व्यापार गरेर कहिल्यै रमाउन सकिनँ : बसन्त चौधरी
काठमाडौं । ‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ र ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ । पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि !’ सुरु–सुरुमा वसन्त चौधरीका सिर्जना बजारमा आउँदा कतिपयले यस्तै प्रतिक्रिया दिन्थे रे । उनले सुनाए ‘नेपाली दाजुभाइमा यस्तोसम्म सोच पाएँ । बडो अचम्म लाग्थ्यो । खिन्न हुन्थेँ, बिचलित भइनँ । तर बजारले कुरा काटिरह्यो, मैले मेरो कर्म छोडिन, गरिरहें,’ व्यवसायी वसन्त चौधरीले आफ्नो साहित्य यात्राका सुरुआती दिनको स्मरण गर्दै भने,’ ‘म लेख्न सक्छु, म पनि साहित्य सिर्जना गर्न सक्छु भनेर नेपाली साहित्य आकाशमा विश्वास दिलाउन मलाई धेरै सङ्घर्ष गर्नुपर्यो ।’ हुन पनि हो । कुनै व्यक्तिको व्यवसाय या पेसा हेरेर उप्रतिको धारणा बनाउने मानिस समाजमा अहिले पनि प्रशस्त भेटिन्छन् । सबैसँग भावना, सिर्जना हुन्छ र सबै मानिसले सबै प्रकारको सम्भावना बोकेको हुन्छ भनेर नसोच्ने प्रवृत्तिले चित्त दुखाएको अनुभव महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर रासससँग गरिएको साहित्य संवादमा चौधरीले सुनाए । व्यापारिक घरानाको व्यक्ति साहित्यमा कसरी आकर्षित हुनुभयो ? स्कुल पढ्दैदेखि कविता, गीत लेख्न मन पराउने उनको साहित्यिक यात्रा त्यस्तै ३० को दशकबाट सुरु भएको हो । ‘त्यस्तै २०२८÷२९ सालमा मैले अध्ययन गरिरहेको विद्यालयको अभिभावक दिवसमा एउटा कविता लेखेको सम्झन्छु । पछि फुटकर कविता लेख्थेँ तर सक्रिय थिइनँ । त्यस्तै ३०÷३१ को उमेरदेखि किन–किन मलाई आफूभित्रै एक किसिमको उकुसमुकुस हुन थाल्यो । मलाई लाग्यो मभित्र केही छ, त्यो गुम्सिएर रहेको छ र त्यसलाई बाहिर निकाल्नुपर्छ । मेरो एक मनले त्यो छट्पटाहट महसुस गर्दथ्यो र मभित्रको अर्काे मनले त्यसलाई अभिव्यक्त गर्नुपर्छ, बाहिर निकाल्नुपर्छ भनेर सुझाउँथ्यो,’ चौधरी भन्छन् । उनीभित्रका यी दुई मनको द्वन्द्वपछि उनको हृदयभित्रको त्यो उकुसमुकुस गीत बनेर जन्मियो । यसरी गीतबाट सुरु भयो उनको साहित्यिक यात्रा । तर, गीत बाहिर भने आएनन् । डायरीमा लेख्ने, थन्काउने गर्नुभयो । ‘म डायरीमा लेखेर राख्थेँ । नेपालको फराकिलो साहित्यिक आकाशमा मेरा रचना कस्ता हुने हुन्, मानिसले कसरी लिने हुन् भन्ने लाग्थ्यो । दीपक जङ्गम, दीपक खरेल, शम्भुजीत बाँस्कोटासँग गीत–सङ्गीतका कुरा हुन्थे, हामी समय–समयमा भेट्थ्यौँ । एक दिन दीपक जङ्गमले मेरो डायरी पल्टाएर हेर्नुभयो । केही गीत, कविता पढेपछि उनले ‘यस्तो साहित्यलाई लुकाएर राख्नु भनेको साहित्यकै अन्याय हो’, उनले भने ।’ उनले डायरीका केही गीत छाने र कम्पोज गर्छु भनेर लगे । ‘माया बल्झेछ’ भन्ने एल्बम नै निस्कियो । त्यसैमध्येको एउटा गीत ‘गरुँ कि मीठो भुल’ धेरै चर्चित भयो । तर गीतकार म भन्ने धेरैलाई थाहा भएन । त्यो गीतको ‘रेस्पोन्स’ले मलाई यस क्षेत्रमा कलम चलाउन आत्मबल दियो । पछि म्युजिक भिडियोमा आएपछि गीत बढी चर्चित भयो । त्यसपछि मात्र मानिसहरूले मलाई चिन्न थाले,’ उनले सुनाए । आफ्नो एउटा गीत सुनाएः अनुहारको हाँसोदेखि खुसी ठान्नेहरू बाहिरी ओठ मुस्कुराउँदा सञ्चो मान्नेहरू हृदयमा चिहाइ हेर कति आगो बल्छ हालचाल छाप मेरा खबर लेख्नेहरू । यो त्यस्तै २०४८ सालतिर लेखेको गीत हो । गीतका शब्द हेर्दा त्यही सुरुकै