विकासन्युज

‘ब्याज घटिरहेको छ, अब अर्थतन्त्रमा सुधार आउँछ’

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै गएकोले अब अर्थतन्त्र चलायमान हुने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमाआयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता समाधान हुँदै गएको र त्यसले बैंकको ब्याज घटाउन पनि मद्दत पुर्याएको बताएका छन् । ‘बैकिङ क्षेत्रमा सुधार आइरहेको छ, ब्याजदर घटिरहेको छ, यसले आर्थिक क्षेत्र चलायमान बनाउने अनुमान छ, तरलताको समस्या समाधान भएको छ,’ उनले भने । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले बैंकको नाफा घटेको धारणा राखेका छन् । यस्तै बैंकको खराब कर्जा घट्दा केही चुनौती देखिएको उनको भनाइ छ । खराब कर्जा बढेको भए पनि साउथ एसियामा भने राम्रै भएको उनको भनाइ छ । उनका अनुसार उर्जा क्षेत्रमा बैंकको लगानी बढ्दै गएको छ । सरकारले विदेशी लगानी बढाउनतर्फ ध्यान दिनु पर्ने उनको भनाइ छ । यस्तै, पछिल्लो समय अनुदानमा गरेका लगानीको ८ अर्ब भन्दा बढी सरकारबाट नपाएको उनको गुनासो छ ।

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्सलेले लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार फाइनान्सलेले हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावत गरेको छ। उक्त प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय फाइनान्सलेले गरेको छ।

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । भूकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पदयात्रीको आगमनले उत्साह थपिएको हो । पदयात्राको याम सुरु भएसँगै विभिन्न समूहमा विदेशी पदयात्रीको टोली यस क्षेत्रमा पदयात्रा गरिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । ‘यो याम सुरु भएयता विभिन्न समूहमा विदेशी पदयात्री यो पदमार्गमा आइरहेका छन्’, उनले भने, ‘विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको चाप पनि बढिरहेको छ ।’ समितिले यसअघि सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालेकामा कोरोना महामारीको प्रभावका कारण त्यसयता पर्यटकको आगमन हुन सकेको थिएन । तत्कालीन समयमा नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल–२०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेकामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायत काममा सक्रियता देखाएको थियो । सहस्राब्दी पदमार्गको समग्र विकास एवं प्रवद्र्धनलाई लक्षित गरी बृहत् गुरुयोजनाअनुसार काम अघि बढाइएको बताउँदै महासचिव गुरुङले गुरुयोजनाअनुसार पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीको संरक्षण र उपयोग जोड दिइएको बताए । समितिले पदयात्रा पर्यटनको विकासका लागि पहिचान गरिएका क्षेत्र सुनिश्चित गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएको छ । पदमार्ग क्षेत्रमा पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा होमस्टेलगायत पूर्वाधारमा पनि स्थानीयले लगानी बढाइरहेको मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए । पदमार्ग क्षेत्रमा विभिन्न १७ वटा होमस्टे सञ्चालनमा रहेका बताउँदै उनले पर्यटकको आगमनले होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ भएको जानकारी दिए । यस पदमार्ग क्षेत्रमा मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बुढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा घरबास सञ्चालनमा छन् । त्यसैगरी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा ११ स्थित राईपुर, वडा १२ का चन्द्रकोट र डाँडागाउँलगायत स्थानमा घरबास सञ्चालनमा आइसकेका कारण पदयात्री र पर्यटकलाई खानबस्नको कुनै असुविधा नहुने मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले बताए । मिलेनियम ट्रेकको प्रवद्र्धनलाई नेपाल पर्यटन बोर्डले पनि प्राथमिकतामा राखेको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोखरेलले जानकारी दिए । बोर्डको सहयोगमा पदमार्ग क्षेत्रका विभिन्न स्थानमा गन्तव्य ३५ वटा सङ्केत पाटी राखिएका छन् । पर्यटन बोर्डले चालु आर्थिक वर्षमा यस पदमार्गको प्रवद्र्धनका लागि रु १० लाख र पूर्वाधार विकासमा रु ५० लाख छुट्याएको महासचिव गुरुङले जानकारी दिए ।  पर्यटन पूर्वाधार विकासका लागि गण्डकीको प्रदेश पर्यटन मन्त्रालयले रु २० लाख छुट्याएको उनले बताए । पदमार्गअन्तर्गतका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिनु यहाँको विशेषता हो । यो पदमार्गमा विश्वका कुनै स्थानमा नपाइने तर नेपालमा मात्र पाइने काँडेभ्याकुर पर्याप्त मात्रामा देख्न सकिन्छ । लोपोन्मुख प्रजातिका गिद्धलगायत धेरै प्रजातिका चरासमेत अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । पदमार्ग क्षेत्रअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा जङ्गल पर्ने भएकाले वन, वन्यजन्तु चराचुरुङ्गी अवलोकनका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ । पछिल्लो समयमा पदमार्ग क्षेत्रमा वन र वन्यजन्तुको अवलोकन, अध्ययन अनुसन्धानका लागि पनि अध्येताहरू आउने गरेका छन् । पदमार्ग क्षेत्रअन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैंसेगौँडामा ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले वन्यजन्तु अनुसन्धान तालिमसमेत सञ्चालन गर्दै आएको संस्थाका निर्देशक राजुआचार्यले जानकारी दिए । उनका अनुसार वन्यजन्तु अनुसन्धान तालिमका क्रममा यस स्थानमा एक सय ७४ प्रजातिका चरा, ५७  प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन् । यस स्थललाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा विकास गर्न सकिने उनले बताए । तालिममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए । पर्यावरणलगायत वन्यजन्तु र वातावरणसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यस क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने देखिएको उनले बताए । रासस

