विकासन्युज

तीन महिनामा डेढ खर्ब बढ्यो बैंकको निक्षेप, ६७.३ प्रतिशत कर्जामा घर जग्गा धितो

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले डेढ खर्ब रुपैयाँ निक्षेप संकलन बढाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले २.८ प्रतिशत अर्थात् १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन वृद्धि गरेका हुन् । गत वर्षको सोही अवधिमा ०.४ प्रतिशत अर्थात् २२ अर्ब ६९ करोड रुपैयाँ मात्रै निक्षेप बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा असोजमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको हो । कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २६.७ प्रतिशत र ५९.० प्रतिशत थियो । कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा संस्थागत निक्षेपको हिस्सा ३७ प्रतिशत थियो । साथै, गत असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह २.३ प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब ३ करोड रुपैयाँ बढाएका छन् । गत वर्षको सोही अवधिमा १.३ प्रतिशत अर्थात् ५९ अर्ब ११ करोड कर्जा बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको छ । गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको हिस्सा ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको हिस्सा ३६.९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैंकहरुको १.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ । असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत वर्षको असोजमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६६.७ प्रतिशत रहेको थियो । तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.० प्रतिशतले, नगद प्रवाह कर्जा १५.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १५.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.१ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३९.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), र हायर पर्चेज कर्जा १८.५ प्रतिशतले घटेको छ ।

आशा जगाउने आर्थिक सूचकाङ्क

काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै हल्ला चलाएपनि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक स्थिति ठिकठाक रहेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोजमसान्त्सम्म अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै छन् । अर्थतन्त्र मन्दीतर्फ उन्मुख रहेको भन्दै सबै त्रसित र चिन्तित बनेका बेला राष्ट्र बैंकको तथ्याङ्कले भने त्यस्तो नरहेको देखाएको हो । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र समस्यामा रहेको बताउँदै आएका छन् । तर, राष्ट्र बैंकको तथ्याङ्कले भने चिन्तित बन्नु पर्ने अवस्था नरहेको देखाएको हो । मूल्यवृद्धि १ प्रतिशत घट्यो राष्ट्र बैंकको तथ्याङ्क अनुसार मूल्यवृद्धि १ प्रतिशत घटेर ७.५० प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा ८.५० प्रतिशत मूल्यवृद्धि थियो । असोजसम्म खाद्य तथा पेय पदार्थ समूहको ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ६.८१ प्रतिशत मूल्यवृद्धि रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको ३७.६३ प्रतिशत, चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले मूल्यवृद्धि बढेको छ । घ्यू तथा तेलको ११.६१ प्रतिशतले घटेको छ । त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जनको १५.५५ प्रतिशत, वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ । विदेशी मुद्रा १२ महिनालाई धान्ने चालु आर्थिक वर्षको असोजसम्म विदेशी मुद्राको सञ्चिति ६.७ प्रतिशत बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । विदेशी वस्तु आयातमा कडाई र वैदेशि रोजगारीमा जानेको संख्या बढेका कारण विदेशी मुद्रा सञ्चिति बढेको देखिन्छ । गत वर्षको सोही अवधिमा विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर मात्रै थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको १४ खर्ब ३३ अर्ब ३६ करोड छ भने बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । तीन महिनाको आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति १ खर्ब र चालु खाता ५९ अर्ब बचत असोजसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्व ५९ करोड रुपैयाँ कायम थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाख रुपैयाँले धनात्मक थियो । ३ महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो तीन महिनाको अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा ३० प्रतिशत वृद्धि भई ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो । आयात १.७ प्रतिशत वृद्धि हुँदा निर्यात २.३ प्रतिशतले घट्यो तीन महिनामा आयात १.७ प्रतिशत वृद्धि हुँदा निर्यात २.३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यात २.३ प्रतिशत घटेर ४० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ३५.७ प्रतिशतले निर्यातमा कमी आएको थियो । सबैभन्दा धेरै भारतमा ९.४ प्रतिशत निर्यात घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, कुल वस्तु आयात १.७ प्रतिशत बढेर ४ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँको आयात भएको तथ्याङ्क छ । वस्तु आयात गरिने मुलुकमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकतर्फको आयात २२.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम।एस।विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । यस्तै, कुल वस्तु व्यापार घाटा २.१ प्रतिशत वृद्घि भई ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशत घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो । सरकारको खर्च ३ खर्ब मात्रै, खातामा पौने २ खर्ब रुपैयाँ सरकारले तीन महिनाको अवधिमा पौने ३ खर्ब रुपैयाँ खर्च गरेको छ । तथ्याङ्क अनुसार असोजसम्म २ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कलाई आधार मान्दै सरकारी खर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा भने ०.९ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खर्च २ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ, पँुजीगत खर्च १७ अर्ब ८३ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब १९ अर्ब १२ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व १ खर्ब ९९ अर्ब ४६ करोड र गैर कर राजस्व १९ अर्ब ६५ करोड रुपैयाँ परिचालन भएको छ । सरकारको खातामा पौने २ खर्ब रुपैयाँ मात्रै नगद जम्मा रहेको तथ्याङ्क छ । असोजसम्म राष्ट्र बैंकमा सरकारका विभिन्न खातामा १ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।

होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा गोकुल लामिछानेले जिते दस लाख

काठमाडौं । होण्डाको ‘दशैँमा दस लाख’ उपहार योजनामा ठिमीका गोकुल लामिछानेले दस लाख जितको छन् । होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका छन् । मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट बाइक खरिद गरेका लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेका हुन् । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको छ । यसका साथै, १०,००० सम्मको थप स्क्रयाच कुपन र १२,५०० रुपैयाँबराबरको ५ बर्षको एयमसि प्याकेज पनि जित्न सकिने ‘चुज योर स्कीम’ योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित हुनुभएको कम्पनीले बताएको छ । ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. २५ हजार देखि रु. २ लाख सम्मको पुरस्कार जितिसकेका छन् । यो बर्ष होण्डाले ‘रु.१ मा फाइनान्स योजना’ र ’बिग बाइक’ किन्दा रु. १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।

३ वटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजना, मन्त्रिपरिषदले गर्यो २५ निर्णय

फाइल फोटो काठमाडौं । सरकारले विराटनगर, मुलपानी र भरतपुरको क्रिकेट रंगशलालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्ने सहित २५ वटा निर्णय गरेको हो । मन्त्रिपरिषद्ले एशियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिव १३ अर्ब २६ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने र गणतन्त्र पोर्चुगलका लागि नेपाली राजदुत पदमा पाल्पाका शनिल नेपाल नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाल र कतारबीचको युवा तथा खेलकुद सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र जैविक विविधता एवं प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँचऔंले लगायतका अन्य जडिबुटी तथा रुख प्रजातिहरुको संकलन, कटान, उपोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा प्रतिवन्ध लगाउने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । साथै, पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गठित विज्ञ समूहको सुझावसहितको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने, मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने लगायत २५ वटा निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