उकुसमुकुसको समयको जस्तो लाग्छ र उहाँको मनभित्रको बाँध फुटाउन खोजेको सन्देश दिन्छ । आफ्नो मनको छट्पटी मिडियामार्फत संसारमै फैलियोस् भन्ने याचनासमेत छ गीतमा । हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै गीतले आग्रह गरेको छ । पछि यो गीत रेकर्ड पनि भयो, दीपक जङ्गमले सङ्गीत भरेर दीपक खरेलले गाए । चौधरी भन्छन्, ‘त्यसपछि पहिलो कविता सङ्ग्रह निकालेँ छोरीको नाममा ‘मेघा’ । त्यसबेला पनि केहीले ‘पैसा छ देखायो होला’ सम्म भने । पछि जब द्वन्द्वकालमा ‘शान्ति लुकाउँ कहाँ’ भन्ने गीतले प्रसिद्धि पायो त्यसपछि बल्ल मानिसहरूले यसको कलम बलियो रहेछ भन्न थालेका हुन् ।” मानिसले अँगालेको पेसा हेरेर मात्र उसको मूल्याङ्कन गर्न नहुने उनको सुझाव छ । उनी भन्छन्, ‘मैले आफूलाई साहित्यकर्मीका रूपमा चिनाउन, उभ्याउन र विश्वास दिलाउन मात्र कम्तीमा १५ वर्ष लाग्यो । मैले मसँग सिर्जना छ, लेख्न सक्छु भनेर यसरी पनि पुष्टि गर्नुपर्यो । त्यसैले मेरो विनम्र अनुरोध यो छ कि मानिसले अँगालेको पेसा हेरेर मात्र मूल्याङ्कन नगरौँ । कसैकाप्रति सोच्नुपर्दा सुरुमै नकारात्मक नबनौँ, नसोचौँ । सबैसँग सबै प्रकारको सम्भावना र क्षमता छ भनेर सम्मान गरौँ ।’ समय व्यवस्थापन सबैलाई एक दिनमा उही २४ घण्टा नै हो । धनी, गरिब, साना–ठूलालाई समय धेरै र थोरै हुँदैन । त्यही २४ घण्टालाई कतिले यसरी व्यवस्थापन गर्छन् कि उनीहरू आफ्नो नियमित पेसाका साथै अर्काे क्षेत्रमा पनि चम्केका हुन्छन् । समय व्यवस्थापनको कुरा गर्दा एकपटक वरिष्ठ चिकित्सक भोला रिजालले भनेका थिए, ‘प्रायः पत्रकारले मलाई सोध्ने पहिलो प्रश्न यही हुन्छ, आखिर मसँग पनि उही दिनमा २४ घण्टा न हो ।” नसोधुन् पनि किन ? उहाँसँग स्वास्थ्य जाँच गराउन कहिले त बिरामीले महिनौँ कुर्नुपर्छ । प्रायः दिनभर बिरामीकै सेवा भेटिने उहाँका चलचित्र मात्र छैनन्, नेपाली लोकगीतदेखि लिएर मुक्तिनाथ भजनमालाका शृङ्खला पनि छन् । समय निकालेर पुस्तक पनि लेख्नुहुन्छ । यसकारण पनि समय व्यवस्थापनको उहाँको कला अरुले जान्न, सिक्न खोज्नु स्वाभाविकै हो । साहित्यकार चौधरीको अनुभव छ, “समय व्यवस्थापनको कुरा गर्दा आफू ‘सोसियलाइज’ छैन भन्दा हुन्छ । किनभने म पाटी, भोज आदिमा अति आवश्यक र उपस्थित भइदिनैपर्नेबाहेक जान्न । बिहान म चाँडै उठ्छु र लेखपढको काम प्रायः बिहानै गर्ने गर्दछु । बिहानको समय मलाई ‘फ्रेस’ लाग्छ । तर पनि साहित्य लेख्न यही नै समय हो भन्ने छैन । ‘मुड’ आयो भने कार्यालय बसिरहेका बेला पनि लेख्छु । पहिले त लेख्न कलम कागज नै चाहिन्थ्यो । तर अहिले प्रविधिले पनि लेखपढको कामलाई सहज बनाइदिएको छ । केही कुरा मनमा फुर्यो भने राति सुतेका बेला, यात्रामा या बिहान जुनै बेला पनि हातको मोबाइलमा नोट गर्छु । नोटमा ‘थिम’ सङ्कलन गर्न सक्यो भने पछि फुर्सदमा मिलाएर लेख्छु ।” साहित्य कि व्यापार ? हामीले सोध्यौँ– यहाँ त ठूलो व्यापारिक घरानाको व्यक्ति । साहित्यमा किन लाग्नुभयो ? कसरी समय निकाल्नुभयो ? सायद यो उनको अपेक्षित प्रश्न थियो धेरै पत्रकारबाट आउने । “कर्म क्षेत्र त मेरो व्यापार नै थियो, मैले लाग्नुपर्ने पनि यसमै थियो, लागेँ । किनभने मसँग योबाहेक अरु के गर्ने भन्ने विकल्प पनि थिएन । तर व्यापार गरेर रमाउन म कहिल्यै सकिनँ । त्यस्तो स्वभाव मेरो सानैदेखि रहन सकेन । कहिल्यै अर्काको समस्या, दुःख