विकासन्युज

फूडमान्डुले मनायो १३औं वार्षिकोत्सव

काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो कोहिको लागि पहिलो रोजाई हुन सफल भएको छ । यस अवसरमा बोल््दै फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले भने, ‘फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ हामीले आजभन्दा १३ वर्ष अगाडि फूडमान्डुको शुरुवात गरेका थियौँ । आजको दिनसम्म हाम्रा प्रयोगकर्ताहरूले दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ । हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुर्रयाउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरुप्रति हामी आभारी छौँ ।’ यसै गरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले भने, ‘फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको छ, जुन हामी सबैको लागि महत्वपूर्ण कोशेढुंगा हो । हाम्रो यो कोसेढुङ्गासम्म ल्याइपुर्याउनुहुने हाम्रा ग्राहकहरुलाई धन्यवाद दिनको लागि हामीले ‘टिन इयर म्याजिक’ अफर ल्याएका छौँ । यो अफर अन्तर्गत हामीले कम्बोमा ५१५ सम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५५ सम्म फ्ल्याट छुट सहित विभिन्न अफरहरू प्रदान गरिरहेका छौँ । यसका साथै हामीले वार्षिकोत्सवको दिनमा अर्थात कार्तिक २५ मा प्रत्येक अर्डरमा प्रोमो कोड ‘टिन इयर म्याजिक’ को प्रयोगमा थप १३ प्रतिशत छुट पनि दिइरहेका छौँ । हाम्रो वार्षिकोत्सवलाई अझ उत्साहपूर्ण बनाउन हामीले विभिन्न रेष्टुरेन्टहरूबाट निःशुल्क मिठाईहरू पनि प्रदान गर्दैछौँ । साथै मःमः,चिकेन विङ्ग जस्ता अर्डरहरुमा ३ पिस थप गरेर १३ पिस प्रदान गर्दैछौँ । यससँगै नोभेम्बरको अन्त्यसम्म हरेक दिन विभिन्न सरप्राइज अफरहरू पनि छन् ।’ फुडमाण्डुले विभिन्न चरणहरुमा लगानी संकलन गर्न सफल भएको छ । सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गर्न सफल भएको थियो भने सन् २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो । झण्डै ४० लाख डलरको अहिलेसम्मको सबैभन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको थियो । सुरुवाती दिनहरुमा केवल १० मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कलमार्फत नै अर्डर दिन्थे। तर आजको दिनमा ९५५ अर्डरहरू फूडमान्डुको मोबाइल एप मार्फत आउँछ, जुन अहिलेसम्म ५,००,००० भन्दा बढीपटक डाउनलोड भइसकेको छ । यो संख्याले कम्पनीको स्थापनादेखि आजसम्म फूड अडरिङ ट्रेन्डमा भएको महत्वपूर्ण परिवर्तनलाई देखाएको छ । साथै सुरुवातमा केवल १० वटा रेस्टुरेन्टहरू मात्र आवद्व थिए भने आजको दिनमा १४०० रेस्टुरेन्टहरू आवद्व छन्भने २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन्। फूडमान्डुले आजसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ । भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नुपर्ने बाध्यता पनि हटेपछि अझै बढी ग्राहकहरुले फूडमान्डु मार्फत अर्डर गर्न थालेका छन् ।