नेपाल आयल निगमले माग्यो ३१ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले विभिन्न पदमा ३१ जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको हो । निगमले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी रुपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३१ कर्मचारी माग गरेको हो । जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियन लगायतका पदमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

कोप–२८: जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बिहीबारदेखि युएईको दुबइ सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदैछ । सयौँ नीतिनिर्माताको यो विश्वव्यापी भेलामा जलवायु परिवर्तनको प्रभाव कम गर्न राष्ट्रसङ्घका सदस्यले जारी राखेका प्रयास, बितेको एक वर्षमा आयोजित कार्यक्रम तथा लक्ष्यको सघन समीक्षा, धनी राष्ट्रले गरिबलाई सहयोग गर्ने प्रतिबद्धतामाथिको जवाफदेहिता र पेरिस सम्झौतालगायत विगतका सम्झौता कार्यान्वयनको स्थिति, साथै हरितगृह ग्यास उत्सर्जन कम गर्ने र विश्ववापी तापक्रम वृद्धिलाई लक्ष्यअनुरुप नै कायम राख्न गरिनुपर्ने प्रतिबद्धतामा गम्भीर संवाद र वार्ता हुने कार्यसूची छ । दुई सातासम्म जारी रहने यस सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र तथा सरकारका प्रमुख, जनप्रतिनिधि, नीति निर्माता, कर्पोरेट संस्थाका मालिक, उद्योग–व्यवसायी, अन्तर्राष्ट्रिय जलवायु वैज्ञानिक, अनुसन्धाता गरी ७० हजारभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । जलवायु परिवर्तन विश्वव्यापी साझा समस्या भए पनि स्रोतसाधन, प्रविधि, वित्त, भूगोलका कारण असमान हिसाबले समस्या भोगिरहेका राष्ट्रले फरकफरक विषयलाई महत्व दिएका छन् । असमानुपातिक हिसाबले जलवायु परिवर्तनको कहरमा परेका विशेषगरी अतिकम विकसित राष्ट्र (एलडिसी) को चासो जलवायु वित्तमा छभने विकसित राष्ट्रले विकासशील तथा उदाउँदा अर्थतन्त्र पनि थप जिम्मेवार हुनुपर्नेमा जिकिर गर्दै आएका छन् । त्यसैगरी विकासशील तथा एलडिसीको साझा तर्क विकसित तथा धनी राष्ट्र हरितगृह ग्यास उत्सर्जन गर्नमा ऐतिहासिकरुपमा बढी जिम्मेवार रहेकाले उनीहरु नै थप जिम्मेवार र संवेदनशील हुनुपर्छ भन्ने छ । जलवायु वित्तको सन्दर्भमा कोप–२७ मा गरिएको सहमतिअनुरुप स्थापना भएको हानि तथा नोक्सानी कोषमा विभिन्न राष्ट्रको बजेट योगदान तथा कोषको प्रभावकारी सञ्चालनसहित बढी क्षति बेहोर्ने नेपालजस्ता राष्ट्रका लागि आर्थिक सहायता परिचालनको विषयले यसपटक विशेष महत्व राख्छ । यो विषयमा हुने छलफल र वार्तालाई विश्वभर विशेष चासोका साथ हेरिएको छ । जलवायु परिवर्तनमा मुख्य जिम्मेवार विकसित र धनी देशले विकासशील तथा गरिब देशको जलवायु परितर्वन प्रभाव न्यूनीकरण तथा अनुकूलन प्रयासका लागि आर्थिक सहायता प्रदान गर्ने सामूहिक प्रतिबद्धता पूरा नगरेको विषय हरेक वर्ष पेचिलो गरी उठ्ने गरेको छ । स्मरणीय यो छ कि, सन् २००९ मा भएको कोप–१५ मा विकसित राष्ट्रले विकासशील राष्ट्रका लागि सन् २०२० सम्ममा हरेक वर्ष एक सय बिलियन अमेरिकी डलर परिचालन गर्ने घोषणा गरेका थिए । द्रुत गतिमा भइरहेको तापक्रम वृद्धि नियन्त्रण गर्न भएको पेरिस सम्झौता पनि सम्मेलनका निम्ति त्यत्तिकै महत्वपूर्ण मुद्दा हो । सन् २०१५ मा भएको पेरिस सम्झौताअनुरुप पूर्वऔद्यौगिक समयको दाँजोमा तापक्रम १।५ डिग्री सेन्टिग्रेडको वृद्धि मात्रै कायम गर्ने अर्थात् विश्वको सरदर तापक्रम वृद्धि दुई डिग्री सेन्टिग्रेडभन्दा तल राखिरहने वैश्विक प्रयासलाई निरन्तरता दिने तर यसका लागि जीवास्म इन्धनको प्रयोगमा कटौती गर्नुपर्ने वैज्ञानिकको सल्लाहविपरीत कार्य भइरहनु गम्भीर चिन्ताको विषय हो । नेपालजस्ता अतिकम विकसित राष्ट्र जलवायु परिवर्तनको गहिरिँदो सङ्कटमा पर्ने विश्वव्यापी चिन्ता प्रकट भइरहेको छ । राष्ट्रसङ्घीय निकायका प्रतिवेदनले पनि विश्वाव्यापी तापक्रम वृद्धि कम गर्न विशेषगरी धनी राष्ट्रका प्रयास अपुग भएको बारम्बार औँल्याएका छन् । यसैबीच, सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहाल आज र भोलि ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनेछ भने उनले भोलि उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले भोलि जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवद्र्धन गर्न ‘पर्वतको आह्वानः जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् । कोप–२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अतिकम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता  वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो अबका केही दिनमा देखिनेछ । रासस