म्याग्दीमा टिम्मुर खेती विस्तार, विदेशमा निर्यात हुने

गलेश्वर । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् । जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यवसायीकरुपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिए । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका कृषक टिम्मुर खेतीमा आकर्षित भएका उनले बताए । सापकोटाका अनुसार म्याग्दीका किसानले एकल तथा सामूहिकरुपमा हरेक वर्ष टिम्मुर खेती विस्तार गरिरहेका छन् । बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धौलागिरि गाउँपालिकामा टिम्मुर खेती विस्तार भएको उनको भनाइ थियो । कृषकलाई उपयोगी हुने पुस्तकसमेत बजारमा ल्याउनुभएका सापकोटाले जिल्लामा वार्षिक करिब तीन हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको जानकारी दिए । आधुनिक औजारको प्रयोगले उत्पादन बढ्नुका साथै समय पनि व्यवस्थापन भएको उनको भनाइ थियो । जिल्लामा २० समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताए । करीब एक सय ५० घरधुरीले टिम्मुर खेती गरिरहेका उनले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै टिम्मुर उत्पादन हुने गाउँको रुपमा चिनिएको तोरिपानीका कृषक यतिबेला टिम्मुर टिपेर सुकाउन व्यस्त छन् । असोज र कात्तिकमा टिम्मुरको फल टिप्ने गरिन्छ । म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी नगरपालिका-३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताए । उनका अनुसार गाउँबाटै प्रतिकिलो रू एक हजार छ सयदेखि रू दुई हजारसम्ममा बिक्री हुने गरेको छ । उनले नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्रीसमेत गर्दै आएका छन् । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रू २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिए । टिम्मुर खेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय विरुवासहित प्राविधिक सहयोग गरिएको सङ्घले जनाएको छ । तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्ला बाहिर बिक्री हुने गरेको छ । एक कृषकले छ केजीदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् । जिल्लामा कृषकले पहिलोपटक टिम्मुर प्रशोधन गर्ने औजार ल्याएका सापकोटाले बताए । तोरिपानीका निलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेका जनाउँदै त्यसका लागि वन कार्यालयले रू १० लाख अनुदान दिएको उनले बताए । प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ब्राण्डलाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ । रासस

फाइनाइन्समा पहिलाेपटक गोर्खाज फाइनाइन्सले ल्यायो भिजा डेबिट कार्ड

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ३०आाैं वार्षिकोत्सवका अवसरमा भिजा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । संस्थाका अथ्यक्ष डेकिन्द्रकुमार राईले केन्द्रीय कार्यलय डिल्ली बजार काठमाडौंमा एक कार्यक्रमबीच भिजा डेबिट कार्डको उद्घाटन गरे । उक्त कार्यक्रममा गोर्खाज ग्रुपका अध्यक्ष पुरन्जन राई, उपाअध्यक्षद्वय यादवचन्द्र राई तथा टिकाराम सुनुवार, सञ्चालक कर्णबहादुर राई तथा कल्पना खापुङ्गलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएकाे थियाे । रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीलगायतका ४३ जना रक्तदाताले रक्दातन गरेका थिए । गोर्खाज फाइनान्स भिजा डेबिट कार्ड सुरुवात गर्ने पहिलो फाइनाइन्स कम्पनी बनेको छ । गोर्खाज फाइनाइन्सको डेबिट कार्डमार्फत ग्राहकरूले भिजा एटिएमबाट सजिलै कारोबार गर्न सक्नेछन । हालसम्म गोर्खाज फाइनाइन्सको एटिएम सुविधा लिने करिब ६५ सय ग्राहक छन् । त्यसैगरी वार्षिकोत्सवकै अवसरमा संस्थाको नारायणनगढ शाखाबाट कात्तिक २४ गतेदेखि लकर सेवा पनि सञ्चालनमा ल्याएको छ । संस्थाको हालसम्म सातै प्रदेशमा २६ वटा शाखा रहेका छन् ।

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यसैगरी, उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार)हरुबाट १५ दिनको पारिश्रमिक, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सोसरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सोसरहको कर्मचारीबाट पा“च दिन र राजपत्राङ्कित वा सोसरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्राइम बैंकले हस्तान्तरण गर्‍यो भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री

काठमाडौं । प्राइम कमर्सियल बैंकले जाजरकोट जिल्लाका भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ जिल्ला विपद व्यवस्थापन समितिको कार्यालय जाजरकोटले प्राप्त गर्ने गरी चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल २५ बोरा (५०० थान) नगर कार्यपालिकाको कार्यालय, छेडागाड नगरपालिका, कार्कीगाउँ, जाजरकोटमा शुक्रबार बुझाएको बताएको छ । कम्पनीले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको पनि बताएको छ । साथै उसले गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गरेको छ ।