चराजस्तै उड्न अब चन्द्रागिरी-चित्लाङमा प्याराग्लाइडिङ

  काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु भएसँगै पर्यटकहरु पनि शाहसिक पर्यटनमा आकर्षित भएका हुन् । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ । चन्द्रागिरी—२३ सय मिटरबाट शुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अप्रतिम दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउनुहुन्छ प्रशिक्षक पाइलट सुनुवार । प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ । उहाँले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने बताए । यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको बताए । उडान गर्नेहरुका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उनको भनाइ छ । एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको बताउनु भयो । ६ वर्षदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको बताए । उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने पनि बताए । शुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमाआउनेलाई ८ हजार रुपैयाँ लाग्ने बताए । त्यस्तै फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि हाललाई १२ हजार तोकेको बताउनु भयो । मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने बताए । उहाँकाअनुसार अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको छ । ‘उड्ने स्थान समुन्द्री सतहबाट २३ सय मिटर अग्लो छ । ल्याण्डिङ हुने ठाउँ समुन्द्री सतहबाट १७ सय मिटर रहेको छ । ल्याण्डिङ चित्लाङमा हुन्छ भने चन्द्रागिरी डाँडाबाट उड्दैछौँ । उडान अवधि १५ देखि २० मिनेट भनेपनि कति रमाइलो लाग्छ, २० देखि २५ मिनेटसम्म उड्नेछौँ । यो नेपालको काठमाडौं शहरबाट एकदमै छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । स्वागत छ । आकाशमा उड्ने शाहसिक पर्यटनमा स्वागत छ । यो उडानमा चुनौति छैन । रमाइलो मात्रै छ’, प्रशिक्षक सुनुवारले भने । उनले प्रतिव्यक्ति ७ देखि १२ हजार सम्ममा उडान गर्ने व्यवस्था रहेको र दैनिक ३० देखि ४० जनासम्मलाई उडाउने गरिएको बताए । ‘अहिले हामीले पिकअपको लागि एउटा भेकल र ६ जना पाइलट छन् आवश्यक अनुसार बढाउँदै जानेछौँ । एक महिनाको लागि नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमाआउनेलाई ८ हजार गरेका छौँ । विदेशीको लागि हाललाई १२ हजार तोकेका छौँ । यसमा फोटो भिडियोसहित हो । मौसमले साथ दिएसम्म ३० देखि ४० जना ग्राहक सहजै उडाउनेछौँ । अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी छ’, उनले भने । यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरु भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन् । सर्वसाधारण मदन खड्काले चन्द्रागिरीबाट चित्लाङ प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताए । उनले भने, ‘साथीहरुसँग रमाइलो लाग्छ । चित्लाङ पर्यटकका लागि राम्रो छ । त्यसअनुसार अहिले यसरी सहजै चन्द्रागिरीबाट चित्लाङ जान राम्रो हुन्छ ।’ त्यस्तै प्याराग्लाइडिङ गर्न चन्द्रगिरी पुग्नुभएका नेपाल प्रहरीकास हायक हवल्दार सुवास कुमारले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाए । उनले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने बताए । ‘रमाइलो अनुभव भयो । पर्यटनका लागि नेपालमा फोकस गर्नुपर्ने छ’, उनले भने । यता चित्लाङ घुम्न आउनुभएका सिन्धुलीका शिक्षक लक्ष्मीप्रसाद घिमिरेले चित्लाङमा प्याराग्लाइडिङ नयाँ आएको र आम नागरिकले धेरै मन पराएको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनसक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्याराग्लाइडिङ नयाँ आएको रहेछ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनेछ । सरकारले पनि केही व्यवसायिक लगानी गर्नुपर्छ ।’ उनले चित्लाङ र काठमाडौंमा पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ टर्निङ प्वाइन्ट बन्नसक्ने भन्दै सरकारले व्यवसायिक लगानी गरेर भएपनि आवश्यक चासो र हौस्ला प्रदान गर्नुपर्ने बताए ।  

लक्ष्मीपूजाको साँझ विद्युत खपत १४३८ मेगावाट, पिक समयमा पनि भारत निर्यात

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो । यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए । कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे । जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो । विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । २०७३को लक्ष्मीपूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो ।अहिले मुलुक लोडसेडिङबाटमुक्त मात्र छैन देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

