तिहारमा मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए । मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गरे । उनले भने, ‘पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बाँदल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहनेछ ।’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहेको जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तापक्रम घट्दैः चिसो बढ्दै पछिल्ला दिनमा क्रमिकरुपमा तापक्रम घट्दै गएकाले आगामी दिनमा चिसो बढ्दै जाने महाशाखाले पूर्वानुमान गरेको छ । ‘तापक्रम क्रमिक रुपमा घट्दै गएको छ । चिसो बढिरहेको छ’, मौसमविद् अधिकारीले भने । तापक्रम अझै घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौंको अधिकतम तापक्रम २३ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।
स्टार्टअप एण्ड इनोभेशन प्रतिनिधि र उद्योगमन्त्री रिजालबीच भेटवार्ता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप एण्ड इन्नोभेशन प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । बुधबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको महासंघ स्टार्टअप तथा इन्नोभेशन फोरमका सभापति जूना माथेमाले भेटका क्रममा स्टार्टअप नेशन २०३० लाई सफल पार्नका लागि फोरमले अपनत्व गरेका रणनीतिक योजना मन्त्री रिजाल समक्ष पेस गरेको गरिन् । भेटमा प्रतिनिधिमण्डलले देशको ठूलो हिस्सा ओगटेको युवा र नवयुवा उद्यमीका नवीनतम सोचको महत्व र प्रभावलाई बुझेर स्टार्टअप नीति, स्टार्टअप धितो कोष सञ्चालन कार्यविधि २०८० आदिको कार्यान्वयन गर्ने प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिएको थियो । उक्त भेटका क्रममा मन्त्रीले रणनीतिक योजना पूरा गर्न मिलेर काम गर्ने प्रतिबद्ध जनाएको बताइएको छ । भेटमा देशको समग्र आर्थिक, सामाजिक र दिगो विकासमा स्टार्टअप तथा नवप्रवर्तनको महत्वपूर्ण भूमिका रहेकाले सहकार्यलाई सुव्यवस्थित गर्नेे रणनीतिबारे छलफल गर्नुका साथै रणनीतिक योजनाको दुई पेजर मन्त्रीलाई हस्तानतरण समेत गरिएको थियो । उक्त भेटमा स्टार्टअप प्रवद्र्धनका सम्बन्धमा अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रभु महालक्ष्मी लाइफले भुकम्प पीडितलाई गर्यो १० लाख सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरेको हो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । उक्त रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको इन्स्योरेन्सले जनाएको छ ।
शिक्षाको नाममा बाहिरिने रकममा दोब्बरले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शिक्षाको नाममा विदेशीने रकमको मात्रामा दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शिक्षाको नाममा विदेशीने रकम ३२ अर्ब ९२ करोड पुगेको हो । प्रतिवेदनअनुसार अघिल्लो वर्षमा सोही अवधिमा शिक्षाको नाममा १७ अर्ब ८९ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो । चालु आर्थिक वर्षको तीन महिनामा शिक्षा, भ्रमण लगायतका क्षेत्रमा खर्च बढ्न पुगेको छ । प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद सेवा आय २९ अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई १७ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई रु.५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २९ अर्ब ४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।
२६३ कम्पनीमा ७ खर्ब ७३ अर्ब रूपैयाँ लगानी, पुँजीकरण २८ खर्ब ६१अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा रु.३२ अर्ब ३ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब ५४ करोड बराबरको बोनस शेयर र रु.१ अर्ब २० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३५ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, रु.२ अर्ब ३३ करोड बराबरको साधारण शेयर र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.९ अर्ब १३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । यस अवधिमा मार्जिन प्रकृतिको कर्जा ६.२ प्रतिशतले बढेको छ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असोज मसान्तमा सूचीकृत ७ अर्ब ८४ करोड शेयरको चुक्ता मूल्य रु.७७२ अर्ब ९० करोड रहेको छ । २०७९ असोज मसान्तमा १८५८.३३ रहेको नेप्से सूचकाङ्क २०८० असोज मसान्तमा १८६४.६२ कायम भएको छ । २०८० असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.२८६१ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असोज मसान्तमा बजार पुँजीकरण रु.२६७२ अर्ब ७९ करोड रहेको थियो । २०८० असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्। २०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २४२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।