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यसैबीच, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टलाई ठक्कर दिँदा निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

नेपालमा लगानी गर्न यूएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् । यूएईको दुबईमा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल यूएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न यूएईका लगानीकर्ताहरूलाई आह्वान गरेका हुन् । अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरूलाई आग्रह गरेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए । आफ्नै आन्तरिक बजार तथा  भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा  गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे । उनले थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तरराष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले ‘लक्जरी’ होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गरे । अध्यक्ष ढकालले यूएईका लगानीकर्ताहरूलाई होटल, केबुलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरे । अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडीबुटीको विश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए । डिजिटल अर्थतन्त्रको विकासले आईसीटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । व्यापार र लगानीमा बैंकिङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले नेपालको बैंकिङ क्षेत्रमा यूएईको लगानी प्रवर्द्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे । कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत नेपालमा लगानी गर्न सकिने जानकारी दिए  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको नेपाल यूएई बिजनेस फोरममा नेपाल र यूएईका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा नेपाल र यूएईमा लगानीका सम्भावना र अवसरहरूका बारेमा दुई देशका लगानीकर्ताहरूले छलफल पनि गरेका थिए ।

प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर २०२३’ को अवार्ड

काठमाडौं । प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ प्रभु बैंकले प्राप्त गरेको हो । बिहीबार बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् । साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर बैंकिङ्ग अभ्यास गरेको भन्दै अवार्ड दिइएको हो । फाइनान्स कम्पनीबाट विकास बैंक हुँदै वाणिज्य बैंक बनेको प्रभुले पहिलो पटक उक्त अवार्ड प्राप्त गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी रुपमा बैंकिङ उद्योगको ओस्कार मानिन्छ । अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो । अध्यक्ष सिटौलाले नेपालको बैंकिङ्ग प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए । ‘वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ्ग क्षेत्रमै हैसला प्रदान गरेको छ, हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ,’ उनले भने । सीईओ शेरचनले बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकहरूको साथले सम्मान प्राप्त गर्न सफल भएको बताए । ‘यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु, आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ,’ उनले भने । २००६ सालमा प्रभु फाइनान्सबाट सेवा सुरु गरेको बैंकले ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटीएममार्फत् देशव्यापी ३१ लाख भन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ । हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ ।