलाई फूल खेती प्रोत्साहन गर्ने काम उपमहानगरले गरिरहेको पनि बताए । ‘यहाँका अधिकांश कृषकले आफ्नो लागि फूल आफै उत्पादन गरेका छन्, केही कृषकले व्यावसायिकरूपमा नै फूल खेती गरेका छन्, व्यावसायिकरूपमा फूल खेती गर्ने कृषकहरूले एक डेढ लाख रुपैयाँको फूल बिक्री गर्ने अनुमान गरेका छौं,’ उनले भने । घोराही उपमहानगरले तिहारमा प्लास्टिक फूलको आयात तथा बेचबिखनमा रोक लगाउने उनले बताए । उनले कृषकलाई फूल रोप्नका लागि उपमहानगरले बिउ, बिरुवा तथा दल दिएको पनि बताए । उपत्यका आसपासका जिल्लाहरूमा पनि फूलको बढी मात्रामा व्यावसायिक खेती हुने गरेको पाइन्छ । यस्तै, तनहुँको आँबूखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले गाउँमा पुग्ने फूल गाउँमै उत्पादन भएको बताउँदै पालिकामा बाहिरबाट आयात गरेर ल्याउनु नपर्ने बताइन् । गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीहरूले पढ्दै कमाउँदै भन्ने उद्देश्यसहित फूल खेती गरेको पनि अर्यालले बताइन् । अर्यालका अनुसार धेरै विद्यालयका विद्यार्थीहरूले यसपटक पर्याप्त फूलको उत्पादन गरेका छन् । ‘यहाँका आमा समूहहरू र विद्यार्थीहरूले पनि फूल पनि उत्पादन गरेका छन्, यी फूलले पनि तिहारलाई विशेष बनाउने छ,’ उनले भनिन् । यसको अगुवाई पालिकाले गरेको उनको भनाइ छ । तिहार नजिकिएसँगै किसानहरूलाई फूल टिप्न तथा आकर्षक माला बनाई बजारमा पठाउन भ्याइनभ्याई हुन थालेको छ । फूलको मूल्य २७ प्रतिशतले बढ्ने यस वर्ष विगतका वर्षको तुलनामा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको भएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूलको मूल्य २७ प्रतिशतले बढ्ने बताए । ‘गत वर्ष १०० रुपैयाँको हाराहारीमा सयपत्री मालाको कारोबार भएको थियो । यो वर्ष एक सय २५ देखि एक सय ५० रुपैयाँसम्म पर्ने देखिएको छ,’ उनले भने । अध्यक्ष तामाङले मखमली फूल यही उत्पादन हुने भएकाले यसको मूल्य नबढ्ने पनि बताए । ‘तिहारको लागि यसपटक भारतबाट १५/२० प्रतिशत फूल आउँदैछ, हामीलाई त्यतिनै आवश्यक छ,‘ उनले भने, ‘नाफा कमाउने उद्देश्यले व्यापारीहरुले भारतबाट फूल धेरै ल्याएको र अवैधरूपमा फूल आएको भन्ने चर्चा छ, यसका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने छौं,’ उनले भने । भारतबाट आवश्यकताभन्दा बढी फूल आयात भयो भने यहाँको फूल बिक्री नहुने सम्भावना रहेको बताउँदै तामाङले भारतबाट बढी आयात भयो भने फूलको मूल्य सस्तो हुन सक्ने पनि बताए । तामाङका अनुसार तिहार अवधिभरि ३५ लाख मालाको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएको बताइएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितलाई १० लाख सहयोग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख सहयोग गर्ने भएको छ। आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत उद्दारले तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख सहयोग गर्ने भएको हो । गत कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ ।