काठमाडौं । विगतका वर्षहरुमा धरानले छिमेकी देश भारतबाट फूल ल्याएर तिहारको गर्जो टार्थ्याे । वार्षिकरूपमा २ करोड रुपैयाँ बढीको फूलको उपभोग गर्ने धरान यसपालि भने आफैंले रोपेको फूल घाँटीमा पहिराउने सोचमा छ । त्यसको अभियान थालेका हुन् धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले ।
उनले धरानका विभिन्न ठाउँमा फूल रोप्ने अभियान नै सुरु गरे । अहिले धरानका अधिकांश ठाउँ फूलले ढकमम्क छन् । खासगरी मेयर राईले निशाने डाँडाको सार्वजनिक जग्गामा फूल रोपेका थिए । उनले धरान नगरवासीलाई यसपटक आफैंले रोपेको फूल प्रयोग गर्न पनि आव्हान गरेका थिए । यतिसम्म कि उनले धरानमा फूलको आयातसमेत रोक्ने उद्घोष गरेका थिए ।
धरान उपमहानगरका उपप्रमुख अईन्द्र विक्रम बेघा अहिले धरानका भिर पाखा फूलले ढकमक्क भएको बताउँछन् । ‘भिर पाखामा फूल रोपेका थियौं, हामीले रोपेको फूलले धरानभित्र उपयोग गर्ने पुग्छ कि भन्ने विश्वास छ, तिहार निजिकिँदै गर्दा फूलले थप रौनक थपको छ,’ उनले खुसी हुँदै भने ।
यस्तै, तिहारमा बढी फूल उपभोग गर्ने सहर धनगढी पनि हो । धनगढी उपमहानगरपालिकाले पनि आफैंले फूल खेती गरेको छ । उपमहानगरले १५ कट्ठा जमिनमा ‘प्रदर्शनी प्लट’ भन्दै फूल खेती गरेको छ । उक्त जमिनमा अनुमानित २० क्विन्टल फूल फुल्नसक्ने धनगढी उपमहानगरका कृषि अधिकृत लोकेन्द्र सिंह बताउँछन् ।
अधिकृत सिंहका अनुसार उपमहानगरको राजस्व समितिले उत्पादन भएको फूल बिक्री गर्ने निर्णय गरेको छ । ‘उपमहानगरले बेच्नकै लागि भनेर फूलको उत्पादन गरेको भने होइन, कसरी उत्पादन गर्न सकिन्छ भनेर किसानहरूलाई डेमो देखाउन उत्पादन गरेको हो , तर अहिले राम्रो उत्पादन भएपछि बेच्ने निर्णय भएको छ, समितिले फूल बिक्री गर्ने पनि निर्णय गरेको छ,’ उनले भने ।
उपमहानगरले स्थानीय तथा हाइब्रिड जातका फूलहरू रोपेको छ । धनगढी उपमहानगरभित्र व्यवसायिक रूपमा अहिले २६ जनाले फूल खेती गरेको पनि सिंहले बताए । ‘फूल खेती गर्ने संख्या धेरै होलान् । तर, २६ जना कृषकले करिब ८०/८५ कट्ठा जमिनमा विभिन्न प्रकारका फूल रोप्नुभएको छ,’ उनले भने ।
यस वर्ष उपमहानगरभित्र मात्र करिब २० टन फूल उत्पादन हुने अनुमान गरिएको सिंहको भनाइ छ । उपमहानगरले कृषकलाई फूल रोप्ने, फूलबाट सजावटका सामाग्री बनाउने, माला डेकुरेसनको तालिम पनि दिँदै आएको छ ।
उपमहानगरले नेपाल फ्लोरिकल्चर एसोसिएसनकासँग समन्वय गरेर बढी उत्पादन भएको फूल सो एसोसिएसनमार्फत् बिक्री गर्ने तयारी पनि गरेको छ । धनगढीमा यस पटक बाहिरबाट फूल आयात नगरेर यतैको फूलले धान्ने उनको भनाइ छ ।
तिहारको अवधिमा धनगढीभित्र उत्पादन भएको फूल धनगढीमै खपत हुने पनि सिंहले बताए । ‘एक बोट फूल उत्पादन गर्नको लागि कृषकको बढीमा ३० रुपैयाँसम्म लगानी हुन्छ, एउटा बोटबाट दुई मालामात्र फूल उत्पादन भयो भने करिब दुई सय रुपैयाँ बिक्री हुन्छ । एउटा बोटबाट कृषकलाई सय डेढ सय रुपैयाँ मुनाफा आउँछ,’ उनले भने ।
घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले उपमहानगरभित्र फूल खेती प्रतिवर्ष विस्तार भइरहेको बताए । उनका अनुसार कृषकहरूलाई फूल खेती प्रोत्साहन गर्ने काम उपमहानगरले गरिरहेको पनि बताए ।
‘यहाँका अधिकांश कृषकले आफ्नो लागि फूल आफै उत्पादन गरेका छन्, केही कृषकले व्यावसायिकरूपमा नै फूल खेती गरेका छन्, व्यावसायिकरूपमा फूल खेती गर्ने कृषकहरूले एक डेढ लाख रुपैयाँको फूल बिक्री गर्ने अनुमान गरेका छौं,’ उनले भने ।
घोराही उपमहानगरले तिहारमा प्लास्टिक फूलको आयात तथा बेचबिखनमा रोक लगाउने उनले बताए । उनले कृषकलाई फूल रोप्नका लागि उपमहानगरले बिउ, बिरुवा तथा दल दिएको पनि बताए । उपत्यका आसपासका जिल्लाहरूमा पनि फूलको बढी मात्रामा व्यावसायिक खेती हुने गरेको पाइन्छ ।
यस्तै, तनहुँको आँबूखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले गाउँमा पुग्ने फूल गाउँमै उत्पादन भएको बताउँदै पालिकामा बाहिरबाट आयात गरेर ल्याउनु नपर्ने बताइन् । गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीहरूले पढ्दै कमाउँदै भन्ने उद्देश्यसहित फूल खेती गरेको पनि अर्यालले बताइन् ।
अर्यालका अनुसार धेरै विद्यालयका विद्यार्थीहरूले यसपटक पर्याप्त फूलको उत्पादन गरेका छन् । ‘यहाँका आमा समूहहरू र विद्यार्थीहरूले पनि फूल पनि उत्पादन गरेका छन्, यी फूलले पनि तिहारलाई विशेष बनाउने छ,’ उनले भनिन् । यसको अगुवाई पालिकाले गरेको उनको भनाइ छ ।
तिहार नजिकिएसँगै किसानहरूलाई फूल टिप्न तथा आकर्षक माला बनाई बजारमा पठाउन भ्याइनभ्याई हुन थालेको छ ।
फूलको मूल्य २७ प्रतिशतले बढ्ने
यस वर्ष विगतका वर्षको तुलनामा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको भएको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूलको मूल्य २७ प्रतिशतले बढ्ने बताए । ‘गत वर्ष १०० रुपैयाँको हाराहारीमा सयपत्री मालाको कारोबार भएको थियो । यो वर्ष एक सय २५ देखि एक सय ५० रुपैयाँसम्म पर्ने देखिएको छ,’ उनले भने ।
अध्यक्ष तामाङले मखमली फूल यही उत्पादन हुने भएकाले यसको मूल्य नबढ्ने पनि बताए । ‘तिहारको लागि यसपटक भारतबाट १५/२० प्रतिशत फूल आउँदैछ, हामीलाई त्यतिनै आवश्यक छ,‘ उनले भने, ‘नाफा कमाउने उद्देश्यले व्यापारीहरुले भारतबाट फूल धेरै ल्याएको र अवैधरूपमा फूल आएको भन्ने चर्चा छ, यसका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने छौं,’ उनले भने ।
भारतबाट आवश्यकताभन्दा बढी फूल आयात भयो भने यहाँको फूल बिक्री नहुने सम्भावना रहेको बताउँदै तामाङले भारतबाट बढी आयात भयो भने फूलको मूल्य सस्तो हुन सक्ने पनि बताए ।
तामाङका अनुसार तिहार अवधिभरि ३५ लाख मालाको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएको बताइएको छ ।