विकासन्युज

देउवाले गृह जिल्ला डडेल्धुरामा गरे एमाले अध्यक्ष ओलीको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्लामा स्वागत गरेका छन् । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई सभापति देउवाले डडेल्धुरामा स्वागत गरेका हुन् । अभियानको सिलसिलामा देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले सोही ठाउँबाट देउवालाई मोबाइलमार्फत् कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् । साथै, सभापति देउवाले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भएको अध्यक्ष ओलीले जानकारी दिए । देउवासँग भिडियो कल गरेको भिडियो पोस्ट गर्दै ओलीले भने, ‘सुन्दर डडेलधुरा, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो, उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो, धन्यवाद शेरबहादुरजी ।’ ओलीले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन् । उनले आफूहरु डडेलधुरा बजारभन्दा अलि तलतिर बसेको र गन्यापधुरा छेवैंबाट फोन गरेको सभापति देउवालाई जानकारी दिन्छन् ।

मनकामना स्मार्ट लघुवित्तका सेयरधनीको हात खाली, छैन लाभांश प्रस्ताव

काठमाडौं । यो वर्ष मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो । मंसिर १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले २०८० असार मसान्तको वासलात, गत आवको नाफा नोक्सान लगायतका वित्तीय विवरण पारित गरेको छ । उक्त विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाले पारित गर्ने छ । संस्थाले यसअघि दुई वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेको छ । संस्थाले यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश (नगद लाभांशसहित) र आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १७ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गरेको थियो ।

ईयुको २०२२ मा रक्षा खर्च इतिहासकै उच्च

काठमाडौं । युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ । बिहीबार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (इडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो । यो रक्षा खर्चका लागि छुट्याइएको इतिहासकै बढी रकम हो । इडिए डिफेन्स डाटा २०२२ प्रतिवेदनअनुसार यो संख्या एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो । २७ इयु सदस्य राष्ट्रहरूमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित इडिए युरोपेली रक्षा सहयोगको लागि केन्द्रिय हबको रूपमा कार्य गर्दछ ।

मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टले गरे नेपाल भ्रमण

काठमाडौं । मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टले नेपाल भ्रमण गरेका छन् । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ । नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा ओलिभरले कर्मचारी र अभिकर्तासँग भेटघाट गर्नेलगायत धेरै कार्यक्रममा भाग लिए। यसले नेपालमा मेटलाइफका सबै सरोकारवालालाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष हुन् । उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा सेवा गरे, र उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिंगहरू भइसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य हुन् र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष छन् ।

रेमिट्यान्समा भर परेर अर्थतन्त्र बलियो हुँदैन : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई बलियो बनाउन सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रकाे सहकार्य रहेकाे बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बेल्दै उनले अर्थतन्त्रलाई बलियाे बनाउन सबैकाे सहकार्य, समन्वय र हातेमालाे आवश्यक रहेको बताएका हुन् । अध्यक्ष मल्लले राष्ट्र बैंकले हालै गरेको कालोसूची सम्बन्धि नयाँ व्यवस्थाले थोरै भएपनि निजी क्षेत्रलाई राहत मिलेको बताएका छन् । ‘अर्थतन्त्रको विकासका लागि रेमिट्यान्समा मात्रै भर पर्नु हुँदैन, उद्योग कलकारखाना तथा आर्थिक वृद्धिका क्षेत्रहरू पहिचान गरी अगाडि बढ्नु पर्छ, प्राकृतिक स्रोत उपयोगमा ध्यान दिनुपर्छ,’ उनले भने ।

