काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै हल्ला चलाएपनि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक स्थिति ठिकठाक रहेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोजमसान्त्सम्म अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै छन् ।
अर्थतन्त्र मन्दीतर्फ उन्मुख रहेको भन्दै सबै त्रसित र चिन्तित बनेका बेला राष्ट्र बैंकको तथ्याङ्कले भने त्यस्तो नरहेको देखाएको हो । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र समस्यामा रहेको बताउँदै आएका छन् । तर, राष्ट्र बैंकको तथ्याङ्कले भने चिन्तित बन्नु पर्ने अवस्था नरहेको देखाएको हो ।
मूल्यवृद्धि १ प्रतिशत घट्यो
राष्ट्र बैंकको तथ्याङ्क अनुसार मूल्यवृद्धि १ प्रतिशत घटेर ७.५० प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा ८.५० प्रतिशत मूल्यवृद्धि थियो । असोजसम्म खाद्य तथा पेय पदार्थ समूहको ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ६.८१ प्रतिशत मूल्यवृद्धि रहेको छ ।
यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको ३७.६३ प्रतिशत, चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले मूल्यवृद्धि बढेको छ । घ्यू तथा तेलको ११.६१ प्रतिशतले घटेको छ ।
त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जनको १५.५५ प्रतिशत, वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ ।
विदेशी मुद्रा १२ महिनालाई धान्ने
चालु आर्थिक वर्षको असोजसम्म विदेशी मुद्राको सञ्चिति ६.७ प्रतिशत बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । विदेशी वस्तु आयातमा कडाई र वैदेशि रोजगारीमा जानेको संख्या बढेका कारण विदेशी मुद्रा सञ्चिति बढेको देखिन्छ । गत वर्षको सोही अवधिमा विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर मात्रै थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको १४ खर्ब ३३ अर्ब ३६ करोड छ भने बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । तीन महिनाको आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थिति १ खर्ब र चालु खाता ५९ अर्ब बचत
असोजसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्व ५९ करोड रुपैयाँ कायम थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाख रुपैयाँले धनात्मक थियो ।
३ महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो
तीन महिनाको अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा ३० प्रतिशत वृद्धि भई ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो ।
आयात १.७ प्रतिशत वृद्धि हुँदा निर्यात २.३ प्रतिशतले घट्यो
तीन महिनामा आयात १.७ प्रतिशत वृद्धि हुँदा निर्यात २.३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यात २.३ प्रतिशत घटेर ४० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ३५.७ प्रतिशतले निर्यातमा कमी आएको थियो । सबैभन्दा धेरै भारतमा ९.४ प्रतिशत निर्यात घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, कुल वस्तु आयात १.७ प्रतिशत बढेर ४ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँको आयात भएको तथ्याङ्क छ । वस्तु आयात गरिने मुलुकमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकतर्फको आयात २२.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम।एस।विलेट लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
यस्तै, कुल वस्तु व्यापार घाटा २.१ प्रतिशत वृद्घि भई ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशत घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो ।
सरकारको खर्च ३ खर्ब मात्रै, खातामा पौने २ खर्ब रुपैयाँ
सरकारले तीन महिनाको अवधिमा पौने ३ खर्ब रुपैयाँ खर्च गरेको छ । तथ्याङ्क अनुसार असोजसम्म २ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ खर्च गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कलाई आधार मान्दै सरकारी खर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा भने ०.९ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खर्च २ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ, पँुजीगत खर्च १७ अर्ब ८३ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब १९ अर्ब १२ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व १ खर्ब ९९ अर्ब ४६ करोड र गैर कर राजस्व १९ अर्ब ६५ करोड रुपैयाँ परिचालन भएको छ ।
सरकारको खातामा पौने २ खर्ब रुपैयाँ मात्रै नगद जम्मा रहेको तथ्याङ्क छ । असोजसम्म राष्ट्र बैंकमा सरकारका विभिन्न खातामा १ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।