काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले डेढ खर्ब रुपैयाँ निक्षेप संकलन बढाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले २.८ प्रतिशत अर्थात् १ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन वृद्धि गरेका हुन् ।
गत वर्षको सोही अवधिमा ०.४ प्रतिशत अर्थात् २२ अर्ब ६९ करोड रुपैयाँ मात्रै निक्षेप बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा असोजमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको हो ।
कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २६.७ प्रतिशत र ५९.० प्रतिशत थियो । कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा संस्थागत निक्षेपको हिस्सा ३७ प्रतिशत थियो ।
साथै, गत असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह २.३ प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब ३ करोड रुपैयाँ बढाएका छन् । गत वर्षको सोही अवधिमा १.३ प्रतिशत अर्थात् ५९ अर्ब ११ करोड कर्जा बढाएका थिए । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको छ ।
गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको हिस्सा ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको हिस्सा ३६.९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैंकहरुको १.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.५ प्रतिशतले बढेको छ । असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत वर्षको असोजमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६६.७ प्रतिशत रहेको थियो ।
तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ७.० प्रतिशतले, नगद प्रवाह कर्जा १५.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १५.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३.१ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३९.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), र हायर पर्चेज कर्जा १८.५ प्रतिशतले घटेको छ ।