विकासन्युज

कामना सेवाको वार्षिकोत्सवमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १७औं वर्षमा प्रवेशको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । बुटवल-भैरहवा-सुनौली सडकखण्डका विभिन्न स्थानमा ती बोर्ड राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको उपस्थितिमा सम्पन्न कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुसाललगायतका कर्मचारीको सहभागिता थियो । त्यस्तैगरी, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरी कार्यालय वालिङलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । वालिङ क्षेत्रका विभिन्न स्थानमा ती बोर्ड राखिने बैंकले जनाएको छ । बैंकका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद गौतमले ती बोर्ड ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् । बैंकको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुटवल हिलपार्कस्थित कामना सेवा पार्कमा सरसफाइ कार्यक्रम गरिएको छ । स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रवर्धन गर्दै आएको छ । सरसफाइ कार्यक्रममा बुटवल क्षेत्रका कर्मचारीको उपस्थिति थियो । बैंकले १७औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा १७ कार्यक्रम गरिरहेको छ । बैंकले शुक्रबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । कार्यक्रम बिहीबारसम्म हुने बैंकले जनाएको छ ।

प्रिज्मार्क मार्केटिङले मनायो २८ औं वार्षिकोत्सव

काठमाडौं । प्रिज्मार्क मार्केटिङले २८ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले अग्रगामी उत्कृष्टतासहित एकीकृत मार्केटिङ सञ्चार क्षेत्रको नेतृत्व गर्दै २८ वर्ष पुरा गरेको हो । बहुराष्ट्रिय निगम, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रहरू सहित ग्राहकहरूको एक विस्तृत श्रृंखला माझ उत्कृष्ट सिर्जनात्मक कार्य र अद्वितीय सेवाको लागि प्रसिद्धि कमाएको प्रिज्मा मार्केटिङले एकीकृत मार्केटिङ एजेन्सीको रूपमा २८ वर्ष मनाएको हो । २८ वर्षको यात्रा, आफ्ना विविध ग्राहकहरूलाई नवीन र प्रभावकारी मार्केटिङ समाधानहरू प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको प्रिजमार्क मार्केटिङका कार्यकारी निर्देशक पंकज प्रधानले बताए । ‘यसको श्रेय हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान ग्राहकहरूको अटुट समर्थनलाई जाँदछ,’ उनले भने । आफ्नो बृहत् कार्यकालभरी, प्रिज्मार्क मार्केटिङले उद्योगको गतिशील आवश्यकताहरू पूरा गर्न  मार्केटिङ रणनीतिहरूको विकासशील परिदृश्यमा निरन्तर रुपमा रूपान्तरण गर्दै नवीन दृष्टिकोणहरू अँगाल्दै आएको छ । यस उपलब्धिले प्रिज्मार्क मार्केटिङको उत्कृष्टता, निरन्तर वृद्धि र एकीकृत मार्केटिङ कम्युनिकेसनको क्षेत्रमा अतुलनीय सेवाहरू प्रदान गर्ने अटल प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ । २८ वर्षको अनुभवको साथ, प्रिज्मार्कले ग्राहकहरूलाई सफलता प्रदान गर्ने अग्रगामी रणनीतिहरू जारी राख्ने लक्ष्य राखेको छ ।