देख्न नसक्ने स्वभाव थियो । कसैका दुःख, पीडाका कथाले मलाई छोइहाल्थ्यो । हरेक कर्मको आफ्नो धर्म, आचरण हुन्छन् । व्यापारको पनि छ नै । व्यापारको उद्देश्य नाफा कमाउनु त हो तर नाफामात्र कमाउनका लागि मैले व्यापार गरिनँ । त्यसैले पनि कहिलेकाहीँ त म व्यापार गरेर खान्न अर्थात् म व्यापारका लागि जन्मिएको होइन भन्ने लाग्दथ्यो मनैदेखि । मेरो पेसा र घरानाले नखोज्ला तर मभित्रको मनले व्यापारबाहेक अर्काे कुनै विकल्प नखोजेको होइन,’ उनले भने । यसकारण पनि बेला–बेलामा उनले व्यापारको विकल्प खोज्नुहुन्थ्यो । विकल्प नभएपछि उनले सबैसँग समुदायमा पुग्ने र सेवा पनि गर्ने खालको व्यवसाय रोज्नुभयो । व्यवसाय पनि होस् र त्यसले मानव सेवा पनि गरोस् भन्ने लाग्थ्यो । त्यसैले स्वास्थ्य, कृषि आदिजस्ता क्षेत्रमा व्यवसाय गर्न उनको मन गयो । पैसा के हो ? मानिसलाई यो कति चाहिन्छ ? गम्भीर हुँदै जवाफ दिनुभयोे, ‘पैसा केबल जीवन जिउने, दिन काट्ने साधन मात्र हो । उनी पैसालाई योभन्दा ठूलो महत्वाकांक्षसँग दाज्नु हुन्न । उनी भन्छन्, ‘पैसा नभई पनि हुँदैन र बढी भयो भने पनि त्यसले विकृति ल्याउँछ । त्यसैले आधारभूत आवश्यकता पूरा गर्ने हिसाबले मात्र पैसा कमाए पुग्छ । आफूसँग यतिमात्र पैसा होस् कि यस्तो पैसाले आफूलाई र आफ्नो भोलिको सन्ततिलाई पनि अनुशासित बनाओस्, कर्मशील बनाओस् । ताकि मैले कमाएको पैसाले भोलिको पुस्ताले मेरो त छँदैछ नि भनेर घमण्ड नगरोस् । मलाई केही नगरी खान पुग्छ भनेर हात खुम्च्याएर बस्ने अवस्था नबनाओस् । बरु आफैँले केही गर्नुपर्छ, केही आर्जन गर्नुपर्छ भनेर कर्मशील बन्न सकोस् । हरेक मानिसले कर्म गरोस् र आफ्ना खाँचो र अत्यावश्यकताको जोहो गरोस् ।’ त्यसो भए सन्तुष्टि केमा मिल्दैछ त, साहित्य या व्यापार ? उनको सन्तुष्टि अहिले साहित्यले दिएको छ । अहिले साहित्यमा रमाउँदै छन् उनी । उनलाई पैसाभन्दा पाठक कमाएजस्तो लाग्छ । भन्छन्, ‘व्यापार भनेको घाटानाफाको कुरामात्र हो । तर मैले कुनै साहित्यिक रचनामा प्राप्त गरेको स्याबासी या खुसीको मापन गर्ने हो भने व्यापारमा भन्दा बढी छ । आत्मानन्द अहिले साहित्यमा लिँदैछु । लेख्दा, त्यो पढ्दा या सुनाउँदा आनन्द आउँछ । पुस्तक छापेर आमपाठकमा पुर्याउँदा र त्यसबाट ठूला साहित्यकार तथा विद्वानहरूले मेरा रचनाका अक्षर–अक्षरका केस्रा केलाएर अथ्र्याइदिँदा झनै खुसीको अनुभूति हुन्छ । आखिर जीवन सन्तोषमा जिउनु न रहेछ ।’ अहिले म साहित्य र व्यापार दुवैमा छु । अहिलेका लागि दुवै हो । खुसीको पाटोचाहिँ साहित्य हो । आगामी लेखन यात्रा उनका काव्यसङ्ग्रह ‘अनेक पल और मैँ’ र ‘तिमीबिनाको म’ दुई वर्षअघि एकैदिन लोकार्पण भएको थियो । सर्जक चौधरीको कृति ‘अनेक पल और में’ हिन्दी कविता सङ्ग्रहले त्यसपछि भारतमा आयोजित साहित्य सम्मेलनमा ‘बुक अफ इयर’ को उपाधि पनि जित्न सफल भएको थियो । साहित्यकार चौधरी भन्छन्, ‘काव्य लेख्दा मन कहिल्यै थाक्दैन र सिर्जनशीलता पनि रोकिँदैन । बरु सोचको परिधि या ‘होराइजन’ झन् फराकिलो हुँदै जान्छ । मन नयाँ कुरा सोचेर कहिल्यै थाक्दैन, न त मनको सोचले विश्राम नै माग्छ । वरपर जे छ, जे घटना परिघटना भएको छ आखिर हामी त्यसैलाई शब्दमा उन्ने न हो । बरु मानिसको मन केही गुमाउँदा र केही प्राप्त गर्दा तरङ्गीत भइदिन्छ, त्यसलाई समयमै स्मृतिमा विम्ब निर्माण गरेर उतार्नचाहिँ सक्नुपर्छ । पछि त्यसैले कृतिको रूप लिने हो ।’ उनी अहिले पद्यबाट अलिकति गद्यतिरको अभ्यासमा छन् । अलिकति ‘सेक्टर चेन्ज’ गर्दा केही नौलो अनुभूति भएको उनले सुनाए । साना, फुटकर कविताबाट सुरु भएको लेखनलाई उनले उपन्यासतिर पनि तान्दै छन् । ‘एउटा सामाजिक कथावस्तुमा आधारित उपन्यासको तयारीमा छु, लेखिरहेको छु । यो प्रेमकथामा आधारित उपन्यास हो ।” त्यो उपन्यासमार्फत नेपाली समाजलाई दिन खोजिएको सन्देश के हो ? ‘हुन त यो प्रेमकथामा आधारित छ तर यसले नेपाली समाज कता जाँदैछ ? हाम्रा रीतिरिवाज र परम्परा कसरी मासिँदैछन् र मानिसका सोचमा किन परिवर्तन आइरहेको छ ? यस्ता सोच र व्यवहारले हाम्रो समाजलाई कालान्तरमा कहाँ पुर्याउँला ? यस्तै विषयमा राम्रो सन्देश दिन खोजेको छु । पात्र काल्पनिक छन् तर विषय वास्तविक छ ।’ साहित्य र सन्देश साहित्य मनोरञ्जनमात्र होइन, ज्ञान सूचना र प्रेरणा पनि हो भन्छन् चौधरी । उनको परिभाषामा साहित्य समाजको ऐना हो र यसले समाजमा भएका, घटेका सबै घटना र विषयलाई देखाइ दिन्छ । साहित्यले मानिसलाई असल कामका लागि प्रेरित गर्छ र यसमार्फत समाजलाई परिवर्तन गरिदिन्छ । समाजको रुपान्तरण र जागरणमा साहित्यको ठूलो योगदान छ भन्छन् उनी । वैज्ञानिक अनुसन्धान नै गर्ने हो भने पनि समाजको रुपान्तरण र परिवर्तनमा साहित्यको योगदान धेरै छ भन्छन् उनी । हामीले सोध्यौँ– त्यसो भए यहाँका रचनाले नेपाली समाजलाई के सन्देश दिइरहेको छ ? ‘मूल सन्देश त प्रेम नै हो । संसार प्रेममै अडेको छ । जसरी संसार ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भएर एकापसको भरमा चलेको छ, मानिस पनि एकअर्काको भर र विश्वासमै चलेको छ । यो सांसारिक भर विश्वासको मूल आधार भनौं या सूत्र भनेको प्रेम हो । मेरो लेखनको अर्काे सन्देश सकारात्मकता हो । कसैप्रति उत्पन्न हुने नकारात्मकताले विध्वंस र आक्रोशमात्र निम्त्याउँछ । राम्रो अर्थात् सकारात्मक सोचले प्रेम जन्माउँछ र प्रेमले आपसमा सद्भाव बढाउँछ । मेरो लेखनमा सधैँ प्रेम र सकारात्मक सोचमात्र भरियोस् भन्ने मलाई लाग्छ । मेरा सिर्जना यसैमा केन्द्रित हुन् भन्ने मैले सदासर्वदा सोच्ने गर्दछु । शान्ति, प्रेम र सकारात्मकताले भरिभराउ भइदिए हाम्रो समाजमात्र होइन सकल चराचर जगत् नै करुणामय र उज्यालो हुन्छ । बत्तीको भन्दा प्रेम र करुणाको उज्यालोमा असीमित तेज र शक्ति हुन्छ । तर आफूले बायोग्राफी भने नलेख्ने उनको अठोट छ । भन्छन्, ‘म यो लेखनमा समय खर्चिने पक्षमा पटक्कै छैन किनभने आफूलाई यसरी केन्द्रमा राखेर आफ्नै प्रसस्ती गाउन मैले सक्दिनँ ।’ उनको यो मानसिकता पछिल्लो समय बजारमा आएका बायोग्राफी पढेपछि बनेको होला । तिनमा सबैले आफ्नै प्रशंसा गरेका छन् र ती पढ्दा लाग्छ गलत काम गर्नेमा उनीहरूबाहेक अरु सबै छन् । चौधरी भन्छन्, ‘म मानिस हुँ, त्यसैले ममा पनि केही न केही कमजोरी होला । मानौँ कि जीवनमा कुनै गलत गरेको पनि हुँला । यदि त्यसलाई लेख्न सक्दिनँ भने मैले बायोग्राफी लेखेर किन आफ्नो र अरुको समय नष्ट गरौँ ? त्यसैले आजसम्म मैले बायोग्राफी लेख्ने योजना बनाएको छैन ।’ चौधरीका राष्ट्रियता नदुखोस् निबन्धसङ्ग्रह र संवाद प्रबन्धसङ्ग्रहसहित मेघा, मेरा डायरीका पानाहरू, मेरा कविताहरू, आँसुओ की सियासी से, वसन्त, तिमीबिनाको म, अनेक पल और मैं, वक्त रुकता नही कविता सङ्ग्रह र मेरा गीत आदि सङ्ग्रह प्रकाशित छन् । उनका यी कृतिहरूमा प्रेम, सकारात्मकता र करुणाभाव बढी पाइन्छ ।