भक्तपुरका फूल युरोप, अमेरिकासम्म

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ । भक्तपुरको गुण्डु सबैभन्दा बढी फूल खेती हुने गर्छ । यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म टिपिरहेका छन् । स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साडे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताउँछिन् । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट दुई लाखसम्म आम्दानी हुने बताउदै उनले असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताउँछिन् । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ । असारदेखि मंसीरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उनी बताउँछिन् । सयपत्री फूल पनि असार-साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सीर-पुससम्म पनि बिक्री गर्न सकिने उनको भनाइ छ । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर पनि बिक्री गर्ने गर्दछन् । सात आठवटा सयपत्री फूल राखेर मुठा पारेको फूल असार साउनमा एक मुठाको १५ देखि १८ रुपैयाँ सम्ममा बिक्री हुने गरे पनि अहिले तिहारका लागि भने २० रुपैयाँमा तीन मुठा बिक्री गरेको बस्नेत बताउँछिन् । फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गर्ने गरिएको छ । यसरी बिक्री गर्दा पाथीको ५० देखि ६० रुपैयाँसम्म र एक किलोको २५० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । भारतबाट आउने मखमली र सयपत्रीलाई रोक्न सके नेपाल फूलमै आत्मनिर्भर गर्न सकिने उनको भनाइ छ । यहाँका कृषकले वर्षमा कम्तिमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन् । गतवर्ष घरबाटै रु २५ देखि ३५ मा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ । घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला २० देखि २५ रुपैयाँमा बिक्री हुने भए पनि बजारमा लैजादा व्यापारीलाई ४० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको छ । यही माला खुद्रा बजार पुर्याउन सके ५० रुपैयाँ सम्म आउने गर्दछ । युरोप, अमेरिका पुग्छन् भक्तपुरका फूल अन्तर्राष्ट्रिय बजारमा यहाँका फूल माला पुग्ने गरेका छन् । सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । पछिल्ला केही वर्षयता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्याउन पाउँदा खुसी लागेको बताउँछिन् । उनले भनिन्, ‘विगत केहीवर्षदेखि मैले सम्पर्क व्यक्तिमार्फत अन्तर्राष्ट्रिय बजारमा पनि यहाँका फूल तथा माला पुर्रयाउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरुको उत्पादन पनि खरिद गरेर विदेशका लागि फूल तथा माला पठाउँछु ।’ सम्पर्क व्यक्तिमार्फत यहाँको फूल तथा मालालाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका विभिन्न जिल्लामा पठाउने गरेको उनले बताउँछिन्। फूलको बजार स्वदेशदेखि विदेशसम्म रहेको र हरेक वर्ष विदेशबाट फूल तथा मालाको माग बढेको उनी बताउँछिन् । घरघरमै आउँछन् फूल किन्न व्यापारी दसैँ सकिएपछि घरघरमा फूल किन्न व्यापारीहरु आउने गरेकाले यहाँका कृषकलाई बजार पाउन सहज हुने गरेको छ । घरमा आउने व्यापारीलाई बजारमा भन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन् । गतवर्ष १२ सय माला व्यापारीलाई बिक्री गरेकी कृषक मिना नगरकोटीले यसवर्ष पनि फूल र मालाको माग धेरै भएको बताइन् । एक रोपनी जग्गामा फूलखेती गरेकी उनले यसवर्ष करिब १५ सय माला बिक्री गर्न माला गाँसेर बजार लान भ्याइनभ्याई भएको छ । गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेकोे उनले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गरेको बताइन् । यहाँका बासिन्दाले दसैँ सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन् । खेताला लगाउँदा एउटा मालाको पाँच रुपैयाँ ज्याला दिने गरेका छन् । ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उनको भनाइ छ । कतिपयले गाउँ पसेका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसँग सम्पर्क गरी बजारमै पुर्रयाउने गरेका छन् । फागुनमा रोपेर असारदेखि उत्पादन मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान मात्रै होइन, फूल खेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बसाइँ सरेर आउनेहरु पनि उत्तिकै बढेको गुण्डुका स्थानीयवासी एवं जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा बताउँछन् । उनका अनुसार गुण्डुमा मात्रै एक हजार पाँच सय घर परिवारले फूल खेती गरिरहेका छन् । कम्तीमा चार आनादेखि बढीमा पाँच रोपनीमा यहाँका बासिन्दाले फूल खेती गरेका छन् । धान खेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली, डिलमा जताततै फूलखेतीले ढकमक्क बनेको भन्दै उनले एकैपटक दोहोरो आम्दानी हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको बताउँछन् । फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको बेर्ना पनि लगाइन्छ । ‘‘मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल असारको अन्तिम वा साउनको पहिलो साताबाट टिप्न सुरु हुन्छ’, धेरैवर्ष फूलखेती गर्नु भएकी स्थानीय एवं जिल्ला समन्वय समिति भक्तपुरकी पूर्व उपप्रमुख सरिता कुँवरले बताइन् । फूलसँगै मकै र भटमास पनि फलाउन सकिने भएकाले कृषकहरु यसतर्फ आकर्षित भएको उनको भनाइ छ । एउटै जग्गामा एकै पटक मकै, भट्मास र फूल फुलाउन सकिने बताउँदै उनले व्यावसायिक रुपमा फूल खेती हुन थालेपछि धान खेतमै फूल खेती पनि बढेको बताउँछिन् । स्थानीय बासिन्दाले मात्रै नभई २०७२ को भूकम्प पछि विभिन्न जिल्लाबाट यहाँ आएर जग्गा भाडामा लिएर फूल खेती गर्नेहरु पनि धेरै थपिएपछि गुण्डुमा फूल उत्पादन बढेको हो । बाहिर जिल्लाबाट आएर फूलखेती गर्नेले १५० भन्दा बढी टनेलमा फूल खेती गरेको बताउँदै उनले फूलखेतीमा भक्तपुर आत्मनिर्भर रहेको बताउँछिन् । भारतबाट फूल नेपाल भित्रिदा यहाँका फूल भने विदेश पठाउन पाउँदा खुसी लागेको बताउँदै उनले सबै पालिकाले स्थानीयलाई प्रोत्साहन गर्न सके विदेशबाट फूल आयात गर्नै नपर्ने उनको भनाइ छ । नगरपालिकाद्वारा अनुदान गुण्डुमा फूलखेतीलाई प्रोत्साहन गर्न केही वर्षदेखि सूर्यविनायक नगरपालिकाले ८० प्रतिशत अनुदानमा कृषकलाई फूलको बेर्ना वितरण गर्दै आएको छ । नगरपालिका आफूले बेर्ना उत्पादन गरेर १० रुपैयाँ पर्ने एक बिरुवालाई दुई रुपैयाँमा कृषकलाई बेर्ना वितरण गर्दै आएको नगरपालिकाले यसवर्ष ४५ हजार बिरुवा वितरण गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिए । नगरपालिकाले वितरण गरेको बेर्नाबाट भने यसवर्ष उत्पादन दिन सकेन । ४५ हजार बिरुवा वितरण गरे पनि ८० प्रतिशत बिरुवा मरेको र बाँकी २० प्रतिशत बिरुवाबाट पनि उत्पादन नआएकाले नगरपालिकाले हावापानी र माटो सुहाउँदो बिरुवा ल्याउनु पर्ने किसानको भनाइ छ । विदेशबाट हचुवामा बिऊ ल्याएर उत्पादन गरेर बेर्ना दिनुभन्दा स्थानीय रैथाने सयपत्री फूलको बेर्ना उत्पादन गरेर बिक्री गर्नु उपयुक्त हुने किसानहरुको भनाइ छ । यता चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर माला उनेर बजारमा लैजान भ्याइनभ्याई भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेट दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका बनमाला । विगतमा वनमालाहरुले मात्रै व्यावसायिक फूल खेती गर्दै आए पनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अन्य जातजातिले पनि फूल खेती गर्न थालेका छन् । वर्षौदेखि पुख्र्यौली पेशाको रुपमा फूलखेती गर्दै आएका स्थानीय श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउँछन् । धेरै वर्ष यहाँ वनमालाले मात्रै फूल खेती गर्ने गरेको भए पनि अहिले धेरैले फूल खेती गर्न थाले पनि आफूहरुको आम्दानीमा असर नपरेको उनी बताउँछिन् । दश वर्षदेखि मखमली फूलको खेती गर्दै आएकी भएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एक याममा ४० हजार कमाउने गरेको बताउँछिन् । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने उनको तर्क छ । रोजगारीका लागि मलेसिया गएका श्रीमान् नेपाल फर्किएर पाँच वर्षदेखि श्रीमानले पनि फूलखेतीमै साथ दिएपछि उनी झनै उत्साहित बनेकी छन् । स्थानीय सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गरेकी छन् । उनले भनिन्, ‘घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ३५ हजार जतिको माला तयार छ, दुई दिनमै बिक्री हुन्छ ।’ किसानले बजारमा आफैँले माला लैजादा एउटा मालाको ४० देखि १०० रुपैयाँसम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको  ३० देखि ४० रूपैयाँसम्म दिने गरेको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप

फाइल फोटो काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ । ‘दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ”, उनले भने । महापबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए । दसैँको समय अर्थात गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो । असोज ३० गते एकसय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलको आँकडा छ । तिहार, छठलगायत चाडपर्वका साथै पर्यटकीय सिजन पनि चलिरहेकाले हवाई उडान बढेको तिवारीको भनाइ थियो । उनका अनुसार तिहार र छठका कारण आन्तरिकतर्फ हवाई यात्रुको चाप दैनिक बढ्दो छ । आन्तरिकतर्फ दैनिक दुई तर्फी गरेर तीन सय उडानमार्फत १४ देखि १५ हजार यात्रु आवतजावत गरिरहेका विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् । अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपियो जाडो यामको नयाँ उडान तालिकामा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान थपिएको छ । विमानस्थलका अनुसार कतार एयरवेज, फ्लाई दुबईलगायत एयरलाइनसले उडान बढाएका छन् । एयर ट्राफिक व्यवस्थापन गरेर उडान सहजीकरण भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका महाप्रबन्धक तिवारीले जानकारी दिए ।

जाजरकोटका भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिइने

काठमाडौं । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आईतवार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम २५/२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराईने जनाइएको छ । त्यस्तै बैठकले बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावित हरुलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने यसअघिको माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयलाई अनुमोदन समेत गरेको छ । बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुमपश्चिम जिल्लालाई पाँच/पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन पनि गरेको छ । साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ बमोजिम बमोेजिम रकम खर्च गर्ने सम्बन्धमा प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा तोकेको छ । त्यसैगरी भूकम्पको कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापना योजना बनाउन विस्तृत क्षति आंकलन–मूल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ ।

लघुवित्तका एक कर्मचारीको भागमा १.८९ करोड ऋण दिने जिम्मेवारी, ४१ लघुवित्तमा बैंकको लगानी