अस्ट्रेलियाको मुद्रास्फीति १८ महिनायताकै न्युन, घट्यो इन्धनको मूल्य

काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झरेको छ । अस्ट्रेलियाको मुद्रास्फीति दर १८ महिना यताकै न्युन स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको हो । अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अक्टोबरसम्मको १२ महिनामा ४.९ प्रतिशतले बढेको छ । जुन वर्षको सेप्टेम्बरमा ५.६ प्रतिशतले बढेको थियो । भाडा मूल्य १२ महिनाको अवधिमा ६.६ प्रतिशतले बढेको छ । जुन वर्षको सेप्टेम्बरमा ७.६ प्रतिशतले घटेको छ भने नयाँ बासस्थानको मूल्यमा ४.७ प्रतिशत वार्षिक वृद्धि भएको छ । यो अगस्ट २०२१ यताकै न्युन संख्या हो । जुन २०२३ को तुलनामा अक्टोबरमा बिजुलीको मूल्य ८.४ प्रतिशत बढी थियो । छुट्टी यात्रा र आवास मूल्यहरू सेप्टेम्बर र अक्टोबरबीच ७ प्रतिशत र सोही अवधिमा मोटर वाहन इन्धन मूल्यहरू २.९ प्रतिशतले घटेको छ ।

एसएमईमा लगानी बढाएर अर्थतन्त्रलाई नयाँ चरणमा पुर्याउन सकिन्छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले देशको अर्थतन्त्रको विकास र विस्तारका लागि साना तथा मझौला उद्योग (एसएमई)मा लगानी बढाउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रकमा बोल्दै अध्यक्ष हमालले सरकारसँगै बैंक तथा वित्तीय क्षेत्रले एसएमईमा लगानी बढाउनु पर्ने बताएका हुन् । ‘अर्थतन्त्र सबैतिर समस्या छ, तर हामीसँग कन्फिडेन्सको कमि देखिन्छ, विभिन्न कार्यालय तथा तहमा स्वीकृतिका लागि पुग्दा विदेशी लगानी आउनमा समस्या भइरहेको छ,’ उनले भने । हमालले अर्थतन्त्रमा देखिएका चुनौतीहरू समाधान गर्न सबै निकायहरूको सहकार्य अपरिहार्य रहेको बताए ।

तार भूमिगत गर्न सडक विभागले अनुमति नदिँदा कन्ट्याक्टरहरु काम छोडेर भाग्न थाले : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् । बिहीबार ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति कम हुँदै गएको बताए । देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताए । एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अप्पर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताए । एक वर्षसम्म अनुमति नदिइ काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताए । ‘नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढ्यो । सबैले नेगेटिभ मात्रै कुरा गर्ने हो भने काम कसले गर्ने ? पोजेटिभ कुरा त कतै पनि नआउने भयो । यो स्थिति आउनु दुर्भाग्यपूर्ण हो । वनले काम नै गर्न दिँदैन, एउटा रुख काट्न नसकेर मैले एक वर्षसम्म एउटा रुख काट्न नदिएर राष्ट्रिय महत्वको ठूलो योजना अप्पर अरुण १ हजार ६१ मेगावाटको बाटोको काम एक वर्षसम्म रोकेर बसेको छ । यस्तो स्थितिले देश बन्छ ? बन्दैन ।’, उनले भने । निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको बताए । अण्डरग्राउण्ड गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गरे । नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको बताए । सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको उल्लेख गरे । मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताए । ‘अण्डरग्राउण्ड केवलको कुरा छ । केही गरौँ भनेर हामीले यसको महशुलमा पनि संशोधन गरेका थियौँ । त्यो त्यत्ति इफेक्टिभ भएको छैन । उहाँहरुले ७ महिना भयो आजसम्म एक ठाउँ पनि दिनुभएको छैन । मेन रोडमा हामीले मागेको अहिलेसम्म कतै पनि पाएको छैन । केही ठाउँमा समस्या होला, काम गर्दा भविष्यको राम्रोका लागि केही क्षण बुझ्नुपर्दथ्यो । यति ठूलो प्रोजेक्टलाई बेवारिसेको रुपमा परिणत गर्नलाई हामीबीचको कोर्डिनेशनको कारणले बेवारिसे हुँदैछ, यो दुर्भाग्यपूर्ण हो । वनमा गयो, वनै राज्य, सडकमा गयो सडकै राज्य । कहाँ काम गर्ने ?’, उनले भने । उनले समन्वयको कमीका कारण ठूला योजनाहरु बेवारिसेको रुपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।