मुटुरोग विशेषज्ञ डा ओममूर्तिद्वारा विश्व रेकर्ड कायम
काठमाडौं । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिए । ‘गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु’, उनले भने, ‘यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ ।’ असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई नौ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए । डा ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् । उनले यो दोस्रो पटक विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए । सन् २०१३–१४ मा इमेज एफएम १०३ दशमलव ६ मेगाहर्जबाट अतिथि वक्ताका रुपमा लगातार ४४ सातामा ‘मुटु स्वास्थ्य जागरुकता’ रेडियो कार्यक्रममा अतिथि वक्ताको रूपमा भाग लिगेका थिए ।
रिलायबल नेपाल लाइफद्धारा भुकम्प पिडीतलाई पाचँँ लाख बराबरको सहयोग
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुकम्प पिडीतका लागि पाचँँ लाख रुपैयाँ बराबरको न्यानो कमल सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गर्न समेत कम्पनीले अपिल गरेको छ । कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्प र त्यसपछि आइरहेको लगातारको पराकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका क्षेत्रहरूमा हुन गएको मानवीय र भौतिक क्षतिको खबरले कम्पनी दुखी भएको छ । भूकम्पमा परि ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी घाइते भएकाहरूलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले उक्त सहयोग गरेको हो ।
अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई
काठमाडौं । अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए)को उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानले बधाई दिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का सल्लाहकारसमेत रहेका पोखरेललाई इप्पानले एक कार्यक्रम बयोजना गरी सम्मान पत्र सहित बधाई तथा शुभकामना दिएको हो । इप्पानमा आयोजित कार्यक्रममा इप्पान अध्यक्ष गणशे कार्कीले पोखरेललाई सम्मानपत्र प्रदान गर्दै नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउनको लागि पोखरेलले अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्ने विश्वसा व्यक्त गरे । पोखरेलले आईएचएमा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको ऊर्जा क्षेत्र र यस क्षेत्रको छाता संगठन इप्पानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने इप्पानको अपेक्षा रहेको उनले सुनाए । उपाध्यक्ष पोखरेलले आईएचएको प्लेटफर्म इप्पानका लागि समेत प्रयोग गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जलविद्युत लगायतका हरित ऊर्जामा लगानीको लागि गन्तव्य मुलुक बनाउन सक्दो पहल गर्ने बताए । उनले इप्पान र आईएचको सहकार्यमा ऊर्जा क्षेत्रमा काम गर्ने समेत प्रतिवद्धता जनाए । आईएचएको साधारणसभामा नेपालको जलविद्युत लगायतका ऊर्जा क्षेत्रमा लगानीको लागि सहि समय छ भन्ने सन्देश दिएको र नेपालको बारेमा सुन्दा उनीहरु निकै उत्साहित भएको पनि पोखरेलले बताए । उनले २०२५ को साधारणसभा युरोपमा हुने र त्यतिबेला नेपालबाट थप व्यक्तिहरु बोर्डमा जानेगरी तयारी गर्न इप्पान पदाधिकारीहरुलाई आग्रह गरे । उनले २०२७ मा हुने साधारण सभा नेपालमा गर्नको लागि अहिले देखि नै लागि पर्ने पनि बताए । नेपाल लगानीका लागि राम्रो छ भनेर मात्रै नहुने भन्दै साँच्चै विदेशी लगानीकर्ता ल्याउने हो भने यो यो कारणले नेपाल उत्तृकष्ट छ भनेर जानुपर्ने पोखरेलको धारणा छ । आईएचएमा जलविद्युत उत्पादनमा सक्रिए विश्वका १२० देशका जलविद्युत प्रवर्द्धक, उपकरण उत्पादक, कन्सलट्यान्ट लगायत यस क्षेत्रमा सक्रिय विभिन्न कम्पनीहरुहरु सदस्य रहन्छन् । आईएचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरु मात्र सदस्य रहेका छन् । आईएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तान लगायतका २८ देशको प्रतिनिधित्व गरेर आईएचएको बोर्ड उपाध्यक्ष हुने पोखरेल एक्ला व्यक्ति हुन् ।