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु माथि ऋण दिनु पर्ने दायित्व बढेको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदनले लघुवित्तमा कार्यरत एक जना कर्मचारीले औसत १.८९ करोड रुपैयाँ ऋण लगानी गरेको देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार २०७९ चैतसम्म प्रतिशाखा औसत ८ करोड ५५ लाख रुपैयाँ र प्रतिकर्मचारी औसत १ करोड ८९ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । वि.सं.२०७१ असारसम्म प्रतिशाखा ४ करोड १५ लाख रुपैयाँ र प्रतिकर्मचारी औसत ६८ लाख रुपैयाँ थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान अध्ययन प्रतिवेदनमा वि.सं.२०७९ चैत्रसम्म ६३ वटा लघुवित्त संस्थाहरुमध्ये ४१ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाको सेयर स्वामित्व रहेको छ । कुल ६३ वटा लघुवित्तमध्ये ५९ वटा खुद्रा कारोबार र ४ वटा थोक कारोबार गर्ने संस्था छन् । खुद्रा कारोबार गर्ने संस्थामध्ये २७ वटा विगतमा गैरसरकारी संस्थाबाट परिणत भएका, २७ वटा लघुवित्त वित्तीय संस्थाकैरुपमा स्थापित र ५ वटा वाणिज्य बैंकका सहायक कम्पनीका रुपमा रहेका छन् । ९ वटा लघुवित्तमा बैंक तथा वित्तीय संस्थाहरूको ५० प्रतिशतभन्दा बढी स्वामित्व छ भने २० वटा लघुवित्तामा २० प्रतिशतभन्दा कम स्वामित्व रहेको छ । मर्जर प्रक्रिया चलिरहेकोले लघुवित्त वित्तीय संस्थाहरूको संख्या घट्दै गइरहेको अध्ययन प्रतिवेदनले बताएको छ । चुक्ता पुँजीका आधारमा १० करोड रुपैयाँभन्दा कम पुँजी भएका ९ वटा संस्था, १० करोड रुपैयाँदेखि ५० करोड रुपैयाँसम्म २२ वटा, ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म १० वटा, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म ६ वटा र २ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका २ वटा संस्था रहेका छन् । २०७९ चैतसम्म लघुवित्त वित्तीय संस्थाका कुल शाखा संख्या ५ हजार १६४, कर्मचारीको संख्या २२ हजार ८४६ र कर्जा लगानी ४ खर्ब ४१.४ अर्ब रुपैयाँ रहेको छ । विगतमा लघुवित्त वित्तीय संस्थाहरूको नाफा उच्च रहेकोमा हाल न्यून रहेको राष्ट्र बैंकले बताएको छ । लघुवित्त संस्थाहरूको स्प्रेड (प्रभावकारी ब्याजदर र कोषको लागत बीचको फरक) विगतमा ८ प्रतिशत भन्दा माथि रहेकोमा २०७९ चैत्रसम्म घटेर ६ प्रतिशत पुगेको छ । फलस्वरुप, कोभिडको अवस्थामा बाहेक पुँजीको प्रतिफल अधिकांश वर्षहरूमा २५ प्रतिशतभन्दा माथि रहेकोमा ५.२ प्रतिशतमा झरेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । संस्थागतरुपमा २० वटाको पुँजीको प्रतिफल ऋणात्मक रहेको छ । २०७९ चैतमा कोषको लागत १०.५ प्रतिशत र प्रभावकारी ब्याजदर १६.४ प्रतिशत रहेको छ । कुल ५८ वटा (ग्रामीण लघुवित्त वित्तीय संस्था बाहेक) संस्थाबाट प्राप्त ऋणीहरूको तथ्याङ्कले बहुबैंकिङ्गको अवस्थालाई पुष्टि गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल ३९ लाख ३५ हजार १७१ कर्जा खाता रहेकामा १ हजार रुपैयाँभन्दा कम रकमका ४ लाख १ हजार ८०६ खातालाई हटाई विश्लेषण गरिएको हो । कुल २३ लाख १ हजार २९३ ऋणीका ३५ लाख ३३ हजार ३२५ कर्जा खाता रहेका छन् । कुल ऋणीमध्ये ७०.४ प्रतिशतले १ मात्र खाताबाट, २७.८ प्रतिशतले २ देखि ५ वटा खाताबाट, १.५ प्रतिशतले ६ देखि १० वटा खाताबाट र ०.२ प्रतिशतले १० भन्दा बढी खाताबाट कर्जा लगेका छन् । यी समूहको कुल कर्जा लगानीमा हिस्सा क्रमशः ५२.२ प्रतिशत, ३९.५ प्रतिशत, ६.६ प्रतिशत र १.८ प्रतिशत रहेको छ ।

ट्यान्गोपे मार्फत युकेबाट पैसा पठाउँदा आइफोन जित्न सकिने

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले युके स्थित ट्यान्गोपे को साझेदारीमा आइफोन योजना ल्यएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागू हुने कम्पनीले जनाएको छ । जस अन्तर्गत युकेबाट ट्यान्गोपे मार्फत रेमिट्यान्स पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्ने कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका सुनिश्चित गर्न सकिनेछ । ईसेवा मनी ट्रान्सफर, ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुदा सहज सुविधाको सुनिश्चित पनि गर्दछ। ईसेवा मनी ट्रान्सफर प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। ट्यान्गोपे को साझेदारीमा आइफोन योजना सुचारू भए संगै अब युके बस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई आइफोन जित्न सक्नुहुनेछ।’ ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।