पच्चिस प्रतिशतले बढ्यो खाद्यान्न आयात

काठमाडौं । चालुु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) खाद्यान्न आयात २५.३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार तीन महिनामा २५ प्रतिशतले बढेर १९ अर्ब ९४ करोड ५३ लाख नौ हजार रुपियाँको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २६ करोड २१ लाख दुई हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । चालु आवको पहिलो महिनादेखि नै खाद्यान्न आयात बढ्दै गएको छ । बजारमा खाद्यान्नको माग बढेसँगै आयातमा वृद्धि भएको हो । स्थानीय उत्पादनले माग धान्न नसक्नु र खाने बानीमा आएको परिवर्तनका कारण खाद्यान्नको आयात बढ्ने गरेको हो । गत आवमा भारतले चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसी (प्रतीतपत्र) मा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको थियो । विभागको तथ्याङ्क अनुसार तीन महिनामा दुई अर्ब ६२ करोड ९० लाख ६९ हजार रुपियाँको तीन करोड ४८ लाख दुई हजार केजी मकै आयात भएको छ । यस्तै तीन महिनामा दुई अर्ब ९२ करोड ९० लाख ५२ हजार रुपियाँको तीन करोड ९८ लाख ५४ हजार रुपियाँको धान आयात भएको तथ्याङ्क छ । दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपियाँ बराबरको ७३ लाख ५२ हजार ६६८ केजी चामल आयात भएको छ । यस्तै ६४ करोड ४८ लाख ९४ हजार रुपियाँको एक करोड ५८ लाख ६७ हजार केजी गहुँ आयात भएको छ । ६० लाख ८१ हजार रुपियाँको जौ, २४ करोड ५३ लाख रुपियाँको कोदो, ५३ लाख ४० हजार अन्य अनाज आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा खाद्यान्न आयात हुने गर्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आवमा धान उत्पादन ६.९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको छ । खाद्यान्न ९चामल, मकै, गहुँ, कोदो, फापर० प्रतिव्यक्ति प्रतिवर्ष करिब १८१ केजी आवश्यकता पर्नेमा यस हिसाबले चामल उपभोग प्रतिव्यक्ति प्रतिवर्ष १२१ केजी पुग्ने देखिएकामा नेपालमा औसत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी उपभोग भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आवश्यकता वार्षिक ४० लाख मेट्रिक टन रहेकामा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले अझै वार्षिक चार लाख ८० हजार मेट्रिक टन चामल कमी देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले माग अनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन । भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ । गोरखापत्रबाट ।

भूकम्प पीडित भन्दछन् : अहिलेसम्म राहत पाएको छैन

जाजरकोट । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन् । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्यो । उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ । शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ । शेरबहादुरले भने ‘मैले अहिलेसम्म राहत पाएको छैन ।’ घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमै बस्नुपरेको छ । कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनले बताए । उनले दुखेसो पोखे,’सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग पाएको छैन ।’ त्यस्तै नलगाड नगरपालिकामा सात हजारभन्दा बढी पालको आवश्यक पर्ने भए पनि हालसम्म मुस्किलले दुई सय ५० मात्र पुगेको जनाइएको छ । नगरपालिकाको योजना शाखाका प्रमुख नारायण खत्रीले पालको आवश्यकता भएको बताए । एकद्वार प्रणालीको नाममा सदरमुकाममा राहत सामग्री थन्क्याएर राख्ने तर पालिकासम्म नदिँदा पीडितले राहत पाउन नसकेको अवस्था रहेको जनाइएको छ । नलगाड नगरप्रमुख डम्बर रावतले भने, ‘नगरपालिकाले सक्ने काम गरिरहेको छ, हाम्रो क्षमताभन्दा बाहिर हामी कसरीसक्छौँ ।’ नलगाड नगरपालिकाको १ देखि ७ वडासम्म भूकम्पले धेरै क्षति पु¥याएको छ । तीन दिन बित्न लाग्दासम्म पीडितलाई त्रिपालसम्म पाउन सकिएको छैन नलगाड नगरपालिका–६ कि किशोर रावलले गुनासो गरे । “मिडियामा राहत व्यापक आयो भन्ने छ, तर यहाँ केही पुगेको छैन । हामी हल्लाले बाँच्ने होइन बरु, मर्ने सम्भावना बढ्यो ।” अहिलेसम्म नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार ६८ घाइते भएको र ५४ जनाको मृत्यु भएको जनाइएको छ । भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा भए पनि नलगाड नगरपालिकामा बढी क्षति हुन पुगेको छ । भूकम्प पीडित बस्तीमा सञ्चार सेवासमेत प्रभावकारी नहुँदा काम गर्न निकै मुस्किल भएको नगरप्रमुख रावतले बताए । धेरै पटक टावर माग गरियो तर अहिलेसम्म सुनुवाइ नभएको उनको भनाइ छ । त्यस्तै भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका–१ रामीडाँडा सिर्पाचौर बस्तीका ५१ वर्षीय दलबहादुर घर्ती शुक्रबार मध्यरातको मिठो निद्रामा थिए । त्यही राति ११ः४७ मा रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पको झट्काले दलबहादुरसँगै सिङ्गो बस्तीको निद्रा बिथोलियो । भूकम्पको कम्पन नसकिँदै दलबहादुर जोगाउन झ्यालबाट हाम फालेर भागेको सुनाए । परिवारका सबै सदस्य कताबाट बाहिरिए आफूलाई अत्तोपत्तोसमेत नभएको उनको भनाइ छ । वर्षौंदेखि बसिआएको पुर्खौली घर एकाएक तहसनहस भयो । भूकम्पको केन्द्रविन्दु रामीडाँडा क्षेत्रका अधिकांश बासिन्दाको अवस्था दलबहादुरको जस्तै छ । केन्द्रविन्दु भएर पनि मानवीय क्षति भएको छैन । भौतिक क्षति पनि जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटको भन्दा कम छ । बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा कम क्षति भएको बताए । ‘केन्द्रविन्दु नजिकैको बस्ती सिर्पाचौरमा भूकम्पबाट सात जना घाइते भएका छन् । त्यसमध्ये अवस्था गम्भीर भएका तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ’ । अध्यक्ष गिरीले भने, ‘घर ढलेका छैनन् भनेर हेर्ने हो भने क्षति कम छ । तर कुनै पनि घर बस्न लायक छैनन् । अहिले यहाँ करिब एक हजार घर परिवार विस्थापित भएका छन् । उनीहरूको व्यवस्थापन मुख्य चुनौती हो ।’ उनले करिब एक सय वटा घर पूर्णरुपमा भत्केका र चारभन्दा बढी घर चर्किएका बताए । ‘यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ’, उनले भने, ‘घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो ।’ भूकम्पले घरमा चिरा पारेपछि बारीको कान्लामा टालेको पुरानो पाल टाँगेर रात कटाइरहेकी ६१ वर्षीया रामकुमार घर्तीले बताए । ‘हामीलाई त्रिपालको समस्या छ । गाई राति नै वनतिर धपाइदियौँ । अहिले बाख्रा कहाँ राख्ने भन्ने समस्या भएको छ’, उनले भने, ‘आफू त पाल टाँगेर बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।’ उनी जस्तैजस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जङ्गलतिर धपाएका छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र खाना बनाएर खान्छन् र त्यहीँभित्र निदाउँछन् । बारम्बार भूकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । उद्धारकर्मीले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरिसकेका छन् । तर जाजरकोटकै नलगाड र रुकुम पश्चिमको आठविसकोटलगायत क्षेत्रमा क्षति धेरै भएकाले उद्धारकर्मी त्यतै केन्द्रित भएका छन् । मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका रामीडाँडाका प्रभावित अहिले राहत र पुनः स्थापनाको प्रतीक्षामा छन् । हालसम्मको भूकम्पबाट जाजरकोटमा एक सय पाँच जनाको मृत्यु भइसकेको छ । भौतिक संरचनाको क्षतिको विवरण अझै आउन सकेको छैन । रासस