‘अर्थमन्त्रीसँग नजिक भएर बजेट पार्ने भन्ने बाहेकको सांसदको काम भएन’
काठमाडौं । ‘सदन सत्तापक्ष र प्रतिपक्ष सवाल जवाफ उही पुरातन सोच र ढङ्गबाट जसरी २० वर्ष चल्थ्यो, त्यसैगरी चल्यो !’ सदनको पछिल्ला दुई अधिवेशनबारे हामीले राखेको जिज्ञासामा प्रतिनिधिसभा सदस्य हरि ढकालले प्रतिक्रिया दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढकालले आफूहरूको उत्साहका बाबजुद सफल संसदीय अभ्यास हुन नसकेको गुनासो गरे । उनले भने, ‘हामी संसदीय अभ्यासमा नयाँ र उत्साहित भएका थियौँ । तर यो सत्ता पुरानै सोच र ढर्रा भएका राजनीतिक दलको हातमा भएकाले समग्र सदन प्रभावित भयो । जति कानुन बन्नु पर्दथ्यो जति विधेयक पास हुनुपर्दथ्यो, त्यो भएन । दोस्रो अधिवेशनमा रास्वपाले सदनमा दर्ता गराएको दुई सार्वजनिक महत्व र पाँच सङ्कल्प प्रस्ताव सदनमा प्रस्तुतसमेत भएन । उनले सदनमा प्रतिपक्ष हुनेबित्तिकै विरोध र सत्तापक्ष हुनेबित्तिकै बचाउ गर्ने संस्कारप्रति टिप्पणी गरे । संसद्मा पुरातनशैलीको यथास्थितिमा रमाउन खोज्ने दलहरूको हालीमुहाली भएको उनको आरोप छ । ‘सदनमा सत्तापक्षका सरकारको संख्याका आधारमा नै हामीले गरेका संशोधनहरू ‘फेल’ भए’, उनले भने, ‘तर हामीले हालेका संशोधन फेल गराइरहँदा, सदन सकिएपछि सत्तापक्षकै सांसदहरूले ‘कस्तो राम्रो संशोधन हाल्नुभएको पास हुन सकेन हाम्रो त यस्तै छ, यसरी नै चलिरहेको छ,’ भन्ने प्रतिक्रिया दिन्छन् । सरकार र सदन दुवैले कानुन निर्माणमा ध्यान केन्द्रित गर्न नसकेको अवस्थामा उनी भन्छन्, ‘सरकार सञ्चालकहरू यो संख्याले सरकार कति मजबुत छ भनेर संख्या गन्न मात्र लागिपरेको छ । सरकार बनिसकेपछि सदनले सत्ताको जोडघटाउमा होइन कानुन बनाउनमा केन्द्रित हुनुपर्ने हो ।’ सदनको सम्पन्न दुई अधिवेशनको समीक्षा गर्दै रास्वपाका नेता ढकालले आफ्नो पार्टीको उपस्थितिले सदनमा आमनागरिकको चासो बढेको दाबी गरे । उनले भने, “यसपटकको उपलब्धि सोध्नुहुन्छ भने, हाम्रो उपस्थितिका कारण सदनप्रति नागरिकको चासो बढेको छ ।’ संवादका क्रममा उनले आगामी अधिवेशनलाई अघिल्ला दुई अधिवेशनजस्तै हुन नदिने सङ्कल्पसमेत व्यक्त गरे । ‘हामी पनि सिकारु थियौँ, यो ११ महिनाको अनुभवबाट धेरै सिक्यौँ । आउने अधिवेशनमा अझ बढी सशक्तरूपमा प्रस्तुत हुनेछौँ”, उनले भने । युवा सांसद ढकालले आगामी हिउँदे अधिवेशनमा सफल संसदीय अभ्यासका लागि अन्य राजनीतिक दलका नेताहरूसँग पनि अनौपचारिकरूपमा निरन्तर छलफल जारी राखेको बताए । ‘जनताले पनि राजनीतिक दल र जनप्रतिनिधिलाई सिर्जनात्मक, रचनात्मक सुझाव र खबरदारी गर्नुपर्छ,’ सांसद ढकालले भने । विधायिकको भूमिकामाथि प्रश्न वडाध्यक्ष, नगर प्रमुख र सांसदलाई आउने जनगुनासोको प्रकृति उस्तै छन् । विधायिकाको भूमिकाबारे आमजनता स्पष्ट छैनन् । जनप्रतिनिधिले नै आमजनतालाई विधायिकाको भूमिकाबारे बुझाउन चाहेनन् । विकास निर्माणको जिम्मा पनि सांसदले लिएर हिँडने पुरानो संस्कारका कारण स्थानीय तहको भूमिका र सांसदको भूमिकाबीच जनतामा स्पष्टता नभएको सांसद ढकालको भनाइ छ । ‘जनतामा समेत सरकारले होइन, फलानो सांसद र नेताले हालेको बजेट भन्ने छ । मेरो निर्वाचन क्षेत्रमा पूर्वसांसदहरूले बाटाको नामसमेत आफ्नो नाममा राख्नुभएको छ,’ उनले भने, ‘सांसदले आफ्नो मुख्य काम कानुन निर्माण हो है भन्ने बुझाउनुपर्ने ठाउँमा उहाँहरू सडक, पुल, कलर्भट र धारा बनाउन लागि पर्नु भएको छ ।” चितवन–१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य ढकालले विधायिकाहरू बजेट अधिवेशनका समयमा पनि सैद्धान्तिक छलफलमा भन्दा बढी आफ्नो क्षेत्रमा बजेट पार्न व्यस्त हुने गरेको बताए । उनले भने, ‘अर्थमन्त्रीसँग कसरी नजिक हुने, दुई–चार किलोमिटर सडकका लागि कसरी बजेट पार्ने र ‘मैले ल्याएको बजेट भन्ने’ भाष्य निर्माण भइरहेको छ ।’ उनले विश्वका अन्य देशको सफल संसदीय अभ्यासबाट आफूहरूले धेरै सिक्न बाँकी रहेको बताए । ‘सदनको उन्नत लोकतन्त्रको अभ्यास भएका देशहरूमा सरकारले पेस गरेका विधेयक सदनले ‘फेल’ गरेको छ । त्यहाँ सांसद दलको हँुदैन । आमनागरिक र पार्टीले मूल्याङ्कन गर्दा कुन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिए, संशोधन हाल्यो कि हालेन र गैरसरकारी विधेयक हाल्यो कि हालेन भनेर हेर्छ । तर हाम्रो देशमा कुलो बनायो कि बनाएन, धारो बनायो कि बनाएन भनेर हेरिन्छ”, सांसद ढकालले भने । उनले सांसदहरू आफ्नो भूमिकामा खरो उत्रिनका लागि अध्ययनशील हुनुपर्ने बताए । आफ्नो पार्टीका अधिकांश सांसद जनताका मुद्दा उठाउन र कानुन निर्माणका लागि अध्ययन गरेर मात्र उपस्थित हुने उनको भनाइ छ । उनले सदनमा दलीय ह्वीपका कारण पनि कतिपय सांसदमा अध्ययन गर्ने बानीको अभाव भएको बताए । ‘के देख्यौँ भने कतिपय सांसदहरू पिजन होलमा विधेयक आएको हुन्छ, त्यसलाई अध्ययन गर्नुहुन्न, किनभने सदनमा उहाँहरूको भूमिका नै ‘रबर स्ट्याम्प’को काममा जस्तो हुनुहुन्छ, प्रमुख सचेतकले अग्रिम दिएको सूचनाका आधारमा ‘हुन्छ भन्नुहोस्, हुन्न भन्नुहोस्’ मात्र पालना गर्ने सांसदहरू धेरै हुनुहुन्छ ।’ लोकतन्त्र र संसदीय अभ्यासमा यस्तो अभ्यासलाई उनी भन्छन्, ‘यो ‘विकृत स्वरुप’ हो !’ सरकारले नसुन्ने शून्य समय ‘मैले बर्खे अधिवेशनमा शून्य समयसहित २७ पटक सदनमा बोलेको छु । मेरो अनुभूतिले के भन्छ भने यो सरकारले सुन्दैन,’ उनले भने । सरकारले प्रतिनिधिसभाको शून्य समयमा उठाएको विषय आवश्यकतानुसार तत्काल सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ छ । तर, सरकारबाट चासो व्यक्त नहुने उनको अनुभव छ । उनले भने, ‘उठाएको मुद्दाको निरन्तर अद्यावधिक गर्दा पनि सरकारले सुन्दैन त्यसैले दोस्रो अविधेशनको एक बैठकमा शून्य समयमा मौन धारणा गरेर विरोध जनाए ।’ रासस
एनआईसी एशिया बैंकले ब्याजदर घटायो, कर्जाको कति छ ?
काठमाडौं । एनआईसी एशिया बैंकले मंसिरमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यसअघि कात्तिकमा बैंकले साधारण बचतमा ६.००३ प्रतिशतदेखि ८.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजद तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.९६ प्रतिशत रहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिरमा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ६.०५ प्रतिशत ब्याज दिनेछ । यसअघि कात्तिकमा बैंकले ४.२५ प्रतिशतदेखि ५.३० प्रतिशत र रेमिट्यान्स खातामा ६.३० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र ब्यक्तिगततर्फ ८.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स बचत खातामा ९.९७ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजद तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।
भूकम्प पीडितको दुर्घटना बीमा प्रतिव्यक्ति २ लाख, सवा ३ करोड भुक्तानी गर्दै राष्ट्रिय बीमा कम्पनी
काठमाडौं । वि.सं. २०७६ असोजमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका प्रत्येक नागरिकको बीमा गर्ने घोषणा गर्याे । सोहीबमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन प्रदेश सचिव वीरेन्द्रकुमार यादव र बीमा कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ)डा. डिल्लिराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । दुवै निकायबीच कर्णालीमा बसोबास गर्दै आएका १७ लाख ७० जनाकाे बीमा गर्ने गरी प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेको थियो । कुनै पनि नागरिकको विपद् दुर्घटनामा परी मृत्यु भएमा बीमावापत २ लाख रकम उपलब्ध गराउने सहमति भयो । सिंगो प्रदेशवासीको बीमा गरिएको कर्णाली प्रदेशमा गत कात्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भई ६.४ रेक्टरस्केलको भूकम्प गयो । उक्त भूकम्पमा परि ठूलो जनधनकाे क्षति भएको छ । अझै क्षतिको विवरण आउने क्रम जारी छ । साथै, उक्त भूकम्पमा परी १५७ जनाको मृत्यु भएकाे तथ्याङ्क नेपाल प्रहरीले सार्वजनिक गरेको छ । प्रदेश सरकारले समयमै बीमा गराएको हुँदा पीडितहरूलाई भने केही राहत पुग्ने देखिन्छ । प्रहरीको उक्त तथ्याङ्कलाई आधार मान्ने हो भने राष्ट्रिय बीमा कम्पनीले ३ करोड १४ लाख रुपैयाँबराबरको बीमा दावी भुक्तानी गर्नुपर्ने देखिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालका अनुसार भूकम्पमा परी ज्यान गुमाएका सबै व्यक्तिका आफन्तले बीमा दाबी भुक्तानी पाउने छन् । मृत्यु भएका व्यक्तिका आफन्तले प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले दाबी भुक्तानी पाउने उनले बताए । ‘प्रदेशका प्रत्येक नागरिकको २ लाखको बीमा गराएका छौं, मृत्यु भएका आफन्तलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले दाबी भुक्तानी दिन्छौं,’ उनले भने । हालसम्म कुनै पनि व्यक्तिले औपचारिकरूपमा दाबी भुक्तानीका लागि आवेदन नदिएको उनको भनाइ छ । संघीय सरकार वा प्रदेश सरकारको कामको शिलशिलामा कर्णाली प्रदेशमा आएका व्यक्तिको मृत्यु भए पनि बीमा दावी गर्न पाउने उनले बताए । ‘१५७ जनाको मृत्यु भएको तथ्याङ्क छ, तीमध्ये कति कर्णाली प्रदेशका हुन् र कति बाहिरका हुन् छुट्याउनु बाँकी छ तर संघीय वा प्रदेश सरकारको कामको शिलशिलामा कर्णाली प्रदेशमा आउनुभएको थियो भने उहाँहरूले पनि दाबी भुक्तानी पाउनुहुन्छ,’ उनले भने । उनका अनुसार कर्णाली प्रदेशका प्रत्येक नागरिकको विपद् दुर्घटना बीमा गराएवापत कम्पनीले करिब २ करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो । विपद्को समयमा बीमा कम्पनीको पनि जिम्मेवारी हुने भएकाले दाबी भुक्तानीका लागि जनप्रतिनिधिहरुसँग समन्वय गरिरहेको उनको भनाइ छ । सुर्खेत शाखा र जुम्ला शाखा कार्यालयमार्फत् प्रमाणहरू संकलनको काम भइरहेको उनले बताए । सुर्खेत र जुम्ला शाखा प्रबन्धकलाई सम्बन्धित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय गरेर प्रमाणहरु संकलन गर्न निर्देशन दिएको सीईओ बरालले बताए । उनका अनुसार मृतकका आफन्तहरूको नागरिकता, बैंक खाता लगायतका प्रमाण जुटाएर ल्याउन कम्पनीले भनेको छ । नीतिगत व्यवस्था गरिएको हुँदा प्रक्रिया पुर्याउनु पर्ने उनले बताए । ‘यस्तो बेलामा ठगी हुन सक्ने भएकाले कम्पनी सजग भएर काम गरिरहेको छ, बरु एक/दुई दिन ढिला होस्, जो पीडित हो उहाँलाई दाबी रकम दिने हाम्रो कोसिस हुनेछ, सबैलाई सहजीकरण गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘जो हकवाला हो स्थानीय तहले प्रमाणित गरेको हुन्छ, हामीले नगद रकम नभई पीडित व्यक्तिको बैंक खातामै रकम जम्मा गरिदिन्छौं ।’ विपदको बेला दाबी भुक्तानी गरेर सहयोगी भूमिका निर्वाह गर्नु बीमा कम्पनीहरूको कर्तव्य रहेको सीईओ बरालले बताए । यदि बीमा नै नगरेको भएपनि कर्णालीका जनताको साथमा आफूहरू रहेको बताउँदै सीईओ बरालले कुनै समस्या आयो भने प्रत्यक्ष सम्पर्क गर्न वडा अध्यक्षहरूलाई भनेको बताए । ‘राहत बाँडेजस्तो दाबी भुक्तानी होइन, कागज संकलनमा जोड दिएका छौं, वडा अध्यक्षलाई फोन गरेर मृत्यु भएको प्रमाण वा पोस्टमार्टम रिपोर्ट सुरक्षित राख्न भनेका छाैं, उहाँहरूले पनि सबै प्रमाण सुरक्षित राखेको बताउनुभएकाे छ,’ उनले भने, ‘स्थानीय निकायले जतिसक्दो चाँडो प्रमाण तयार पार्याे त्यति छिटो भुक्तानी गर्छाैं, यदि उहाँहरू यता आउन सक्नुभएन भने हामी आफैं गएर भुक्तानी गर्न तयार छौं ।’
कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति दिन्छ ?
काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ८ प्रतिशत ब्याज दिनेछ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.०१२ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१२ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.५१२ प्रतिशत ब्याजदर तोकेको छ । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधार दरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।
एनएलजी इन्स्योरेन्सको नाफा बढेसँगै ईपीएस पनि बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा ४०.७७ प्रतिशत बढाएर ५ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले ६१ करोड ८८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म ४१ करोड १८ लाख हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ९५ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ, महाविपत्ति कोष ७ करोड २७ लाख रुपैयाँ र निर्जीवन बीमा कोष १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.०९ रुपैयाँ बढेर १४.११ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २०८.०२ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४९.७५ गुणा छ ।
सानिमा जिआईसीको नाफा २४ प्रतिशत बढ्यो
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०÷८१को पहिलो त्रैमासमा खुद नाफा २४.३९ प्रतिशत बढाएर ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७१ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत असोज मसान्तसम्म कम्पनीले ३७ करोड ४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३२ लाख ७८ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गत असोजसम्म १९ करोड ८१ लाख हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४ लाख ७२ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, महाविपत्ति कोष ३ करोड ९२ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३२.८० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६३.२० गुणा छ ।