घोराही उपमहानगरपालिकाद्वारा १५ लाख सहयोग

  घोराही । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।

प्रिमियम मूल्यमा सेयर निष्काशन रोक्न माग गर्दै लगानीकर्ता पुगे संसदीय समितिमा

काठमाडौं । लगानीकर्ताहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन् । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै लगानीकर्ताहरुले सार्वजनिक लेखा समितिमा उजुरी दिएका हुन् । लगानीकर्ताहरुले बोर्ड अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल लगायतले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको आरोव लगाएका छन् । आईपीओ जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर प्रचलित कानून बमोजिम हदैसम्म कारबाही हुने गरि निर्देशन जारी गर्न उजुरी दिएको लगानीकर्ताहरुले बताएका छन् । सार्वजनिक लेखा समितिमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रियाका विषयमा उजुरी परेपछि समितिले सेबोन, प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । ‘कम्पनीको आईपीओ निष्काशन प्रक्रियाका बारेमा उजुरी परेको छ, सार्वजनिक रुपमा प्रश्न समेत उठेका छन्, त्यसैले सेबोन र बीमा प्राधिकरणलाई केही प्रश्नसहित ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेका हौं,’ विकासन्युजसँग भने ।

सर्वाेत्तम सिमेन्टले एकैपटक ६४ वटा सवारी बेच्दै, मूल्य ३५ हजार रुपैयाँ

काठमाडौं । सर्वाेत्तम सिमेन्टले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनी चालू अवस्थामा रहेका ६४ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौं महानगरपालिका ३२, तिनकुनेस्थित केन्द्रीय कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ । गोप्य शिलबन्दी मार्फत बिक्री हुने प्रत्येक सवारी साधनको न्यूनतम मूल्य ३५ हजार रुपैयाँ तोकिएको छ ।

भूकम्प पीडितलाई भारतले दियो १६ करोड रुपैयाँको राहत सामग्री

काठमाडौं । भारत सरकारले जाजरकोट भूकम्प पीडितका लागि १६ करोड रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज १६ करोड रुपैयाँबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो । आइतबार हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गरेका हुन् । आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ ।